कथा : ऐंजेरु

~डा. राजेन्द्र विमल~Dr Rajendra Bimal

शुभ्र हिमखण्डले निर्मित बाल-प्रतिभा सेतो परेवाजस्ती, स्वच्छ जलराशिमा फुलेको श्वेतकमल जस्ती, दुग्ध-धवल स्फटिकले बनेको बाल-आकृति जस्ती, अथवा भनुँ, पावस ऋतुको अविरल वर्षामा नुहाएको कुनै हरितिमामय निभृत कानुनमा बुर्कुसी मार्दै खेल्ने-रमाउने सानो, सेतो खरायो जस्ती-कल्पिता ! ऊ आँगनमा आउनासाथ अकस्मात् ऋतुपरिवर्तन भएर बसन्त आएको र हजारहजार चराचुरुङ्गी चिर्बिर-चिर्बिर कलरव गर्न थालेको मधुर अनुभूतिमा म डुब्ने गर्थे । सडकमा पनि हिँड्ने होइन, उफ्रिदै जाने । झोला बोकेका केटीहरूको बथानमा डब्बा बनाई आफू इन्जिन बनी रेलजस्तै दौड्दै दिनहुँ स्कुल गइरहेकी कल्पितालाई झल्झली सम्झन्छु म -“………पी-पी-पी-पी… छुक्छुक् छुक्छुक् … ।”

कल्पिता मेरो मित्र प्रभु ढुङ्गेलकी छोरी छे, तर मलाई मेरै छोरीको अनुभूति दिएकी छे, त्यसले । मैले त्यसलाई जन्मिएकी, पलपल बढ्दै गएको देखेको छु । मेरो काँधमा बसी, बुइँ चढी त्यसले अनगिन्ती पटक मलाई घोडा बनाएकी छे- हट् घोडा हट् ! त्यसैले बाह्र वर्षको उमेरमा पनि ऊ मेरो बुई चढ्न सक्छे, मेरो खल्बाटमा तबला बजाउन सक्छे, मेरो घ्याम्पे भुँडीमा बक्सिङको अभ्यास गरिरहन सक्छे ।

मलाई मेरो करेसावारीलाई एउटा सानोतिनो फूलवारीको रूपमा सजाउने सोख छ । थरीथरीका फूलहरूका विरूवा मैले मेरै हातले रोपेको छु । आँप, अम्बा, लिचीका दुई दुईवटा रूखहरू पनि झ्याम्मिएका छन् । जानुभन्दा लगभग दुई महिना अगाडि जब त्यो आएकी थिई, म मल्लिका आँपको रूखको जरामा पहेँलो माटो हालिरहेको थिएँ । रूख चार हात जत्ति अग्लो होला । नर्सरीबाट किनेर ल्याएको थिएँ । यस सानो रूखमा पनि आँप लटररम्म भएर फल्छ । कल्पिता कुन्नि कताबाट छुक्छुक् … छुक्छुक् गर्दै, कुद्दै आई र मेरा आँखा छोपिहाली । मैले त थाहा पाइसकेको थिएँ । तैपनि नचिनेको स्वाङ् गर्दैँ श्रीमतीको नाउँ लिएँ – ‘वीणा … त्यो खितितिती गरी हास्न थाली र पर भागेर चिढाउन थाली – “अङ्कल, हजुरले त छोरीलाई पनि चिनिसिन्न । … आजदेखि मेरो नाउँ वीणा, आन्टीको नाउँ कल्पिता । …” मैले पनि एकछिन रमाइलो गर्ने उद्देश्यले त्यसलाई लखेटेँ – “सैतान ! पर्ख, तालाई…” उसले रूखहरूको आड लिई मलाई फूलबारीमा सात फन्को घुमाई । वीणा यो सबै हेर्दै थिई । थाक्ली भनेर वीणाले पछाडिबाटै कल्पितालाई च्याप्प समाई । फरियाको आँचलले त्यसको निधार र मुखभरि आएको पसिना पुछिदिई- “छोरी, ता अब ठूली भइस् । अझै अङ्कलसित केटाकेटीजस्तै लुटुपुटु गर्दा अरूले के भन्छन् ?” त्यो फेरि खितितिती हाँसी- “हामी बाबुछोरीको बीचमा बोल्ने को ? … म त मुद्दा ठोक्छु ।” मलाई हाँसो उठ्यो ।

