~डा. ध्रुबचन्द्र गौतम ~
केवल एउटा ढुङ्गा बाँकी थियो । आफ्नो भन्नलाई र घर भन्नलाई । ढुङ्गा ?
हो । एउटा विशाल चट्टान भनुँ । पातलो हुँदै भुइँमा गाडिएको थियो । मास्तिर विशाल फिंजिएको त्यो चट्टानको विस्तृत भाग थियो । कथामा वणिर्त शेषनाग झैं ।
उसलाई शेषनागले यसैगरी ढाकेर शिशु कृष्णलाई ओत दिएको कथा थाहा थियो । सोच्न थाली – ‘शेषनागले डस्न पनि सक्दो हो । कृष्ण भएर डसेन । त एउटी यस्ती आइमाई यो ओत दिने ढुङ्गाले थिचिदिन के बेर ?’
चारैतिर त्यही एउटा ढुङ्गाबाहेक त्यसले अरुथोक केही देखिन, जहाँ ऊ बस्न सकोस् । कहिलेकहीं यसो थामिए पनि, पानी निरन्तर परिरहेको थियो ।
त्यो ढुङ्गा अलिक भिरालोमा गाडिएको वा अडेको थियो । नत्रभने तलतिर त पानीबाहेक केही छँदै थिएन । मास्तिर सानो जङ्गल र झारपात थियो । पानी थामिनासाथ, त्यतै गएर, कुनै चिनेको, कुनै नचिनेकै भए पनि खाने जस्तो कुरो उखेलेर वा टिपेर ल्याउँथी । सलाई हुन्जेल ऊ आगो सल्काएर एक दुई वटा बाँकी रहेका भाँडोमा पकाउने खाने गर्दथिई । सलाईका काँटी सकिदै गएपछि उसले त्यही एउटा सानोखाल्डो खनी र भुङ्ग्रो बनाएर आगो साँच्न थाली ।
त्यहाँ सडक पनि थिएन, गोरेटो पनि थिएन । थिए र अब थिएनन् । त्यसकारण कोही कतैबाट आउने परिस्थिति पनि थिएन । कुनै हेकोप्टर पनि देखिएको थिएन । सके बस्ती नभएकोले होला । केवल एकपटक त्यसको भाग्यले, एउटा हेलिकोप्टर मास्तिर उडेको देखिएको थियो । कुनै चमत्कार जस्तै माथिबाट एउटा पोको खस्यो । त्यसभित्र खाद्य सामग्री छ्याल्लब्याल्ल भए तर त्यो त्यति आनन्दित भएकी थिई, जस्तो जीवनको कुनै अप्राप्य सुख देखेकी होस् । पोकोभित्र चालम थियो, अरु के थियो र ? तर त्यसले चामल देख्न नपाएको समेत धेरै दिन भइसकेको थियो । त्यसकारण चामललाई मुठीमा कसेर अर्को हातमा झार्दै धेरैबेरसम्म खेलिरही । यस्तो उसले बाल्यकालमा गरेकी थिई । त्यसबखत उसलाई त्यही आफ्नो बाल्यकालको सम्झना आयो । ऊ विभोर भई । धेरैदिनदेखि त्यसको स्मृतिले त्यसलाई धोका दिएको थियो । त्यो केही पनि सम्झिन लायक थिइन । ढुङ्गामुन्तिर ढुङ्गा बनेर बितिरहेकी थिई ।
फरक यति थियो, ऊ सास फेर्थी , चलहल गर्थी । खानेकुरो खोज्न जान्थी र जे पायो त्यही पकाएर वा काँचै खान्थी । निदाउँथी, बिउँझिन्थी । निवृत्त हुन जान्थी । पानीको समस्या त छँदै थिएन । जहाँ पानी नै समस्या होस्, त्यहाँ पानीको के समस्या होला ?
