~रत्नमणि नेपाल~
म २०५८ सालदेखि गाँऊ छोडेर काठमाडौं बस्न थालेको थिएँ । मैले गाँऊ छोड्नुमा अध्ययनको निरन्तरता बाहेक दोस्रो कुनै कारण थिएन । म गाँऊदेखि झन्डै चार किलोमिटर पर रहेको मेची वहुमुखी क्याम्पसको सामान्य कर्मचारी पनि थिएँ । क्याम्पस प्रमुखसँग स्वाभिमानको दलाली र चाकडी गर्न नसकेर मैले त्यो जागिर दाउमा राखेको थिएँ । राजिनामा नदिएको र विदाको निवेदन पनि स्वीकृत नभएको अवस्थामा मैले काम छोडेर काठमाडौमा पढाइ सुचारु गरेको थिएँ । सरुवा गर्न अनेक प्रयत्न गर्दा पनि प्रशासनिक व्यावधानका कारणले त्यो सम्भव भएको थिएन । तर मेरो सामाजिक आर्थिक पृष्ठभूमिका लागि त्यो जागिर निकै महत्वपूर्णको थियो । देशको परिस्थितिले पनि पाएको जागिर छोड्ने अवस्था थिएन । त्यसैले म तीनचार महिनामा गाँऊ जाने गर्थें । एक दुई दिनको बसाइमा घरको काम गर्थें, क्याम्पस पुग्थें र पुनः फर्किन्थे ।
त्यस पटक पनि म अग्नि बस चढे । अग्नि यातायातमा कांग्रेसका कुनै ठुला नेताको लगानी छ भन्ने चर्चा हुन्थ्यो । कतिपयले सैनिकको ठुलै अफिसरको लगानी छ पनि भन्थे । एउटा बस माओबादीहरुले जलाएको कुरा सबैलाई सम्झना थियो । त्यसैले त्यो बस चढ्ने बेला मनमा निकै भय हुने ग¥थ्यो । अनेक ठाउँका सुरक्षा जाँच र सिपाहीको कडा मिजास पारगर्दै म चन्द्रगढी उत्रिएँ । साँझको शितलमा आफ्नै लयले हिडेर घर पुगें । बुवा आमासँग सन्चोविसन्चोका कुराकानी भए । भोलिपल्ट विहान चिया पिइवरी म आफ्नो स्वभाव अनुसार छिमेकतिर निस्किएँ । मेरो साथी केशवलाई भेट्न मन लाग्यो ।
म उसको घर पुग्दा एकदम सुनसान वातावरण थियो । एक समय उसका बुवा वरण्डामा बसेर बाटो हिड्नेहरुलाई बोलाइरहन्थे । रेडियो बजिरहेको हुन्थ्यो । तर यसपटक त्यस्तो केहि पनि देखिएन । म सरासर भित्र पसें । भान्साको एक कुनामा वुढावुढि थुप्रिएका थिए । केशवकी वहिनी अर्कोपट्टि निन्याउरो अनुहार लगाएर बसेकी थिई ।
म भित्र पस्नासाथ उनीहरु सबै रुनथाले । म अवाक भएँ ।
उसकी आमाले भनिन् ‘केशव अस्तिरातीदेखि वेपत्ता भयो । हिजो दिनभर बाटो हेर्यौ । रातीसम्म पनि आएन । आज पनि यतिबेला भयो ।’ उनी पुनः रुन थालिन् ।
‘कहाँ गयो त ?’ मैले सामान्य रुपमा सोधें । उसका बावुले भने ‘जंगल पस्यो जंगल । चार पाँच महिनादेखि वेलुकी एक दुई घण्टा वेपत्ता हुन्थ्यो । ठीक ढंगका कुरा गर्न छाडेको थियो । इलाम गएर चारपटक खरदारको जाँच दियो । धनकुटा र दिक्तेल पुग्यो कतिचोटी । दुईचोटी नाम निकालेको पनि अन्तर्वार्तामा फालियो । त्यसपछिदेखि नै त्यो अर्कै भएको थियो ।’
म अत्यन्तै भावुक भएँ । ऊ मेरो सानैदेखिको साथी थियो । उमेर पनि मिल्ने । गाई गोठालामा सँगै खेल्ने साथी । ‘अरु गाऊँका पनि कोही गए कि उसँग ?’ मैले सोधें ।
