~रूपेश आचार्य~
‘ए कान्छा… ठट्टैमा यो बैंस जान लाग्यो।’
तारादेवी र नारायणगोपालको यो कालजयी गीत रेकर्ड भएदेखि २०५० सालसम्म झन्डै १० हजार पटक बज्यो। गीतकार रत्नशमशेर थापालाई रेडियो नेपालका कार्यक्रम सञ्चालकले श्रोताबाट सर्वाधिक ‘फर्माइस’ यही गीतका लागि आउने बताएका थिए।
धेरैलाई थाहा नहुन सक्छ, श्रोतालाई त्यति धेरै तान्नसक्ने त्यो गीत त्यति बेला प्रविधिले साथ दिएको भए दुई अन्तरामा टुंगिने थिएन। रेकर्ड गर्दा स्थायी अन्तरा र त्यसबीचका संगीतसमेत गरी साढे तीन मिनेटमा अटाउनुपर्ने भएका कारण थापाले लेखेको अन्तिम अन्तरा रेकर्डमा अटाएन।
रत्नशमशेर थापाले आफ्नो प्रिय गीतको त्यो छन्द अझै भुलेका छैनन् –
केटा : अप्सरा हौ तिमी, धपक्क बलेकी
केटी : अरुण हौ तिमी, अरुणाको लेखी
दुवै : साह्रै नै सुहाउने तिम्रो हाम्रो जोडी, सुरेली खेलेर तारा हेर्न आऊँला
नारायणगोपालले मात्र होइन, आधुनिक गीत मनै नपराउने उनका बाबु आशागोपालले समेत प्रशंसा गरेको त्यो गीतको अन्तिम छन्द गीतमा अटेन। अटेको भए तारादेवी र नारायणगोपाललाई श्रोताले थप एक मिनेट सुन्न त्यही गीतमा पाउने थिए। दुवैले सँगै गाएको समेत तर त्यति बेलाको थ्री एमपीआर रेकर्ड प्रविधिका कारण काठमाडौंबाट सबै छन्द लिएर कलकत्ता पुगेका नारायणगोपाल त्यो अन्तरा छोड्न बाध्य भए। त्यसो त अन्तिम समयसम्म पनि नारायणगोपाल त्यो छन्दसहित गाउन खोजिरहेका थिए। त्यसको प्रमाण दिँदै रत्नशमशेर भन्छन्, ‘क लकत्ता पुगेपछि कसैले नारायणगोपाललाई ‘सुरेली खेल्ने भनेको त माथि चढ्नलाई हो, तारा तल झर्नुलाई सुसेली भनेको मिल्दैन भनेर लगाइएदिएछ। मलाई नारायणगोपालले त्यहीँबाट फोन गर्यो। मैले सुरेलीको अर्थ बताएपछि उसले कुरा बुझ्यो। तर, त्यो छन्द अट्न सकेन।’ नारायणगोपाल संगीत कोषले २०४९ सालमा निकालेको ‘बागिना’ मा नारायणगोपालले जीवनको उत्तरार्द्धतिर पुराना गीतलाई फेरि एकपटक गाउने कोसिस गरेको उल्लेख छ। सम्भवत: त्यति बेला त्यो छन्द पनि समावेश हुन सक्थ्यो।
नारायणगोपालकै अर्को चर्चित गीत ‘म त लालीगुराँस भएछु’ मा पनि त्यही नियति दोहोरियो। यो गीत रेकर्ड हुँदा ४५ आरपीएमको रेकर्ड प्रविधि आएका कारण समयसीमा तीन मिनेटभन्दा बढी नै थियो। तर, गीतको मर्मअनुसार संगीत खोज्ने नारायणगोपालले बीचका धुनहरू केही लामो राखिदिए। लालीगुराँस र जीवनको सम्बन्धबारे सुन्दर ढंगले शब्द बुनिएको त्यो गीतको अन्तिम छन्द गीतकार अधिकारीसँगै रह्यो, जुन यस्तो थियो-
‘रातै फुल्छु सुखीसित
दु:खीसित नि रातै
मरे पनि झरे पनि
रातो रंग साथसाथै’
