कथा : पाण्डुलिपि

~कुमार नगरकोटि~

१) अज्ञात लेखक

त्यो कुनै आदिवासी-मौसम थियो सायद….। एउटा आत्मकथाको पाण्डुलिपी मैले रहस्यमय तरिकाले हराएको थिएँ । एक वृद्ध लेखकका निम्ति त्यो एक अकल्पनीय व्यथा, चोट हुनुपर्छ । तर, मेरो कुरा भने अलि बेग्लै प्रकारको थियो । आफूले दुःख/मेहनतसाथ सिर्जना गरेको नवीन कृति हराएकोमा भन्दा मलाई आफ्नो ALZEIMER(अल्जाइमर) रोगप्रति बढी नै दुःख लागेको थियो । मलाई क्रमशः दिनप्रतिदिन बिर्सने रोगले आफ्नो सिकार बनाउँदै थियो । धेरै कुराहरू म बिर्संदै थिएँ । आफ्नो अतीत/जीवनका भावी योजना/दिक, काल र समय गजबसित मेरो स्मृतिको कालोपाटीबाट हराउँदै थिए । प्रायः झस्कन्थेँ । मेरो निजी मनोचिकित्सकका अनुसार म यस्तो अजीव प्रकारको रोगको मध्यम चरणमा थिएँ –
विगत केही समयदेखि म आफ्नो जीवनी लेखनमा व्यस्त थिएँ । आफ्नो जीवन कुनै खास महत्वपूर्ण नभए पनि म अनायास त्यस विधाप्रति आकर्षित भएको थिएँ । सिर्जनात्मक अन्वेषणको अन्त्य भएपछि सायद मजस्ता बूढा लेखकहरू आत्मकथातिर आकर्षित हुन्छन् । मेरा सम्पादकहरू एवं प्रकाशकहरूले मलाई अनावश्यक उचालिदिएपछि मैले त्यस्तो ‘आत्मकथा’ लेख्ने कठोर निर्णय लिएको थिएँ । आत्माको अस्तित्वबारे अनभिज्ञ मैले कसरी त्यस्तो कृति (या विकृति) लेख्‍ने आँट गरेँ !

मेरो जीवनी अर्थात् मेरो तथाकथित आत्मकथाको नाम उनीहरूले नै न्वारान गरिदिएका थिएः ‘पाण्डुलिपि’ ।

