कथा : नजन्माएकी छोरी

~गीता केशरी~

मेरो हातमा विवाहको निम्ताको कार्ड परेको छ । नौलो र अनौठो प्रकारको भाखामा लेखिएको त्यो निम्तामा बेहुलीको आमाबाबुको नामसँग जोडिएको थर र बेहुलीको थर बेग्लाबेग्लै छन् । जुन साथीको मार्फत् मैले निम्ता पाएकी छु उनको नाम प्रार्थीमा छ । दर्शनाभिलाषीहरूमा बेहुलीका आमाबाबु र प्रार्थीका छोरीज्वाइँका नामहरू लेखिएका छन् । मेरा आँखा घुम्दै विवाहको मिति लेखिएको ठाउँमा पर्न जान्छन् । त्यहाँ एक महिनापछिको विवाहको गते दिइएको छ भने स्थानमा उही साथीको घर लेखिएको छ । असमर्थताका लागि सम्पर्क टेलिफोन नम्बर पनि त्यही साथीकै छ ।

यी सबै पढ्दा मलाईकस्तो कस्तो लाग्छ । सोच्छ,ु धेरै वर्ष विदेशमा बसेर नेपाल फर्किएकोले यहाँको चलनमा आएका परिवर्तन मलाई थाहा नभएको पनि हुनसक्छ । यस्तो मनमा लागेर मैले त्यो निम्ता सफलालाई देखाएर उसको प्रतिक्रिया पनि लिने विचार गर्छु र बोलाएर उसलाई पढ्न लगाउँछु । ऊ पनि त्यो पढेर मजस्तै अल्मलिन्छे ।

जितेन्द्रको घर हाम्रो घरबाट धेरै टाढा थिएन । त्यसैले सोच्यौँ त्यस निम्ताको जे जस्तो अर्थ लागे पनि विवाह मित्रकै घरमा हुँदैछ । के कस्तो मद्दत गर्नुपर्छ भनेर सोध्न भए पनि उनको घरमा हामी जानुपर्छ । उनैले यसको रहस्य खोले सुनौँला क्यारे, नत्र बधाई दिएर फर्कौला, हिँड जाऊ भनेर सफला र म बाटो लाग्छौँ ।

घर अगाडिको बगैँचामा जितेन्द्र फूलहरू गोड्दै झारहरू उखेल्दै र छाट्दै गरिरहेको हुन्छ । त्यतिका वर्षपछि विना खबर हामी झ्वाट्ट पुगेको देखेर उनी अति खुसी भएर हात मिलाउँदै सोध्छन्, ‘अमेरिकाबाट कहिले आयौँ ? विवाहमा आइपुग्छौ कि पुग्दैनौ भन्ने लागिरहेको थियो । कसो आइपुगेछौ ।’

“हामी आइपुगेको अस्ति मात्र हो । के गर्नु हिजोको दिन सुत्दैमा बितायौं । समयको फरकले गर्दा, यार, रातभर घरको रखवालाजस्ता हुन्छौ दिउँसो भने लम्पसार पछौर्ं ।’ यसो भन्दै म हाँस्छु र उनी पनि हाम्रो कुरालाई हाँसोले नै समर्थन गर्दै बैठक कोठातर्फ लैजादैँ भन्छन्, ‘त्यहाँबाट र्फकंदा यस्तै हुन्छ । मलाई पनि यो बानी छुटाउन झण्डै एक हप्तै लागेको थियो ।’ रुमालले हात पुछ्दै हामीलाई सोफामा बस्न लगाउँदै देवीलाई बोलाउँछ । देवीको नाम सुन्नासाथ त्यही निम्ताको कार्डमा लेखिएको नाम सम्झेर हामी मुखामुख गर्छौं । जितेन्द्रले पनि सोधिहाल्छ, ‘ए, तिमीहरूले विवाहको कार्ड पायौ, होइन ?’

