“यी मैले नरिवल पाएँ !” एकजना धर्मभीरु महिलाको सन्तुष्टीमा सरावर स्वरले हामी सबैको ध्यान आकृष्ट गरेको थियो । हाम्रो टोलीका सदस्यका साथै अरू पनि धेरै दर्शनार्थीहरू मुक्तिनाथको दर्शन गर्दै थियौं । मुक्तिनाथको मूर्तिको काखै मुनिको सानो खोपिल्टोबाट बाहिर निस्केको हातसँगै निस्केको महिलाको त्यो उद्गारले सबैका आँखामा कौतूहल जन्माउनु स्वाभाविक थियो । त्यसैले सबैका जिज्ञासापूर्ण दृष्टिहरू तिनै
महिला तर्फ आकृष्ट थिए । कुण्डजस्तो सानो गहिरो खोपिल्टोबाट हातमा एकटुक्रा नरिवल निकाल्दै आफूमाथिको ईश्वर अनुकम्पा प्रदर्शित गर्न पाएकोमा ती महिला अत्यन्त खुसी देखिन्थिन् । खुसी र आत्मतृप्तिको असीम अनुभूति उनको प्रफुल्लित अनुहारमा स्पष्टै अनुभव गर्न सकिन्थ्यो । ईश्वर अनुकम्पा प्राप्तिका लागि कष्टपूर्ण लामो यात्रा हिंडेर दर्शन गर्न आएका अन्य दर्शनार्थीहरूलाई उनको त्यो प्राप्तिले आकर्षित गर्नु झनै स्वाभाविक थियो ।
दर्शनको साथै कुण्डबाट केही पाउने आशामा पालो पर्खेर बसेका व्यग्र दर्शनार्थी अनुहारहरू अरू पनि धेरै थिए त्यहाँ । यी यात्रुहरू स्थानीय होइनन्,टाढाटाढाबाट यहीं आउन लामो यात्रा पूरा गरेर आएका यात्रुहरू हुन् ! कुण्डमा हात हाल्दा कसैको हातमा एकथोक फेला पर्छ, कसैको हातमा अरू नै थोक ! कसैको हातमा केही पनि फेला पर्दैन र उनीहरूका अनुहार आफू ईश्वर अनुकम्पाबाट वञ्चित रहनु परेको पीडाबोधबाट निराश देखिन्छन् । यसरी केही फेला पार्नेको अनुहारको तृप्ति–सन्तुष्टिको आभा र रित्तो हातको निराश अनुहारमा ईश्वरीय अनुकम्पा पाउन नसक्दाको असन्तुिष्ट र निराशा सहजै अनुभव गर्न सकिन्थ्यो ।
मानिसले आफ्नै विम्ब अनुसार ईश्वरको सिर्जना गर्छ र उसलाई आफ्नै दृष्टिकोण अनुरूप हेर्ने गर्छ । मुक्तिनाथ र यसका वरिपरिका देवीदेउताहरूलाई हिन्दु र बौद्ध सम्प्रदायका मानिसहरूले आ–आफ्नै आस्थाको दृष्टिबाट दिइएका नाउँ र गरिएका पूजाअर्चना देखेर मेरो मनले यस्तै सोचेको थियो । हामी ढुङ्गामा हाम्रो आफ्नै आस्था अनुसार देवताको परिकल्पना गर्छौं, हाम्रो मनको आफ्नै विम्ब अनुरूप उसको स्वरूपचित्र कुँद्छौं र त्यो आफ्नो मनको स्वरूपलाई ईश्वरकोे पहिचान दिन्छांै । यसरी नै हामी ढुङ्गामा ईश्वरको स्वरूप आरोपित गर्दै आइरहेका छौं,आइरहनेछौं । एनिमोइड फोसिल अर्थात् कालीगण्डकीको बगरमा पाइने ढुङ्गामा समेत ईश्वरको विभिन्न रूप देख्नमा हामी अभ्यस्त छौं, देवता मानेर हामी त्यसलाई रातदिन पुज्ने गर्छाैं ।