उसकी आमाले भनिन्, ‘हामी त्यसदिनदेखि आँगनमासम्म निस्केका छैनौं । केही थाह छैन गाउँमा के भएको छ, को –को कहाँ छन् ।‘
म घर फर्किएं । त्यो कुरा मेरा आमाबावुलाई पनि थाहा रहेनछ । उहाँहरुले पनि अचम्म मान्नु भो । दिउँसो क्याम्पसतिर गएँ । वेलुका घर फर्किदा गाउँमा अरु साथीहरुलाई भेट्नु प¥्यो भनी उनीहरुका घर पर्से । वेलुका सात बजेअघि कोही पनि घरबाट निस्कँदैनथे । पहिले हामीले राती दश एघारवजेसम्म मादल र वाँसुरी वजाएर वसेको सम्झना गर्दै म घरतिर लागें । आमाबुवासँग आफ्नो बाहेक अरु कसैको चासो नलिन भन्दै म भोलिपल्ट काठमाडौ फर्किएँ ।
अर्को पटक म त्यसको झण्डै चार महिनापछि गाउँ गएँ । यसपटक मैले गाडी फेर्नु प¥्यो भन्ने सोचेँ । त्यसैले म मकालु यातायातमा चढेको थिएँ । गाडी कलंकीवाट उत्तर लाग्यो । विहानको निद्रा त्यसै मारेर गाडी चढ्न पुगेका यात्रुहरु क्रमशः निदाउन थाले । ड्राइभरले वजिरहेको एफ्एम वन्द गरेको थियो । केहिवेरपछि खलासीेले गाडीभित्र पसेर उल्टी आउनेहरुलाई पोलिथिन झोला वाड्न थाल्यो । धेरै मान्छे विशेषगरी आइमाइहरुले पोलिथिन झोला लिएका थिए । गाडी वाह्रविसे हुदै अघिबढिरहेको थियो । मलेख पुगेपछि गाडी अकस्मात रोकियो । खलासीले ठूलो स्वरले करायो ‘ल जाम छ, दिसा पिसाब गर्नेहरु तुरुन्त गरिहाल्नुस् । अरु कोही पनि गाडीबाट ननिस्कनुस् । केही मान्छेहरु गाडीवाट निस्किए । तर उनीहरु एकैछिनमा फर्किहाले कतिपयले भोक मार्न आपनो झोलाबाट निकालेर चाउचाउ खान थालिसकेका थिए । कतिपयले स्याउ खाएको देखिन्थ्यो । मैले वोकेको पानी ठाडो घाँटी लाएर पिंए । समय निकै वितिसकेको थियो । झण्डै एकघण्टा भएको थियो हामी त्यहाँ त्यसरी बसेका । ड्राइभर थिएन । खलासी, कण्डक्टर कोही पनि थिएनन् । एकछिनपछि खलासी कराउदै आइपुग्यो ‘अस्तिको भिडन्तले गर्दा लामो चेकिङ छ । अगाडि गाडीको लाइन लामो छ, झण्डै सयवटा गाडी होलान् ,लाग्छ अझै दुई–तीन घण्टा ।’
उसको कुरा सुनेर हामी सबै तर्सियौ । सबैजना आपनै सुरमा के के भन्नथाले । वाहिर पोलेका मकै, भुटेका मकै, काँक्रा, पानी, चाउचाउ लिएर कराउँदै बेच्न हिडेकाहरुको लश्कर नै थियो । उनीहरु झ्यालमै आएर कराउँथे । उनीहरुमध्ये प्रायः सातदेखि वीस बर्ष वीचका केटाकेटीहरु थिए । एकदुई जना बुढाबुढी पनि थिए ।
हामी यात्रुहरु एक किसिमले भयभित नै थियौं । मेरो छेवैमा एउटा अधवैंसे त्यस्तै पैंतिस बर्षको खाइलाग्दो यात्रु थियो । ऊ थानकोट तल निकै राम्ररी निदाएको थियो । त्यहाँ उसले झण्डै आधाघण्टा समय कटाउन मद्धत ग¥्यो । उसले ठूलो स्वरमा भन्यो ‘यर्ही अस्तिको भिडन्त भएको थिया,े माओवादी र प्रहरीवीच । माओवादीहरु हप्तादिन अघिदेखि नै यहाँ बस्न थालेका थिए अरे, तर पुलिसलाई केही थाह भएन । के थाह पनि होस् ’ ऊ हाँस्दै झन् जोडले वोल्न थाल्यो, ‘वरिपरिको तारघेरावाट वाहिर निस्कने होइनन् ।’