त्यस प्रश्नले म झस्कन्छु र भनिहाल्छु, ‘त्यही कार्ड पाएर त हामीले विवाहमा के कस्तो जिम्मा लिनु पर्छ भनेर सोध्न आएका नि ।’

यस्तै कुरा हुँदै थियो त्यस्तै २१/२२ वर्षकी गोरी राम्री केटी त्यहाँ आई पुग्छिन् र हामीलाई चिरपरिचितजस्तै गरी हाँसेर नमस्कार गर्छिन् । हामीले भने उनलाई कहिल्यै नदेखेकोले चिन्न गाह्रो पर्छ र अकमकाउँछौ । हाम्रो असजिलो जितेन्द्रले बुझेर उनको परिचय दिँदै भन्छन्, ‘यो हाम्रो कान्छी छोरी हो । यसलाई तिमीहरूले पहिले देखेका थिएनौँ त्यसैले चिन्न नसकेका हौ । यसले राम्रो साहित्य रचना गर्छे । कवितामा पुरस्कार पनि पाएकी छे । अहिले बी.एड.गर्दै छे । जितेन्द्रले यसरी परिचय गराउँदा उनी लाज मानेर निहुरिँदै आदेशका लागि पर्खिरहन्छिन् । ‘जाउ, आमालाई मुकुन्द बाबु र अन्टी भेट्न आउनु भएको छ भनेर पठाई देऊ र मीठो चिया बनाएर ल्याउ । फेरि मीठो चियाभन्दा चिनी धेरै हालेर ल्याउ भनेको होइन नि ? भन्दै हाँस्छ र देवी पनि हाँसेर नै ‘हस्’ भनेर जान्छिन् ।

देवी गएपछि जितेन्द्रले कुरा निकाल्छ, ‘निम्ता पढेर तिमीहरूलाई थाहा भयो नै होला यसैको विवाह हुन लागेको हो । उमेर छँदैमा सबै कुरा मिलाई दिनुपर्छ, पढ्छे पनि घरगृहस्थी पनि बसाउँछे, होइन त मुकुन्द ?’ भनेर उनीबाट समर्थन खोज्छ ।

विवाहबारे कुराहरू थाहा नभए पनि उमेरमा नै विवाह गराई दिनुपर्छ भन्ने ठीक मानेर ‘हो, नि । विचार पुर्‍याई दिनुपर्ने हामी अभिभावकहरूले त हो’ भनेर म चुप लाग्छु ।

स्वयम्सँग उनको मनले सफाइ माग गरिरहेकोले हो कि उनी व्याख्यात्मक शैलीमा बोलिरहन्छन्, ‘के गरुन् यिनले ? विदेशमा जस्तो गरी यहाँ जोसँग मन बस्यो त्यसैसँग खुरुक्क जानुलाई पनि हाम्रो समाजमा राम्रो मानिँदैन । अनि यिनीहरूले समाजलाई हेर्ने कि आफूलाई ? यत्रो उमेर कसरी काटोस् भन त ?’ यी शब्दका साथ उनी भावुक हुन्छन् र चुप लाग्छन् । आफ्नो लक्ष्यमा हठ रहेका उनका आँखामा आएको चमकले बताइरहन्छ ।

भाउजूले पनि उनैलाई साथ दिँदै थप्नुहुन्छ ‘भविष्यमा यसलाई साथ कसले दिने, बाबु ? हामी सधैँ रहने होइनौ । समाज हाम्रो यस्तै छ । एक्ली स्वास्नीमान्छेलाई सहयोग होइन बरु हेप्छन् । सानासाना कुराहरू उठाएर घोचिरहन्छन् ।’

‘यसैले म भन्दैछु दुवैपक्षलाई सुहाउने चलन ल्याई समाज र व्यक्ति दुवैलाई इज्जतपूर्वक संरक्षण दिने व्यवस्था हामीले किन नभित्र्याउने, भन त ? हाम्रो संस्कृति र सामाजिक रीतिस्थितिलाई पनि जीवनशैलीमा समयानुकूल सुख, शान्ति र संवृद्धि ल्याउन परिवर्तन गर्दै लैजानु पर्छ भन्नेपट्ट िनसोचेर त्यसैलाई अठ्याई हामी बस्न चाहन्छौँ अनि भत्किरहन्छौँ । हाम्रो अगाडि विगतका स्थितिहरू उदाहरणस्वरूप छन् र पनि अगुवा हुन चाहँदैनौँ । डराउँछौँ हामी कुरा बुझ्यौ ? जितेन्द्रले आवेगमा आएर सबै कुरा भन्छन् ।