मुक्तिनाथ मन्दिरमा एकातिर हिन्दु पुजारी थिए, अर्कातिर बुद्ध भिक्षुणी आनी ! हाम्रो धार्मिक सहिष्णुताको ज्वलन्त दृष्टान्त थियो त्यो ! उनीहरू दुबै आ–आफ्नै आस्था र विश्वासमा दृढ रहेर मुक्तिनाथको पूजाअर्चनामा व्यस्त देखिन्थे । सिङ्गो मुक्तिनाथ क्षेत्र एकातिर ‘ओम् मणि पद्मे हुँ’को बौद्धमन्त्रमा शान्तिको अन्वेषण गरिरहेको देखिन्थ्यो,अर्कातिर हिन्दु ईश्वर अर्चनाका मन्त्रपाठले मुक्तिमार्गको खोजिमा आफूलाई समर्पित गरिरहेको अनुभव हुन्थ्यो ।
मेरी श्रीमतीमा पनि त्यो कुण्डमा हात हालेर ईश्वर अनुकम्पा प्राप्त गर्ने व्यग्रता प्रष्टै देखिन्छ । भाउजु प्रतिभा रश्मी पनि त्यो अनुकम्पा प्राप्तिका लागि कम व्यग्र हुनुहुन्न । चढाइएका वस्तुहरू कुण्डमा खसेर हातहाल्दा दर्शनार्थीको हातमा पर्नु कुनै अनौठो थिएन, म त्यसो भनेर मेरी श्रीमती र अरू पनि आस्थावान् दर्शनार्थीहरूको उत्साह र विश्वासलाई भत्काउन चाहन्न । त्यसैले म उनीहरूलाई त्यहीं छाडेर मन्दिरगर्भ बाहिर निस्कन्छु, वरिपरिको तस्वीर खिच्ने सोचमा । तेजमा पनि त्यति लामो प्रतीक्षा गर्ने धैर्य हुँदैन सायद र त्यसैले ऊ पनि म निस्केपछि बाहिर निस्कन्छ । हामी दुवै तस्वीर खिच्ने धुनमा लाग्छौं ।
मुक्तिनाथको यात्रामा आएका छांै हामी दुई दम्पति–मित्र तेजप्रकाश श्रेष्ठ, श्रीमती तेज अर्थात् भाउजु प्रतिभारश्मि, म र मेरी श्रीमती लक्ष्मी चालिसे । लक्ष्मी र प्रतिभा भाउजुको धेरै वर्षदेखिको चाहना थियो–मुक्तिनाथ दर्शन गर्ने । तेज र मेरो अन्तरमा लुकेर रहेको यायावरी प्रवृत्तिले पनि हामीलाई मुस्ताङ यात्राको योजना बनाउन प्रेरित गरेको थियो । निकै वर्षदेखि हामी योजना बनाउँथ्यौं, र त्यो योजना पूरा हुन नसकी अर्को वर्षको लागि थाती रहन्थ्यो । कहिले कसको अनुकूल मिल्दैनथ्यो,कहिले कसको ! यसरी धेरै वर्ष अर्को पल्टको लागि यात्रा स्थगित गर्दै चित्त बुझाएका थियौं हामीले ! यसपालि भने मसक्कै आँट्यौं र दशैंको द्वादशीका दिन हामी यात्राका लागि प्रस्थान गरिपनि हाल्यौं पोखरातर्फ । हिजैमात्र पोखराबाट साङ्ग्रिला एयरको फुच्चे विमानले हामीलाई बिहानै नौ बजेतिर ल्याएर छाडिदिएको थियो–मुस्ताङको सदरमुकाम जिल्लाकै रहस्य रोमाञ्चले भरिपूर्ण यो साङ्ग्रिला मा !
