कथा : शहीदको आगमन

~पूर्ण मुनंकर्मी~

हर्क बहादुरको घरमा आज धुमधामको खुसियाली छाएको छ । रातको सन्नाटालाई चिर्दै भित्र कोठामा पृथ्बीको नयाँ पाहुनाको आवाज आएको छ ।

बाहिर हर्क बहादुर हर्ष बढाइँ गरिरहेको छ । छिमेकीहरू जम्मा भएका छन् । तीन बिस कटेका देखिने बुढाबुढीहरूको ठूलै जमात छ । केहि भुराभुरि पनि हल्ला गरिरहेकाछन् । गाउँमा भएका करिब करिब सवै भेला भएका छन् -क्याप्टेन हर्क बहादुरको खुसियालीमा ।

खुसियाली बाँड्न आँगनमा आफ्नै खोरका बंगुरहरू शहीद भएका छन् । मटानका केही घ्याम्पा पनि रित्तिएका छन् । ओठहरू लर्बरिएका छन् । तोङ्बाको निरन्तर आवाजमा दबिएर गाउँ भरिका भ्यागुताहरू आज असारको मध्यमा पनि आफ्नो आवाजलाई प्रतिबन्ध गरेका छन् र सुनिरहेका छन् तोङ्बाको आफ्नै जस्तो आवाज- ट्वारट्वार ट्वारट्वार ।

औंसीको रात भएतापनि शहीद भएका बंगुरको सदगत गर्नेहरू र तोङ्बाका प्रियतमहरूको वरिपरिको आकाश हर्क बहादुर जतिकै उज्यालो छ र छ रौनकता पनि ।

अफगानिस्तानमा भरखरै हर्क बहादुरले गरेको बहादुरीमा ड्याभिड जरसाहेबले गरेको प्रशंसाको किस्साले बिचबिचमा तोङ्बाको आवाज मन्द हुन्छ र एक छिमेकी सही थाप्छ- ‘हर्के भन्दा हर्केको यो छोरो झन बहादुर भएर निस्कनु पर्छ, यो त जन्मदै बिर्तिस् लाहुरे ।’ वातावरणमा हाँसो गुिञ्जन्छ, झकाएका दूधे बालकहरू आमाको काखमै तर्सन्छन् ।

‘हर्केले छोरो जन्माएन, लाहुरे जन्मायो । नेपाली जन्माएन, ब्रिटिस भाडाका सेना जन्मायो । नेपालको लागि मेधा जन्माएन, फिरंगीको लागि शहीद जन्मायो ।’ छेउमा बस्ने शिक्षकले अनायास शुष्क स्वरमा भनेको ती भावनाहरू त्यो हर्सोल्लास वातावरणलाई चिर्न सकेन तोङ्बाको आवाजमा दबियो ।

ठूलठूला खँड्कुलाहरू तताउन बालेको उज्यालोमा पनि शिक्षकले अँध्यारो नै देख्यो । उसले हेर्यो आफ्नै गाउँ, बारी र डाँडाहरू- उजाडउजाड, जीवन बिहीन र चारैतिर अन्धकार । निकै टाढाको, रातमा पनि हाँसिरहने उज्याली कंचनजंघा पनि अँध्यारो मै लुकिरहेकी छ, उसलाई यो हर्षोल्लास शायद पचेन क्यारे ।

हर्केको घरमा आँखा पनि खोलिनसकेको बच्चा आमाको छोरा हुनु भन्दा पहिले नै तोङ्बा तान्नेहरूले ‘बिर्तिस् लाहुरे’को न्वारण गरे । बाबु हुने, जसले अहिलेसम्म बच्चाको रोएको आवाज मात्र सुनेको छ, देखेको छैन, दङ्ग छ र आफू लाहुरेको बाबु भएकोमा । हर्केको हर्षको सीमाना रहेन । उसले एउटा ठूलै युद्ध जितेर साम्राज्य नै पाएको महसूस गरेको छ ।

शिक्षक एक टकले नजिकैको खोर भित्रका बचेका बंगूरलाई हेर्छ, नयाँ लाहुरेको आगमनमा बलिदान भएका बाहिरका बंगूरलाई हेर्छ । हर्के र ब्रिटिस सामाज्यलाई पनि तुलना गर्छ । ब्रिटिसको लागि लडेर हर्के अझै जीवनमा खुसियाली मनाइरहेको दृष्य एकएक गर्दै हेर्छ र ती दृष्यहरू सिनेमामा जस्तै घुमिरहेको देख्छ । अनुहार नदेखेको नयाँ लाहुरे जवान हुँदै गरेको र त्यस सिनेमामा पर्दामा आएको अस्पष्ट दृष्य देख्छ र देख्छ भयंकर युद्ध । लड्ने दुबै अपरिचित विदेशी, ठाउँ विदेश, झण्डा विदेशी । सिनेमाको युद्ध, टेलिभिजनको पर्दामा देखेको अफगानिस्तान र इराकको युद्धलाई ओझेल पार्ने खालको । त्यस युद्धमा नयाँ लाहुरे !

बलिको बोका पर्से जस्तै शिक्षक आफ्नो जीउ अनायास हल्लाउँछ, भाउन्न हुन्छ उसलाई आफ्नै परिचितको कुनै बियोगान्त सिनेमा हेर्नु छैन, त्यसैले उ जुरुक्क उठ्छ र हिड्छ अंध्यारोमा- क्षितिज नउघ्रेसम्म निरन्तर ।

(श्रोत: Onlinesahitya)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.