जितेन्द्रका यस्ता भावना र विचारलाई समर्थन गर्दै सफला भन्छिन्, ‘हो त । हिजोको कडा संस्कृतिले बाँधेको महिलाको जीवन गतिलाई समेत सामाजिक परिवर्तन भई कानुनले संरक्षण दिँदै आएको कति छ कति । सतीप्रथालाई भनँु त्यो चलनलाई अहिले अपराध मानिसकेको छ । त्यस्तै भएको छ बहुविवाह र बाल विवाह । नारी शिक्षाले महत्त्व पाउँदैछ । पहिलेको सम्झेर आजको समाजलाई हेर्दा कहीँ यो स्वप्न भ्रम त होइनजस्तो लाग्न जाँदैन र ? मुख्य कुरा एउटै छ अब हामीले कस्तो परिवर्तन भित्र्याउन अग्रसर हुनुपर्ने हो ? आजको आवश्यकता के हो ? समयले के माग्दै छ ? विश्वको आवाज कस्तो छ ?

देवीको विवाहलाई लिएर यत्रो बहस चले पनि यसको रहस्य अझै खुलेको छैन । यति लामो साथीको सम्बन्ध ऊसँग भए पनि उसको घरमा देवीलाई पहिले कहिल्यै हामीले देखेका थिएनौँ । फेरि उनको विवाहले यत्रो महत्त्व पाउनुको रहस्य के हुनसक्छ ? त्यो बुझ्ने उत्सुकता र जितेन्द्रलाई समवेदना दिनु पर्ने कुरा सुनेकाले विषयहरू उठाउने आधार बनाउन मुकुन्द बोल्छन्, ‘चोटलाई बिर्सेर आफ्नै तर्कले मनलाई बुझाएर बस्न सकेको तिमीलाई देख्दा लाग्छ साँच्चिकै तिमीसँग जितेन्द्रको शक्ति रहेछ । सायद, म नै तिम्रो ठाउँमा भएको भए पनि यस्तो हुन सक्दिन थिएँ ।’

मैले यसरी कुरा उठाएको मात्र के थिएँ उनैले भन्न थाल्छन् । ‘तिमीले थाहा पाइसकेको हुनुपर्छ मेरो जवान एक्लो छोराको विवाह गरेको एक वर्ष पनि पुग्न पाएको थिएन, एक्कासि उसको मृत्यु भयो । बचाउने कुनै उपाय पनि हामीले गर्न पाएनौ । त्यस्तो चोटलाई सहेर बस्नु पर्दा र यही हातले त्यसलाई दागबत्ती दिनुपर्दा म फुटेर चकनाचुर भएको थिएँ र त्यसपछि तिनै सिसाका टुक्राहरू बटुलेजस्तै गरी दुःखजति बटुलेर त्यसै भित्रबाट सुख खोजे र जीवनलाई हेर्ने प्रयासमा लाग्दैछौँ । यो विवाह त्यही दुःखबाट प्राप्त गर्न खोजेको सुख हो । देवी हाम्रो त्यही छोराकी विवाहिता हो । हामीले जन्माएको या धर्मपुत्री ल्याएको नभई समाजले विवाहबन्धन गाँसेर हामीलाई सुम्पिएकी छोरी हो । यसलाई दुःखको दलदलमा दब्दै जानुबाट जोगाउनु र नयाँ जीवन हामीले दिनु पर्छ भनेर लागिरहेका छौँ ।

हामी सबै स्तब्ध भएर सुनिहरन्छौँ । भाउजूले लामो श्वास तान्दै भन्नुहुन्छ- ‘जस्तै दुःखलाई पनि आँसुले बगाएर सहन्छु भनेर तयार हुँदा हामी नै तमासा हुन पुग्यौं । तिनताका अहो Û कसले के मात्र भनेनन् । छोरा आफ्नो बितेको छ त्यसमाथि नानाथरिका कुरा पनि हामीले नै सुन्नु पर्दथ्यो । यो बिचरी देवीले ती शब्दवाण सहन नसकेर बीचबीचमा मुर्छै पर्दथी । उसलाई सम्झाउने बुझाउने काम हामी अर्का दुःखीले नै गर्नु पर्दथ्यो । हाम्रो चलन कस्तो रहेछ थाहा छ ? यस्तो शोक परेको बेलामा आफ्ना आमाबाबुले एक वर्षसम्म छोरीको मुख हेर्न नहुने

