बूढोभित्र अचानक एउटा नयाँ अभीप्सा उत्पन्न भयो । उसलाई पिज्जा खान मन लाग्यो । ऊ बस्थ्यो एउटा देहातमा जहाँ समोसा खोज्नलाई पनि एक कोश टाढा जानुपथ्र्यो । शुरुमा कयौँ दिनसम्म यो कुरो उसले आफैँभित्र थुनेर राख्यो । बुढीलाई पनि भनेन । भने खिसी गर्ली भनेर भनेन । तर दिनप्रतिदिन उसमा पिज्जा खाने शौख तीव्र हुँदै गयो ।
र एकदिन बुढीलाई बोलाएर कसैले सुन्ला झैँ गरेर कानमा खुसुक्क भन्यो ।
बूढाको कुरा सुनेर बुढी मजैले हाँसी । हाँसिन मात्र बुढाले सोचेभन्दा कयौँ गुना बढी खिसी पनि गरी । र बूढोलाई पुरै उपेक्षा गरी । गोठतिर जान लाग्दा एकपल्ट पछाडि फर्केर हाँस्दै, ‘मर्ने बेलामा हरियो क्राँक्रो’ पनि भनी ।
बूढोलाई बुढीको उपेक्षापूर्ण व्यवहारदेखि एकदमै रीस उठ्यो । उसले स्यानो आवाजमा बूढीलाई ‘राँडी’ भनेर गाली गर्यो ।
त्यसपछि बूढो ख्वाङख्वाङ खोक्न थाल्यो । आफूलाई कुनै कुरामा चित्त नबुझ्दा बूढो नआएको खोकी पनि जबरजस्ती खोक्थ्यो । खोकिरहयो । अनि मनमनै बूढीले केही बर्ष अगाडि आफूलाई माडवारी किनिदिन गरेको रोड्याइँ सम्झ्यो ।
‘राँडीलाई आफूलाई चाहिया जिनिस पुर्याइदिएन भने यत्रो गर्धन पसार्छे । अर्कालाई चैँ खिसी गर्छे ।’ अब बूढो साँच्चै खोक्दै बम्क्यो ।
खोक्न पनि अब बूढो यै खोकीले मर्ने हो कि झैँ गरेर खोक्न थाल्यो । ‘बुढेसकालमा चैँ रहरै नहुनु ! के बूढो हुनु अपराध हो ?’
बूढो साँच्चै नै दुखी भयो । आफ्नो जिन्दगीलाई एकपल्ट धिक्कार्यो । ‘कस्तो जुनी यो ? नाथे मर्ने बेलामा केही रहर पनि गर्न नपाउनु !’
बूढोको जीवनपनि निक्कै खल्लो थियो । उसबेलाको प्रधानपञ्च गाउँको । तर आजकाल बूढोलाई गाउँमा कसैले मान्छे गन्दैनथ्यो । दिनभरि घर बस्नु बाहेक उसँग केही बिकल्प पनि थिएन । घरमा बूढी अनि भरखर एक महिना पनि नपुगेकी सुत्केरी बुहारी थिए । नवजात शिशु दिनभरि सुत्नु भन्दा पनि अधिकांश रोइरहन्थ्यो । अनि घरीघरी स्तनपान गथ्र्यो । स्तनपान अत्याधिक गरेकाले हो कि के ले हो त्यो शिशु पटक पटक छादिरहन्थ्यो । उसै त घरभरि ज्वानो गनाएर बस्न नसकिने भइरहेको बेला त्यो बच्चाको छादको गन्ध थपिन्थ्यो ।
अनि यस्तोमा बुढो दिनभरि घरमा बस्न नसकेर गाउँ डुल्नै बढी मन पराउँथ्यो ।
त्यसदिन बूढीको प्रतिक्रियाले बूढोको घोर चित्त दुख्यो ।
त्यसपछि बूढो गोजीबाट मोबाइल झिकेर काठमाण्डौँमा बस्ने कान्छो छोरोलाई फोन हान्ने मेसो गर्न लाग्यो । छोरो र उसको परिवारको हालखबर सोध्नु भन्दा अगाडि आफूलाई पिज्जा खान मन लागेको यथार्थ बताइदियो ।
उता छोरोलेपनि प्लेनमा कोही जाने मान्छे भेटिएमा पठाइदिने आश्वाशन दियो । सम्भवतः छोरोलेपनि बूढोको त्यस किसिमको इच्छालाई मनमनै ‘मर्ने बेलामा हरियो क्राँक्रो’ भन्यो ।