गीतको सुरुमा समाजका विविधता र त्यसप्रति आफ्नो समभावबारे चर्चा गर्दै लगेका गीतकार अधिकारीले ‘अवस्थाअनुसार रंग बदल्नु हुन्न’ भन्ने भाव प्रकट गर्न त्यो अन्तरा राखिएको बताए। अहिले पनि अधिकारी गीतभन्दा पहिले स्वत:स्फूर्त रूपले कविता लेख्छन्। अहिले उनले गीत माग्न आउनेहरूलाई ‘लामो भए यो यो अन्तरा झिकिदिए हुन्छ’ भन्ने गरेका छन्। यद्यपि, अहिले गीतलाई निश्चित समयसीमाभित्र अटाइसक्नु पर्ने बाध्यता नभएकाले छन्द त्यति छुट्ने गरेको छैन।
उनै नारायणगोपालको अर्को लोकप्रिय गीत ‘आजभोलि हरेक साँझ मात्तिन थालेछ’ पनि अन्तिम छन्द छुटाएरै श्रोतासामु आयो। रचनाकार भीम विराग अधिकारीले ७३ वर्षको छँदा हेटौंडाको एक पत्रिकालाई दिएको अन्तर्वार्तामा लामो भएका कारण नारायणगोपालले त्यो छन्द हटाएको बताएका थिए। त्यो छन्द यस्तो थियो-
आफूलाई बिर्सन पिएँ, तिमीलाई सम्झिन पिएँ
होशमा पिएँ, बेहोशीमा पिएँ
रक्सीको भ्रममा आफ्नै आँसु पिएँ
आज भोलि हरेक साँझ जाँडिन थालेछ
जिन्दगीदेखि जिन्दगी आत्तिन थालेछ
दुईवटा स्थायी र खासगरी तीन वा तीनभन्दा बढी अन्तरा भएका गीत छोटिएर बजाउनुपर्ने बाध्यता २०३० को दशकअघिका कलाकारलाई थियो। त्यसैले थुप्रै गीतका हरफ छटनीमा परे। धेरैजसो गीतको अन्तिम छन्द छोडेर गाउनुपर्ने अवस्था रह्यो। ‘प्राय: गीतकारले आफूले व्यक्त गर्न चाहेको मुख्य भाव त्यही अन्तिम छन्दमा हाल्ने गर्छन्। गीतमा त्यो छन्द नबज्दा उनीहरू दु:खी त हुन्छन् नै’, क्षेत्रप्रताप भन्छन्।
पुराना लोकप्रिय गीतमा छन्द छुटाएर गाइएका प्रशस्त उदाहरण भेटिन्छन्? जसमा अधिकांश लामो कविता र रेकर्ड गर्दा समयको सीमितता नै कारक देखिन्छ। नीरविक्रम शाहको रचनामा नातिकाजीको कालजयी गीत ‘यौटा तारा डाँडावारि अर्को तारा पारि’ को अन्तिम हरफ पनि छुट्यो-
सुख साथै दु:ख यहाँ, घामसँगै छाया
बिछोडमै चिनिन्छ रे चिज के हो माया
त्यस बेला राजगद्दीमै रहेका मविवि शाहका गीतले पनि प्रविधिको सीमा बेहोर्नु परेछ। उदाहरण: गुलाम अलीले गाएको ‘लोलाएका ती फूल’ को अन्तिम छन्द-
हाँस्दा खेरि हजारौं बर्बरी मोती
झनै मुस्कान एक पाए चाहिन्न अर्को केही
अर्को लोकप्रिय गीत ‘गाजलु ती’ को त अझ दुई टुक्रा नै छुटेको रहेछ। उनको गीतसंग्रह ‘फेरि उसैका लागि’ मा-
छड्के परि बसेको पोते, अल्छी बनी अल्झ्यो यो दिलैमा
मंगलका घडाझैं पूर्ण छाती बन्यो कलिलो मायामा
बारुली त्यो छिनेको कम्मर, तस्बिर भई बस्यो यो दिलैमा
कति मीठो मिलनको बेला जिन्दगीको कलिलो मायामा
गुलाम अलीकै अर्को गीत ‘के छ र दिऊँ तिमीलाई मैले कोसेली भनेर’ मा मविवि शाहले आफ्नो वियोग भावलाई अन्त्यतिर पो हालेका रहेछन्। नअटेको छन्दले यसै भन्छ-
सम्झना तिम्रो सिवाय मेरो, मुटुमा के छ र?