आस्थाले समर्पण र साहस जन्माउँदो रहेछ भन्ने मैले यहाँ राम्रैसँग अनुभव गरें । मुक्तिनाथ मन्दिरको पृष्ठभागलाई अर्धवृत्ताकार रूपमा घेरेका १०८ वटा धाराहरू हिउँजस्तै चिसो पानी निरवच्छिन्न प्रवाहित गरिरहेका थिए । दर्शनार्थीहरूको त्यही आस्थालाई अगाडि सारेर स्नानका लागि चुनौती दिइरहेका थिए ती धारा र तिनबाट बगिरहेको हिउँ झैं चिसो पानी । पानी, हातै मात्र राख्दा पनि कटक्कै काट्ने ! त्यस्तो चिसो पानीको प्रत्येक धारामा टाउको थापेर नुहाउने आँट गर्नु मेरा लागि दुस्साहस थियो । तर केही धर्मभीरू महिला–पुरुषहरू त्यही दुस्साहसलाई मूर्तता प्रदान गरिरहेका थिए, उनीहरू त्यस्तो चिसो पानीमा थर्थरी काम्दै नुहाइरहेका देखिन्थे । एउटी कमजोर महिला नुहाउँदा नुहाउँदै चिसोले कठ्याङ्ग्र्रिएर नीली–काली भएर लग्लगी कामिरहेकी देख्दा मैले त्यसलाई दुस्साहस बाहेक अर्को नाम दिन सकेको थिइन । लक्ष्मी, मुटुको लामो बिमारीबाट भर्खरै तङ्ग्रिएर योे साहसपूर्ण कठिन यात्रामा निस्केकी थिई । घुँडाको समस्याले हिंड्न समेत कठिनाई भइरहेको थियो उसलार्ई । तर ऊ त्यही आस्थाका कारण त्यस्तो प्रतिकूल स्वास्थ्यस्थितिमा समेत नुहाउने दुस्साहसपूर्ण चाहना प्रकट गरिरहेकी थिई । हात मात्रै राख्दा पनि कटक्क काटेर झर्ला जस्तो अनुभव हुने त्यो हिउँको चिसो पानीमा, त्यो पनि एकसय आठवटा धारामा टाउको थापेर नुहाउनुको अर्थ उसको लागि अर्को समस्या थपिनु हुन्थ्यो । हिजै जोमसोमबाट माथि उकालो चढ्दा उसलाई कम समस्या भएको थिएन । बल्ल बल्ल सम्झाएर हामीले उसको त्यो इच्छालाई थामथुम पारेका थियौं । उसको हठ देखेर प्रतिभा भाउजुले आफू पनि स्नान नगर्ने भने पछि बल्ल उसको चित्त बुझ्यो । हामीले त्यो आँट नगरे पनि साहस जुटाएर त्यो अति चिसो पानीमा स्नान गर्ने महिला– पुरुषको संख्या भने कम थिएन । नुहाउँदा नुहाउँदै कम्प छुटेर त्यहीं ढल्ने अवस्थामा पनि मानिसहरू प्रकृतिको त्यो चुनौतीलाई आस्थाको दरिलो सम्वलको भरमा सहर्ष स्वीकार गरिरहेका थिए ।
राजनीति र जातीयताको मन्द विषको संक्रमण बढिरहेको मेरो समाज यथार्थमा सहिष्णु छ । मुक्तिनाथका प्रमुख मन्दिर र तीर्थमा हामी हिन्दु र बौद्ध धर्मावलम्बीहरूको सहअस्तित्व र सहकार्य देखेर मलाई त्यतिबेला यस्तै अनुभव भएको थियो । यहाँका प्रमुख मन्दिर मुक्तिनाथको मन्दिर होस् वा नरसिंह अवतार, ज्वालामाई वा पाताल गङ्गा हुन् सबैतिर नै यसको दृष्टान्त फेला पर्थे । यी सबैमा धार्मिक सहिष्णुताको उदाहरण पाइन्थ्यो । हिन्दुहरू यिनमा आफ्नै आस्था र विश्वासअनुसार ईश्वरको कल्पना गर्थे, बौद्धहरू आफ्नै आस्था र विश्वास अनुसार ! मुक्तिनाथ हिन्दुहरूका लागि विष्णु वा शिवको स्वरूप थियो भने बौद्धहरूका लागि भगवान बुद्धको ! मुक्तिनाथको मूल पूजारी नै आनी अर्थात् बौद्ध भिक्षुणी ! मुक्तिनाथको भित्री पूजाको अधिकार उनीहरूलाई मात्र थियो ! अर्का पुजारी हिन्दु, जसलाई भित्री पूजाको समेत अधिकार छैन रे, पुजारी नारायणदत्त सुवेदीबाट यस्तै जानकारी पाएका थियौं हामीले । पछि थाहा भयो ती पुजारीले त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागबाट नेपाली विषयमा स्नातकोत्तर गरेका रहेछन् । त्यति बेला मेरो बाबा पनि त्यहीं अध्यापन गर्नुहुने भएकोले उहाँका विद्यार्थी पनि रहेछन् उनी । उनीसँग त्यो परिचय भएपछि हामीले मुक्तिनाथको बारेमा धेरै कुराको जानकारी पाएका थियौं र विशेष दर्शनको सुविधा पनि !