त्यतिकैमा अर्कोपट्टी बसेको एउटा बुढाले भन्यो ‘पुलिसलाई वाहिर ननिस्किनु भन्ने आदेश हुन्छ अरे । निस्कनु परे पनि वीस पच्चीसजना नभइ उनीहरु ननिस्कने भन्ने हुन्छ अरे ।’
‘त्यही त’ यताको मेरो साथी बोल्नथाल्यो ।
‘ माओवादीहरु पुलिस चौकीसँगै जोडिएको घरमा दाउरा चिर्थे अरे, घाँस काट्थे अरे । वजार पनि निस्किन्थे अरे । तर पुलिस विचरालाई के थाहा’ ।
‘कति जना पुलिस अझै हराइरहेका छन् अरे, कति जनालाई उनीहरुले अपहरण गरे अरे’ पछाडिवाट आवाज आयो ।
एकजनाले भन्यो ‘गाउँमा वसिसक्नु छैन । म त पर्सिनै फर्किहाल्छु, मात्र सानो काम परेर हिडेको ।’
अर्कोले भनिहाल्यो ‘ अस्ति राती माओवादीहरु आएर भात पकाउन लाएछन् र खाएर गएछन् । भोलिपल्ट विहानै सेना आएर किन भात खुवाइस् भनेर आमा र वहिनीलाई कुटेछन् । त्यस दिनदेखि घरमा रुवावासी छ, आमावुवाले त्यसदिनदेखि दुईछाक खानु भएको छैन । एकचोटी नपुगी भएन र म हिडेको । म पनि फर्किहाल्छु एकदुई दिनमै । ’
हामी वसेको सिटभन्दा ठीक दायांतिर झण्डै सत्तरी वर्षका लाग्ने एकजना वृद्व बसेका थिए । हाम्रो कुरा चाख दिएर सुनिरहेका ती वृद्व हामीतिर फर्किए । उनले भने ‘ अघिल्लो पटक विरामी पर्दा छोरोलाई वोलाएं, ऊ आयो । भोलिपल्ट अस्पताल लैजाने दिन थियो, वेलुकै माओवादीहरुले लिएर गए । एकदिन पछि छोडिदिए । मलाई उपचार गराएर भोलिपल्ट फर्किन्छु भन्दैथियो वेलुकै सेना आएर सोधपुछ गर्न भनेर लिएर गए । रातभर सुतिएन । दुईदिन पछि छोडिदिए । यसपटक त आफैं सकिनसकी काठमाडौं गएं र जंचाएर फर्केको । छोराहरु कतिदिन वाँच्छन् पत्तो छैन ।’
उनका कुरा सुनेर म निकै भावुक भएँ । मेरो छेउको साथीले पनि ध्यान दिएर सुन्यो । ‘ वाजेको घर कहाँ ?’ उसले सोध्यो । ‘गौरीगञ्ज’ उनले भने ।
‘गौरीगञ्ज त एकदमै प्रभावित ठाउँ हो ’ उसले भन्यो ।
‘ सदरमुकाम वाहिरका सबै ठाउँ त्यस्तै हुन् ’ मैंले भनें ।
यस्ता कुरा निकै वेर चले । यसले केही समय सबैलाई मनोरञ्जन दिए पनि एकछिनपछि सबै चूप भए । एक किसिमको त्रास उनीहरुको अनुहारमा देखिन्थ्यो । मेरो छेउको साथी पनि निकै डराएकोजस्तो दखिन्थ्यो । ऊ वेलावेला झ्यालबाट वाहिर हेथ्र्यो । कसैलाई पनि गाडीबाट नउत्रन भन्थ्यो ।
त्यसपछि भरे कतिखेर पुगिने हो भन्नेतर्फ कुरा मोडियो । कसैको घर गौरिगञ्ज थिया,े कसैको पृथ्वीनगर । कोही दमक मै पनि बस्न पाइने हो कि होइन भन्दैथिए । कोही रातभर कफ्र्यूूमा परिने हो कि भनेर कराइरहेका थिए । मेरो छेउको साथीलाई मैले सोध्दा ऊ बनियानी जाने रहेछ । म चन्द्रगढी । उसले भन्यो ‘नडराउनुस् भाइ, म त कतिचोटी गाडीमै सुतेको छु । अब होटलमा सुत्न पैसा पनि चाहियो नि । फेरि त्यहाँ पनि के सुरक्षा हुन्छ र ?’