आफ्नो जीवनको लामो अध्याय मैले तपाईंको कोलाहल सहरमा बिताएँ । यसमा अफसोच गरिहाल्नुपर्ने अब कुनै कारण रहेन । कला, साहित्य इत्यादिको सेवाका निम्ति भनी मैले मेरो जति आयु छुट्‌याएको थिएँ, त्यो अब समाप्त हुँदै थियो । अब अचाक्ली बूढो भइसकेको थिएँ –
साहित्यमा बूढा लेखकहरूको कुनै सुरक्षित ठाउँ थिएन । त्यसैले, वृद्धावस्थाका निम्ति भनी मैले काठमाण्डूमा पुस्तौँदेखि रहँदै आएको आफ्नो पुख्र्यौली घर एउटा लोकप्रिय युवा जादुगरलाई बेचिदिएँ र चापागाउँको दक्षिण भेगमा एउटा आधुनिक आश्रम बनाएँ –
‘आश्रम’ शब्दले मेरा पाठकहरूलाई एउटा वैदिक समस्या प्रदान गर्ला कि भन्‍ने मलाई अलिकति त्रास छ । क्षमा पाऊँ । यो आश्रम कुनै धर्मभीरु/आध्यात्मिक-बाबा या यस्तै जोगी, सन्यासी बसोबास गर्ने परम्परागत आश्रम कदापि थिएन । त्यहाँ त बरु एउटा निर्वासित बूढो लेखक बस्ने गथ्र्यो जो प्रायः आफ्नो नाम बिर्सन्थ्यो/काम बिर्सन्थ्यो अनि राम बिर्सन्थ्यो –
म क्रमशः अल्जाइमर रोगले ग्रस्त हुँदै थिएँ । मनोचिकित्सकले क्रियापूर्ण दिएका रङ्गीचङ्गी ट्याब्लेट एवं क्याप्सुलमा म अनावश्यक रूपले जीवित थिएँ –
(जमानामा, मेरो पनि कुनै नाम थियो होला ! त्यो व्यक्तिवाचक संज्ञा जसले आफ्नो परिचय बोकेको थियो । घरेलु स्त्रीले आफ्नो पति-परमेश्वलेको भुँडी बोके भैँ मैले पनि आफ्नो नाम बोकी पञ्जीकृत कार्यालयहरूमा जन्मदर्ता, मृत्युदर्ता इत्यादि गर्न अवश्य गएको हुँदो हुँ….)
आश्रममा म पाण्डुलिपि-चिन्तन गर्थेँ । आश्रमकै पोखरीमा निर्वस्त्र स्नान गर्थेँ । वज्रवाराही जङ्गल घुम्थेँ । फूलचोकी डाँडा पुग्थेँ कुनै फकीर भैँ । गोदावरी-कुण्ड/बोटानिकत्व बगैँचा /सन्तानेश्वर मन्दिरको थुम्के डाँडाहरूमा म देखा पर्थेँ –
फर्पिङ/दक्षिणकाली/लेले नाउँ गरेका ठाउँमा विवर्ण हुन्थेँ । कर्मनाशा अनि नख्खु खोलाका बगरमा हुटिट्याउँ अनि चिबे चरा अनि गौँथलीहरूसित मनोवाद गर्थेँ –
मेरो आश्रममा साइबेरिया/मङ्गोलियाका चराचुरुङ्गीहरू हिउँदे छुट्टि मनाउन आउँथे । ती अतिथिहरू मेरा असल मित्र थिए । वास्तवमा, चराहरू विश्वका असल नागरिक हुन् । किनभने, उनीहरूसित सीमित देश, राज्य, भूगोल या दसगजा केही हुँदैन –
पासपोर्ट प्लस भीसा नै नलिई विश्व-यात्रा गर्ने यी चराहरू आफ्नो भौगालिक, सांस्कृतिक जराहरू खोजी हिँड्दैनन् –
(यदाकदा, मेरा पुराना पाठकहरूले मलाई पत्र लेख्ने गर्थे । नयाँ पाठकहरूको मन चाहिँ मैले जितिसकेको थिइनँ । सप्ताहान्तमा मात्रै म आफ्नो MAIL बक्स खोल्थेँ । ती प्रेमिल एवं रमाइला पात्रहरूलाई म आश्रम छेवैको घना झाडीमा लुकीलुकी खोल्थेँ र पढ्थेँ)
वास्तवमा, ALZEIMER- कालखण्डमा म ‘पाण्डुलिपि’ लेखिरहेथेँ –
‘पाण्डुलिपि’ मध्यरातमा लेख्थेँ । कतिपय सुन्दर स्मृतिहरू Foot-नोट्समा पर्थे । अधिकांश विस्मरणीय घटना भूमिका-लेखनका निम्ति छाडिन्थे । प्रेम प्रसङ्गका सब-TITLE हरू मुस्किलले दिमागमा फुर्थे । जिन्दगीका यावत् पाद टिप्पणीहरू कहिलेकाहीँ लेखिनबाट वञ्‍चित हुन्थे । पुस्तक, अन्ततः कसलाई ‘समर्पित’ गर्ने भन्ने बारेमा पनि म भित्र प्रशस्त द्विविधाहरू थिए । तर एक दिन एक्‍कासि समाधान निस्की पो गो-
(‘पाण्डुलिपि’ मैले हिउँदका चराहरूलाई समर्पित गर्ने भएँ)

अल्जाइमर/र/पाण्डुलिपि-
म, सम्भवतः दुवैको पीडा-ग्रन्थ लेखिरहेथेँ । ALZEIMER रोगका कारण म क्रमशः बिर्सँदै थिएँ सम्पूर्ण अस्तित्वजनीत प्रसङ्गहरू । मेरो भूत वर्तमान अनि भविष्य । जन्म लिएपछि मनुष्यले मर्नुपर्छ भन्ने तत्व-ज्ञान म बिर्सन्थेँ । सम्पूर्ण मनुष्य-कर्म/क्रिया-प्रतिक्रिया नाशवान छन् भन्ने वैदिक बोध बिर्सन्थेँ । तर तपाईँले मलाई क्षमादान दिन सक्नुहुन्छ बिनभने म रोग बिशेषका कारण बिर्सन्थेँ । तपाईँको सहरमा त यस्ता मानिसहरू पनि बसोबास गर्छन् जो कुनै रोगविना नै बिर्सने गर्छन् मानव सभ्यता/ मानव-करुणा/मानवीय दया, माया एवं आस्था । अनि, मानवीय श्रद्धा …..