“पहिले मुक्तिनाथमा हिन्दु विधि अनुसार वर्षको छ महिना मात्र पूजाआजा हुने गथ्र्यो, बौद्ध परम्पराको बारे भने मलाई पनि त्यति थाहा छैन ।”पुजारी सुवेदीले भनेका थिए । विसं १८५५ देखि राजा रणबहादुर शाहले गुठी कायम गरेर मुक्तिनाथको औपचारिक पूजा सुरु गराएका रहेछन् । चैते आंैसीदेखि असोजसम्म हिउँ अलि कम पर्ने भएकोले ती छ महिना मात्र पूजा गर्ने चलन थियो रे, त्यो बाहेक अरू समयमा यहाँ कोही बस्नै नसक्ने भएकोले पूजाआजा समेत हुँदैनथ्यो रे । यिनको दावी थियो–आफ्नै बाजे कृष्णदत्त सुवेदीद्वारा २०२१ सालदेखि मात्रै बाह्रै महिना पूजा गर्ने चलन सुरु भएको हो ।
मुक्तिनाथ भन्दा माथिको एउटा मन्दिर हिन्दु विश्वासमा नरसिंहको मन्दिर थियो, बौद्धहरूको आस्था र विश्वासमा पद्मनाभ बुद्ध र गुरु ढाक्पो तथा गुरु रिम्पोछेको गुम्वा ! मन्दिरकी आनी पेमा खाण्डु गुरुङको राम्रो सहयोग पाएका थियौं हामीले त्यो मन्दिर अथवा गुम्बा हेर्न र बुझ्नका लागि । एउटै ठाउँमा अल्मलिने हामीसँग समय थिएन । यात्री न ठहरियौं, घडीका प्रत्येक घण्टा र मिनेटका सुईको चालमा हिसाब गरेर हिंड्न बाध्य थियौं हामी त्यति बेला ! हामी त्यसैले त्यहाँबाट उत्तर लागेका थियौं–पाताल गङ्गा अर्थात् एउटा दुलोजस्तो ढुङ्गाको ओढारमा कान थाप्न ! त्यहाँ कान थाप्दा तल…धेरै तल…पानी बगेको कुलकुल आवाज सुनिएको थियो ! चट्टानी पहाडको फेदीमा ककारोबाट मूल फुटेको यही पानी कालीको मुहान वा उद्गम हो रे, यहीे पातालगङ्गा काली जन्माउने आदिमूल ! कागबेनीबाट उत्तरपट्टिको लगभग सत्र हजार फिटको उँचाइमा काकभुसुण्डी सरोवरबाट निस्किएको अर्को मुहानबाट उत्पत्ति भएको गण्डकीसँग मिसिएपछि कालीले संयुक्त नाम लिन्छे–कालीगण्डकी । मानसरोवरको तल पर्ने त्यो सरोवरमा पर्वत कन्या पार्वती स्नान गर्थिन् रे, जलक्रीडा गर्ने गर्थिन् रे ! किम्बदन्तीहरू निकै सुनिन्छन् ।
हामी अझ अघि बढेका थियौं, ज्वालामाईको मन्दिरतिर । आनी अर्थात् बौद्ध भिक्षुणी मात्र पुजारी रहेकी ज्वालामाईलाई कसैले शिव मन्दिर मानेको सुनिन्थ्यो, कसैले देवीको मन्दिर ! यसैलाई बौद्धधर्मावलम्बीहरू बुद्धका विभिन्न अवतारका रूपमा पूजा अर्चना गर्थे । यही मन्दिरमा मूर्तिको तल एक छेउमा अँध्यारो गुफाजस्तो गहिरोभित्र एउटा मधुरो ज्वाला बलिरहेको देखिएको थियो । संभवतः त्यो बलिरहेको ज्वाला जमिनमुनिको ग्याँस हुनुपर्छ । यसैलाई भनिंदो रहेछ, ज्वालामाई र यही मन्दिरलाई ज्वालामाईको मन्दिर !ं
“खोइ, बिहानदेखि एक कप चिया समेत खान पाइएको होइन ! बरू लजबाटै खाएर आउनुपर्ने रहेछ ।” सधैं बिहान उठेर नित्यक्रिया पछि तातो चियाको चुस्की नलिई केही नगर्ने मेरो आदतले मलाई यति बेला चिया सम्झाइरहेको थियो । लजमा चिया पर्खंदा दर्शन गरेर फर्कन ढिलो हुने भएकोले बाटैमा खाने सल्लाहले हामीलाई हिंडाएको थियो, त्यतिखेर । यति चाँडै बाटामा चिया फेला पर्दैन भन्ने जानेको भए सायद हामी पर्खेर पनि लजमैं चिया खाएर मात्र हिंड्थ्यौं होला । उकालो चढ्दा मुक्तिनाथको अन्तिम पडाव र यात्रीहरूको आश्रयस्थल रानी पौवा यतिबेलासम्म पनि मीठो निद्राबाट व्युँझिएकै थिएन । हिजै यहाँ आएर बासबस्नेहरू दर्शंन सकेर फर्कने क्रममा देखिएको केही आवागमन र केही गतिशीलताको जीवनबोध बाहेक बस्ती चेतनामा आइसकेको देखिंदैनथ्यो ।