रे । त्यसैबेलादेखि हो हामीले यो देवीलाई कान्छी छोरी भन्न थालेका ।

“भन्न थाल्यौँ मात्र होइन, छोरी नै मान्यौँ, भन न । यो हामीले नजन्माएकी कान्छी छोरी हो । त्यसैबेला देवीले चिया ल्याएर हाम्रो अगाडिको टेबुलमा राखेर जान खोज्छिन् । यस पटक म उसको अनुहार गडेर हेर्छु । उनी राम्री मात्र होइन माया लाग्दी, सुशील केटी देखिन्थिन् । मैले उनलाई त्यसरी हेरेकोले अप्ठ्यारो लागेछ क्यारे, अलिअलि लाज मानेर सकसकाउँदै फर्किहाल्छिन् ।

हातमा चुरा र निधारमा रातो टीका लगाएकी, रातै सलवार कुर्ताको पहिरनमा आएकी उनी त्यहाँबाट फर्किसकेकी भए पनि उनको आकृति मेरो सामुन्ने आइरहन्छ । मेरो मनमा थुप्रै प्रश्नहरू उठ्न थाल्छन् र सोधिहाल्छु,” देवीले विवाह गर्न राजी भइहालिन् त ?

“कहाँ मान्नु Û म पढ्छु, मलाई पढाइ दिए पुग्छ, जागिर खाएर जीवन निर्वाह गर्छु । अनि के रे, तपाईंको छोराको अर्धाङ्गिनी भएर नै तपाईंहरूको सेवा गर्छु भन्दै थिई । त्यो संस्कार बोलेको हामीले बुझ्दै थियौँ । त्यसैले उसलाई सम्झाइबुझाइ फकाइरहृयौँ । भन्यौँ- हेर जिन्दगीले गति खोज्छ र यससम्बन्धी निर्णय लिँदा भावुक भएर होइन, व्यावहारिक भएर समय रहँदा नै लिनुपर्छ नत्र पछुताउनुपर्ने स्थिति पनि आउन सक्छ । दाम्पत्य जीवनमाथिको आकर्षण र मातृत्व भावनाले मनलाई जलाउन थाल्दा के गछ्यौर्ँ ? त्यसबेला उठेको वितृष्णाले जुन बाटोमा पनि दौडाउन सक्छ । अहिले हामीलाई स्याहार्छु भन्छ्यौ भोलि तिम्रो मनले म नष्ट भएँ भन्ने सोच्न थालेपछि हामी नै तिम्रो अल्झो र झर्कोको कारण हुन जान्छौँ । तिमीले आफ्नो साथीहरूसँग पनि सोध र यो हामीले सोची विचारी ल्याएको निर्णयलाई जिद्धी गरेर नपन्छाऊ । हेर, यो चलनलाई समाजमा भित्र्याउन सफल भयौँ भने तिमी मात्र होइन अरू धेरै एकल जीवन बिताइरहेकाहरूको जीवनले एउटा सामाजिक रीतिले बाटो समात्ने छ । उसलाई यता यसो भन्यौँ, उता उसलाई अपनाउने केटाको खोजीमा पनि लाग्यौँ । आफ्नै एक परिचितको छोराले विवाह गर्न राजी भएको खबर आयो । त्यसपछि देवीका आमाबाबुलाई मनाउनु थियो । अति ठूलो समस्या बनेर यो आई लाग्यो । मेरो प्रस्ताव सुन्नासाथ उनीहरू बुर्लुक्क उपि|mए र यतिसम्म भने कि उसले पाउने अंशबाट वञ्चित गराउन यस्तो कुरा ल्याएको रे । हाम्रो मन यस्ता कुरा सुनेर दुख्यो र पनि उनीहरूलाई सम्झाउँदै झकझकाउँन भने छोडेनौँ ।