(त्यो पाण्डुलिपि मेरो जिन्दगीको शिलालेख थियो)

मेरा सम्पादक प्लस प्रकाशक यार्वाक ऋषि झैँ कठोर थिए । उनीहरूलाई दुर्वासा नै चाहिँ भन्न अलिक गाह्रो हुन्छ । मेरो ‘पाण्डुलिपि’ मेरै आश्रमबाट अपहरणमा परेको थियो या चोरी-सिकारी भएको थियो/ म यसै भन्न सक्दिनँ । यार्वाकहरूले त्यसलाई विशेष प्रयोजनका निम्ति भनी नष्ट गरिदिएका पनि हुन सक्छन् ।

तर मलाई लाग्छ मेरो ‘जीवनी’ या आत्मकथा जे भन्नुस्/नष्‍टै गरिहाल्नुपर्ने खालको थियो भनी पत्याउने कुनै आधार थिएन-

* * *

त्यो कुनै आदिवासी-मौसम थियो सायद….

एउटा आत्मकथाको पाण्डुलिपि मैले रहस्यमय तरिकाले हराएको थिएँ ।
सन्ध्या-बेला थियो । पाण्डुलिपि-पीडामा म झुर मनोदशामा थिएँ । हिउँदे चराहरू पनि मलाई ‘अलविदा/Good-बाइ/सायोनारा’ नै नभनी भुरुर्र भुर्र उड्दै मङ्गोलिया प्लस साइबेररियाको यात्रामा गइसकेका थिए-

पाण्डुलिपि हराएको शोकमा त्यो साँझ आश्रमको घाट/बगैँचा/झाडीमा बाँसुरी, एकतारे अनि SAXOPHONE बजाउँदै मलामी-धुनमा मन्त्रोबध थिएँ-

ती धुनहरूले चराचुरुङ्गीलाई डाक्न सकेनन् । म डाँको छाडी रुन थाले । मेरो अश्रु-प्रार्थना चराहरूले सुनेनन् ।

बरु,
बाघ र भालु
मेरो बाँसुरी-धुन खोज्दै/झाडीमा देखा परे-
तर्से। डराएँ
– नतर्स/नडराऊ । – बाघले भन्यो
– किन नतर्सु ? – भनेँ
– नतर्स/नडराऊ । – भालुले भनी
– किन नडराऊँ ? – भनेँ । त्यसपछि बाघ/भालुले संयुक्त जवाफ दिए
– वास्तवमा, हामी बाघ, भालु होइनौँ । हामीले त केवल बाघ भालुका छाला ओढेका हौँ ।

म – घनघोर आश्‍चर्यमा परेको छु म ।
भालु ‍- हामीलाई देख्‍ने सबै मानिस आश्‍चर्यमा पर्छन् ।
म – यसरी जनावरको छाला ओढी किन हिँडिरहनु भा’छ ?
भालु – तपाईँको ‘स्याक्सोफोन’ खोइ यता दिनुस् । म बजाउँछु ।

लौ जा ! दिएँ मैले त । भालुले तनमयका साथ स्याक्सोफोन बजाई । KENNY-G को Sex-धुन झैँ सुन्दर लाग्यो । बाघले बाँसुरी बजाउन थाल्यो । र मैले एकतारे बजाएँ । आश्रम क्षेत्रवरपर अनौठो सङ्गीत गुन्जियो । बाजा बजाउँदै आफ्नै सुरतालमा हामीले बिस्तारै पोखरीको फन्का मार्‍यौ-

(कस्तो अलौकिक मस्ती थियो त्यो ! प्राणबाट धुनहरू निस्किएका थिए । असलमा तयो सङ्गीत आत्माको एकालाप थियो । या हृदयको आलाप थियो । त्यस्तै केही थियो सायद)

बाघ र भालुलाई मैले आफ्नोकुटीमा सम्मानपूर्वक स्वागत गरेँ । अनि, एक रातकै मात्र किन नहोस् मेरो अतिथि बनिदिन आग्रह गरेँ । उनीहरू ‘गदगद’ या यस्तै केही भए-

त्यो रातको भोजन मैले आफ्नो जीवनकै सर्वाधिक स्वादिष्ट बनाएको हुनुपर्छ । अहिले त्यस्तो हेक्‍का छैन र उनीहरूसित मैले मेरा प्रिय पुराना दिनका पाठकहरूबारे चर्चा गरेको हुनुपर्छ-