यसरी हेलिकोप्टर चढेर पनि के धर्म होला र ?–हाम्रै समूहमध्येकै कसैको अभिव्यक्ति थियो त्यो । मुक्तिनाथको मन्दिरको केही तल हवाईजहाज उत्रने हेलिप्याड देखेपछिको यो स्वाभाविक प्रश्न थियो । हेलिकोप्टर चढेर धर्म हुने कुराले भन्दा पनि कष्टकर जीवन बिताउन वाध्य बहुसंख्यक मुस्ताङ्गी जनता र यो हेलिप्याडको अस्तित्वले अभिव्यक्त गर्ने हाम्रो विकास र कथित समतामूलक भनिने समाजकोे समानताको धज्जी उडाएको यथार्थले मलाई बढी चिमोटेको थियो । हाम्रो सामाजिक र राष्ट्रिय जीवनको विषमतालाई औंल्याउने यो एउटा राम्रो दृष्टान्त थियो सायद । कहाँको यात्री, भारी र पसलका सामान खेप्दै चिसो हिउँको मुटु छेड्ने सिरेटाबाट लखेटिएर चौबीसै घण्टा अभाव र गरीवीसँग लाप्पा खेल्दा पनि टालो नहाली भोटो र कछाड आँङमा नपर्ने यी हिमपुत्रहरूको जीवनको यथार्थ ! अनि कहाँको यो हेलिकोप्टरमा सयरको विलासी क्षमताको अश्लील वैभव प्रदर्शन ! यी दुई अन्तर्विरोध बीचको चर्को विषमता बीच म कुनै तालमेल फेला पार्न सकिरहेको थिइन ।
“शालिग्राम लैजा, थैलो–लुगा लैजा, सस्तो दिन्छ !” स्थानीय तिब्बती लवजमा ग्राहक बोलाइरहेका उनीहरूको आवाजले जो कोहीलाई आकर्षित गरिरहेको थियो । दर्शन सकेर तल झर्दा बस्ती बिस्तारै व्युँझँदै थियो । मुस्ताङ्गीहरू बाटाका छेउछेउमा विक्रीका लागि स्थानीय घरेलु उत्पाद ऊनका कलात्मक सामान, शालिग्राम, मुगा–पत्थर र यस्तै सामान फिँजाएर ग्राहकको प्रतीक्षामा बसिसकेका थिए । विभिन्न उमेरका स्थानीय महिला पुरुषहरूको त्यो आग्रहले जो कोहीलाई केही न केही किन्न प्रेरित गरिरहेको थियो ।
चियाको तलतल मलाई मात्रै लागेको थिएन, तेज पनि चियाकै खोजीमा थियो । त्यसैले हामी दर्शन र यात्रा छोट्याएर पनि फर्कन हतारिएका थियौं । रानीपौवा झरेपछि बल्ल हाम्रो तलतल मेटिएको थियो, मीठो, स्वादिलो र भित्रैसम्म तताउने तातो चियाले ।
अघिल्लो दिन झार्कोटको प्रकाश लजमा रात बिताएर बिहान सबेरै मुक्तिनाथको दर्शन गर्न हिंडेदेखि नै पातलो हिउँ जमेको ओसिलो त्यहाँको वातावरण निकै चिसो थियो । तर त्यो चिसो र उकालो चढ्दाको कष्टलाई त्यहाँबाट देखिने मनोरम अभूतपूर्व दृश्यहरूले मज्जैसँग बिर्साइदिएका थिए । पश्चिम पट्टि सिधै माथि उठेको विशाल शिखरको तल फेदीमैं पूर्वाभिमुख मुक्तिनाथ मन्दिरको केही तलको रानीपौवाबाट देखिने अनुपम दृश्यले हामीलाई मोहित तुल्याएको थियो । पूर्व–उत्तर तर्फको खुला क्षेत्रमा देखिएका विशाल हिमशिखरहरू कुनै हातले छोइएलान् झैं लाग्थे, अति नै नजिक ! कुनै आँखाले राम्ररी ठम्याउन पनि मुस्किल, टाढा…अति