~अनमोल मणी~
म जेब्राक्रसमा उभिएको थिएँ । ऊ पारिपट्टि थिई । लमतन्न सडकले हामीलाई छुट्याएको थियो । ऊसँगको मेरो यो दोस्रो भेट थियो ।
यसअघि पहिलो पल्ट मैले उसलाई सायद विश्वविद्यालयको चौर, गेट वा कक्षातिर कतै देखेको थिएँ । ठ्याक्कै ठाउँ याद भएन । त्यो भेट भनौं वा देखादेखमात्र थियो ।
म उभिएको पछिल्तिर पुस्तकपसल थियो । दुई पाउ जमिन ओगटेर म जहाँ उभिएको थिएँ त्यसको ठीक अघिल्तिर लमतन्न पिच सडक सुतेको थियो । मेरो टाउकोमाथि असुहाउँदो गरी जेलिएका बिजुलीका तार थिए, र त्यसभन्दा माथि खुला आकास घोप्टिएको थियो । हल्का हरियो रङ पोतिएका बिजुलीका खम्बाहरू मेरै लहरमा उभिएका थिए । आकासमा कतै पनि बादलका राँटा देखिएका थिएनन् । म नीलो आकासले छोपिएको थिएँ ।
बाँचेको प्रमाण दिन मान्छेहरू सडकमा ठमठम हिँडिरहेका थिए ।
बत्तासिएर कुद्ने गाडीको बेगले उडाउन खोजेको साडीको सप्को, कुर्ताको सल र र स्कर्टका फेरहरू समातेर केही युवती पारिपट्टी अर्को सडक छिचोल्दै, सम्हालिएर किनारै किनार हिँडिरहेका थिए । त्यो भीडमा चिनेको अनुहार कोही पनि थिएन । त्यत्रा मान्छेबीच कसैको अनुहार कसैसँग मिल्ने खालको थिएन । सोच र बुद्धि मिल्ने कुरै भएन !
मेरै लहरमा उभिएका युवाहरू हावाको बेगसँगै कुतकुतिए कि भन्ने ठानेर पनि मैले उनीहरूको अनुहारमा हेरिनँ ।
बरु झिमझिम गरिराख्ने मेरा आँखाहरू आधा चिम्लिएर आफूलाई बुद्धझैं अर्धस्मित राखेँ ।
जेब्राक्रसमा नीलो बत्ती बलेको थिएन ।
तेस्रो पटक भेट हुँदा थाहा भयो ऊ केही वर्षअघि यही विश्वविद्यालयकी विद्यार्थी थिई । परिचय भयो । नाम बताई, सिन्थिया । बालुवाझैं कहिल्यै नबाटिने र फुस्किरहने जिन्दगी बोकेर हिँडिरहेकी छु भन्थी । साँझको घाम छेकिएर कतै खुला चौरमा देखिएको हिमालको छायाजस्तो सधैं उदास देख्थेँ ।
ऊ विस्तारै मसँग नजिकिई । कम हाँस्थी ।
एक दिन कफिगफ चल्दै गर्दा क्यान्टिनमा सुस्केरा छाडेर भनी, ‘मैले खोज्नु छ सर, धेरै खोज्नु छ । मैले यहाँ जिन्दगी हराएको छु । आफैंलाई हराएको छु ।’ मेरा लागि ऊ रहस्यमयी बन्दै गएकी थिई ।
त्यसपछि ऊ निकै दिन हराई ।
‘कहाँ गएकी थियौ,’ भेटपछि क्याम्पस गेटमै मैले सोधेको थिएँ, ‘निकै दिन हरायौ नि ।’
‘त्यतिकै सर, आफ्नै काममा हिँडेकी थिएँ, तर यसपटक काम हुन सकेन,’ उसले यत्ति भनी ।
‘मैले गर्न सक्ने सहयोग केही छ ?’
