निबन्ध : मेरो विश्वास

~कमल दीक्षित~

कामरेड रोहित, श्री नारायणमान बिजुक्छेसँग मेरो साइनो–सम्बन्ध केही छैन । म पाटने, उनी भादगाउँले । उनी मजदूर–किसानहरूका नेता, एकजना जन निर्वाचित सांसद, म भने एउटा कलमकोरुवा साधारण नागरिक । हाम्रो कुनै मिलन रेखा नै देखा पर्दैन तर म उनको एकजना प्रशंसक हुँ । नेपाली भाषाका लेखक कवि सबैलाई श्रद्धा–सम्मान गर्ने मान्छे म, शुद्ध र मीठो भाकामा एक दर्जनभन्दा बढी पुस्तक नेपालीमा लेखी प्रकाश गर्ने कामरेड रोहित त्यसैले मेरो श्रद्धाका पनि पात्र हुन् ।

का.रोहित, नारायणमान विजुक्छे, र हरिबहादुर श्रेष्ठको नामबाट लेखिएका पुस्तक हाम्रो पुस्तकालयमा आइपुगेका छन्, ती सबै उनकै कलमका उपज हुन् भन्ने मैले बुझेको छु । राजनीतिका गहिरागहिरा कुराहरू मात्र होइन, नि–यात्रा जस्ता विषयमा पनि उनी उत्तिकै सहजताका साथ लेख्न सक्तछन् । यो उनको विशेषता हो भन्ने मलाई लाग्छ । साहित्यिक कृतिहरू लेख्ने अरु पनि राजनीतिक व्यक्तिहरू छन, हाम्रोमा, प्रगतिशील पनि प्रजातान्त्रिक तिरका पनि । तर रोहितजीले, अरुले जस्तो कथा र उपन्यास लेखेको मैले पढ्न पाएको छैन । लेखेर पनि प्रकाश नगरेको हो कि लेख्तै नलेखेको हो थाहा छैन ।

कामरेड रोहितको मित्रमण्डलीभित्रको मान्छे होइन म । हाइ हेलो र नमस्ते भन्दा बढी मैले उनीसँग भेट्दा कुरा गरेको छैन । हो, टेलिफोनमा एकदुईपटक बोलेको छु र चिठी लेखेको छु एक दोटा । त्यत्ति हो । तर कसैमाथि आकर्षित हुन र सम्मान जनाउन व्यक्तिगत सम्पर्क हुनपर्दो रहेनछ । लेखोटहरूबाटै प्रभावित हुन सकिंदो रहेछ, श्रद्धावनत होइँदो रहेछ । नारायणमान विजुक्छेबारेको मेरो भावनामा यसै तत्वले काम गरेको हुृनुपर्छ ।

ह्योंजुको काण्डभन्दा पहिले मैले शायद रोहितको नाम सुनेको थिइनँ, या त सुनेपनि मेरो स्मृतिपटलमा त्यो नाम पसेको थिएन । त्यस काण्डपछि भएको उनको गिरफ्तारीले नेपालमा उनको नाम नसुन्ने कोही भएन । तर समाज चिरियो, उनको पक्षमा र उनको विपक्षमा । किन ? त्यो मेरो विषय भएन, म त्यतापट्टि नजाउँ । ऐले, मेरो चाख भनेको उनको नेपाली भाषा र साहित्यपट्टिको समर्पण मात्र हो ।

समर्पण भनें मैले । साँच्चै कामरेड रोहित नेपाली भाषा र साहित्यप्रति समर्पित व्यक्ति नै हुन् त ? थाहा छैन । तर हेरूँ न के भनेको छ ‘पासा पुचः’ ले २०४२ सालमै । लेखेको छ–‘‘लामो समयदेखि नेपाली (प्रगतिशील) साहित्यको घैंटो भर्न प्रयासरत छ–कवि हरिबहादुर श्रेष्ठ ।’’ ‘आकाश बाँधिएको छैन’ भन्ने हरिबहादुर श्रेष्ठ (अर्थात्) कामरेड रोहितको कवितासंग्रहका बारेमा युवा अध्ययन गोष्ठीले व्यक्त गरेको अभिव्यक्ति हो त्यो । त्यस वाक्यको प्रगतिशील भन्ने विशेषणलाई कोष्टकभित्र राखेको चाहिं मैले हो । किनभने त्यस विषयको त्यहाँ आवश्यकता नै छैन । वास्तवमा नारायणमान विजुक्छे नेपाली साहित्य भण्डार भर्न लागिपरेका छन् नै, २०३० सालभन्दा अघिदेखि नै । भन्छन् कत्रो ठूलो छाती लिएर उनी आफ्नी ‘प्रिया’लाई–

‘‘कस्तो सानो चित्त तिम्रो त्यो, माखाको पित्त जत्रो !

–ती सबै हाम्रै छोराछोरीहरू हुन्–लिनुपर्छ मनमा हामीले !’’