सन्ध्या-भोजन पश्चात हामीले हल्का दारु ‘चियर्स’ ग‍र्यौँ । दारुको म उति साह्रो ‘फ्यान’ नभए पनि यदाकदा विशेष क्षणहरूमा त्यसको स्वाद लिन म रुचाउँथेँ-

(म सायद‍‍‍
स्वादिलो मानिस थिएँ)

बाघ र भालुले आ-आफ्नो प्रतीकात्मक कथा सुनाउन रुचाए । तर मैले बीचैमा भन्‍नुपर्‍यो :
– असलमा म अल्जाइमरको रोगी हुँ । तपाईँहरूको कथा म बिर्सन सक्छु । आजै, मैले मेरो पाण्डुलिपि रहस्यमय तरिकाले हराएको छु । बरु, यसो गर्नूस् तपाईँहरू…

– कसो गरौँ ! – बाघ/भालुले सोधे ।
– कसो गर्नुस् भने बरु यसो गर्नूस् तपाईँहरू…
– कसो गरौँ ? – बाघ र भालुले कुन्‍नि कतिऔँ पटक सोधे ।
– मैले बिर्सेँ। साँच्चीऽऽऽ म के बारे बोल्दै थिएँ ?
– तपाईँ कुनै पाण्डुलिपिबारे बोल्दै हुनुहुन्थ्यो । – भालुले भनी ।
(पाण्डुलिपि !?
अँ/आच्याऽऽऽ कस्तो पाण्डुलिपि ?!
कसको पाण्डुलिपि !?)

त्यसपछि/मैले मेरा अतिथिहरूसित साइबेरियाका हिउँदे चराचुरुङ्गीबारे कुरा गरेको हुनुपर्छ । ‘चराचुरुङ्गीहरू विश्‍वका असल नागरिक हुन्’ भनेको, मैले कताकता सम्झने प्रयास गरिरा’छु । साँच्चीऽऽऽ मैले कहाँ/कसलाई भनेको थिएँ त्यस्तो हास्यास्पद एवं अश्‍लील कुरा !?

बाघ या भालु कसैले बीचैमा भनेको थियो:
– बडो सुन्दर कुरा गर्नुभो ! नागरिक हुनु त चराचुरुङ्गी भैँ पो हुनु त !
– तपाईँहरू चाहिँ (सोधेँ हुँला मैले) कुन देशको नागरिक ?
– हामी अनागरिक हौँ (उनीहरूले भने होलान्) हाम्रो प्रतीकात्मक कथा सुनाऔँ तपाईँलाई ?
– बोध-कथा या प्रतीकात्मक कथा जे-जस्तो सुनाए पनि अब के नै पो होला र ? म बिर्सिहाल्नेछु ।

अल्जाइमर-रोगद्वारा ग्रस्त बूढो लेखक हुँ म । अँऽऽऽ साँच्ची/ कुनै पाण्डुलिपि हराएकोमा म अघि झाडीमा शोकधुन बजाइरहेथेँ । अँऽऽऽ साँच्ची म अब तर्पाँहरूले सुनाउन चाहनुभएको बाघ भालुको कथा ‘पढ्न’ चाहन्छु । बरु यसो गर्नुस् ….
– कसो गरौँ ??
– बरु यसो गर्नूस् ! आ-आफ्नो प्रतीकात्मक कथाको पाण्डुलिपि लेख्‍नूस् तपाईँहरू । किम्वदन्ती/दन्त्यकथा जे जस्तो हो लेख्‍नूस् । म चाहन्छु मेरा पुराना पाठकहरूले तपाईँहरूको पाण्डुलिपि कथा पढून् । म तपाईँहरूलाई कलम र केही खाली पानाहरू बाँड्छु । तर कलमहरू कहाँ छन् ?
बाघ/भालु : हामी खोजौँ ?
म : हामी के खोजौँ –
बाघ : कलम र खाली पानाहरू
म : तपाईँहरूलाई कलम किन चाहियो रे ?
भालु : कथा लेख्‍न ।
म : तर मेरो पाण्डुलिपि खोइ ?

