~हरिमाया भेटवाल~
आमाले भनेको –
‘घाम र तँ सँगै–सँगै आयौ यो धर्तीमा एकाबिहानै’
मलाई सम्झना छैन
पहिलो चोटी म यो धर्तीमा आएको
तर सम्झनामा अरु थुप्रै कुरा छन्
आज पनि मसँग ।
हिजो जस्तै लाग्छ,
आमाको साडीको फेर समाउँदै
बुढी औँला चुसेर मामाघर गा’को
चारआनाको कोकिस र दसपैसाको बरफ किनेर खा’को
हिजो झैँ लाग्छ,
हाते कल बोकेर दमिनी साँल्दिदी हाम्रो घरमा आ’काको
र
टेर्लिङको जामा सिलाइदिएर ला’को
कति खुसी त्यो क्षण,
जामा देखाउनकै लागि गाउँभरी धा’को
अनि
दुई चुल्ठा कपाल बाटेर बिना बेग
कम्मरमा पुस्तक बोकी स्कूलतिर गा’को
हिजो जस्तै लाग्छ,
कसैले प्रेम–पत्र लेखेर पहिलो चोटी मेरो हातमा दिँदा
मेरो शरीरभरी नबिझाउने काँडैकाँडा आ’को
कति छिटो गए गए ती दिनहरु–
फिताले नाप्दा कति लामो हुँुदो हो त्यो समय ।
तर,
मन र मस्तिष्कले नाप्दा कति छोटा लाग्ने
राती सुतेको बेला देखिने सपना जस्तो
आज फेरि बिपनामा
एकवर्ष पुरानो बनाउँदै गयो २०६९ सालले मलाई ।।।
(स्रोत : Pallawa)