म मल्लिकाको रूखमुनि फर्केर आइसकेको थिएँ । कल्पिता र वीणा पनि त्यहाँ मुसुमुसु हाँस्तै आइपुगे । मल्लिकाको एउटा हाँगोमा मेरो दृष्टि पुगेको थिएन । त्यहाँ एउटा ऐँजेरू उमि्रएको रहेछ । कल्पिताको दृष्टि त्यहाँ पुग्यो । कराई – “अङ्कल, अङ्कल रूखमाथि रूख उम्रियो ! मैले भनेँ – “होइन बेटा, त्यो ऐँजेरू हो । त्यो परजीवी हुन्छ । आँपको रूखको छातीमा उम्रेर त्यसैको रस सोसी झ्याङ्गन्छ । माटोमा यसको जरै हुँदैन ।”

“ए, यस्तो अर्काको रस सोस्ने, माटामा जरा नहुने ऐँजेरूलाई त लुछेर फाल्नुपर्छ ।” भनी र मेरो अनुमतिको प्रतीक्षा गर्दै नगरी त्यसले उफ्रिईउफ्रिई त्यस परजीवी वनस्पतिलाई लुछेर फालिदिई ।

यता घरैपिच्छे मधेसवादीहरू च्याउझैँ उम्रिन थाले । मधेसको हावामा एउटा विष बैरियो-साम्प्रदायिकताको विष । विषको मात्रा बढेर मर्ने-मार्ने क्रम बढ्यो । पहाडेको घरमा ढुङ्गा बर्सिन थाले । पसलहरू लुटिए । रातिराति फोनमा धम्की दिन थालियो । भर्खर अस्तिको कुरा हो- कल्पिताका पिता र मेरा सहोदरसदृश मित्र प्रभु ढुङ्गेल अकस्मात् आइपुगे । उनी असाधारणरूपमा अत्तालिएका थिए । कोठामा आएर सोफामाथि नबसी भुँइमा ओछ्याइएको सतरञ्जामाथि लम्पसार भई पल्टिए । पसिनाले कमिज ल्याफल्याफ्ती भिजेको थियो । अझै स्याँस्याँ गर्दै थिए । प्रभुको यो अवस्था देखि वीणा पनि आत्तिई । गिलासमा चिसो पानी लिएर आई र ख्वाउन थाली । प्रभु जब अलिक आश्वस्त भए, उनका आँखाबाट आँसु र्झन थाले । बडो बल गरी बोले – “यार, मैले एउटा डरलाग्दो सपना देखेँ ।…मलाई मधेसवादी आन्दोलनकारीहरूले घेरे । मेरी श्रीमती दुर्गाको टाउको लठ्ठी लिएर फोडे । … उसको रगतको फोहोरा छुट्दै गर्‍यो । म र कल्पिता भाग्यौँ । … एउटाले कल्पितालाई पछार्‍यो र …” यसपछि उनी केही बोल्न सकेनन् । फेरि हिक्का छाडी रून थाले । केहीबेरपछि फेरि बल गरी बोल्न थाले – “तपाईंलाई हामीले साथीसँगै दाजुको पनि दर्जा दिएका छौँ । … जब यी मधेसीहरूले हामीलाई लखट्दै थिए, हामी जेनतेन तपाईंको शरणमा पुग्यौँ । तपाईं ढोकामा उभिएर रमिता हेर्दै हुनुहुन्थ्यो । हामीलाई देखेर तपाईंले ढोका त खोलिदिनुभयो, तर जब आततायीहरूको हूलले तपाईंलाई कड्केर सोध्यो -“ए, यहाँ कुनै पहाडे लुक्न आएको छ ?” तपाईं मायावी राक्षसझैँ मुसुमुसु हाँस्नुभयो र भन्नुभयो -“लैजाऊ, मैले तिम्रा सिकार सुरक्षासाथ राखेको छु ।” अनि तपाईंले म, दुर्गा र कल्पितालाई ती दानवहरूको जिम्मा लगाइदिनुभयो । तिनले दुर्गा र कल्पितालाई… ।” तिनी फेरि कङ्काल- शब्द गरेर रून थालेका थिए । -“बखतमा… दाजु… तपाईंले…. पनि… मलाई…पहाडे नै…..देख्नुभयो ।” मैले धेरै सम्झाएँ -“सपना भनेको त सपना हो । हामी त पुस्तौँदेखिसँगै दुःखसुख भोगेका हौँ ।…. सपनाको कुरालाई लिएर यसरी भक्कानो छाडी रूनुपर्छ ?” …. तर उनको रूवाई थामिएन । ….