एकान्तको यस्तो भयावह रूप ऊ भोगिरहेकी थिइ, जुन कुनै पनि मनुष्यको कल्पनाबाहिर थियो ।
मान्छेभित्रै भय पनि हुँदो रहेछ क्यार ? नत्र ऊ केसित डराउने ? त्यहाँ मान्छे त छाडिदिउँ, जनावर समेत सखाप भएका थिए । कहाँसम्म भने चराचुरुङ्गीको आवाज नसुनेको पनि जुग भएको जस्तै लागेको थियो उसलाई ।
केही दिनदेखि सुर्य को र्स्पर्श पनि थिएन हर समय साँझ परेजस्तो देखिन्थ्यो । त्यसैले हो कि केले हो, राती आउनु पर्ने अदृष्य किराहरूका एकनास आवाज जुन क्षण पनि सुन्न सकिन्थ्यो । राती त्यो आवाज झन् भयावह भएर चर्किन्थ्यो । त्यही आवाजको सङ्गत थियो, जसले एकान्त झन् बढाइदिएको थियो ।
त्यसदिन चामल देखेर त्यो आश्चार्य मानेर एकछिन उभिइरही । त्यसले आकाशतिर हेरी, जस्तो इश्वरले त्यसलाई केही समय बाँच्ने आदेश दिएका हुन् । त्यसको मनमा उदेकलाग्दो किसिमले आफू बाँचेको आभास उक्सेर आयो ।
त्यो मास्तिर उक्ली । चिङ्ना बटुल्न थाली । भिजेका थिए । तैपनि त्यसको उत्साह निकै तातेको थियो । चामल त्यसले बटुलेर पानीले भिजाइदिएकी थिई । धूलो थिएन । त्यसकारण हिलोमा छरिएका चामलका दाना पनि त्यसले सोहोरेकी थिई । पानीलेहिलो सजिलै पखालिदियो । पहिलेपहिले तीन पानी पखालेर चामल भिजाउँथी । अहिले ६-७ पानी पखाली । त्यस क्रियामा पनि त्यसलाई आनन्द आइरहेको थियो । चाहिरहेकी थिई चामलबाट हिलो अझै २-४ पानी पखालुन्जेल रहिरहोस् ।
कतिदिनपछि त्यो भात खान पाइरहेकी थिई । केटाकेटीमा, निस्तो भात खानुपर्दा भात छरिदिन्थी । दालभातखाँदा थालको बिटमुन्तिर भात पोख्दथिई । त्यसकी आमा गाली गर्थी – “हेर यसरी अन्नलाई हेला गरिस् भने अन्नले सराप्छ ।”
“अन्नले सरापे के हुन्छ आमा ?” त्यसले सोधेकी थिई ।
आमाले भनी ? “यसरी पोख्दा, जुन दिन तेरो पेटभर्ने जति भात पोखिन्छ, एकछाक तँ भोकै पर्छे ।”
“कहिले आमा ?” त्यसले मनोरञ्जन गर्दै सोधेकी थिई ।
“कहिले भन्छेस् ? यही जुनीमा, अर्को जुनीमा होइन । तँ जति पोख्छेस् त्यतिदिन तैँ भाकै पर्छे , मलाई के ?” आमाले गम्भिर भएर भनेकी थिई ।
त्यो हाँस्न थालेकी थिई । आमाको एउटा सहज तर्कमाथि त्यसको त्यतिकै सहज अविश्वास थियो । त्यसले गर्दा ।
चामल पखाल्दा त्यही सम्झिन थाली । सोची? ‘आमाले भनेको त परिस्थितिले मिलाएर ल्याइदियो तर यति छाक भोको बस्नु पर्ने गरी त मैलो पोखेकी थिइनँ ? त्यति अन्न त हाम्रो घरमा छँदै थिएन, अनि ?’
त्यसलाई सम्झना आयो, त्यो चामल सिद्धिएपछि त त्यसले फेरि भोकै बस्नु पर्छ ।
कहिलेकहीं फ्याट्फ्याट् गर्दै के के भएर किनारामा पछारिन आएका मरेका माछाहरू त स्वादिष्ट र उत्कृष्ट भोजन हुन् । अलिअलि गनाउने अवस्थामा फेला परे पनि माछा भनेको माछै हो । एकाद पटक त त्यसको पेटको रित्तोपनाले ब्रहृमाण्ड देखायो कि अन्धकार देखायो भन्नु त्यसले भ्यागुतासमेतको स्वादिष्ट उपभोक्ता बन्नु परेको थियो ।
यस्तो पनि होइन, भ्यागुतो खाँदा त्यसलाई दिगमिग नलागेको होस् । २-३ पटक बमन नै भएको थियो । कृही दिन त्यतातिर हेर्दै हेरिन । रूखको पात भए पनि खाएकी थिई तर …… एक दिन फेरि एउटा राम्रो भ्यागुतो फेला पर्यो । त्यसले आफ्नो यताउता छामी । दुई चारवटा थोत्रा नोट पनि बस्त्रबाट ननिस्केका होइनन् तर ती नोटलाई जति रूपैयाँका नोट माने पनि हुने अवस्था थियो । एकलाई हजारको माने पनि भयो, हजारलाई एकको माने पनि यो । नोटको भाउ पहिले पनि कम-बेसी हुन्थ्यो तर यति खस्दो रहेछ, त्यसलाई थाहा भयो ।
नोटले एउटा भ्यागुतो पनि किन्न नसकिने थियो । भ्यागुतो बरु निःशुल्क उपलब्ध भइरहेको थियो । त्यसकारण त्यसले बुझी नोटको भाउ त्यहाँ निःशुल्कभन्दा पनि तल झरेको थियो ।
