~इद्रिस सायल~
म कमाउन अरब गएको छ महिना भइसकेको थियो । साउदी अरेबियाको एउटा कम्पनीले मोजरा (खजूरको बगैँचा) मा काम दिएको थियो । मैले खजूर टिप्ने काम गर्नुपथ्र्यो थुप्रै कामदारहरूसँगै ।
मेरो तलब ५०० साउदी रियाल थियो । अस्ति मात्र श्रीमती बानोको नाममा रु. ३० हजार पठाएको थिएँ र फोन गरिदिएको थिएँ- बानो, तिम्रो नाममा रुपियाँ पठाइदिएको छु । ईदको खर्च पनि यसैमा छ, लिनु ।
“कति रुपियाँ पठाउनुभएको छ ?”
बानोले सोधेकी थिइन् ।
“३० हजार ने.रु. ।”
मैले उताबाट जानकारी दिएको थिएँ ।
एकदिन बानोले पनि फोन गरिन् र भनिन्- “समसाद, कोही घर आयो भने तपाईंले टिपेको चिनो खजूर पठाइदिनु होला ।”
झण्डै तीन वर्षपछि अरबबाट कमाएर फर्कें म ।
तत्कालै भाइहरू मेरो आँगनमा देखिए । भेटघाटपछि भाइहरूले भन्नथाले- “दादा, केही चिनो त दिनोस् ।”
“के चिनो दिने ?”
मैले सोधेँ ।
“एउटा घडी नै भए पनि दिनोस् ।” भाइहरूले भने ।
“घडी त ल्याएको छैन । खजूर मात्र ल्याएको छु, लेऊ ।”
मैले भाइहरूको हातमा एकएक मुठी खजूर राखिदिँदै भनेँ । भाइहरूले खजूर त लिए तर त्यही दिनदेखि बोल्नै छोडिदिए ।
बहिनीहरू पनि मलाई भेट्न आए र भने- “हामीलाई केही चिनो दिनोस्न, दादा ।”
“के चिनो ?” मैले सोधेँ ।
“एउटा-एउटा माला नै भए पनि दिनोस् ।” बहिनीहरूले भने ।
“माला त ल्याएको छैन । यही खजूर मात्र ल्याएको छु ।”
मैले बहिनीहरूलाई देखाउँदै उनीहरूको हातमा एकएक मुठ्ठी खजूर राखिदिँदै भनंे ।
त्यसपछि त बहिनीहरू पनि माइत नै आउन छोडिदिए ।
श्रीमती बानो भने पैसा जति लिएको ऋण तिर्दैमा सकिए पनि त्यही खजूरमा रमाइरहेकी थिई र खजूर टिप्दा भाँच्चिएको मेरो हातमा मल्हमपट्टी गरिरहेकी थिई ।
(श्रोत: मधुपर्क चैत २०६५)