सुम्पन्न ल्याएँ मुटुको टुक्रा आँसुले धोएर
बुझेर लेऊ तिम्रै हो नासो, मरेको शरीर
लास यो मेरो मसान लगी पुरिदेऊ खनेर
जनकविकेशरी धर्मराज थापाले संकलन गरेर तारादेवीले गाएको लोकप्रिय गीत ‘कालीपारी दाइ कति राम्रो…’ मा रहेका कुल पाँच अन्तरामध्ये पहिलो र चौथो अन्तरामात्रै गाइएको छ। त्यसमा छुटेका छन्द यस्ता छन्-
कुक्क कुक्क पार्यो मलाई कइना सुरतीले
रुँदै हिँड्न पार्यो मलाई लैनो पिरतीले
संगीत पनि छुट्यो
अम्बर गुरुङले पनि प्रशस्त भोगे प्रविधिको त्यो जटिलता। ‘सुरुमा अगमसिंह गिरीका थुप्रै गीत संगीतले सिँगारेका थिए उनले। रेकर्ड गर्ने समयमा अटाउनेमात्र स्टुडियोमा लगे, नअटाउने त्यत्तिकै छोडिदिए। ‘म निरन्तर कम्पोज गरिरहने व्यक्ति हुँ, त्यसैले लामो छोटो नभनी कम्पोज गर्दै रहेँ’, अन्नपूर्णसँग उनले भने, ‘ती कम्पोजबाट छोटा गीतहरू लगिए। हामीलाई पनि साढे तीन मिनेटमै गीत सिध्याउनुपर्थ्यो, जोखिम लिएर पाँच सेकेन्डसम्म बढी हाल्थ्यौं।’ त्यसो गर्दा पनि बोलअगाडिको धुन (प्रिल्युड) र भित्रको धुन (इन्टरल्युड) भनेजस्तो बनाउन नपाइने स्थिति थियो। त्यतिमात्र होइन, कुनै अन्तरा वा स्थायी दोहोर्याउन मन लागे पनि पाइन्थ्यो। उनलाई संगीत क्षेत्रमा चिनाउने पहिलो लोकप्रिय गित ‘नौ लाख तारा उदाए’ नै त्यसको सिकार भएको रहेछ। कलकत्ताको हिन्दुस्तान रेकर्डिङ कम्पनीमा गीत लिएर पुगेका उनले दोहोर्याउन चाहेका अन्तरा दोहोर्याउन पाएनन्।
समयकै सीमितताका कारण अम्बरले चाहेका कतिपय बाजाको धुन गीतमा आउनै सकेन। ‘त्यसपछि कम्पोजअघि नै छोटो गीत छान्ने र त्यहीअनुसार मिलाउने गर्न थालियो’, उनी भन्छन्। उनको अर्को गीत ‘बतासले झारेका फूलहरू सँगाली’ मात्र दुई अन्तराको छ। रेकर्ड गर्दा धुन बढी हालिएको उक्त गीत बाहिर गाउँदा भने छोटो हुन गयो। त्यसपछि अम्बरले अर्को अन्तरा थपेर केही लामो गर्ने प्रयास गरे। ‘तर त्यसलाई श्रोताले त्यति मन पराइदिएनन्’, उनले भने। कम्पोज गर्दा नै समय ध्यानमा राख्ने उनको बानी पछि समयको सीमा नहुने बेलामा पनि उस्तै रह्यो। प्रविधिले अहिले जति मिनेट लामो गीत पनि गाउन पाइने स्थिति छ। तर, उनका गीत छोटै समयमा सकिने खालका हुन्छन्।