त्यसैले आफ्नो तर्क आफैं निर्माण गरेकी थिई । नखानु, एकपटक खाइहालियो, अब त्यो खाएकोलाई नखाएको तुल्याउन कहिल्यै सकिन्न । धर्म भ्रष्ट भए पनि पहिल्यै भइसक्यो अब फेरि त्यो भन्दा बढी अरु के होला त ? विश्वमित्र रिखीले कुकुर खाएका थिए रे, मैले भ्यागुतो खान के हुन्छ ? दिगमिग लागे लाग्ला यत्रैसिति पेट त भरिन्छ ।
उसलाई आफैं अचम्म लागेको थियो, दिगमिग नलाग्दा तर एउटा कुरो अनौठो थियो । त्यही प्राणी पनि अब फेला पर्न छोडेको थियो ।
त्यसकारण चामल देखेर उसको शरीरमात्र होइन, सम्पपूर्ण अस्तित्व रक्तिम आभायम भएको थियो ।
त्यो नायक रबिनसन क्रुसो थिइन न कुनै सन्यासिनी थिई तै पनि त्यसबखत त्यसले दुवैको भार सदाशयतापूर्वक वहन गर्नु परेको थियो । भय पनि त्यसलाई अब आफ्नो स्वभावको एक अनिवार्य अंशजस्तो लाग्न थालिसकेको थियो ।
भयको कारण बाहिर मान्छे वा जनावरका रूपमा भए भाग्ने वा जोगिने प्रयन्त गर्थी तर त्यस्तो थिएन । त्यो भय कहाँ थियो कहाँ ? तर यति स्वभाविक थियो कि कुनै दिन भयभीत भइन भने त्यसलाई लाग्न थाल्थ्यो, कतै म मनुष्यबाट ढुङ्गामा परिणत भइरहेकी छैन ? त्यसपछि त्यो कसैगरी र कतैबाट भए पनि भयको झिल्को झिकेर आफूलाई तताउँथी ।
त्यसै गरी सुरक्षा पनि कहाँ थियो, कुन्नी – त्यो भने, दिनको कयौं पटक दोहोर्याउँदथी, म यहाँ सुरक्षित छु, निरापद छु । मलाई यो ढुङ्गाले शरण, सुरक्षा र निर्भयता दिनुसम्म दिएको छ ।
एउटै ढुङ्गाले त्यसलाई दुवैथोक दिएको थियो । गज्जवको ओत दिएको थियो । राती सुत्दा सधैं त्यो ढुङ्गालाई कृतज्ञ दृष्टिले हेर्दै थिई । भोलिपल्ट बिहान बिउँझिनासाथ सबभन्दा पहिले, ऊ आफ्नो शरीरलाई चारैतिर छाम्दथी । कतै त्यो ढुङ्गोमुन्तिर किच्चिएको त छैन । त्यसपछि क्रमश : आँखा उघारेर ढुङ्गोलाई हर्ेदथिई । ढुङ्गो त्यसलाई त्यसैगरी ओत र आश्रय दिएर उभिएको देखिन्थ्यो ।
मान्छे बाँचेको भए पनि केही थिएन । मानवनिर्मित कुनै वस्तु भएको भए पनि मान्छे थियो भन्ने आभास हुन्थ्यो । त्यहाँ दुवै थिएनन् ।
मानव र मानवनिर्मित वस्तु दुवैका रूपमा, त्यहाँ त्यतातिर त्यही मात्र बाँकी थिई ।
कही दिनअघि त्यहाँ एउटा सानोतिनो वस्ती थियो । । गाउँ थियो । गाउँको नाउँ थियो, बाटो थियो, थोरै भए पन मिान्छेको आवतजावत थियो ।
कहिलेकाहीँ कोहीकोही जिस्कने जातका मानिस आउँथे र भन्थे -‘तिम्रो अहिले छोराछोरी पाउने बेलै भएको थिएन किन पाएको यति चाँडो ?’
-‘आफूले भनेर हुन्छ त ?’ त्यो जवाफ दिन्थी ।
-‘किन हुँदैन ?’ जिस्किने मानिस भन्थ्यो -‘आफूले लोग्नेलाई भनेर हुन्नथ्यो ?’
-‘के भन्नु ?’ त्यो अचम्मसित सोध्थी । भित्रअलिकति लज्जा पनि नहुने होला ।
-‘त्यही भन्नु नि, जुन तिमी आफैंलाई भन्न मन लागेन होला नि त ?’
-‘छ्या, कस्तो कुरा गरेको ? ‘ त्यो यसभन्दाअघि आफू जाननसक्ने देखेर अन्तिम पटक लाज मन्दै भन्थी ।
त्यसकी तीन महिनाकी एउटी छोरी थिई । त्यसको कुनै न कुनै स्तनसित दिनरात यस्तरी टाँस्सिएकी देखिन्थी कि लाग्दथ्यो, छोडेर हल्लाइदियो भने पनि दाँतले मुण्टो च्यापेरै भित्त घडीको लिबलिबेजस्तै हल्लिरहन्थी ।
लोग्ने बेलाबेलामा कामको खोजी गर्न बाहिर गइरहन्थ्यो । आएको बखत, कि बाबुलाई दुःख दिन्थ्यो कि छोरीलाई । छोरीलाई कसैगरी मुण्टाबाट छुटाइदिन्थ्यो । एक दुई दिन बाबु तिनको उपयोग गथ्र्यो र फेरि काम खोज्न हिंड्थ्यो ।
घरमा जम्मा एघारजना थिए केटाकेटी बूढाबूढी सब गरेर ।
लोग्ने जाँदा सबथोक रित्याएर तन्नम्टाट भएर जान्थ्यो । आउँदा भरिभराउ भएर आउँथ्यो पैसा र शरीर दुवैले ।
त्यसलाई खल्तीभरि नोट राखेर उसमाथि लम्पसार परेको र आफूमाथि सबथोक खन्याइरहेको पति असाध्यै मनपथ्र्यो । यद्यपि, त्यस्तो बखत खल्ती र उसको फकालेर कतै झुण्ड्याइएको हुन्थ्यो । तै पनि पतिको आफ्नालागि गरिएको परिश्रम देखेर त्यसलाई माया लाग्दथ्यो ।
पैसा कमाउन कति गाह्रो हुँदोरहेछ त्यो सोध्दथिई । लोग्नेको पसिना पुछ्दै भन्थी -‘अब नजानुस् न, जसोतसो गरेर चलाउँला नि ?’
