~हरिमाया भेटवाल~
बिद्रोह
सदियौ देखि …
मेरी आमाले बाचेको जिन्दगी हेरेर
अब म बाकी यात्रा तय गर्ने छैन
तिमी बिद्रोही भन वा जे भन
गुन्रुक हाले झैँ खाल्डोमा
मेरा सपनाहरु पुरेर
अब म बाच्ने छैन
म सित मेरी आमाले बोल्न नसकेको ओठ छ
म सित मेरी आमाले लेख्न नसकेको चोट छ
त्यसैले …..
म कुवा बाट फुत्त निस्किएर मझेरीमा उभिएकीछु
अझै भिझेकै छन् कुवाको पानीले मेरो लुगा
म घाम लाग्ला भनि उभिएकैछु मझेरी छेउ
तिमी भित्र पस भन्छौ
म घाममा बस्छु भन्छु
भो मलाई मेरी आमा झैँ चिसो चुलोतिर नखेद
म सडकतिर जान्छु ….!!!!!!
सन्दर्भ : नारीदिवस