~हरिमाया भेटवाल~
तिमीलाई धेरैदिन पछि देख्दा तिमी मैलिएको देखेँ,
खै के के ले हो साह्रै मैलिएछौ तिमी !
सायद तिमी मैलिएको तिम्रो आँखाले नै देखेनौ तिमीले
तर मैले परबाट नै तिमी मैलिएको देखे मेरो आँखाले,
तिमीले आफ्नै अनुहार हेर्यौ कि हेरेनौ ऐनामा ?
तर तिमीलाई भ्रम नहोस्
तिमी मैलिएको भने पक्का हो,
कुनै दिन फेरि तिम्रो र मेरो जम्काभेटमा–
म तिमीलाई देखाउने छु,
मेरो आफ्नै आँखामा तिमी मैलिएको तिम्रै तस्बिर !
त्यो बेला तिमीले भन्ने छौ–
‘हो म जानेरै मैलिएको हुँ, जीवन चलाउन,
म अलिकति प्रदुषित हावाले मैलिएँ,
अलिकति रासायनिक खानाले मैलिएँ,
अलिकति बिधुतीय सञ्चारले मैलिएँ,
अलिकति आफै बाँचेको संसारले मैलिएँ,
अलिकति मैलिनैपर्ने भएर मैलिएँ,
आफ्ना लालाबाला र श्रीमतीको लागि मैलिएँ,
हो म जानेरै मैलिएँ,
वा भन्ने छौ –
धन्यवाद मित्र !
म पत्तै बिना देखिने गरी कसरि मैलिएछु ?
तर
विश्वास गर मित्र मलाई र मभित्रको मनलाई !
आवरण मैलाएरै भएपनि
मभित्रको मन मौलाएको छैन !!!!!
(स्रोत : Pallawa)