झन्डै चारघन्टापछि ड्राइभर गाडीभित्र छि¥यो । उसले गाडी चलाउन शुरु गर्ने बितिकै झकाउँदै गरेका यात्रुहरु खडा भए । उनीहरुमा केहि आशा पलाएजस्तो देखियो । गाडी गुड्न थाल्यो । किन त्यहाँ त्यत्रोबेर रोकियो हामीलाई केही थाहा भएन । हाम्रो गाडीमा कुनै सुरक्षा जाँच पनि भएन । ड्राइभर खलासीले कुरा मिलाएर आएका थिए कि ! त्यो कुरा हामीलाई थाहा भएन ।
चन्द्रनिगाहपुरमा खानाखाँदा दिउँसोको चार वजिसकेको थियो । गाडी त ड्राइभरले राम्रै चलाएको थियो तर विर्तामोड पुग्दा रातको एघार वजिसकेको थियो । केही यात्रुहरुलाई झारेर गाडी भद्रपुरतिर लाग्यो । म के गरुँ के गरुँ दोधारमा परे चन्द्रगढीमा झरेर कहाँ बस्ने राती । घर पुग्न डेढ किलोमिटर हिड्नु पथ्र्यो । लेखनाथ चौकमा सुरक्षा गस्ती हुन्थ्यो । उनीहरुको सोधपुछ जाँच सम्झेर म दिक्क मानिरहेको थिएँ । मेरो छेवैको साथीले मलाई हपारेजस्तोगरि भन्यो ‘ए भाइ के को टेन्सन । हिड्नोस भद्रपुर । त्यहीँ गाडीमै सुतौंला । भोलि म बनियानीतिर लाग्छु तपाइँ चन्द्रगढीतिर आउनु । के टेन्सन ।’
उसको कुरा ठिकै लाग्यो मलाई । तर मनमा ऊ प्रति शंका भने हुँदैथियो । त्यो रात भद्रपुर बस स्टेण्डमा गाडीमै सुतेर बिताएँ । बिहान उठ्दा खुट्टा खपिनसक्नु दुखिरहेका थिए । तर मेरो साथी भने त्यहाँ थिएन । म विहानै घरतिर लागें ।
दिउँसो दुईघन्टा क्याम्पसमा बित्यो । त्यसपछि वाचनलयमा । सधैजसो वाचनलयबाट फर्कदा साँझ परिसकेको थियो । मोति चौकमा साथीहरु भेटिए । त्यहाँ हामी हाजिरजवाफ प्रतियोगिता गथ्र्यौ । कविता वाचन पनि हुन्थ्यो कहिलेकाँही । श्यामले भन्यो ‘ के हो शहरबाट आएपछि त भेट्नै हुदैन हामीसँग ?’ भुवनले त्यसैगरी भन्यो ‘गाउँ छोडेर पुँजी र प्रविधिको दास हुन थालेपछि माइन्डै चेन्ज भयो कि क्या हो । कहिले शहरबाट ?