लोग्ने त्यस कुरालाई प्रत्येक स्वास्नीले लोग्नेलाई माया देखाउनलाई भन्ने शब्दहरू भन्ठान्थ्यो र चुप लाग्दथ्यो ।
कहिलेकाहीं भन्थ्यो पनि -‘होइन, तँलाई म चाहिया कि …… के चाहिया ?’
‘त्यस्तो केही होइन क्या ?’ त्यो भन्थी -‘तपाईँ हुँदा एउटा ओतमुनि छु जस्तो लाग्छ । ‘
-‘अनि पैसा भएन भने, मेरो ओत ढुङगाको ओतजस्तो हुन्छ नि त’ लोग्ने भन्थ्यो -‘खस्रो र चहलपहल नगरेर ठिङ्ग उभिए जस्तो ।’
त्यो चुप लाग्थी । लोग्ने निख्रिसकेको हुन्थ्यो । त्यो छोरीलाइ मुन्टो चुसाउनतिर दत्तचित्त हुन्थी ।
एकरात त्यस्ता सारा व्यवहार सम्पन्न भएपछि तिनीहरू निदाए । छोरीका लागि त्यो रातभरि आफ्नो दाहिने स्तन उघारेर राख्दथी । राति बिउँझी भने पनि आफैं चुस्न थाल्थी र निदाउँथी । त्यो त्यसले आफ्नै सुविधाका लागि गरेकी थिई । नत्र छोरी रुन्थी । निन्द्रा खल्बल्याएर उठ । चोलो फुकाल, अनेक झ्याउलाहरू ।
छोरी र त्यो मात्र त्यहाँ सुत्दथे, त्यसकारण छाती उर्घार्नमा आपत्ति थिएन । लोग्ने हुँदा त झन् शरीरमा चोलो नै रहन दिदैन थियो, समस्यै समाप्त । धोती पनि लोग्ने बिहानीपख ओढ्नै जस्तै ओढ्ने गर्दथ्यो ।
त त्यो एकरात, तिनै कुराहरू त्यसैगरी घटित भए । लोग्ने धेरैबेरसम्म बिउँझिन चाहन्थ्यो । स्वास्नीले भनी -‘अरु कुरा भोलिलाई राखौं ।’
-‘किन गर्ने जति कुरा सकेर, भोलि फेरि दोहर्याउन वा नयाँ कुरा पाउन सकिन्न ?’ लोग्ने अझै अलिकति अतृप्त र उत्तेजित थियो, त्यस्तो त्यसले अनुमान गरी । त्यसले भनी -‘तपार्इँ आउनु भएको भनेरै, आज बिहानैदेखि काममा जोतिएकी जोतियै छु । साँझ पर्दै भाँडापानी सिध्याएर बसेकी थिएँ । थकित छु । त्यसैले भोलि भनेकी ।’
को कतिखेर सुत्यो थाहा भएन महत्वपपूर्ण पनि भएन ।
महत्वपपूर्ण भयो, त्यो एउटा दीर्घ मुर्छनाबाट बिउँझिछ । निन्द्रा होइन । निन्द्रा बाट बिउँझिनु अगि नै मुर्छा परेर आएको बेहोशी ।
पिठ्यूँमा त्यसको, अत्यन्त पीडा भइरहेको थियो । शीरमा पनि । छामेर हेरी । पिठ्यूँ मा एउटा घाउ भएको रहेछ । चोलो संयोगले लगाएर सुतेकी रहिछ । तर त्यसको दाहिने तर्फो पाटो झैं उघ्रे को थियो, छोरीका लागि त्यसले एक अभूतपपूर्व अत्यासकासाथ चारैतिर छोरीलाई खोजी । यसपटक, मुण्टो आफैं छुटाएर छोरी बेपत्ता भएकी थिई ।
लोग्ने कतै थिएन । घर थिएन । घरका अरु नौजना थिएनन् । केवल त्यही एकजना कसरी बाँकी भई ! बस्ती थिएन । बाटो र आउने जानेहरू थिएनन् । पानी नै पानी थियो । कि त्यो विचेत भएर बिउँझेको त्यही भिरालो थियो ।
त्यो रुन थाली । त्यसपछि रुन पनि सकिन । त्यस्ता अप्रमाणिक र अनुपस्थित व्यक्तिलाई ‘हराएको’ भन्ने चलन थियो । तिनलाई मृत भनिँदैन । त्यसकारण त्यो पनि तटस्थ भएर जसरी सक्दथी हिंड्न थाली ।
एक ठाउँमा, दुई जना केटाकेटीको लाश देखि वास्तवमा त्यसले देखेकी वस्तीका अन्तिम चिन्ह तिनै दुई लाश थिए ।
त्यसले दुवै बच्चालाई पालैपालो बोकी र लगेर बगिरहेको पानीमा मिल्काइदिई । केहीबरेसम्म ती केटाकेटीका ओल्ट्याङ्पल्ट्याङ् गरिरहेको लाशलाई हेरिरही । वास्तवमा त्यस बखत त्यसले तिनीहरूका लागि गर्न सक्न र्सबश्रेष्ठ मानवीय सेवा नै त्यही थियो भन्ने साची । यद्यापि त्यो त्यसबखत एउटा यस्तो गहिरो क्षतिभित्र थिई, न दुःख, न सुख, न अँध्यारो, न उज्यालो, भन्नु पर्ने हुन्छ, ता पनि केटाकेटीका लाशहरू बगाएपछि त्यसले एउटा होलोपनको अनुभव गरी, एउटा विक्षिप्त होलोपनको । किनभने केहीबरे पछि नै त्यसलाई कुनै होश रहेन, त्यसले के गरेकी थिई अथवा त्यसले के गर्नुछ र त्यो त्यही विक्षिप्त होलोपन खोज्नलाई जथाभावी हिंडिरही । कतै कुनै लाश मेटिन्थ्यो भने, त्यसै गरी बगाएर धर्म गर्छु भन्ने सोच्दै ।
त्यसो गर्दा गर्दै त्यसले विशाल ढुङ्गो फेला पारेकी थिई । त्यसको जीवनलाई ढुङ्गाजस्तै व्यवस्थित बनाइदिने ढुङ्गो । त्यसलाई घर पाएजस्तै प्रसन्नता भयो । शोक पनि कसरी मनाउनु यो त्यसलाई थाहा भएन । अनुमानभन्दा माथिको त्यो नितान्त अपरिचित शोकलाई त्यसको मनले कुनै आकार नै दिन सकेन । त्यसैबखत त्यसलाई पहिलो पटक लागेको थियो, कतै यो ढुङ्गामुन्तिर म पनि ढुङ्गै त भइँन ?