‘होइन सर, केही छैन । म एक्लै गर्न सक्छु ।’
त्यसको केही दिनपछि ऊ फेरि हराई ।
विदेशी नियोगको मेरो म्यादी जागिर भरखरै सकिएको थियो । केही जिल्लामा १२ वर्षको द्वन्द्वको असर हेरेर म भरखरै फर्किएको थिएँ ।
यो घुमाइमा मैले डढेका घरहरू हेरेँ । भत्किएका र गोलीले छियाछिया बनाइएका पुराना ऐतिहासिक दरबारहरू हेरेँ । काटिएको झोलुंगे पुल र छिनाइएको तुइन हेरेँ । आधा डढेको बाँ र गारो भत्किएको स्कुल हेरेँ । बम पड्किएको र गोली चलेको आवाजले स्वर हराएका, श्रवण गुमाएका मान्छेको विच्छिप्त मानसिकतालाई पढेँ । जो अझै पनि नयाँ मान्छेसँग बोल्न डराइरहेका थिए ।
त्यो अध्ययन भ्रमण सकेर म केही दिन अघिमात्रै फर्किएको हुँ ।
म फेरि मनोविज्ञान केन्द्रीय विभागमै हाजिर भएको थिएँ । यहीँबाट मेरो करियर सुरु भयो । सायद अन्त्य पनि यहीँबाट होला । मास्टर भएँ । चक-डस्टरसँग खेल्दै दिन बिताएँ । थरीथरीका विद्यार्थी भेटेँ । छाँटछाँटका मास्टरहरू देखेँ । पुरानो मोटरसाइकलमा हुइँक्याएर विश्वविद्यालय छिर्थें । थेसिसका चाङहरूमा आफूलाई हराइरहेँ । अनुसन्धानका रिपोर्ट केलाउँदै त्यसको परिणाममा घोत्लिएँ ।
विद्यार्थी आउँथे नमस्कार गर्थे । मनोविज्ञानका नयाँनयाँ कुरा सुनाउथे । म लोभिन्थेँ ।
मोटरसाइकल बिग्रिएको केही दिन भएको थियो । म हिँड्दै विश्वविद्यालय जान्थेँ ।
र, म यो जेब्राक्रसमा सधैं उभिनुपथ्र्यो ।
हामी पहेँलो रंग पोतिएको एउटा घरभित्र छिर्यौं । ठूलो चौर थियो । बीचमा मसलाका सुरिला रूखहरू थिए । केही पोथ्राइला रूखमुनि बस्ने बेन्चहरू थियो । केही मान्छे त्यहाँ सुस्ताएको देखिन्थ्यो । एप्रोन भिरेर घाँटीमा स्टेथेस्कोप झुन्ड्याएका डाक्टरहरू यताउता गरिरहेका थिए ।
भित्र छिर्नेबित्तिकै सिन्थिया झट्टारिएर मेरो छेउमा आई ।
‘तिमी यहाँ कसरी ?’ मैले अचम्म मानेर एक सासमा सोधेँ ।
उसले एक टक हेरिरही । वरिपरि हेरेँ त्यहाँका सबै मान्छे आ-आफ्नै हाउभाउमा थिए । सबैको उस्तै पहिरन थियो । अरूले जस्तै पहिरन उसले पनि लगाएकी थिई । मलाई एक मनले त यो सिन्थिया हो भन्ने विश्वास भएन । तर, त्यो उही सिन्थिया थिई जसलाई क्याम्पसमा भेटेको थिएँ । जो दह्रिलो मन र आँट लिएर हिँडेकी देख्थेँ । यो केटी बिरामीका रूपमा कसरी मानसिक अस्पताल आइपुगी भन्ने अनेक तर्कना मनमा आइरह्यो ।
मैले उसलाई छोएँ ।
‘भन सिन्थिया तिमीलाई के भयो भन । तिमी कसरी यहाँ आइपुग्यौ ?’
