~गोबिनद बराल~
“पेटिकोटमाथि साडी लाउ न हो मम । के पेटिकोट देखाको हो त्यसरी । लुगा लाउन पनि आउँदैन ।” रश्मीले भनी । दुई वर्ष सहरमा बसी बी. एड्. गरेर घर आएकी छोरीले यस्तो टिप्पणी गर्दा बूढा बुबा चन्द्रकान्त हलो ठोकठाक पार्दै थिए । बुबा चन्द्रकान्तले पुलुक्क हेर्ने बित्तिकै रश्मी बोलीहाली, “इष्टकोट पनि कहिल्यै धुनुपर्ने रहेनछ । धोएर लाउँदा घट्छौ ?”
रश्मीका आश्चर्यलाग्दा कुराले दुई आमाबुबा एकअर्काका मुखमा हेरे । चार दिन अगाडि ऊ घर आएदेखि नजिकबाट उसको व्यवहार निहालिरहेका बुबाआमा केही पनि बोलेनन् । रश्मी एकोहोरिएर पिढीमा बसिरही ।
छोरी झोक्राएको देखेर आमाले सोधिन्, “के भयो छोरी तिमीलाई ?” उसले भनी, “बोर भयो । एक्लो न एक्लो फिलिङ्ग भयो । अरू के हुनु नि, न कसैसँग कुरा मिल्छ, न कसैको फुर्सदै छ । काम पनि कति गर्न सक्या हो ?” आमाले फकाउने प्रयास गरिन् तर ऊ रमाइन ।
दिक्क लागेर ऊ बाहिर निस्की । टिमिक्क परेको टिसर्ट र पाइन्टमा आएकी केटी देखेर त्यस दुर्गम गाउँका केटाकेटीहरू झुम्मिए । प|mक लाएकी केटीतिर फर्केर रश्मीले भनी, “एक्काइसौँ शताब्दीमा पनि के प|mक लाएर हिँड्या हो । ड्याडलाई पाइन्ट किन्देउ भन्न सक्दैनस् ।” केटाकेटी हाँस्दै बरर भागे । पछाडिपट्टकिी एउटी केटीलाई कोट्याउँदै रश्मी बोली, “ए तिम्रो ब्वाइफ्रेन्ड छैन ?” त्यो केटी कुरै बुझ्न नसकेर ट्वाल्ल परी । अनि ऊ एक्लै बोली- यो ठाउँमा त केटाकेटाको एउटा ग्याङ्ग, केटीकेटीको एउटा ग्याङ्ग । एक्सपेरियन्स सेयरिङ्ग हुनै नपाउने ।
अलि अगाडि बढेपछि भ्यात्त भुँडी पल्टाउँदै आएकी एउटी महिला देखी रश्मीले । नजिकै आएपछि थाहा भयो छिमेकी भाउजू रहिछन् । गफगाफकै क्रममा रश्मीले उनको भँुडीतिर सङ्केत गर्दै सोधी, “छोरा छ कि छोरी ?” भाउजू लाजले भुतुक्कै भइन् । “धत् नानी, अरू कुरा गर्नु न, बच्चा त जन्मेपछि पो थाहा हुन्छ । स्वर्गको बात र गर्भको बात कसलाई के थाहा ?” रश्मीले आश्चर्य मान्दै सोधी, “ल अहिलेसम्म भिडियो एक्सरे गर्नुभा छैन ? नगरेको भए गर्नुस्, नत्र पछि सिरियस प्रोब्लम आउन सक्छ ।”
घुमेर र्फकंदै थिई छिमेकी काका भेट भए । उनले भने, “रश्मी हिँड हाम्रा घर ।” घर जाँदा काकी पनि भेट भइन् । एकछिनको भलाकुसारीपछि काकीले उसलाई दूधको कुराउनी दिइन् । यसो कचौरामा हेरेर भनी, “स्टुपिड यस्तो चिल्लो पनि खान हुन्छ ? स्लिम बन्नु पर्दैन ।” त्यसपछि उसले चिया मात्र पिई ।
चिया पिउँदै गर्दा काकाको छोरा आइपुग्यो र पल्लो झ्यालबाट बुहारी फुत्त निस्किइन् । विवाह भएको महिना दिन बितिसकेको थाहा पाएपछि रश्मीले सोधी, “भाइ तँ के प्रयोग गर्छस् ?” लाजले भुतुक्क हुँदै काका र काकी दुवै घरभित्र पसे । बुहारीचाहिँ घोसेमुन्टो लगाउँदै गुन्द्रीको पराल तान्न थाली । यस्ता कुरा गर्दा लाज मानेको महसुस गर्दै रश्मीले थपी, “अहिले ढाल, निलोकन, पिल्स, डिपोप्रोभेरा आदि थुप्रै फेमिली प्लानिङको साधनहरू छ । आफूलाई बच्चा जन्माउने इच्छा नभएसम्म युज गरिरहनुपर्छ । यस्ता कुरा सेयरिङ गर्न लाज मान्नु हँुदैन ।”