मैले आउँदाको कथा सुनाएँ । मैँले भनें ‘ विहान भ्याइएन, दिउसो क्याम्पस गएँ । अहिले आउँदै छु ।’
उसले भन्यो ‘ अब यस्तै हुन्छ यहाँ । एकदम ठीक भयो । अब कसैको केही लाग्दैन ।’
मैंले उनीहरुका कति प्रश्नहरुको उत्तर दिनै सकिन । उनीहरु बोलिरहन्थे । बोलाइ कडा थियो र कठोर पनि । पहिले पहिले म धेरै बोल्थें । त्यतिबेला मेरा कुराहरु उनीहरु त्यती बुझ्दैनथे ।
आमाले यसपटक पनि गन्गन् गर्नुभयो । उहाँले प्रायः म घरजाँदा भन्नेकुरा नै त्यस दिन पनि दोहो¥याउनु भयो । ‘यहाँ बस्न सकिंदैन अब । न छरछिमेक ठीक छन्, न मनमा शान्ती छ । पैनी भत्किएपछि खेतमा पानि छेैन । धान रोप्न पनि नपर्ने भयो । के का लागि यहाँ बस्नु । बुवा मेरा कुरै सुन्नृहुन्न । तँ सम्झा । यहाँ बस्न सकिंदैन अब ।’
वुवा म र आमाको कुरा नसुनेजस्तोगरि किताब पल्टाइरहनु भएको थियो । आमाले फेरि भन्नु भयो ‘ साँझ परेपछि अगाडिको बाटोमा घोडा कुदेजस्तो आवाज आउँछ । मुक्ती मुक्ती भनेको सुनिन्छ । १५–२० वर्षका केटाहरु लश्करै रातीसम्म ओहोर दोहोर गरिरहन्छन् । कसका छोराछोरी होलान् ती । कहिले के हुने हो थाहा छैन ।’
‘ केही पनि हुदैन । यहाँ पुलिस सेना आइपुग्ने होइनन् । गस्ती पनि यहाँसम्म हुदैन । के हुन्छ ? आफ्नो खाने, आफ्नो गर्ने हामीलाई ’ मैले भनें ।
राती दश बजेसम्मै आमा छोरा यस्तै कुरा गरिरहयौं । बुवा सुतिसक्नु भएको थियो । वहिनीहरु अघिनै सुतिसकेका थिए ।
भोलिपल्ट विहान यसैउसैमा बित्यो । लिच्चीका बोट हेर्न गएँ । फुल राम्रैसँग लागेको थियो । आँपको एउटा बोटमा केही फुल देखें । अर्को बोटको यसपटक पालो थिएन । सिसौका विरुवाहरु अलिकति बढ्दै सुकेर मर्न थालेपछि त्यसका ठाँउमा कदमका विरुवा रोपेको थिएँ । हलक्क बढेको देखें ।
दिउसो क्याम्पस र वेलुकीपख वाचनालय पसेर घर फर्कदा हिजोजस्तै साँझ परिसकेको थियो । म केवल क्याम्पस जान्थें । क्याम्पस प्रमुखसँग लगभग बोल्दिनथें । एक दुई घन्टाको बसाइमा साथीभाइसँग कुरा गर्थें अनि फर्किन्थे । म मोति चौकबाट घरतिर झरें । गाऊँ एकदमै सुनसा नझैं लाग्यो मलाई । श्याम भुवनहरु पनि चौकमा थिएनन् । छेवैको प्रधानको घरमा कुकुर भुकिरहेको थियो । मान्छे कोही पनि देखिएन । घर पुगेपछि थाहा भयो दिउँसैदेखि गाउँमा एककिसिमको सुनसान छाएको रहेछ । हिजोदेखि नै काफ्ले टोलका दुईजना केटाहरु हराएछन् । उनीहरु हिजो दिउँसो घरबाट चन्द्रगढी बजार गएको धेरैले देखेका थिए । तर उनीहरु फर्किएनन् । साँझसम्म पनि नफर्किएकाले आमाबावु रोएको गाउँलेले सुनेपछि त्यो कुरा थाहा भएको रहेछ । पछि मैले बुझ्दा एउटा विकासे रहेछ । म भन्दा दुई ब्याजपछि पढेको केटो । अर्को डिल्ले । उसले पनि म भन्दापछि नै पढेको थियो । त्यो वेलुकी आमा पनि बोल्नु भएन । केबल मेरो छेउमा आएर बस्नुभयो । बहिनीहरु, आमा र म समेतले टेलिभिजनका कार्यक्रम हेरेर सुत्यौं । भोलिपल्ट विहानै म काठमाडौंतिर लागें ।
