~बूँद राना~
बूँदजी !, काठमाडौँमा घर बनाउनु भो ? केही समय यतादेखि मेरा परिचितहरूले मसँग सोध्ने गरेको प्रश्न हो यो । यो प्रश्न सोध्नेक्रम घट्लाजस्तो लाग्दैन, बरु बढ्ला । काठमाडौँ र घरको प्रसङ्ग उठ्दा विगतका तत्सम्बन्धी केही भावनात्मक तथ्यहरू मेरा आँखा वरिपरि आइपुग्छन् ।
संवत् २०४० तिरको कुरा हो, नाम रामप्रसाद पराजुली हो जस्तो लाग्छ । उनी नैकाप गाविसका प्रधानपञ्च थिए, म भैरहवा नगरपालिकाको उप प्रधानपञ्च । बेलामौकामा हुने सम्मेलनहरूमा हाम्रो भेटघाट भइरहन्थ्यो । बारम्बारको भेटघाटले हार्दिकता बढाउन सहयोग पुर्याउँछ । हाम्रो बीचमा त्यही भएको थियो । एकपटक यस्तै भेटघाटको क्रममा उनले मलाई उनको गाविस नैकापमा घडेरी किन्न प्रोत्साहित गरेका थिए । भनेका थिए-बूँदजी, यहाँ -नैकापमा) यौटा घडेरी किनी राख्नोस् । यतिबेला सस्तो छ । पछि काम लाग्छ । दाम बताएका थिए, एक रोपनीको पच्चीस हजार रुपियाँ । मनमनै लोभिएँ मात्रै, व्यवहारमा केही गर्न सकिएन, पैसा थिएन ।
यसका साथसाथै अर्को यौटा घटना पनि सम्झन पुग्छु-त्यो २०४१ सालतिरको हो । श्रीमतीको मुुटु रोगको उपचार निम्ति म दक्षिण भारतको
तमिलनाडु प्रदेशस्थित सी.एम.सी
-क्रिश्चियन मेडिकल कलेज) अस्पताल, भेलोर पुगेको थिएँ । त्यहाँ अढाइ महिनाजति बस्दा एउटै लजमा बस्ने गणेशमान श्रेष्ठसँग राम्रै मित्रता हुन गएको थियो । उनी भक्तपुर -भादगाउँ) का, म भैरहवाको । मित्रतालाई भौगोलिक दूरीले छेक्तैन । गणेशमानजीको भनाइअनुसार उनको बाल्टी बनाउने उद्योग थियो । यस हिसाबले उनी उद्योगपति, म राजनीतिक प्राणी ।
-म त्यतिबेलासम्म भैरहवा नगरपालिकाको उप प्रधानमञ्च पदमै थिएँ ।) पेसाको भिन्नताले पनि मित्रतामा बाधा पार्ने कुरा थिएन । हामीबीचको मित्रता बाक्लिँदै गएको थियो ।
एक साँझ गणेशले मप्रति यस्तो सद्भाव पोखें-बूँदजी म तपाईंलाई चारआना घडेरी दिन्छु । पैसा लिन्नँ तर यौटा सर्त भने राख्छु । त्यो के भने तपाईंले घर बनाउनु पर्छ र मेरो छिमेकी भई बस्नुपर्छ । मञ्जुर छ ? । उनको सद्भावको सगरमाथा शिखर मुन्तिर म पुरिएको थिएँ । जवाफ के
दिने ? मलाई अप्ठ्यारो परेको थियो, निर्णय गर्न । उनी भने मबाट-तपाईंको सर्त मलाई मञ्जुर छ, हुन्छ, म तपाइर्ंको छिमेकी बन्ने भएँ, यस्तै उत्तर सुन्न आतुर थिए । त्यही हुनाले उनी अझै पनि सोद्धै थिए- घर बनाउने