०
धेरैदिन बितिसक्दा पनि बूढोले पिज्जा खाने अवसर प्राप्त गर्न सकेन ।
बूढो दिउँसोदिउँसो नजीकैको बजारमा जान्थ्यो । आफ्ना उमेरका दौँतरी भेटाएमा गफगाफ गथ्र्यो । चिया खान्थ्यो । चुरोट पिउँथ्यो । अनि घर फिथ्र्यो । एकदिन बजारको एउटा चियापसलमा बसिरहेकै बेला बूढो एउटा दैनिकपत्रिका हेर्न पुग्यो । त्यो दैनिकपत्रिकाको शुक्रबारको अंक थियो । त्यसमा एउटा शुक्रबार विशेषको छुट्टै पाना थियो जसमा पिज्जा कसरी बनाउने भन्ने बारेमा आधापेज लामो लेख थियो । बूढोले त्यो पूरै पढ्यो र च्यातेर कोटको गोजीमा हाल्यो ।
कोटको गोजीमा पत्रिकाको त्यो कटिङ्ग हाल्दै गर्दा बूढोलाई थाहा थिएन ऊ त्यो कटिङ्गको के गर्नेवाला छ ।
ठीक दुइदिन पछाडिको कुरा ।
बूढो बेलुकी सात बजेको समाचार हेर्न घरबाट भातसात खाइवरी हरेक दिन खहरे पारी बस्ने एउटा बाँडाकहाँ जाने गथ्र्यो । त्यो बाँडा बूढोलाई जहिलेपनि सत्कार गथ्र्यो । बेला बेलामा मिस्री, सुकुमेल, हाजमोला आदि ख्वाउँथ्यो ।
‘गाउँमा हामीले मान्नुपर्ने को नै रहे र ?’ ऊ बूढोलाई भन्थ्यो, ‘तपाइँ एकजना त हुनुहुन्छ ।’
बाँडाको कुरा सुनेर बूढो गद्गद हुन्थ्यो । आफुलाई एकाएक गाउँको महानै मान्छे सम्भिmन पुग्थ्यो । उसको केही प्रशंशा भएको दिन राती घर पुग्नेबित्तिकै अझ बढाइचढाइ गरेर बूढीलाई सुनाउँथ्यो ।
भन्थ्यो, ‘सुनिस् ! आज बाँडाले मलाई यसो भन्यो । तँ मान्छे गन्दिनस् नि मलाइ !’
बूढोको आत्मश्लाघाका लागि बूढी एकपल्ट ओठ लेपार्दिन्थी ।
आफ्नो कुरालाई बूढीले वास्ता नगर्दिएकोमा बूढो एकपल्ट मनमनै रिसाउँथ्यो ।
अतः त्यसदिन बाँडाका टि.भि हेर्न जाँदा एउटा फूड फेस्टिबलको समाचार पनि देखाइएको थियो । मान्छेहरू विभिन्न स्टल अगाडी उभिएर अनेकथरी खानेकुरा खाइरहेको बूढोले देख्थ्यो । त्यसैक्रममा बूढोले एउटा टेबलमा जुम गरेर देखाइएको पिज्जाको स्पष्ट चलायमान चित्र देख्यो ।
‘पिज्जा भन्या त्यै हैन !’ देख्नासाथ बूढाले बाँडादम्पतीलाई भन्यो । बूढाले फेरि यो यसरी भनेको थियो मानौ कोठाभित्र बाघ छिरेको होस् । भनौँ न एकदम आत्तिएजस्तो गरी ठुलो स्वरमा भनेको थियो । घरमा केटीकेटी थिएनन् धन्न ! भए ती तर्सिन्थे ।
बाँडादम्पतीले बूढोको त्यस कौतुहलतालाई ‘हो,’ भन्दिएर मेटाइदिए ।
बुढो त्यसै विषयमा अझ कुरा गर्न चाहन्थ्यो । फेरि उनीहरूलाई नै सोध्यो, ‘तिमीहरूले पिज्जा खाएका छौ ?’
उत्तरमा बाँडादम्पतीले आफुहरूले पिज्जा खाएको बताए ।
त्यसपछि बूढो एकछिनसम्म केही बोलेन । सम्भवतः आफुलै चैँ चाख्नसम्म नपाएकोमा आत्मरतिको भाव लिएर बस्यो ।
बरु यसपाली बाँडाकी स्वास्नी नै अघि सरेर बूढोलाई सोध्न लागी, ‘बुवाले खानु’भा छैन र ?’