टाढा….! नीलो आकाशमुनि देखिने स्वेतधवल हिमचुचुराहरूको सौन्दर्य अनुपम लाग्थे–सद्यस्नाता सुन्दरीको पानीमा भिजेको सुडोल शरीरजस्तै आकर्षक,लोभ्याउने ! घाम लागिसकेको छैन, घाम लागेर प्रभाती सूर्यकिरणको सिन्दुरी रङ्गमा रङ्गिंदा कस्ता देखिएलान् यी स्वेतधवल हिम शिखरका सिउँदाहरू ! मलाई लाग्छ, संसारमा योभन्दा स्वर्गीय आनन्दको मन लोभ्याउने अर्को कुनै दृश्य हुनै सक्तैन, सौन्दर्य हुनै सक्तैन ! हिमचुचुराका एक पछि अर्को देखिने लहरहरू प्रसिद्ध प्रभाववादी कलाकारको उत्तम कृतिजस्तै लाग्छ मलाई ! यस्तो मनोरम दृश्यले हामीलाई मात्र होइन, जोकोहीलाई पनि अभिभूत तुल्याइरहेको थियो ।
मुस्ताङदेखेर, मुक्तिनाथको यो सौन्दर्य देखेर र यहाँको आध्यात्मिक परिवेश र शान्ति देखेर मलाई निकै वर्ष अगाडि पढेको एउटा उपन्यासको सम्झना भएको थियो । जेम्स हिल्टनको लस्ट होराइजन् अर्थात् हराएको क्षितिजको साङ्ग्रिला अन्त कतै होइन, यहीं हुनुपर्छ , यतै कतै हुनुपर्छ । हिल्टनले साङ्ग्रिला अर्थात् सांसारिक र असांसारिक दुबै दृष्टिमा भोक–प्यास, रोग–व्याधि, दुःःख–कष्ट, माया–मोहबाट अलग्गै ज्ञानमय बनेको त्यो अलौकिक ठाउँ तिब्बती पठार वा तिब्बतकै कतै आसपासको हिमाली क्षेत्रमा रहेकोे परिकल्पना गरेका थिए आफ्नो उपन्यासमा । तिब्बती पठारमा घुसेर आधा हिस्सा हिमाल पारि रहेको यो रहस्यमय स्वर्गीय आनन्दको भू–भाग मेरो मुस्ताङ हिल्टनको साङ्ग्रिला हुन सक्तैन र ?–मेरो मनमा यस्तै सोच उब्जेको थियो त्यति खेर ! मुस्ताङका अनेकौं गहिरा खोंच र गल्छीहरू, गुफा र अगम्य भौगोलिक संरचनाहरू भित्रै पनि त हुनसक्छ त्यो साङ्ग्रिला ! यो संस्मरण लेखिरहँदा भर्खरै मेरो आँखामा एउटा जानकारी परेको छ– युरोपेली विशेषज्ञहरूको सहयोगमा चिनियाँहरूले हिल्टनले कल्पना गरेको साङ्ग्रिला पत्ता लगाए रे ! तिब्बत, यमुना र सेचुँवा प्रान्तको त्रिवेणीमा रहेको सुन्दर डिक्विङ उपप्रान्त अर्थात् प्रिफेक्चर नै हिल्टनको साङ्ग्रिला हो भन्ने उनीहरूको निष्कर्ष रहेको छ । त्यो नै साङ्ग्रिला नभए पनि त्यो जस्तै प्रतिरूप हो भन्ने उनीहरूको दावी रहेको छ । गएको वर्ष अर्थात् डिसेम्बर १७, २००१ मा चीनले त्यो प्रिफेक्चरको नाउँ साङ्ग्रिलामा बदल्यो र यही वर्षको मइ महिनाको सुरुमा त्यही नयाँ साङ्ग्रिलामा साङ्ग्रिलाको अनुभूति दिलाउने नाउँ दिएर कुमिङमा अन्तर्राष्ट्रिय पर्यटन महोत्सवको समेत आयोजना ग¥यो । पर्यटक लोभ्याउने आजको विश्वव्यापी होडमा यो साङ्ग्रिलाले जादुको काम कतिसम्म गर्नसक्ला, त्यो आफ्नै ठाउँमा छ । त्यो पढेर मेरो मनमा उब्जिएको प्रश्न भने एउटै थियो–हामीले पनि यो खोजी हामीकहाँ नै गर्न सकेको भए हुँदैनथ्यो होला र ? मेरो मुस्ताङ के हिल्टनको परिकल्पनाको साङ्ग्रिला हुन सक्तैनथ्यो होला ? मेरो मनमा उठेका यी प्रश्नको सार्थकता कतिसम्म रहन सक्ला म भन्न सक्दिन, तर मुस्ताङ र मुक्तिनाथ देखेर मभित्र यी प्रश्न भने तरङ्गित भइ नै रहे !