हो ? मेरो छिमेकी बन्ने हो ? खै तपाईंले ‘हुन्छ’, ‘हुन्न’ केही भन्नु भएन नि ? उनको प्रश्न प्रस्तुतिबाट सजिलै बुझ्न सकिन्थ्यो-उनी नकारात्मक जवाफ सुन्न चाहँदैनन् । उनी मबाट सकारात्मक जवाफ ‘हुन्छ’ सुन्न चाहन्छन्, प्रष्ट थियो । प्रश्नमाथि प्रश्न थपिँदै जाँदा जवाफ नदिई सुखै थिएन । मेरो एक मनले स्पष्टवादी बनेर, घर बनाउनसक्ने आफ्नो आर्थिक अवस्था नभएको बताउन भने पनि त्यो भनाइले मित्रलाई पिरपर्ला भनेर त्यसो गर्ने आँट आएन । यति मात्र भनेँ मप्रतिको तपाईंको सद्भावनिम्ति
धन्यवाद Û मलाई थाहा थियो मेरो त्यो झारा टार्ने खालको भनाइले उनको चित्त बुझ्नेवाला छैन । हुन पनि त्यही भयो । उनले प्रतिक्रिया जनाउँदै भने-चाराना घडेरी थोरै भयो भने अझै थपौँ कि ? उनको यो भनाइमा मैले हत्तपत्त भन्नु पर्यो, हैनहैन त्यसो हैन, तपाईंले दिन्छु भन्नु भयो, मैले पाएँ । तपाईर्ंलाई दिलैदेखि धन्यवाद Û हाम्रो कुराकानीका माझमा अर्को एक जना थपिन आइपुगेको हुँदा कुराले अर्को मोड लियो । मैले केही सजिलो अनुभव गरेँ । गणेशजीको टोली हामीभन्दा अघि स्वदेश फर्किने भयो । बिदावारी हुने बेलामा थाती रहेको पूर्वप्रसङ्गलाई स्मरण गराउँदै उनले भनेको यो वाक्य आजसम्म मेरो कानमा बेलामौका झङ्कृत हुन पुग्दछ बूँदजी Û घर बनाउनु परे भक्तपुरलाई नबिर्सनु है Û
प्रश्नहरू सामान्यतया दुई किसिमका हुन्छन् । सोझो र बाङ्गो अर्थात् घुमाउरो । यी दुई रूपभित्र विविध कोण देख्न सकिन्छ । मलाई सोध्ने गरिएको प्रश्न-काठमाडौँमा घर बनाउनु भो ? को जवाफमा मैले भन्ने गरेको छु- केको पैसाले घर
बनाउनु ? ऋण खोजेर दुई चारलाख जुटाइहाले पनि त्यतिले के
हुने हो र । एक करोडले एकआना नपाइने भैसक्यो काठमाडौँ Û आफ्नो आर्थिक हैसियत बताएर मैले दिने जवाफले प्रश्नकर्ताको चित्त बुझ्दैन होला किन भने यतिबेला म प्राज्ञपरिषद् सदस्यको ओहोदामा छु ।
नेपालमा ओहोदावालहरूले गर्ने गरेको भ्रष्टाचारको तथ्याङ्क सङ्कलन गर्ने हो भने कहालीलाग्दो तस्बिर देखिने छ । यो निर्विवाद छ । सोच्छु, कतै मलाई पनि यही प्रसङ्गमा लपेटेको त होइन ? तर विश्वास लाग्दैन, मप्रति त्यो कोणबाट सोचियो होला भनेर । मेरा परिचितहरूलाई कुबेरको भण्डारबाट सिल्टीको पनियो लिई आउने व्यक्ति बूँद हो भन्ने कुरा बताइराख्नु पदर्ैैन ।
‘कुबेरको भण्डारबाट सिल्टीको पनियो’ कथासित सम्बन्धित प्रसङ्ग यस्तो छ । जीवनको कुनै कालखण्डमा बूँद राना ‘क’ वर्गका ठेकेदारको कारिन्दा हुन पुगेथ्यो । संस्थाका म्यानेजिङ डाइरेक्टर बूँदका पुराना मित्रमध्येका थिए । पदीय हिसाबले कारिन्दा र हाकिम भए पनि दुबैबीच औपचारिक व्यवहार आवश्यक थिएन । बूँदलाई एकपटक करोडौँको लागतमा सम्पन्न हुने एउटा योजनाको जिम्मा दिइयो । साइट इन्चार्जको जिम्मेवारी तोकिएको समयमा पूरा गरेर बूँद फर्कियो । कार्यालयमा खानपिनको कार्यक्रम राखियो, योजना सम्पन्न भएको खुसीयालीमा । समान पेसाका समान स्तरका ठेकेदारहरूको राम्रै जमघट थियो । जमघटमा बूँदलाई चिन्नेहरू पनि थिए । खानपिनको दौडानमा ती मध्येका एक जनाले सोधिहाले-‘बूँदजीको हालखबर कस्तो छ नि ? । बूँदलाई मुख खोल्नै परेन हत्तपत्त आयोजक ठेकेदारले भनिहाले-बूँदको हालखबर म भन्छु सुन्नुहोस् । अनि कथा भन्न थालिहाले ।
एउटा गरिब मान्छेको हालत देखेर महादेवको मन पग्लेछ र कुबेरको भण्डार देखाउँदै सपनामा भनेछन्- ‘यो भण्डारभित्र पसेर रातभरि जति मन लाग्छ सम्पत्ति ओसार्नू । ओसारेको सम्पत्ति तिम्रो हुनेछ । ख्याल राख्नु, यो काम तिमीले रात छँदै गर्नु पर्नेछ । उज्यालो भयो भने केही हात लाग्ने छैन । रित्तै फर्किनु पर्ने छ ।’ महादेवले भनेअनुसार त्यो व्यक्ति कुबेरको खजानाभित्र पसेछ । खजाना देखेर दङ्ग परेछ र हेरेको हेर्यै भएछ । यहीक्रममा उज्यालो हुनहुन लाग्दा उसले आफ्नी श्रीमतीको गुनासो सम्झन पुगेछ । उसकी श्रीमतीले प्रायःजसो भन्ने गर्दिरहिछ –
‘ढिँडो ओडाल्ने जाबो एउटा पनियो जोर्न नसक्ने कस्तो हुतिहारा मान्छेको फेला परिँछु ।’ श्रीमतीको यस्तो गुनासो सम्भिmसकेपछि आफूलाई सामथ्र्यवान बताउने सुर चलेछ र खजाना घरको एउटा कुनामा रहेको सिल्टीको पनियो टपक्क टिपी त्यो पनियो हल्लाउँदै घरको बाटो लागेछ । सिल्टीको पनियो हल्लाउँदै अब श्रीमतीलाई खुसी तुल्याउने भएँ भन्दै मख्ख परेर घर फर्किने त्यै मान्छे हो बूँद राना ।
म्यानेजिङ डाइरेक्टरले सुनाएको यो कथाले एकछिनलाई त्यहाँ मुक्त हाँसो छुटायो । कथाको आशय शायद यो उखानको जस्तो थियो- मह काढ्नेले हात चाट्छ । बूँद रानाले हात चाट्नु पथ्र्यो चाटेन ।
उखान भनेको उहिल्यैको आख्यान हो । उहिलेको कुरा खुइलियो भनिरहेको अहिलेको जमानामा बूँद रानाले हात चाटेन भन्दैमा सबैले उसकै देखासिकी गर्न जरुरी छ त ? छैन । एक्काइसौँ शताब्दी हो यो । हात चाटेर पेट भरिँदैन । यो कुरा नेपालीहरूले राम्ररी बुझेका छन् । अनि पो ‘मह’ नामको उपलब्धिलाई बढीभन्दा बढी एक्लाएक्लै हसुर्ने र डकार्ने प्रतिस्पर्धामा पत्ताचोट लागेका छन् । देखिँदै पनि छ पहिले मह सिध्याइँदै छ, त्यसपछि माहुरी र त्यसपछि माहुरीको घारसमेत सखाप पारिँदैछ । यस खालको प्रतिस्पर्धामा बडेबडे ओहोदावाल र तिनका आसेपासेहरू लागिरहँदा कतै मलाई पनि तिनै प्रतिस्पर्धाहरूको लाममा सामेल गरेर मसित त्यो यक्ष प्रश्न सोध्ने गरिएको त हैन ? शङ्का लाग्छ तर डर पनि लाग्छ मैले मेरा हित चिन्तकहरूप्रति अनावश्यक शङ्का गरेर अनर्थ त गरिरहेको छैन ?
