~आहत श्रेष्ठ~
राम्रो अवसर संधै आउदैन, त्यसकै सदुुपयोग गरेर एकनारायणले एस.एल.सी पास ग¥यो । परिवारका सदस्यहरू सबै मख्ख, गाउँभरि कुरा हुन थाले–‘‘लक्ष्मी बस्ने ठाउँमा नै सरस्वती बस्दिरहिछिन्….।’’ धनीमानी बाबुको कान्छो छोरो, ऊ पैसाको बिटो बोकेर अध्ययनार्थ शहर पस्यो । अपशोच ! पाँच वर्ष भयो, उ आई.ए ब्याक पढ्नमै तल्लीन छ । चिन्ता कुनै कुराको छैन, साथीसंगीहरू प्रशस्त छन् । त्यसैले पनि रमाइलैसँग दिन बितिरहेछ, शहरको झिलिमिलि ठाउँनै रमाइलो !
त्यसैबीच कविता, जसले उसलाई बचन दिएकी थिई, आकस्मिक रूपमा टाढिई । स्वच्छ प्रेममा कत्रो दुर्घटना ! विश्वासको डोरी च्वाट्टै चुँडाएर गुमिएकी हृदयचरीलाई सम्झेर एकनारायण मनभरि कुँडिएर दिनरात छट्पटिन थाल्यो । अनायास ऊ कविता लेखनमा एकोहोरियो, भावुक पे्रमाभाव व्यक्त मार्मिक कविताहरू ! यत्तिले कविज्यूको चित्त बुझेन । ‘‘पन्ध्रै हजार त लाग्ने रहेछ नि ! यस्तै सोचेर उसले एउटा उपन्यास नै छपायो–‘‘कविता खै !’’ शीर्षकमा ।
यसरी साहित्याकाशमा अर्का एकजना नयाँ रोमाण्टिक साहित्यकार उदाउन पुगे–एकनारायण ! आगामी दिनहरूले उनकै लहरमा, दुई नारायण, तीन नारायणजस्ता नवागन्तुक साहित्यकारहरू नउभ्याउलान् भन्ने के ठेगान !
कमलकुञ्ज, दियालो–३, ओखलढुङ्गा
(श्रोत:- रचना पत्रिका बर्ष ४२ अंक ७४ २०५९)