प्रभु ढुङ्गेल पेसाले शिक्षक हुन् । उच्चतर माध्यमिक विद्यालय (१०+२) मा पढाउँछन् । कक्षामा भीमनिधि तिवारीको नाटक ‘शिलान्यास’ -को प्रसङ्ग चल्यो । उनले लिगलिग राज्यको चलन बताए -“राजा हुन चाहनेहरू चेपे खोलाको दोभानमा जम्मा हुन्थे र बेतोडसित कुद्थे । सबैलाई उछिनेर कोटमा पुग्नेलाई राजा घोषित गरिन्थ्यो ।” एउटा ज्याद्रो जुरूक्क उठ्यो -“सर, त्यस दौडमा मधेसी थियो ? होइन भने पहाडेहरू जबर्दस्ती हाम्रा मालिक बने, होइन ! बिचरा प्रभु अकमक्क परे -“भाइ, यसमा पहाडे-मधेसीको कुरा कताबाट आयो ? … छनोट त लिगलिगका राजाको हुन्थ्यो, अनि उनीहरूले नै भाग लिन्थे ।” बोल्न त बोलिरहेका थिए, तर कसैले टाउकोमा जोरले ट्वाङ्ग हिर्काइदिएझैँ दिमाग फनफन्ती घुम्न थालेको थियो । यस सानो कुराले कक्षामा ठूलो बहसको रूप लियो । प्रभुमाथि व्यङ्ग्य-वाणको अनवरत् र चतुर्दिक बर्षा हुन थाल्यो । उनको मुटु छियाछिया भयो । दुई शब्द बज्राश्त्रझैं आएर उनकै दिमागमा ठक्कर खान्थे र प्रत्येक तन्तुलाई क्षत-विक्षत पार्थे -पहाडे… मधेसी… पहाडे… पहाडे… पहाडे… पहाडे… । आफ्नो कान थुनी प्रभु कक्षाबाट निस्किए । कक्षाले दिग्विजयको उत्तेजनामा भयानक अट्टहास गर्‍यो -“भाग्यो, पहाडे भाग्यो !!

आज बिहान मेरो यार प्रभु फेरि आइपुगे । मैले बस्ने र चिया खाएर जाने आग्रह गरेँ । उनले मेरो र वीणाको हात एकैचोटी समाते -“म दाजु र भाउजूलाई लिन आएको ।… बाहिर रिक्सा उभिएको छ, जाऔँ ।” उनी हामीलाई घिसार्दै कहाँ लिएर जाँदै छन् भनेको त बसस्टप पो ल्याइपुर्‍याए छन् ।

सामुन्ने विशालकाय ट्रक उभिएको थियो -हर्दै बकासुरजस्तो लाग्ने । ड्राइभरनजिकको सिटमा दुर्गा र कल्पिता बसेका थिए । छानोमा पलङ, कुर्सी, बाल्टी आदि लादिएका थिए । प्रभुले हामीलाई ट्रक नजिक लगे । कल्पिता मलाई देख्नासाथ ट्रकबाट लगभग हाम्फालेर तल झरी । प्रभुले भने -“दाजु, हामी सदाका लागि जाँदैछौँ । कल्पिताले भेट नगरी जान मानिनन् ।….”

कल्पिता मेरो छेउमा आइपुगेकी थिई । मलाई अँगालो हाली । भुँडीमा बक्सिङ हान्दै बोली -“अङ्कल, एकदिन मैले हजुरको बारीको आँपको रूखमा उम्रिएको ऐँजेरू लुछेर फालिदिएकी थिएँ । … हामी पनि मधेसको रूखमा ऐँजेरू नै रहेछौँ क्यारे ! … हामी हाम्रो माटोको खोजीमा जाँदैछौँ ।… नबिर्सनुहोला । …” त्यो बुरूक्क उफ्रेर ट्रकमा बसी । दुर्गा माटोको मुर्ति बनेकी थिइन् । प्रभु अज्ञात यात्रामा हिँडेका जस्ता देखिन्थे । सबै टाँस्सिएर बसेका थिए । ट्रकको सिसाबाट बाहिर तीनवटा कोमल, सेता हात परपरसम्म हल्लिरहे । मेरो कानमा कल्पिताका शब्द गुञ्जिरहेका थिए । म भन्न चाहन्थेँ -“तिमी ऐँजेरू होइनौँ कल्पिता । हामी सबै एउटै माटोका दूबो हौँ । हामीलाई कसैले उखेल्न सक्तैन” तर त्यहाँ सुन्ने मानिस कोही थिएन ।

(श्रोत: मधुपर्क कथा बिशेषाङ्क )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.