त्यस रात, रातभरि पानी परेको र पानी बगेको आवाज सुनेर बिताई । भोक पनि लागेन । निन्द्रा पनि लागेन । वरपर बेलाबेलामा सानोठूलो पहिरो गएको आवाज सुनिन्थ्यो । पहिलो जाँदा गर्ल्याम्म ढलेको ढिस्कोको आवाज एकपटक सुनिन्थ्यो । त्यसपछि त्यसलाई पछ्याउँदै गुडिल्किदै ठक्कर खाइरहेका ढुङ्गाहरूको आवाज निकैबरेसम्म सुनिन्थ्यो ।
त्यसदिनदेखि नै, त्यसको सङ्गत एउटा भत्केको प्रकृतिसित भयो । जस्तो त्यसको शरीर र मन थियो, त्यस्तै बाहिरी प्रकृति थियो । कुनै बोद्धिक खालको व्यक्ति भएको भए यसबाट दुनियाँलाई चकित तुल्याइदिने अनेक चिन्तन झिक्थ्यो, कि होइन भने, आत्महत्या गर्ने थियो । त्यो तीमध्ये कोही थिइन । त्यसबखत त त्यहाँ त्यो गरिब भनिने किसिमकी पनि थिइन । गरिब हुन त मान्छेको बीचमा हुनुपर्यो नि त ?
त्यो अहिले एक्काइसौं शताब्दीको अङ्गालोमा बेरिएर आदिम दिनचर्या व्यतित गर्न बाध्य भएकी युवती थिई । फरक थियो । निर्वस्त्र भइसकेकी थिइन । केही दिन अझै बाँकी थियो, त्यो आदिम युगकी स्त्री झैं निर्वस्त्र हुन । तैपनि त्यसको शरीर कहाँ ढाकिनु पर्ने र कहाँ उघ्रिनु पर्ने हो, त्यस हिसाबले बस्त्रावृत्त थिएन । कारण जे सुकै होस्, ढाकिने अङ्ग नै बढी उघ्रेका देखिन्थे, सबभन्दा सद्दे भाग धोतीको सप्को थियो, जसको कुनै खास भूमिकै थिएन ढाक्न, छोप्नमा ।त्यो पनि विशेष चिन्तित देखिँदैन थिई । यहाँ देख्ने को थियो र उघ्रे का ढाकेको हेर्नेलाई ?
कहिलेकाहीं नुहाउँदाहोर्दा, त्यो आफैं, निर्वाङ्ग भएर खहरेमुन्तिर उभिन्थी । नुहाइसकेपछि पनि हतार गर्दिन थिई । त्यस्तै अवस्थामा पहिले कपाल झड्कार्ने, सुकाउने र सम्याउने गर्थी । अनि विस्तारै, कुनै अनावश्यक, अनिच्छुक तर बानी परेकाले अनिवार्य वस्तु झैं आफ्ना च्यातिएको वस्त्रहरू तानेर बेवास्ताले बेर्द थी ।
त्योसित भाव थियो, तर हेर्ने मान्छे थिएन । भाषा थियो, बोल्ने मान्छे थिएन । पहिले पहिले कोही नहुँदा, तीन महिनाकी छोरीसित एकोहोरो कुरा गरेर पनि काम चलाउँदथिई । यहाँ के गर्ने ?
प्रलय यस्तै हुँदा रहेछ क्यार, त्यो सोच्दथी । प्रलय कसरी आउँछ, थाहा छैन तर प्रलयमा कि मान्छेसमाप्त हुन्छ कि समाप्त हुने गरी एकान्तमय बन्दछ । त्यसलाई लाग्दथ्यो, त्यो अहिले प्रलयलाई भोगिरहेकी छ । त्यसपछि प्रलय भोग्दाभोग्दै, समाप्त हुनेहरूको आभासमा टन्न कसिँदा कसिँदै, एकदिन आफैं समाप्त हुन्छ । यसरी बाच्दा अन्त्यमा अरु को होला त ?