अर्का संगीतकार स्वर्गीय गोपाल योञ्जनले पनि गीत लेख्दा वा कम्पोज गर्दा तीन मिनेटको समयलाई ध्यानमा राखेर बनाएको उनकी पत्नी रिन्छेन योञ्जन बताउँछिन्। त्यति बेला लामो देखिएका कतिपय गीत रेकर्ड नै भएनन् तर अन्तरा निकालेर गाउने काम भने उहाँले गर्नुभएन’, उनी भन्छिन्। अर्का पुराना गायक प्रेमध्वज प्रधानले पनि प्रविधिका कारण छन्द वा संगीतमा सम्झौता गर्नु परेको बताउँछन्। उनको ‘मुहारलाई पछ्यौरीमा लुकाई नराख’ बोलको गीतमा स्थायी दोहोरिएन। ‘त्यस्तो नभएको भए मेरो अर्को गीत ‘बोलाऊँला नि सुसेली हाली’ अहिलेभन्दा सफा सुनिन्थ्यो’, उनी भन्छन्। २०२३ सालमा रेडियो नेपालमा ‘स्पुल’ प्रविधि आएपछि क्यासेटका रूपमा बजारमा नजाने गीत भने केही लामो भए पनि अटाउने स्थिति बनेको प्रेमध्वज बताउँछन्। त्यही वर्ष तारादेवी र प्रेमध्वजले ‘यो नेपाली शिर उचाली’ बोलको राष्ट्रिय गीत रेडियो नेपालमा रेकर्ड गराए; जुन नौ मिनेट लामो थियो। क्यासेटमा ल्याउनु नपर्ने भएपछि अर्को ‘पलक झारी’ बोलको गीत पनि तारादेवीसँग गाए।
कालीप्रसाद रिजालका गीतमा तीनवटा छन्द हुन्थे त्यति बेला। नारायणगोपाललाई गीत दिएपछि आफूले ‘मन नपरेको छन्द निकालिदिनुस्’ भनेको तर नारायणगोपालले सबै अटाएको उनले बताए। तर, पछि रामकृष्ण ढकालले गाएको राष्ट्रिय गीत ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्’ को अन्तिम छन्द पनि छुट्यो। उनका अनुसार त्यो यस्तो थियो-
पुगौं म स्वप्नमा पनि गुराँसकै प्रदेशमा
हराभरा गराउँदै उर्वरा मधेसमा
पुगी सुरम्य गाउँमा थकाई मेट्न पाइयोस्
यी हातले सधैंसधैं नेपाल लेख्न पाइयोस्
तीन मिनेटको समयसीमाभित्र गीत अटाउन गीतलाई नै छिटो गाउने अभ्यास पनि भएको रहेछ।
गीतकार किरण खरेलका अनुसार उनले लेखेर तारादेवीले गाएकी राष्ट्रिय गीत ‘हिमालको काखमा छ सानो मेरो गाउँ’ लाई समयभित्रै सक्न ‘फास्ट’ गराइएको थियो। सुरुमा रेकर्ड गरेको गीत अहिले सुनिएभन्दा ‘स्लो’ रहेका उनी बताउँछन्।
चलचित्रमा भने दुई अन्तरापछिका अन्तरामा लय बदल्ने गरिँदो रहेछ। त्यहाँ तीन मिनेटको सीमा नभए पनि दर्शकलाई दिक्क नलागोस् भन्ने ध्येयले त्यसो गरिने निर्देशक तथा गीतकार यादव खरेलले बताए। आफ्नै चलचित्र ‘प्रेमपिण्ड’ को गीत ‘गैरी खेतको सिरै हान्यो’ मा अन्तिम अन्तराको लय फरक पारिएको उदाहरण दिए। तर पनि केही अवस्थामा भने आफैंले लेखेको गीतको छन्द काट्नु परेको पनि उनले बताए। त्यही चलचित्रमा ‘सपना हो यो भनेदेखि’ बोलको गीतको अन्तिम अन्तरा उनले काटेका रहेछन्-
तिम्रो बेला मनमा बच्छ, नरेटेरै पनि
टाढै देख्दा प्यास मर्छ नभेटेरै पनि
अनुप जलौटाले अर्को चलचित्रका लागि गाएको उनकै गीत ‘जिन्दगी खोलाजस्तै बगिरहेछ’ पनि त्यस्तै बाध्यताको सिकार भएछ-
हिमालको चुलीबाट झरी बगेँ खसी बगेँ
कन्दराको कोखमा पसी बगेँ
बाटो हराई घुम्तीमा भ्रान्त भै बगेँ
अडिएर सोचमा शान्त भै बगेँ।
(श्रोत:- Annapurna)