* * *

२) अज्ञात पाठक

वास्तवमा म एक अज्ञात पाठक हुँ ।
यस बेला म चापागाउँको दक्षिणतर्फ अवस्थित आश्रममा आइपुगेको छु । आश्रम सुनसान छ । यहाँ कुनै समय एउटा बूढो लेखक बस्ने गर्थ्यो भन्‍ने कुरा मैले यहाँका स्थानीयबासीहरूबाट सुनेको थिएँ ।
पुराना/बूढा एवं मृत लेखकहरूबारे अध्ययन/खोज गर्दै हिँड्ने मेरो विचित्रको HOBBY छ । यहाँ कुनै समय अल्जाइमरद्वारा ग्रस्त बूढो लेखकबस्ने गथ्र्यो र आज मलाई उसको एकान्तवासले असीम दीर्घ पीडा दिएको छ ।
प्रायः चीज/वस्तु/स्मृति बिर्सने लेखकले अन्ततः बाँच्न बिर्सिदिएछ । उसको अन्त्येष्टिमा उसैले रुचाएका पुराना पाठकहरू नआइदिएकोमा मेरो मन खिन्‍न छ । MAIL-बक्स चेक गर्छु चिठी-पत्रहरू केही छैनन् । कसरी एउटा लेखक यसरी ‘मौन’ बाँच्दो हो !
टेबलमा रित्तो गिलासहरू माझ केही कागज-पत्रहरू छन् । बाघ र भालुले हस्ताक्षर गरेका TEXT हरू पढ्छु ।

बाघको कथा

प्रिय अज्ञात लेखक !
तिमी निदाएका छौ । सम्भवतः तिम्रा पुराना पाठकहरू पनि निदाएका छन् । म बाघको छाला ओढी हिँड्ने गर्छु किन यसरी म हिँडेको छु ? मानिसहरू मलाई देखी डराउँछन्/आश्‍चर्यमा पर्छन् –

असलमा, ओ लेखक ! म पुरुष अहङ्‍कारको प्रतिनिधि पात्र हुँ । आज, म यो ‘पेज’मा/तिमीले लेख्‍न दिएको पेजमा केही लेख्दैछु । तिमीलाई सुनाउन सकिएन । बिर्सन्छु भन्छौ ।

कुनै समय यस्तो थियो म आफूलाई बाघ भैँ बलशाली/वीर्यशाली ठान्ने गर्थेँ । जीवनको भरिपूर्ण उत्साह/जोस/जाँगर/फूर्ति/पूर्ण स्वतन्त्र र निस्फिक्री !
त्यस बेला म जङ्गलको बाघ भैँ शक्तिशाली थिएँ –

विवाह गरेँ । घर-गृहस्थी सम्हालेँ । बालबच्चाहरू हुर्काएँ । अभिभावक बनेँ । त्यसबेला पनि आफूलाई मैले बाघ नै ठानेँ । मेरी श्रीमती मलाई प्रायः भन्ने गर्थीः
– बूढाजी ! फूर्ति नगर । तिमी चिडिया-घरको बाघ पो हौ त !
जङ्गलको बाघ त्यसरी/अनायास चिडियाखानाको बाघ बनेँ । तैपनि बाघ त आफूलाई ठानिरहेँ । बाघ त आखिर बाघ नै हो । जङ्गलको होस् या चिडिखानाको –

सन्तानहरू आ-आफ्नै व्यवसायमा व्यस्त बने । श्रीमतीजी ईश्‍वरको राज्यमा गइहाली । छोराछोरी भनाउँदाहरू राष्ट्रिय/अन्तर्राष्‍ट्रिय-राज्यमा मिल्न गए । मेरो आफ्नोराज्य चाहिँ भग्नावशेष हुँदै गयो-

बार्धक्यमा/बुढेसकालमा चारैतर्फबाट एक्लिँदै गएँ । तर पनि बाघ त म बाघ नै थिएँ । मेरो पुरुष अहङ्‍कार यस्तै भन्थ्यो ।

आफ्नो आयुको पुछारमा आएर मलाई बोध भयो कि म त सर्कसको बाघ भै’सकेको रहेछु ।
ओ लेखक !
जङ्गलको बाघ थिएँ । पुरुष थिएँ –
चिडियाखानाको बाघ बनेँ । पुरुष थिएँ –
सर्कसको बाघ भएँ । पुरुष हुँ –
वास्तवमा म एक अहङ्कार हुँ । पुरुष-ग्रन्थि अर्थात् बाघ । यसैले, म बाघको छाला ओढी हिँड्छु…..