तर चामल देखेपछि त्यसको ती सारा सोचाइ, सम्मेहित जस्तै भएर निदाए । त्यसमा यस्तो जाँगर आयो, जुन यतिका दिनमा कहिल्यै आएको थिएन ।
त्यसका मास्तिर उक्लेर सकेसम्मका छेस्काछुस्की बटुली । एकाद रूख लडेका थिए केही रु पहिलेदेखि नै काटिएका थिए तर तिनका वरपर छेस्काछुस्की छरिएका थिए । त्यसको काम तिनैबाट चल्दथ्यो । एकदिन त्यसले झन् चनाखोपनकासाथ बटुली । वरपरसम्म गएर ।
ढुङ्गामुनि आएर एकछिन भुङ्ग्रो खोस्री । अलिकति आगो फेला पर्यो । त्यो आगो लिएर, भाँचेर चराको गुँडजस्तो पारेर ससाना चिङ्नाहरूबीच राखेर फुक्न थाली । चिसो हुनाले धेरैबेर लाग्यो । निकै बेर फू फू गरेपछि र उसको मुख त्यसका तोडले रक्तिम वर्णको भएपछि, धुवाँ आउन थाल्यो । त्यसको आँखामा धूवाँ पस्यो । आँखा पीरो भयो र र श्वासप्रश्वासको असन्तुलनले गर्दा त्यो खोक्न थाली । तर त्यसले त्यो झन् प्रसन्न भई । धूवाँ बढेपछि आगो बल्ने आशा पनि बढेको थियो ।
त्यसले भएको एउटा सानो ताउलीमा भात बसाली । भात, तरकारी, नुन, तेल भन्ने शब्द पनि बिर्सिसकेकी थिई । त्यो त ताउलीमा बिस्तारो पहिलो फोका उठ्ने र पछि गुदुगुद हुने साधारण एउटा प्रकृयालाई पनि मन्त्रमुग्ध भावले हेरिरहेकी थिई । सृष्टिको कुनै अनुपम दृष्य हेरिरहे झैं ।
त्यसले माड काडी । अनि भात भर्सिन भनेर एकछिन छाडिदिई । पहिले ऊ नुहाउन चाहन्थी । आफ्नो प्रफुल्लता बढाउने उपायहरू गरिरहेकी थिई । त्यसले आज अरु दिनजस्तो गरिन । त्यो लुगा फुकालेर नुहाउन उभिइन । लुगासहित नै छाँडोमुन्तर उभिई, के पनि हुनसक्छ भने उत्साह र हतारमा उसले त्यसले त्यसो गर्न बिर्सें होस् ।
आज नुहाउनमा पनि त्यसलाई विशेष आनन्द आइरहेको थियो । त्यो युवतीलाई लाग्न थाल्यो आज त्योसित एउटा शरीर पनि छ । यद्यपि, त्यो अझै भोकै थिई । तैपनि त्यो क्षण तत्काल बेग्लै बनेको थियो त्यसकालागि । त्यसैले आफ्नो शरीरलाई चारैतिरबाट मली । तत्काल त्यसका यौवनका लक्षण र प्रतिक्रियाहरू प्रकट हुन थाले ।
त्यसमा के पनि मिसिएको थियो भने, चामल केवल एक छाककालागि थिएन । केही दिन पुग्ने गरी थियो ।
नुहाएपछि बरु त्यसले आफ्ना बस्त्रहरू फुकाली । अब ती नाममात्रका बस्त्र थिए । तैपनि त्यसले धोती चोलो सबै निचोरी । धरै निचोर्दा फाट्ने डर थियो, त्यसकारण अख्रेको रूखमा ल्याएर छाडिदिई । आफू बस्ने चट्टानमाथि सुकाउन भनेर पि+mजाईदिई । त्यसदिन पानी थामिएको थियो र उज्यालोमा अलिकति वृद्धि भएको थियो ।
त्यो चट्टानमाथि बसेर कपाल झड्कार्न थाली । त्यसलाई आफ्नो नितम्बमा चट्टानको र्स्पर्श बडो सुखद् र पौरुषको र्स्पर्श जस्तो लागिरहेको थियो ।
त्यसपछि त्यसले भात पस्की । तृप्त भएर खाई । त्यो तृप्ति त्यसलाई जीवनको प्रथम तृप्ति जस्तो लागेको थियो । त्यसले नजिक बगिरहेको पानीलाई अञ्जुलीबाट भरीभरी खाई । त्यसबाट त्यसलाई झन् तृप्तिको अनुभव भएको थियो । भोक र प्यासबाट मुक्त भएको शरीर त्यसदिन आफ्नै होइन, अर्काको शरीर जस्तो लाग्न थालेको थियो । यो म होइन, कोही अरू हो, जो तृप्त भएको छ, यस्तै यस्तै ।