हाम्रो छेवैबाट एक हुल खच्चर र भरियाहरू लामबद्ध ओरालो लाग्दै हुन्छन्–झारकोटबाट जोमसोमतर्फ । हिउँ र जाडो छल्न शिरदेखि पाउसम्म बाक्ला टोपी र पोशाकमा ढाकिएका ती भरियाहरूका कपडा विभिन्न रङका टालाटुलीमा टालिएर नयाँ डिजाइनका बुट्टेदार पोशाकजस्तै लाग्थे–छुट्याउनै मुस्किल, डिजाइन नै यस्तै त होइन ? उनीहरूमध्ये कोही झारकोटका लज र होटेलहरूका लागि सामान खेप्न जोमसोम झर्दै थिए । कोही, यहाँका होटेल–लजहरूमा अगाडिबाटै स्थान सुरक्षित गरेर जोमसोम आइपुगेका विदेशी पर्यटक–पाहुना र उनीहरूको सामान ओसार्न जोमसोम तर्फ ओरालो झरिरहेका थिए । तल झर्दै गरेका ती मध्ये केहीले डो¥याएका घोडा र खच्चरमा सामानहरू टम्म लादिएको देखिन्थ्योे, कोही आफ्नै पिठ्युँमा भारी लादेर हिउँले ओसिएको मुक्तिनाथको ओरालो झरिरहेका देखिन्थे । सुनिन्थ्यो हिजो आज उनीहरूको व्यवसायमा केही मन्दी आएको छ । विदेशी पर्यटकहरूको आगमन धेरै पातलिएर उनीहरूको रोजीरोटीमैं प्रतिकूल असर परिरहेको छ । मुलुकभर नै व्याप्त अशान्ति र हिंसा–हत्याको असरले यस्ता पर्यटकहरूको नेपाल आगमन अत्यन्त पातलिनु स्वाभाविक थियो । यो पीडा मुस्ताङले मात्र होइन, पर्यटक लोभ्याएर जीवन धान्ने हाम्रा धेरै ठाउँले भोगेको साझा पीडा थियो यो । मुस्ताङ आउने पर्यटक पनि यिनै कारणले पातलिनु अस्वाभाविक थिएन । केही वर्ष अघिसम्म यो समय विदेशी–स्वदेशी यात्रीले छपक्कै ढाकिने मुस्ताङ केही वर्ष यतादेखि रित्तो–रित्तो देखिन थालेको छ, होटेल–लजका कोठाहरू प्रायः रित्ता नै रहेका छन् ।
केही छिन अघिसम्म यहाँको सौन्दर्य र अनुपम प्राकृतिक छटाबाट आल्हादित भएर साङ्ग्रिलाको खोजीमा भौंतारिएको मेरो मन ती भरियाहरूलाई देखे पछि भरङ्ग हुन पुगेको थियो । आफैंसँग प्रश्न गरेको थियो मेरो मनले–मेरै जति सौन्दर्याबोध गर्नसक्लान् ती यहाँका स्थानीय मानिसहरूले ? यो सौन्दर्यको अनुभूति लिने समय र उत्साह कति होला तिनीहरूसँग ? एकमात्र बाँच्ने साधन विदेशी–स्वदेशी पर्यटकको आवागमन र तिनका सेवाका लागि आवश्यक बस्तुहरूको ढुवानीमा निर्भर मुस्ताङका मेरा ती नेपाली भाइबन्धुहरू त्यो सधैंको हिउँ कठ्याङ्ग्रिने जाडोमा, खेतीपाती शून्यप्रायः भूभागमा बाँच्नका लागि अहोरात्र गर्नुपर्ने सङ्घर्षलाई भुलेर के मैले जस्तै सौन्दर्यबोध गर्न सक्लान् ? मेरो मनले कसै गरे पनि यसको जवाफ सकारात्मक फेला पार्न सकेको थिएन ।