मेरो झापा फर्काइ पुनः दुई महिना नवित्दै भयो । विहिवार आमाले फोनमा भन्नुभएको थियो –‘वुवा विरामी हुनुहुन्छ । एकदम फुको खोकी लागिरहन्छ । खानपिन पनि छैन ।’ मैले भोलि नै हिड्छु भनें । शुक्रवार गाडी चढेर वेलुकी नौ वजेतिर डराउंदै डराउंदै घर पुगें । वुवा खोकिरहनु भएको थियो । दुब्लाएकोजस्तो पनि देखें मैंले । अनुहार फुसा्रे थियो । खोकीको झोल दवाइ दिएं । मैंले काठमाडौं नै जाउं उपचारका लागि भनेर कर गरें । तर उहांले मान्नु भएन । भारतको सिलगढी जाने निधो भयो । गलेकाले अरु कुरै नगरी सुत्यौं ।
शनिवार वेलुका सिलगढीबाट चार वजेतिर फक्र्यौं । वुवालाई घरमा पु¥याएर म सधैंजसो गाउंतिर निस्कें । ढुङ्गाना दाइ मोति चोकबाट मास्तिर जांदैरहेछन् । मलाई देख्नासाथ उनले सोधे– ‘मेरो कान्छोसँग भेट हुन्छ ?’ ‘कहिलेकांही’ मैंले भनें ।
अलिक मास्तिर पुगेपछि पण्डितनी आमैसँग भेट भयो । ‘कहिले आउनु भयो ’ उहाँले सोध्नुभयो । ‘हिजो’ मैंले भनें । ‘सुदर्शनसँग भेट हुन्छ ?’ उहाँले फेरि सोध्नुभयो ।
‘त्यति हुदैन, कहिलकांहि’ मैले जवाफ दिएं । त्यहिं शारदा दिदी पनि आइपुग्नु भयो ।
‘दिदी के छ खवर’ मैंले नै सोधें । उहांले भन्नुभो ‘तिमीहरुले माया मारिहाल्यौ । पाहुना भयौ ।’ म हांसे । उहांले फेरि सोध्नुभो ‘हाम्री इन्दिरासँग भेट हुन्छ ?’ मैले अघिकैजस्तो जवाफ दिएँ ‘यसो कहिलेकांहि ।’
मन्दिर अगाडि पुग्दा दुर्गा दाइसँग भेट भयो । ‘थाहा पाउनु भयो’ उहांले सोध्नुभयो ।
‘के दाइ’ मैले भनें ।
‘खतिवडाको कान्छो छोरो बन्दुक छोडेर आएछ ।’
‘ऊ त सेनामा थियो होइन र ?’ मैले आश्चर्य मान्दै सोधें ।
‘हो, सेनामा थिया’े उहांले भन्न थाल्नुभो । ‘हिजो मलाई भेट्न आएको थियो । अर्कै भएछ । मैंले जागिर छोडेर के गर्छस भनेर सोधें । केहि राम्रै काम गर्नेवाला छु भन्यो । अब सांच्चै देश र राष्ट्रियताको लागि केहि गर्नलागेको छु पनि भन्यो त्यसले । म त छक्क परें । अर्काको लागि ऊ अब केहि गर्दैन अरे । त्यसैले छोडेको अरे जागिर ।’ यसो भन्दाभन्दै दुर्गा दाइ उदास देखिए । म पनि त्यो केटो कसरी त्यस्तो भयो भन्ने सोचेर छक्क परें । उ भर्खर २० वर्षको भएको थियो होला ।
दुर्गा दाइसँगै बसेका रमेश दाइले भनें ‘ हल्दिवारीको डांगीको छोरो असहीको जागिर छोडेर जंगल पस्यो अरे । मलाई त अचम्म लाग्यो ।’ उहाँ अलिक कडा स्वभावको हुनुहुन्थ्यो ।