काठमाडौँसँग घरको सम्बन्ध गाँसेर मसँग सोध्ने गरिएको प्रश्न कुन कोणबाट आएको होला ? त्यो खुट्याउन त्यति सजिलो होलाजस्तो छैन । तथ्य थाहा नपाइकन त्यतिकै कसैलाई – मलाई भ्रष्टाचारीमा गन्नु भयो कि क्या हो ? भनेर अत्तो थापिहाल्न पनि भएन । सोँच्छु-हिजोआज काठमाडौँमा म अलि बाक्लै देखिन थालेको छु । नेपाल प्रज्ञा प्रतिष्ठानमा त दिनहुँजसो, त्यसबाहेक विभिन्न साहित्यिक संस्थाहरूबाट आयोजना गरिने कार्यक्रमहरूमा, विवाह भोजहरूमा, स्वास्थ्योपचार केन्द्रहरूमा, तरकारी र राशनका दोकानहरूमा मलाई देख्न सकिन्छ । झण्डै एक वर्षदेखि म यतै छु । यति लामो समयसम्म मेरो उपस्थिति काठमाडौँमा देख्ने जो कसैलाई पनि बूँद रानाले काठमाडौँमा घर बनाएछ कि जस्तो लाग्नु स्वाभाविक हो भन्नुपर्छ । अनि त्यस्तो लाग्नेले प्रश्न गर्छन् काठमाडौँमा घर बनाउनु भो ? Û यस्तो हुन सक्तैन र हो यस्तो पनि हुनसक्छ ।
जे होस्, अब मैले त्यो प्रश्नलाई कहिले दाहिने, कहिले देब्रे कोणबाट केलाएर नदुखेको टाउको दुखाउनु साटो त्यसलाई साहित्यिक कोणबाट बु्झ्ने निधो गरेको छु । साहित्यकार भएको नाताले यसो गर्नु उचित लागेको छ । साहित्यकारलाई सोधिने प्रश्नमा साहित्य नहुने कुरै भएन । साहित्यिक हिसाबले त्यो प्रश्नलाई बुझ्दा कति अर्थपूर्ण छ, कति भावगाम्भीर्य छ, भनी साध्य छैन ।
यसरी बुझ्दा घर बनाउने कुरा माटोमा मात्र बनाइँदैन, घर मानिसका मनहरूमा पनि बनाइन्छ । भानु, देवकोटा, युद्धप्रसादहरूले हाम्रो मनमा घर बनाएकै छन् । जनजनका मनमा घर तुल्याउने कामभन्दा अरू कुन कुरा श्रेयस्कर होला ? माटोमा बनाइने घरको निश्चित आयुसीमा हुन्छ र त्यो सीमा पार गरेपश्चात् माटोमै विलिन हुनजान्छ तर मनमा स्थापना गरिने घर अजरामर हुन्छ, यो भनिराख्नु पर्दैन । मनमा बनाइने यस्तो दिव्यघरको चाहना कल्ले पो गर्दैन ? लाग्छ मित्रहरूले सोध्ने गरेको प्रश्नभित्रको ‘घर’ शब्दको सङ्केत शतप्रतिशत मनको घरतिर हुनुपर्छ ।
उपर्युक्त विचार मनमा उब्जेपश्चात् म ढुक्क भएको छु । मलाई पूर्वोक्ति प्रश्नले नपिरोल्ने पक्का भएको छ । अब कसैले मलाई-‘काठमाडौँमा घर बनाउनु भो ?’ भनी सोधेको खण्डमा मैले भन्ने भएको छु – ‘काठमाडौँमा मात्र होइन मित्र, म त मुलुकैभरि घर बनाउने तयारीमा जुटेको छु । जग हालिसकेको छु । माथि उठाउन बाँकी छ ।
उपयुक्त जवाफ यही पो हुन्छ कि ?
(श्रोत : मधुपर्क असार, २०६८)