अघिल्लो रात प्रकाश लजमा बस्दा लजका मालिक स्थानीय व्यक्ति छेवाङ् आङमा गुरुङ र उनकी पत्नीसँग निकै कुराकानी भएको थियो हाम्रो । उनीहरूबाट पाएको जानकारी बाहेक त्यही लजमा काम सघाएर त्यहीं रात बिताउन आएका लज मालिक्नीका नातेदार दुईजना आनी अर्थात् बौद्ध भिक्षुणीहरूबाट अरू थप जानकारी पाएका थियांै हामीले । हामीले पाएका जानकारीले मरो मनले मसँग गरेका प्रश्नको सकारात्मक होइन, नकारात्मक जवाफकै पुष्टी गरेका थिए । वर्षको चार महिना पूरै हिउँमा ढाकिएर भूमिगत जीवन बिताउन बाध्य मुस्ताङ मजस्ता दर्शनार्थी पर्यटकहरूका लागि आफ्नो मादक सौन्दर्यले लोभ्याउन जति सफल छ, आकर्षक छ, त्यति नै त्यहीं बसेर जीवन गुजार्नु पर्नेहरूका लागि कष्टकर पनि ! म केही दिन घुमफिर गर्नेलाई लोभ्याउने यसको दुरूह र दुर्गम भूबनोट त्यहाँका बासिन्दाको जीवनयापनका लागि निश्चय पनि सहज र सहयोगी छैन ! यो मेरो अनुमान थियो र मेरो अनुमान सत्यभन्दा धेरै टाढा छैन भन्ने मलाई पूरै विश्वास थियो । बाटो र सञ्चारको सुविधाको अभावले आफूले फलाएका सुन झैं सुन्दर सुनौला मीठा स्याउ मात्र होइन बन्दकोभी, मुला, गाजरजस्ता उत्पादनहरूको समेत उनीहरू कौडीको मोल पाउन सक्तैनन् ।ं घोडा, खच्चर, गाईबस्तु र भेडा–बाख्रालाई खुवाएर उपयोग गर्न बाध्य छन् उनीहरू आफ्ना उत्पादन । त्यसैले उनीहरू कमसेकम जोमसोमसम्मको मोटर बाटोको सपना बुन्छन्, त्यही सपना ओढ्छन् र त्यही ओच्छ्याएर केही भए पनि सुखी भविष्यको बीरबल खिचडी पकाउँछन्, वर्तमानको भोक मेट्छन् । तर सपना सपनै हो, निकट भविष्यमा त्यो विपना बन्छ भन्ने स्वयम् उनीहरूलाई नै विश्वास छैन, आशा छैन । झुटै भए पनि भविष्यका लागि देखिने त्यस्ता सपना जीवन संघर्षलाई निराशाको अतल सागरबाट बचाउने एउटा आधार बन्ने गरेको छ उनीहरूका लागि । मृगमरीचिका नै भए पनि मरुभूमिको यात्रालाई केही बेरसम्म अगाडि लैजान सहयोग पु¥याउने एउटा मृगतृष्णा पनि हो यो सपना, आशावादिता ! मानव सभ्यताको लामो यात्राका लगि आवश्यक पाथेय पनि हो यो, आशाको कहिल्यै ननिभ्ने पिल्पिले ज्योति ! मानव सभ्यताको कष्टकर लामो यात्रालाई केही भए पनि सहज तुल्याउन सायद यस्ता सपना सहयोगी हुने गर्छन् !
मलाई मुस्ताङ प्रवेशको प्रारम्भदेखि नै दुई विपरीत अवस्थाको चरम अनुभूति भइरहेको थियो । जोमसोमदेखि मुक्तिनाथसम्मको यो यात्रामा मलाई कहिले लाग्थ्यो, मुस्ताङ होटेल र लजहरूको आधुनिक जीवनमा चुर्लुम्मै डुबेको छ ! के छैन यहाँ, आधुनिक सभ्य जीवन र संसारका सुविधाभोगका यावत् वस्तुहरू ! खर्च गर्न सक्ने क्षमता मात्रै हुनुपर्छ, सबै आधुनिक सोखसयलका साधनहरू उपलब्ध छन् । कहिले भने लाग्थ्यो, यसले प्राग्ऐतिहासिक पुरातनबाट अझै मुक्ति पाउन सकेको छैन, बौद्ध गुरु, आनी र भिक्षुहरूको रहस्य रोमाञ्चको सागरमा डुबेर ‘ओम मणिपद्मे हूँ’को मन्त्रसाधनामैं फुर्सत छैन मुस्ताङलाई ! प्राचीन उपचारपद्धति र यसका प्रयोक्ता आम्चीहरूकै तिलस्मीमा चांैरी, खच्चर र भेडाहरूको लामसँगै जीवन बिताउनमै फुर्सत छैन मुस्ताङलाई !
फोनः४७११२१
आरुबारी, जोरपाटी, काठमाडौं
(श्रोत:- रचना पत्रिका बर्ष ४२ अंक ७४ २०५९)