बूढो आफूले खान नपाएको बतायो । त्यतिमात्र होइन, त्यसका लागि आफ्ना सम्पूर्ण परिवारको बद्थ्वाइँ गर्नसम्म गर्यो । आफू आफ्नै घरमा उपेक्षित छु भन्नेजस्ता कुरा गरेर बाँडादम्पतीको सक्दो सहानुभूति बटुल्न खोज्यो । बाँडा दम्पतीले बूढोले चाहेजति सहानुभूति नदिएपनि त्यसको एक चौथाइ त कमसेकम दिए ।
र अन्त्यमा बाँडाकी स्वास्नी नै अघि सरेर भनी, ‘त्यस्तो इच्छा छ भने बुवालाई एकदिन मै बनाएर ख्वाउँछु ।’
बूढोको अनुहार एकाएक उज्यालो भयो । ‘मैले मान्छे त कमाएकै हो,’ आफैँलाई एकपल्ट यसो भन्यो ।
‘तर घरमा बनाएको कुरा बजारमा अनेकथोक हालेर बनाएजस्तो मीठो त हुँदैन नि ।’ बाँडाकी स्वास्नीले भनी ।
बाँडाकी स्वास्नी पकाउन सिपालु थिइ । फेरि तिनहिरूको घरमा शहरमा पाइने जति आधुनिक बिद्युतिय सामग्रीहरू सबै थिए । बरु शहरमा बस्नेहरूसित त्यति जिनीस थिएन जति उनीहरूकहाँ थियो । माइक्रोओभन सम्म थियो । त्यसैले त ऊ बूढोलाई पिज्जा बनाएर ख्वाउन अघि सरेकी । भरखर भरखर आएको उपकरण प्रयोग गर्ने अभ्यास पनि हुने, त्यहाँमाथि पिज्जा खान पनि पाइने । अझ बूढोलाई नै ख्वाएजस्तो देखिने ।
बूढो त्यसदिन पनि दङ्ग परेर घर फक्र्यो । बूढी धन्दा सकेर भरखरै ओछ्यानमा गएर बसेकी थिइ ।
बुढीलाई देख्नासाथ बूढोले ढोकाभित्र पसिनसक्दै भनिहाल्यो, ‘बुझीस् बूढी, बाँडाकी स्वास्नी मलाई पिज्जा बनाएर ख्वाउँछे रे !’
बूढीले त्यसदिन पनि ओठ लेपारी र बूढोको कुरालाई खासै महत्व दिइन । बूढो बुढीले आफ्नो कुरालाई महत्व नदिएकोमा अनेक थोक भुत्भुताउँदै ओछ्यानमा पुर्लुक्क पल्टियो ।
केही दिनपछि एकबिहानै बाँडाकी स्वास्नी बूढोलाई पिज्जा खाने निम्तो दिन घरैमा पुगी ।
बूढोले बाँडाकी स्वास्नीको खूब सत्कार गर्यो । उसलाई बस्नका लागी सुत्केरी बुहारीलाई राडी ओछ्याउन लगायो । बूढीलाई चिया पकाउन अह्रायो ।
यता बाँडाकी स्वास्नी ‘पर्दैन,’ भन्दैथिइ । बूढोले जबरजस्ती पकाउन लगाइहाल्यो ।
त्यसरी खुरुन्धार गरेर चिया पकाउन लगाएको देखेर बुढीले पनि बूढोलाई भनी, ‘पाहुनालाई चिया पकाएर ख्वाउन पनि तपाइँले सिकाइरहनुपर्छ मलाई ?’