ढुङ्गाबाट शरीर बनेको शरीर । त्यसले केही दिन जे बाँची, त्यसलाई नाउँ नदिए पनि हुन्छ । चालमका साथ बाँचेकी थिई र चामल सकिंदै थियो । पहिलेको चकमन्न र सङ्कटको आवाज पहिलेभन्दा चर्को लाग्न थाल्यो । त्यसको खिन्न दिनचर्या फेरि त्यसै गरी चलिरहृयो ।
राति उज्यालोको त कतै प्रश्नै थिएन, केवल चट्टानको भित्तामा जीउ अड्याएर थाहा पाउँथिई, म अझै छु ।
एकदिन त्यो चट्टानमाथि बसिरहेकी थिइ पानी परेपनि केही छैन भने झैं गरी । वास्तवमा ढुङ्गामुन्तिर ओत लाग्दालाग्दा पनि त्यो कहिलेकाही दिक्क मान्ने मात्र होइन, झक्ने पनि गर्दथिई कच्चा रङ्ग सरे जस्तो, ढुङ्गाको ढुङ्गापन आफूमा सरिदेला भने झैं गरी ।
त्यस्तो क्षणमा, त्यस्तो सदैवको अनकण्टारको ठाउँमा, त्यसदिन अचम्मसित एउटा पुरुष आइपुग्यो, घुम्दाघुम्दै वा बाटो बिर्सें । संयोगले त्यसदिन त्यसले लुगा लगाएकी थिई । पुरुषलाई देख्नासाथ त्यो झस्की । त्यसले सकेसम्म आफ्नो लुगा ठीक पारी तानतुन गरी ।
पुरुषले भने त्यसलाई हेरिरहृयो । एक त जति तानतुन गरे पनि त्यो वस्त्र थियो रबर थिएन । त्यसकारण, शरीरको पर्याप्त भाग दगर्ुर्ने अवस्थामा उघ्रे का थिए । त्यसमाथि भिजेका कारणले, वस्त्रसहित त्यो यथेष्ट मात्रामा उत्तेजक देखिन्थी ।
पुरुषले सोध्यो – ‘तिमी यहाँ कहिलेदेखि छ्यौ ?’
– ‘धेरै दिन भयो ।’ त्यसले जवाफ दिई । पहिलो पटक बोल्न पाएकाले त्यसलाई उकुसमुकुस फ्याँकिएजस्तो लागेको थियो । एकैछिनमात्र सङ्कोच भएको थियो । बोलेपछि त्यसलाई भित्री प्रसन्नता भयो । वास्तवमा चामलको दिनपछि त्यो आजै प्रसन्न भएकी थिई । ओर्लेर आई ।
– ‘यही हो तिमी बस्ने ठाउँ ?’ पुरुषले सोध्यो ।
– ‘हा ।’ त्यसले भनी ।
– ‘एक्लै बस्छ्यौ ?’
– ‘अँ ।’
– ‘तिम्रा अरु मानिसहरू …… -‘
– ‘सबै बगे ।’
– ‘गाउँ पनि ?’
– ‘धेरै ठूलो गाउँ थिएन । गाउँ पनि बग्यो ।’
– ‘कसरी बग्यो ? ‘
– ‘थाहा पाइनँ । म बेहोश थिएँ ।’
– ‘केही पनि फेला परेन ?’
– ‘केटाकेटीका दुई लास फेला परेका थिए । मैला बगाइदिएँ ।’
पुरुषले स्त्रीतिर हेर्यो । स्त्रीले जवाफ दिँदाखेरिको तटस्थताले ऊ अलि अन्यौलमा पर्यो । तै पनि भन्यो – ‘तिमीसित ओड्ने केही छैन ?’
– ‘पुग्ने छैन ।’ त्यसले त्यतिकै तटस्थताले जवाफ दिई ।
– ‘त्यसो भए धन्दा नमान,’ पुरुषले भन्यो – ‘म तिमीलाई कम्मल ल्याइदिन्छु ।’
कम्मल ओडेपछि पाइने न्यानोलाई सोचेर त्यसले आशावादी आँखाले पुरुषलाई पुलुक्क हेरी । आँखा त्यसका ठूल्ठूला र मोहक थिए, त्यसमा सन्देह थिएन ।
‘म भोलि नै कम्मलको बन्दोबस्त गरेर ल्याइदिन्छु’ पुरुषले आश्वान दियो – ‘आज त म पनि बाटो भुलेर यहाँ आइपुगें, बाटो नभए पनि बाटो खोज्दै । यहाँबाट कहाँ जानु पर्छ ?’