जितेन्द्रले यस्तै के के भन्दै थिए । मलाई कता कता एउटा रोचक कथा सुनिरहेको झैँ लाग्छ । म उत्सुक हुँदै कुरा बिसाउन नदिन सोद्धै जान्छु । उनको चेहराको रङ्ग बदलिन्छ र हाँस्दै भन्छन्, ‘जब देवीले हाम्रो प्रस्तावलाई स्वीकारेको बताई त्यसपछि हामी आफू बलियो भएको ठान्यौँ । अनि ती आमाबाबुको त्यस्ता शङ्कालाई हटाउन हाम्रो सम्पत्तिबाट हाम्रो मृत्युपछि उसले पाउने भाग सुरक्षित राखिनेछ भनेर मञ्जुरीपत्र लेखेर पठाएँ र फेरि यसरी सम्झाएँ, उमेरलाई थुनेर राख्ने प्रयास गर्नु ठूलो भूल हुनेछ । बाँध फुटेर छताछुल्ल भई जताततै नोक्सानी पुर्‍याउन पनि सक्छ । कतिका जवान छोरीहरू के के भए, कताकता पुगे वा पुर्‍याइए । यिनीहरूको जीवन अनिश्चित अधिकारहीन त्रस्त भएर रहनु परेका कुराहरू पनि तपाईंहरूलाई थाहा होला । अहिले हामी देवीलाई विवाह गराएर पठाउँदै छाँै । उनको दुइटा माइती हुँदैछ । देवीलाई हामीले मनाइसक्यौँ । अब तपाईंहरूले यस प्रस्तावमा ध्यान दिएर छोरीको भविष्य सोचेर प्रमोदको छोरा लोकसँग देवीको विवाह हुन लागेकोमा स्वीकार्नोस् र निम्तोमा तपाइर्ंहरूको नाम दिन राजी हुनोस् । विवाह एक महिनापछि हुँदैछ भनी धम्कीको भाषा बोलेपछि त्यसको भोलिपल्ट नै टेलिफोन गरेर आफूहरू सहमत भएको खबर दिए ।

अन्त्यमा राम्रै निर्णय लिए छन् तिनीहरूले पनि । वास्तवमा विचारमा परिवर्तन यसरी नै आउने त हो । लौ, यो नौलो विवाहमा निकै रमाइलो हुने भयो । केही सम्झेझैँ गरी सोध्छन्- “अग्नि साक्षी राखेर विवाह गर्ने भन्छौ, पुरेत पनि ठीक पारिसक्यौ

त ?”

“अबको समस्या यही त भएको छ । हाम्रो पुरेतले यस्तो विवाह म गराउन्न भनिसके ।”

“किन सक्दिन रे । त्यो पनि भने होलान् ।”

“भने नि, विधवाको विवाह गराउने विधि हामीलाई थाहा छैन । कहाँ सासूससुराले बुहारीको विवाह अर्को केटासँग गराइदिने कुरा निकाल्नु हुन्छ ? उनैको आमाबाबुकहाँ पठाइ दिनोस् । तिनीहरूले छोरीलाई मन्दिरमा लगेर टिकाटाला गराइदिन्छन् ।”

“ए त्यसो भनेर पन्छिए छन् । अनि तिमीले केही भनेनौ ? भन्दै उत्सुक भएर कुरा सोद्धा जितेन्द्रले पुरेतलाई दिएको जवाफ भाउजूले यसरी सुनाउनु हुन्छ, “भन्नु भयो नि । त्यत्रो जमातको सामुन्ने आफ्नो गोत्र परिवर्तन गरेर छोरीलाई दिएका कहाँ गएर लिनोस् तपाईंहरूको छोरीलाई तपाइर्ंहरूकै गोत्रमा फर्काइ दिएका छौँ भन्न मिल्ने चलन या नियमहरू पनि तपाईंहरूसँग छैन होला । अनि कसरी फर्काउने ? हामी बूढाबूढी यिनका बाबुआमा सबै मिलेर यो बुहारीको विवाह रीति नियमअनुसार पठाउन चाहँदैछौँ । यसमा किन सहयोग गर्न हिँच्किचाउँदै हुनुहुन्छ । जब तपाईंहरूलाई विधुरको विवाह गराउन नियमले रोक्दैन भने विधवाको विवाह गराउनलाई मात्र किन यस्तो कुरा

गर्नुहुन्छ ? यी विचराहरूले आफू खुसी विवाह गरिहाले छन् भने पनि यिनीहरूबारे कति नराम्रा कुरा गर्छन् । अनि यिनीहरूले के गरुन् ? भनेर कड्के पछि केही नबोलेर खुरुक्क गए र अस्ति हामीकहाँको श्राद्ध गराउन आएनन् । यस्तै छ यहाँ । कहाँ के मात्र मिलाउने भई सक्यौ हामी त ? ” भनेर भाउजू एकोहोरोसँग भित्तामा हेरिरहनुहुन्छ, जहाँ राधाकृष्ण एउटै पीङमा बसेर झुलिरहेका तस्बिर टाँसिएको छ ।