‘के को पाहुना र आमा ?’ बाँडाकी स्वास्नी पनि अपनत्व देखाउन खोज्दै भन्न लागी, ‘मलाई त आफ्नै घर जस्तो लाग्छ ।’
बाँडाकी स्वास्नीको कुरा सुनेर बूढो त्यसमा ‘हो’ मा ‘हो’ मिलाउन लाग्यो भने बूढीलाई चैँ त्यति निको लागिरहेको थिएन ।
तैपनि बूढीले उसलाई चिया ख्वाएर पठाइ । अझ अरु पाहुनालाई भन्दा बेसी नै दूध हालेर चिया बनाइ । सधैँ बूढोको दुःख दिन जाने घर भनेर होला ।
दिउँसो बूढो बाँडाकहाँ गयो । दिउँसो पिज्जा खाइँदैछ भनेर त्यसदिन बूढोले बिहान भात पनि कमै खायो । बूढोको यस्तो बानी नै थियो । गाउँमा कतै भोजभतेर छ र त्यहाँ मासु पाक्दैछ भन्ने कुरा चाल पाएको खण्डमा बूढो घरमा भात लगायतका खानेकुरा ग्याँस्ट्रिक रोक्ने गरी मात्र खान्थ्यो ।
‘गोडा चार पाँच एक त देलान् नि !’ बूढोलाई कतिवटा पिज्जाले अघाइन्छ भन्ने पनि कुनै ज्ञान थिएन । बूढोले पिज्जा खाओस् न चाल पाओस् ! पिज्जाको स्वाद थाहा नपाएको बूढो त्यसको आकार, रङ्ग र सजावटबाटै यथेष्ट प्रभावित थियो ।
उता बाँडाको घरमा पिज्जा तयार थियो । बाँडाकी स्वास्नीले बूढोलाई कुर्सीमा बसाइ । बूढो यसै पिज्जा नखाइकनै बाँडाकी स्वास्नीप्रति कृतकृत्य भैसकेको थियो । बाँडाकी स्वास्नीलाई कुन मुखले धन्यबाद दिउँ जस्तो ! कसरी उसको गुन तिर्नुजस्तो भावका साथ हेरिरहेको थियो ।
बूढोले आफ्नो अगाडी पिज्जाले भरिएको एउटा रिकापी पायो । तर पिज्जा बूढोले पत्रिका वा टि.भिमा देखेको भन्दा अलिक भिन्न थियो । कहाँ जाँतो जस्तै गोलाकार देखेको पिज्जा यहाँ बाँडाकी स्वास्नीले त्रिभुजाकार रुपमा दिएकी थिइ । तीनवटा त्रिभुजाकार टुक्रा थिए ।
‘यतिले अघाइएला र ?’ मुखमा हालिनसक्दै बूढोले आफैँभित्र असन्तोस गर्यो । अनि एकटुक्रा उठाएर टोक्यो ।
एकदम परिचित स्वाद थियो । ‘कहाँ खाएको हुँ यस्तै खानेकुरा ?’ बूढो सम्झिन लाग्यो । बजारमा खाएका अनेकथोक सम्झियो । घरमा बूढीले ख्वाएका कुराहरू सम्झियो । तर पत्तो लगाउन सकेन । उसो त बूढीले बूढालाई जीवनभरमा तीन वा चार थोक भन्दा बेसी खाजा कहिल्यै ख्वाएकी थिइन । कि चाम्रे पकाएकी हुन्थी, कि सिरौँलाको सातु दिन्थी । अथवा कहिलेकाँही रोटी बेल्ने जाँगर पनि चलाउँथी र दूध-रोटी दिन्थी । बूढाका दाँत गतिला हुँदा हुन् त दिन बिराएर मकै भट्मास पनि भुटेर ख्वाउँदी हो ।
सुत्केरी हुनु अघि कहिलेकाँही बुहारी पनि सीप लगाएर अनेकथोक पकाएर खुवाउँथी । तर बूढोले केही सम्झेन । बुहारी सुत्केरी भएपछि पकाउने काम सबै बूढलिे गर्न थालेकी थिइ । बुहारी सुत्केरी भएको प्रसङ्ग सम्भिmसकेपछि बूढो एकपल्ट झल्याँस्स भयो । उसले पिज्जाको स्वाद के को हो भन्ने चाल पाइहाल्यो । बूढो हत्तनपत्त पिज्जाको रिकापी ठाउँको ठाउँ नै छोडी हातमा भएको टुक्रोलाई पनि त्यही रिकापीमा थन्क्याएर उठेर हिँड्यो र केही पर खेतको कान्लामा पुगिसकेपछि एकपल्ट उलुक्क छाद्यो । अनि बाँडाकी स्वास्नीलाई एकपल्ट गएँ है भनेर बजारतिर लाग्यो । घर त्यतिबेला उसलाई जान ठीक लागेन ।
यता बाँडाकी स्वास्नी बूढोको चर्तिकला देखेर हेरेको हेर्यै भइ ।
बूढो हिँड्दैगर्दा मनमनै संकल्प गरिरहेको थियो, आइन्दा ऊ पिज्जाको बारेमा सोच्नेपनि छैन । किनकि पिज्जाको स्वाद उसलाई भरखरै जन्मेको नातीको भमिटको गन्धजस्तो लागेको थियो ।
(फाइन प्रिन्टबाट प्रकाशित भट्टराईको कथासंग्रह कथाकी पात्रबाट)