– ‘त्यो थाहा पाएको भए, म पनि यहाँ बस्दिन थिएँ ।’ स्त्रीले भनी ।
– ‘तिमी एउटा उपकार गर्न सक्छ्यौ ?’ पुरुषले सोध्यो ।
– ‘के’ त्यसले भनी ।
– ‘भोलि म कम्मल ल्याइदिन्छु’ पुरुषले भन्यो ‘तर आज म तिम्रो न्यानो पाए मात्र रात काट्न सक्छु । म शहरको मानिस हुँ, तिमी जस्तो किसिमले सुत्ने कल्पना गर्न पनि सक्तिन ।’ त्यो केही बोलिन । त्यसै गरी तटस्थ बनिरही । पुरुष त्योसित रातभरि न्यानो मानेर सुत्यो । भोलिपल्ट आफ्नो कम्मल ल्याइदिने बचन दोहोर्यायो र हिंड्यो ।
दुई तीन दिन बित्यो । कम्बल ल्याउने पुरुष आएन । तर त्यसपछि एकदिन अर्को एउटा पुरुष आयो ।
त्यसले भन्यो – ‘म तिम्रा लागि चामलको बोरा ल्याइदिन्छु ।’
त्यस रात चामल ल्याइदिने पुरुष त्योसित सुत्यो । भोलिपल्ट आफ्नो बचन दोहोर्याएर हिड्यो । त्यो पुरुष गएको पनि केही दिन बिते । चामल त आएन । एकदिन एउटा अर्को पुरुष आयो ।
त्यो तेस्रो पुरुषले भन्यो – ‘तिमीलाई छाप्रोको आवश्यकता छ । म तिमी लाई छाप्रो बनाइदिने बन्दोबस्त गरिदिन्छु ।’ त्यस रात त्यस चट्टानमुनि, छाप्रो बनाइदिने पुरुष सुत्यो । भोलिपल्ट त्यसले पनि आफ्नो प्रतिज्ञा दोहोर्यायो र हिड्यो । त्यो तटस्थ थिई । पछिका पुरुषहरूसित त बोल्न पनि छाडेकि थिई । केवल चट्टानमुन्तिर तिनीहरूसित सुतिदिन्थी ।
कोही आएन । त्यो फेरि एक्ली भई । त्यसको दिनचर्या फेरि त्यस्तै भयो । त्यस्तै जस्तो पहिले थियो । यतिले पुग्छ । अब दोहोर्याउनु पर्दैन ।
एकरात सुतेर भोलिपल्ट बिउँझिदा जस्तो ऊ गर्ने गर्दथी आफ्नो जीउ छामेर चट्टानलाई हेर्ने कम, त्यसै गर्नासाथ त्यो झस्केर मात्र होइन, त्रस्त भएर जुरुक्क उठी ।
त्यसका मास्तिर चट्टानको ओत थिएन । बादलले टम्म आकाश देखेर त्यो झस्केकी थिई, अथवा हरेस खाएकी थिई, त्यो भन्न सकिन्न ।
त्यसपछि त्यसले चारैतिर आँखा डुलाई । निकै तलतिरदेखि, चट्टान आफ्नो ठाउँबाट उखेलिएर गुड्दै एक ठाउँमा पुगेर अड्केको थियो । त्यसलाई चट्टानले किन थिचेन ?
चट्टान उखेलिँदा के त्यस्तो चमत्कारी किसिमले उखेलिएछ र त्यो बाँची – त्यसको रहस्य त्यसले बुझ्नै सकिन । तै पनि, त्यो तेस्रो पटक खुशी भएको क्षण त्यही थियो ।
सुरक्षा र असुरक्षा एउटा अनौठो मोह जालमा त्यो आजसम्म बाँचेकी थिई । आज एउटा आतङ्क दिने ढुङ्गाले त्यसलाई असुरक्षादेखि मुक्ति दिएको थियो । त्यसले सोची मलाई नथिचेर पनि यस ढुङगोले मलाई आश्रय नै दियो । अब जे सुकै होला, देखाजाला । ढुङ्गाको आश्रय नभएपछि अब त्यो जहाँ पनि जान सक्थी । त्यसले मुक्ति पाएकी थिइ ।
महिना बिते । पानी घट्यो । प्रकृति हाललाई शान्त भएको थियो तर त्यसलाई भेट्न कोही आएन कम्मल, चामल, छाप्रोवालामध्ये कोही पनि । बरु एउटी छोरी जन्मी । कारण स्पष्ट छ । भनिरहनु पर्दैन । त्यो अब कुनै गाउँमा बस्न थालेकी थिई । छोरी तीन महिनाकी जुन दिन भई त्यसलाई आफ्नो त्यो छोरीको सम्झना आयो, जो त्यसको छातीमा सधैं झुण्डिइरहन्थी । त्यो विस्तारै रुन थाली । लोग्ने सम्झी ।
फेरि रुन थाली । त्यसपछि यो छोरीलाई हेरी । केही शान्त भई । मनमनै सोची, मेरी बगेकी छोरी फर्केर आएकी हो । कति वर्षवितेपछि त्यसको किशोरी छोरीले आमासित प्रश्न गरी -‘मेरा बाबु को हुन् आमा ?’ त्यसले एकछिन गमेर अनि गम्भिर जवाफ दिइरही – ‘तेरा बाबु इश्वर हुन् । ‘
– र्’इश्वर ?’
– ‘तिनैले प्रलय, प्रकोप र पशु पठाएर मेरो गर्भधारण गराएका हुन् ।’
छोरीले धेरै बुझिन । उसले आमाबाट सुनेको कथाको आधार लिएर सोधी – ‘अब फेरि त्यस्तै प्रलय भयो र मैले तपाइँ जस्तै बस्नु पर्यो भने के होला आमा ?’
त्यसले छोरीतिर भावहीन अनुहार लगाएर एकछिन हेरी र भनी – ‘तँलाई पनि त्यहाँ कम्मल, चामल र छाप्रो दिनेहरू आउनेछ् ।’ छोरी उत्तरभन्दा आमाको अनुहारमा टल्केर आएको ढुङ्गाले गर्दा बढी आतंकित भई र आमालाई घच्घच्याउन थाली ।
(स्रोत : अन्तर्जाल)