उत्तरमा ऊ एकछिन भक्कानिएर रोई । आँसुले दाग बसेका उसका गालामा फेरि आँसु बग्यो । पिलपिल आँसु झारी ।
एकै छिनमा ऊ दृढ देखिई ।
‘मुक्ति सर ! अब मैले केही बोल्नु छैन । केही भन्नु छैन । सबै कुरा झोलुंगे पुल काटेपछि त्यहाँका मान्छेले बोले । तुइन काटेपछि त्यहाँका मान्छेले केही नभनेर पनि बिनाआवाज धेरै थोक बोले । हामीले तिनलाई बन्दुकका कुन्दाले मुखैमुखमा हान्यौं । सबै कुरा स्कुलमा पढाउँदै गरेको मास्टरलाई चौरमा पाता कसेर सेरेपछि त्यहाँका विद्यार्थीले कोकोहोलो गर्दै बोले तर हामीले तिनलाई पनि छाडेनौं । बहादुरीपूर्वक तिनका मुख रगतपच्छे हुनेगरी कुट्यौं । सबै कुरा ती निर्दोष महिलाले बोले जसलाई हामीले जगल्ट्याएर बन्दुक भिरायौं ।’
केहीबेर ऊ रोकिई । छड्के नजरले मलाई हेरी ।
म अचम्ममा परेँ । हिजो ऊ के थिई ? छापामार ? कि सेना ? उसले यो कुरा मलाई पहिला कहिल्यै किन भनिन ? ऊ किन समातिई र यहाँ आइपुगी । मैले भेटुन्जेल ऊ सद्दे थिई । धेरै खोज्नु छ भन्थी । उसले के खोजी र के भेटी ?
‘अब मलाई पागल बनाइसकियो सर । सायद मलाई कोही भेट्न दिइने छैन । म पागलखानाकी बिरामी भइसकेँ । भन्छु, म पागल होइन । तर यहाँ प्रत्येक पागल यसै भन्छन् भनेर मलाई उडाउँछन् सर ।’
ऊ निकै कठोर देखिई ।
‘म मुक्तियुद्ध लडेर आएकी मान्छे हुँ । तर मुक्ति सर ! त्यो युद्ध सभ्य र भलाद्मी कहिल्यै भएन । लडाइँ सरल र रमाइलो कहिल्यै हुँदो रहेनछ । धेरैपटक सोच्दै नसोचेका घटनाहरू भए । यिनै घटनाहरूबाट म अहिले विच्छिप्त बाँचिरहेछु । तर, म पागल होइन । मलाई हिजोको विगतले आङ सिरिङ्ग हुन्छ । विगतप्रति पश्चाताप गर्नु पागल हुनु होइन ।’
अब मलाई प्रस्ट भयो ऊ छापामार थिई ।
त्यही चौरमा उभिएर उसले आफ्नो विगत पनि कोट्याई,
म निकै तगडा थिएँ । सधैं युद्धको अग्रिम मोर्चामा हुन्थेँ । मेरो सबैभन्दा प्रिय बन्दुक सधैं मसँगै हुन्थ्यो । काँधमा बन्दुक बोकेर आवाज विहीनहरूको आवाज ल्याउने मुक्ति अभियानमा हामी लागेका थियौं ।
पार्टी मेरो कामको राम्रै मूल्यांकन भएको अनुभव गरिरहेको थिएँ । हो त्यही बेला मेरो भेट भयो कमरेड किरणसँग । हामी एउटै उद्देश्यका लागि युद्धमा थियौं । दुस्मनलाई परास्त गर्न हामी सधैं यौटै मोर्चामा हुन्थ्यौं ।
पार्टी प्रेम बर्जित थियो । मलाई प्रेममा त्यस्तो लगाव पनि थिएन । देश, जनता र निमुखाहरूको मुक्तिका लागि हिंड्नुपर्छ भन्ने मात्रै मनमा थियो । दिनभर सबै उस्तै लाग्थे । तर जब दिन ढल्दै जान्थ्यो मलाई कमरेड किरणको व्यवहारमा शंका लग्थ्यो । उनी मलाई थाहा नपाएजसरी छुन खोज्थे । हात मिलाउँथे र सुम्सुम्याउथे । मेरा ओठ, गाला र कम्मरको प्रशंसा गर्थे ।