त्यसदिन रश्मीसित भेट हुने सबैले उसको व्यवहार बोलीचाली सबै सामान्य मानिसको भन्दा फरक महसुस गरे र भन्न थाले, “रश्मी पागल भइछ- कठै” भोलिपल्ट बिहान रश्मी पँधेरामा पानी लिन जाँदा गाउँभरका आइमाईहरू जम्मा भएका रहेछन् । तिनीहरू सबैले ट्वाल्ल परेर रश्मीका क्रियाकलापहरू नियालिरहे । रश्मीका हिल जुत्ता ढुङ्गामा चिप्लिँदा सबै हलल हाँसे । आफू लड्दा हाँसेको देखेर रश्मीले मुख बङ्ग्याउँदै तिनीहरूतिर फर्केर भनी, “हि हि हि” ।
रिसाएर फ्वँाफ्वँा गर्दै रश्मी बाल्टिनमा पानी लिएर बाटो लागी । रश्मीका यी व्यवहारले त्यहाँ उपस्थित सबैलाई गाउँका हल्लाप्रति पुष्टि मिल्यो । रश्मीचाहिँ घर पुगेर पिँढीमा थुचुक्क बसी र भनी, “यो गाउँका मान्छेले मेरो टाउकै खाए । खाली कुरै मात्र गर्ने ।”
खाना खाने बेला भयो । आमाले मस्यौरा र मूलाको चाना उमालेकी थिइन् । उसले कचौरा फ्याँक्दै भनी, “हरियो सागसब्जी खै ? गुड हेल्थको लागि सागसब्जी चाहिन्छ भन्ने पनि थाहा छैन ? हेल्थ ठीक नभए सेफ हुँदैन लाइफ ? कस्तो ब्यालेन्स डाइट लिन पनि जान्दैनन् । बारीमा कर्कलोको पात कुहाएर आलुसँग भात खान्छन् ।” रश्मीले आगो पारी । बुबा चुपचाप चार गाँस निलेर बाहिर निस्के ।
गाउँको हल्लाले मात्र होइन, बुबाआमा आफैँले पनि रश्मीका व्यवहारमा फरक महसुस गरे । उनीहरू चिन्तित भइरहेको बेला गाउँकै छिमेकी रनबहादुर आए । एकछिन भलाकुसारी भए, खेतीपाती र बस्तुभाउबारे । बुबा चन्द्रकान्तले आफ्नो दुःख सुनाए । उनले भने- “एकजनाले मात्र शङ्का गरेको भए पो, सबैले त्यस्तै माने । एकचोटि हेल्थपोष्टमा गएर सल्लाह लिए हुन्थ्यो ।”
बूढा चन्द्रकान्त त्यसै दिन हेल्थपोष्ट पुगे । अहेब एक महिनादेखि घर गएका रहेछन् । त्यसैले बूढाले पियनसित सल्लाह मागे, “के गर्ने होला ?” जान्नु न सुन्नु के भनीदिनु बिचराले । तैपनि उसले जानेको भन्यो, “काठमाडौँको पाटन भन्ने ठाउँमा पागलखाना छ । त्यहीँ लगेर उपचार गर्नु ।”
बूढा घर फर्के र अर्को दिन सालालाई फोन गरे -बाबु भाञ्जी त पागल पो भई त । मामाचाहिँले सोचे- अस्ति भर्खरसम्म ठीक भएकी भाञ्जी अहिल्यै कसरी ? तैपनि उनले रोगको कुरामा यसै भन्न सकेनन् र भने, “काठमाडौँ ल्याउनु न त पाटनमा देखाउँला ।”
अर्को दिन बुबाले रश्मीलाई काठमाडौँ जाने बताए । रश्मी खुसीले कताकति टेकी । बेलुकी सजिलै बसले काठमाडौँ पुर्यायो । रश्मीले मामासित गाउँको टिप्पणी गरी, “गाउँमा कमन कुरा पनि थाहा छैन । कि लाज मान्ने कि हाँस्ने अचम्मकै हेबिट पाएँ मामा मैले त गाउँमा ।” यसरी नै रश्मी मामासित फतफताई धेरैबेर । रश्मीका व्यवहारले मामाले पनि विरोध गरिहाल्न सकेनन् ।
भोलिपल्ट घुम्न जाने निहुँ पारेर उसका मामा र बुबाले रश्मीलाई पाटन पुर्याए र मानसिक अस्पतालको गेटभित्र छिरे । उसले कुरा बुझिहाली र नजाने विचार प्रकट गर्न थाली । मामाले चेक गर्दैमा के हुन्छ त नि भनेर सम्झाए तर केही नलागेपछि दुवै पाखुरामा समातेर बलैजफ्ती भित्र पुर्याए । अधिकांश बिरामी त्यहाँ त्यसै गरी आउने हुँदा रश्मीको त्यो चाला त्यहाँ कसैलाई पनि अस्वाभाविक लागेन ।
बेडमा उपचारको लागि पुर्याइएकी रश्मी भन्दै थिई, “म पागल होइन डक्टर, यी सबै पागल हुन् । “
हाल- बैतडी
(श्रोत: मधुपर्क २०६६ असोज)