* * *

भालुको कथा

म भालु हुँ ।
तपाईँको सहरमा नगरबधुलाई भालु भन्छन्, कसो !
अप्रिला थियो मेरो नाम । त्यसो त अहिले पनि म अप्रिला नै हुँ । कसरी म भालुको संसारमा पुगेँ – आजकाल यसो सोच्ने गर्छु ।

ओ लेखक !
वास्तवमा, जिन्दगी तीनओटा C को मायावी चक्‍करमा घुम्दो रै’छ ।

पहिलो C : COMPARISION
दोस्रो C : COMPETITION
तेस्रो C : COPAROMISE

तुलना । प्रतिस्पर्धा । सम्झौता –
यी तीन आधारभूत जीवन-सत्य ।

कुनै समय मेरो प्रसिद्धि अविश्‍वसनीय थियो । म आम भाषामा भन्‍ने हो भने चमत्कारी सुन्दरी थिएँ –
चलचित्रकी नायिका ! आफ्नो रूप लावण्यले जस्तोसुकै ‘बाघ’ हुँ भन्‍नेलाई प आफ्नो वशमा राख्‍न सक्थेँ ।

मानिस पीडाको ‘कुण्ड’मा अनायास फाल हाल्छन् ।

पहिलो C लाई अप्रिलाले रोजी ।
अप्रिलाले अरूसित ‘तुलना’ गरी । अरूभन्दा ऊ केही कमसल थिई – वास्तवमा, तुलनाले दुःख, सुखको प्रायोजन गर्छ । तुलनाको आँखाले अप्रिलाले संसार/समाज नियाली । त्यसपछि ऊ ‘प्रतिस्पर्धाः COMPETITION’ को प्रशंसक बनी ।

ओ लेखक !
यो दोस्रो C को चक्करमा अप्रिला अर्थात् म नराम्रोसित धेरै काल फसेँ ।
यही मायावी C अर्थात् COMPETITION/प्रतिस्पर्धाको कालखण्डमा
म अभिनेत्रीका साथसाथै ‘भालु’ भएँ ।
मैले प्रतिस्पर्धा रोजेँ । ऐश्‍वर्यशाली भएँ । सहरका तथाकथित मर्यादा-पुरुष एवं जस्तै मैँ हुँ भन्‍ने ‘बाघ’हरूसित मैले सशुल्क रासलीला रचेँ ।

ओ लेखक !
तिमी मेरो ‘महेफिल’मा आएर एक दिन एउटा गीत गायौः
– तु कौन है
तेरा नाम है क्या ?
सीता भि यहाँ बदनाम हुइ…

तिमीले सोधेका थियौः तेरा नाम है क्या… ?
तिम्रो रित्तो गिलास भर्दै मैले भनेकी थिएँ:
अप्रिला !

– अप्रिला ! – तिमीले भनेको अझै याद आउँछः अप्रिल इज द क्य्रुलेस्ट मन्थ् (April is the Cruelest Month) त्यो साँझ अप्रिलको साँझ थियो, लेखक ! र अप्रिला अब तेस्रो C अर्थात् COMPROMISE/सम्झौताको संविधानमा आफ्नो अस्तित्व खोजिरहेकी थिई

– सीता भि यहाँ बदनाम हुइ…
समय ज्यादै बलवान् । मान्छेले कहिलेसम्म प्रतिस्पर्धा गर्ने सामर्थ्य राख्छ ?
अन्त्यमा, भ्रमणमा आउँछ व्यापक ‘कम्प्रोमाइज’को GIFT-प्याकेज ।
जिन्दगी/मृत्यु/सफलता, असफलता ।
सम्झौता ।

सीता पनि बदनाम भएको पुरुष-समाजलाई त्यतै कतै छाडी म पुरानो ‘अप्रिला’लाई खोज्न भालुको छाला ओढी आजकाल म यताउता ओहोरदोहोर गर्छु
जिन्दगी तीनओटा C को मायावी चक्‍करमा घुम्दो रै’छ –
मेरो DEATH-बेड कहाँ छ/ मलाई थाहा छैन । केही मनुष्य-जनहरू यसरी भालुको छाला ओढी हिँडेको देखेर मलाई दिमाग पङ्चर या फ्र्याक्चर भएकी बूढी भनने गर्छन् । म हाँस्छु-

ओ लेखक !
म भालु हुँ/अब तिम्रो ओछ्‌यानमा
अप्रिला निदाउँछे ।
GOOD-नाइट

(श्रोत: Onlinesahitya)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.