एक साँझ सेन्ट्री रहँद उनी मेरो नजिक आए ।
‘हल्ट’
‘कमरेड के-१२’
उनले आफ्नो कोड भनेपछि म चुप रहेँ ।
त्यो अँध्यारोमा उनी मेरो नजिक आए । जीवनका कुरा गरे । मेरो प्रशंसा गरे । मैले कुनै प्रतिक्रिया जनाउन नपाउँदै उनले मलाई जबरजस्ती गरे । मैले घटना कसैलाई भन्नै सकिन । सारा घटना यसरी भए कि केही नभएजस्तै ।
त्यसपछि मैले त्यो अँध्यारो रातमा आकास मैमाथि खसेजस्तो अनुभव गरेँ । यी सारा मुक्तिका भाषण देखावटी रहेछन् भन्ने लाग्यो ।
त्यसपछि मेरो उत्साह, उमंग बिस्तारै सेलाउँदै गयो । युद्ध र मुक्तिका कुराप्रति वितृष्णा र घृणा लाग्दै गयो । तर म त्यहाँबाट निस्केर हिँडिहाल्ने अवस्था थिएन । मन बाउँडिरह्यो । त्यसको केही समयमै शान्ति सम्झौता भयो र हामी क्यान्टोनमेन्ट छिर्यौं ।
क्यान्टोनमेन्ट पनि मलाई सुरक्षित लागेन । डर लागिरह्यो । यो युद्ध युद्ध होइन रहेछ जस्तो लग्यो । एकोहोरी । मुटु दुख्लादुख्ला जसरी चीसो भइरहन्थ्यो ।
आँट गरेर एक साँझ त्यहाँबाट भागेँ । जतिखेर मेरो तपाईंसँग भेट भयो । मलाई ती सबै विद्यार्थीलाई जस्तै बिस्तारै कलम मन पर्न थाल्यो । कापी-किताब मन पर्न थाल्यो ।
तपाईंलाई देख्थेँ, मलाई उही मुक्ति अधिकारीको याद आउँथ्यो र फेरि एक पल्ट भाउन्न हुन्थ्यो । मुक्ति अधिकारी जसलाई हामीले लमजुङमा स्कुलमै पाता कसेर सेरेका थियौं । त्यो समवेदनामा रुने विद्यार्थीलाई पनि हामीले छाडेनौँ । संयोगले तपाईंको नाम पनि मुक्ति नै रहेछ । मलाई उही मुक्ति अधिकारीको पुनर्जन्म भयो कि जस्तो लाग्थ्यो ।
क्यान्टोनमेन्टबाट भागेर पनि म बाहिर बस्न पाइन । तिनै कमरेड किरणले फेरि त्यहीँ लगे । ममाथि बढी निगरानी हुन थाल्यो ।
मुक्ति सर म अहिले पनि पागल छैन । मलाई मानसिक अवस्था ठीक छैन भनेर यहाँ ल्याइएको छ ।
उसका यी सबै कुरा सुनेपछि मैले क्यान्टोनमेन्ट सम्झिएँ । विदेशी नियोगको म्यादी जागिरमा क्यान्टोनमेन्टका लडाकूहरूलाई दिएको मनोपरामर्श सम्झिएँ । मैले अझै क्यान्टोनमेन्टका लडाकूको धेरै कुरा बुझ्नै बाँकी रहेछ भन्ने लाग्यो ।
उसको कुरा सुनेर मसँगै यो मानसिक अस्पताल आएका मेरा केही साथी र केही विद्यार्थी चुपचाप थिए ।
उसले समस्याको पोको फुकाउँदै फेरि भनी,
‘मुक्ति सर ! मलाई दिनभर केही हुँदैन । जब सुर्य पहेँलिँदै र रात कालो बन्दै जान्छ त्यसपछिको एकान्त र चकमन्नले मेरो शरीरलाई सुम्सुम्याउन थाल्छ । हररात म यो मझेरीमा बाटो भुलेर अलमलिएको बटुवाजस्तो चारैतिर हेरेर बस्छु । बन्दुक र बम पड्किएको, मान्छे चिच्याएको आवाजले मलाई झस्काइरहन्छ । मेरो मनमा मात्रै घाउहरू छन् भन्ने अनुभव गर्छु र ती घाउ अन्धकार बढ्दै गएपछि बिस्तारै बढेजस्तो लाग्छ ।