ठूला, चौडा छाती राख्दा राख्दै उनले देखे–

‘‘म आफ्नो साथीभन्दा धेरै टाढा पुगेछु

मैले आफ्ना साथीलाई धेरै टाढा छाडेछु’’

अनि उनले अठोट गरेछन्–

‘‘मैले आफ्नो साथीलाई सँगै लैजानु छ ।’’

रोहित कविता मात्र लैख्दैनन्, उनी शब्द जन्माउँछन् अनि, चिरीच्याट्ट पारेर उक्तिहरू समेत उमार्छन् । उनी ‘खोटा विचारहरू खण्डन’ गर्छन्, साथै ‘फलाकाहरू’लाई भत्र्सना समेत गर्छन् ।
‘नक्सल–वाडी आन्दोलन र उत्ताउला विचार’ बारे चिन्ता पनि गर्छन् ।

गोपाल प्रसाद रिमालको ‘आमाको सपना’ मा ‘‘आमा, त्यो आउँछ र ?’’ भनेर सोधिएको थियो । अनि ती (नेपाल) आमाले भनेकी थिइन्–

‘‘हो बा, त्यो आउँछ…।

त्यो बिहानको सूर्य झैं उज्यालो छर्दै आउँछ…।’’

राजनीतिक विडम्बना नै हो कि ? ह्योंजु काण्डमा समातिई २०४५ साल भदौ ९ गतेदेखि नख्खु जेलमा रहेका रोहितलाई फागुन ९ देखि १३ गतेसम्म प्रहरीले ‘बेपत्ता’ पा¥यो । पछि थाहा भयो ती पाँच दिन काठमाडौंको प्रहरी तालिम केन्द्रमा ‘सरकारी पक्ष र रोहितबीच भेटघाट र कुराकानी’ भएछन् । मैले राजनीतिक विडम्बना भनेको यसै प्रश्नोत्तरको कुरालाई लिएर हो । त्यहाँ प्रहरी पक्षले प्रश्न गरेछ (गोपाल प्रसाद रिमालले गरे जस्तै)–‘‘के प्रजातन्त्र आउला भन्ने ठान्नुहुन्छ ?’’ रोहितले जवाफ दिएछन् दुरुस्त (नेपाल) आमाले जस्तै१–

‘‘हो, ढिलो या चाँडो प्रजातन्त्र आउँछ ।’’

विश्वास गरौं यो पनि रोहितले बोलेको एउटा सूक्ति नै हो–हो ढिलो या चाँडो प्रजातन्त्र आउँछ ।

आजको सन्दर्भमा पनि यो सूक्ति सान्दर्भिक छ भन्ने लाग्छ मलाई ।

उक्ति भनूँ या सूक्ति, नेपाली भाषामा धेरै दिइसकेका छन् रोहितले । दुइटा मात्र उदाहरण हेरूँ– योः ‘‘राजनीति सरल रेखा होइन, यसले नागबेली बाटो लिन्छ ।’’२ या योः ‘‘३० वर्षको जनताको प्यासलाई बहुदलको एक चम्चा पानीले मेटाएको छैन, बरु बढाएको छ ।’’३

मैले सुरुमा भनेको थिएँ म रोहितको एकजना प्रशंसक हुँ । स्पष्ट भयो होला, नेपाली भाषाको सेवामा रोहितले गरेको योगदानको म किन प्रशंसा गर्छु । ‘रुसी संशोधनवाद’को बारेमा रोहितले लेखेको पुस्तकले मेरो ज्ञान बढायो बढाएन या उनले बताएको ‘अक्टोबर क्रान्ति र यसको महत्व’ मैले बुझें बुझिंन त्यो कुरा गौण छ मेरो लागि । महत्व मलाई केमा लाग्छ भने उनले ती विषयहरूमा कलम चलाए, धेरैले बुझ्ने सरल नेपालीमा दुईटा किताब दिए–नेपाली वाङ्मयको भण्डार बढाए ।

रोहित चीन भ्रमणमा गए, कोरिया भ्रमणमा गए । फर्केर अएपछि त्यसै बसेनन्–चीन नपुग्ने, कोरिया पुग्न नसक्ने निमुखाहरूले बुझ्ने गरेर त्यहाँका कुरा लेखे । किताबहरू छपाए । आफ्ना मजदूर र किसान कार्यकर्ताहरूका लागि ‘विश्वका प्रसिद्ध मजदूर आन्दोलनहरू’ का कुरा लेखिदिए उनले । कति रोचक पाराले तर कति सजिलोगरि बुझिने भाका लेख्छन् रोहित । नमूना हेरौं–

‘‘साँझको सात बज्यो । आदेश अनुसार ‘अरोरा’ भन्ने लडाकू जहाजी सेनाको तोपको निशान शीतल दरबारतिर फर्काइयो । शीतल दरबार तीनतिरबाट घेरिएको थियो । अचानक अँध्यारोलाई चिर्ने खालको एक ज्वाला र आवाज सुनियो । त्यो तोपको आवाज थियो । त्यो तोपको गर्जनले समाजवादी क्रान्ति र नयाँ युगलाई सुरु ग¥यो । ‘‘(पृ.११४) ।

यो मेरो सानो लेखोट माननीय नारायणमान विजुक्छेको गुणानुवादको पोटलिका होइन । न त यो रोहितका पुस्तकहरूको साहित्यिक समालोचना हो । ती कृतिहरूको अनुशीलन, परिशीलन पनि केही होइन । यो हो के भने, माथि आफूले लेखेको एउटा वाक्यलाइ बल पु¥याउन, प्रमाण मानि मैले गरेको एउटा झिनो प्रयास मात्र हो । भनिसकेँ मलाई कामरेड रोहितको भाषा मन पर्छ, उनको भाका मन पर्छ । हो, म उनलाई नेपाली भाषाका एक सच्चा सेवक ठान्छु । र त्यसमा म मात्र एक्लो छैन भन्ने छ मेरो विश्वास !

२ जेठ २०५९

फोन नंः ५३६३३८,                                                        १ ‘जेलदेखि प्रजातन्त्रसम्म’, पृ.६
पाटनढोका ललितपुर                                                                      २उही पृ.६४

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.