“यी यस्तै कुरा मिलाउन पर्ने भएकोले निम्ता कार्डमा एक महिनापछिको विवाहको मिति दिएका हौं । हिजोआज निम्तालाई लिएर सोध्नेहरू त्यतिकै छन् र असमर्थता व्यक्त गर्ने पनि थुप्रै भइसके । अरूलाई के भन्ने आधुनिक विचारधारा राख्नुपर्छ भन्नेहरू पनि यो कस्तो चलन ल्याउन लागेका हुन् भनेर भाग्दै छन् ।”

“त्यही त भन्या, हाम्रो समाज र हामी दुवै गजवका छौँ । तिमीले कसरी यस्तो अवस्थामा पनि यतिकालाई सम्झाउन सक्यौ । म छक्क परिरहेको छु । तिमीलाई बेहुला जुटाउन पनि गाह्रो नै पर्‍यो होला, होइन ? यो प्रेम विवाह होइन क्या रे ?” भन्दै मुकुन्दले कुरालाई तान्छन् ।

यो विषय नै त्यस्तै छ । जति ताने पनि नसकिने । एकपछि अर्को कौतुहल उठिरहन्छ । प्रेम विवाह नभए पनि केटाको समझदारीले गर्दा यो पक्षलाई मिलाउन अरूलाई भन्दा सजिलो परेको थियो भन्ने अर्थाउन जितेन्द्रले भन्छ, “यो केटाले हाम्री देवीलाई पहिले नै देखेकाले र उसका रचनाहरू मन पराएर खोजी खोजी पढ्दा रहेछन् । त्यसैले गर्दा विवाहको कुरा चल्नासाथ खुसीले “हुन्छ भनी हालेछन् । आमाबाबुले विधवा केटीसँग के विवाह गर्ने भन्दै थिए रे तर यही केटाले सम्झाउने बुझाउने गरेछन् ।”

यस्तै कुरा हुँदै थियो ढोकामा कोही आएको सङ्केत दिँदै कुकुर भुक्न थाल्छ । जितेन्द्रले झ्यालको पर्दा हटाएर हेर्दा पुरेतलाई देख्छन् र श्रीमतीलाई ढोका खोल्न पठाउँछन् । उनी गएपछि मतर्फ फर्केर खुसी हुँदै भन्छन्, ‘कुरो सबै मिलेजस्तो छ । यी पुरेत पनि ‘हुन्छ’ विवाह गराउँछु भन्नै त आएका होलान् । हेर, मुकुन्द राम्रो उद्देश्य लिएर निरन्तर लागिरहृयौँ भने दुःख खेप्नु पर्ला तर सफल भने भइँदोरहेछ । यो हाम्रो अभियानले विवाहको रीतिरिवाजमा नयाँ अध्याय अब थप्ने छ । सतीप्रथा हटेपछि नारीपक्षमा न्याय ल्याउने यही चलन हुनेछ “रीतिपूर्वकको विधवा विवाह ।”

उसको खुसीमा अरू खुसी थप्न भन्छु, “सबै कुरो मिलिहाले छ । के अब जग्गे गाड्नु मात्र बाँकी छ, होइन भनेर ठट्टा गर्दा जितेन्द्र पनि हाँस्दै भन्छन्, “अर्को एउटा काम पनि बाँकी छ । बेहुलालाई फूल, अवीर र लावाले स्वागत गर्नु ।”

सफलाले यस्तै प्रसङ्गलाई रोचक बनाउँदै भन्छिन्, “अनि देवीलाई हामीले बिदा गर्नु पर्दैन र ?” सबैले एकै पटक विजयको हाँसो हाँस्छौ । कोठाभरि खुसी नै खुसी छाएको हुन्छ । यस्तै बेला देवीको कोठामा प्रवेश हुन्छ । यस पटक म उनलाई बधाई दिन्छु । उनी न त खुसी भएर हाँस्छिन्, न त केही भन्छिन् । मात्र

निहुरी रहन्छिन् । म देख्छु छिनैमा उनका आँखाबाट आँसु र्झन थाल्छन्-तप….तप । म बुझ्न सक्दिन-ती आँसु कस्तो अनुभूतिले झरेका हुन् ?

(श्रोत : मधुपर्क बैशाख, २०६८)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.