मसँग पाप्रा उप्किँदै फेरि बल्झिदै र दुख्दै गर्ने घाउहरू छन् । म सधैं कहिल्यै निको नहुने यिनै घाउहरू लिएर बसिरहकी छु । बिर्सिन नसक्ने याद, सहन नसक्ने पीडा, थेग्नै नसक्ने दर्दले म किचिएकी छु । विगत र त्यो विगतमा हृदयभरि क्रान्तिले बनाइदिएका चोटहरूले म दुखिरहेकी छु ।
सर, मैले विद्रोह गरेर जिन्दगीलाई जित्न सकिनँ । मजस्तै विद्रोह गर्ने कसैले पनि केही जित्न सकेनन् । बरु आफैसँग हारे । म आफ्नै जिन्दगीसँग हारेँ । समयसँग हारेँ । मैले सँगै लिएर हिँडेका सिद्धान्त, विचार र बोकेको बन्दुकसँग हारेँ । म बिस्तारै त्यो बन्दुकको नालजस्तै खिईँदै छु, मुक्ति सर । बन्दुकले कहिल्यै कसैलाई जित्न नसकिने रहेछ । मान्छे तर्सिएर आफ्नो पक्षमा लाग्नु र साँच्चिकै आफ्नो विवेकले आफ्नो हुनु फरक कुरा रहेछ ।
उसले आफ्नो उकुसमुकुस पोखेपछि चुप लागेर एकटक हामीलाई हेरी । उसका आँखामा विगतप्रतिको ग्लानी प्रस्ट देखिन्थ्यो । मैले कहिल्यै निको नहुने द्वन्द्वका घाउहरू बेकेर बसेका ऊजस्तै धेरैको भविष्य सोचेँ । कतिलाई हिजोको पीडाले यसैगरी छुँदो हो, सम्झेँ ।
‘सर मलाई बहिर निकाल्न सहयोग गर्नुस् । म बाहिर बस्न चाहन्छु । मैले बनाएका घाउहरू म आफैं मेट्न चाहन्छु । छिनाइएका झोलुंगे पुल र चुँडाइएका तुइन बनाउन चाहन्छु । सर ! म तपाईंलाई बाहिर भेट्छु सर, अब बाहिर भेट्छु ।’
यति भनेर ऊ मेरो उत्तरको प्रतीक्षा नगरी त्यहाँबाट पहेँलो घरको कुनै कोठातिर गई ।
हामी सशस्त्र द्वन्द्वले युवामा परेको मानसिक प्रभावका बारेमा बुझ्न त्यहाँ पुगेका थियौं । केही बुझ्यौँ । अस्पतालका निर्देशक थिएनन् । सामान्य केही जानकारी लिएर फेरि जाने गरी हामी फक्र्यौं ।
जेब्राक्रसको हरियो बत्ती बलेको थियो । मान्छेहरू सडकमा सल्याङमल्याङ गर्न थालेका थिए । बत्तासिएर हुइँकिने गाडीहरू थामिएका थिए ।
केही त्रसित र हतास मुडमा सिन्थियालाई मैले पारि सडकमा उभिएको देखेँ । यो भीडभाड सडक काटेर भेट्नुपर्ला सोच्दै थिएँ । जेब्राक्रसमा हरियो बत्ती बल्यो । सडक काटेर पारी पुग्दा सिन्थिया त्यहाँ थिइन । दायाँबायाँ हेरे कतै देखिइन । जेब्राक्रसमा रातो बत्ती बलिसकेको थियो । सडकमा अघि रोकिएका गाडीहरू फेरि चल्न थालेका थिए ।
क्याम्पस पुगेर पत्रिका उठाएँ । पहिलो पृष्ठमा प्राथमिकतासाथ तस्वीरसहित छापिएको समाचारको शिर्षकको थियो,’क्यान्टोमेन्टबाट भागेकी सिन्थिया उपचार गर्दागर्दै मानसिक अस्पतालबाट पनि भागी ।’
मैले यो भीडभाड सडक छिचोल्नु छ । र म पारि बलेको रातो बत्ती हेर्दै जेब्राक्रसमा उभिएको छु ।
(श्रोत: Anmol’s Blog)