वेलुका खाना खाइसकेपछि आमाले फेरि गन्गन् गर्नथाल्नु भयो । उहाँले भन्नुभयो ‘ पहिले पहिले एक कठ्ठामा तीनचार मनसम्म धान फल्थ्यो । दाल किन्नै पर्दैनथ्यो । आँप लिच्ची पनि खाएर नसकेर वजारमा वेचिन्थ्यो । कत्राकत्रा कोपी वारीमा फल्थे । अहिले त विहान उठेदेखि वाँझा खेत हेर्नुपर्छ । सवैथोक किनेर खानुपर्छ । यो माटोले सराप्ने वेला भइसक्यो ।’
यस पटक त वुवा पनि निकै गल्नुभएको महसुस गरें मैंले ।
वुवाले भन्नु भयो ‘स्कुलमा प्रत्येक महिना माओवादीलाई तलव दिनुपर्ने भो यो महिनादेखि । अब तलव पहिलको जति आउंदैन ।’ म केहि पनि वोलिन । केवल सुनिरहें । उहांले फेरि भन्नुभयो ‘विदा लिनुपरे अव उनीहरुलाई त्यसको कारण खुलेको पत्र दिनुपर्छ ।’ उहाँलाई निकै गम्भिर भएको पाएँ मैले ।
राती ओछ्यानमा पल्टेपछि निद्रा आउनुअघि वुवाले आज किन त्यति खुलेर कुरा गर्नुभयो भनेर मैले सोचें । म मनमा अनेक आशंका राख्दै कतिखेर निदाएँ पत्तै भएन ।
काठमाडौ मैं हुँदा एकदिन सुनें – खतिवडाको कान्छो छोरो वेपत्ता भएको छ । सुमन र राजन पनि एकहप्तापछि मात्र हिजो घर आइपुगे । तर उनीहरु चाँडै काठमाडौ आउंदैछन् । अर्को दिन शनिवार आमालाई फोन गरें । लामो कुुराकानी भयो ।
‘को को छन् गाउँमा केटाहरु ?’
’चूडामणि , युवराज, गोपी छन्‘ आमाले भन्नुभयो ।
‘अनि श्याम, भुवन, भवानीहरु ?’ मैंले फेरि सोधें । ‘छैनन् कोही पनि । वावुराम, भवानी र भुवन मलेशिया गए । श्याम काठमाडौ आएको छ ।’ उहांले जवाफ दिनुभयो ।
लगभग २०६१ साल असारमा म फेरि गाउँ हिडे । त्यो वेला ठिकै समयमा चन्द्रगढी लेखनाथ चोकमा गाडीले पु¥यायो ।
चोकमै विशालले सुनायो– ‘विष्णुले आत्महत्या ग¥यो ।’
म निशब्द भएँ । मनमा अनेक प्रकारका प्रश्नहरु उठे । ऊ चोकमा जुक्ता चप्पलको व्यापार गथ्र्यो । एकपटक थाइलैण्ड गएको थियो । तर काम नपाएर फर्केको थियो । धेरै पैसा खर्च भयो भन्ने सुनेको थिएँ । तर अहिले त व्यापार ठिकै थियो भन्ने सुनिन्थ्यो । तर ऊ किन के कारणले त्यसरी पिठारीको रुखमा झुण्डिएर आत्महत्या गर्न पुग्यो ?
मलाई अझ आश्चर्यमा पार्ने कुरा त्यसपछिमात्र विशालले सुनायो । उसले भने अनुसार विष्णुले वेलुका पौने आठ वजेतिर आत्महत्या गरेको थियो । मेरो घरजाने वाटोमा पर्ने काठको पुलछेउको पिठारीको रुखमा ऊ झुण्डिएको थियो । त्यो ठाउँ लेखनाथ चोकदेखि करिब आठसय मीटरको दुरीमा पर्छ । गाउँलेहरुले थाहा पाए । हल्लाखल्ला भयो । प्रहरीलाई खबर गरियो । तर त्यो बेलुकीको आठ वजे प्रहरी त्यहाँ गएन । सुरक्षाका कारणले नगएको भन्ने उनीहरुले जवाफ दिए । अझ प्रहरीले भनेको थियो – ‘लाश त्यतिकै छोड्नु, कसैले नछुनु, नत्र अप्ठ्यारो पर्ला । हामी भोलि विहान आउंछौं ।’ मलाई यहिकुरा झन् आश्चर्यजनक भएको थियो । म चिन्तित् र भयभित पनि भएको थिएँ । मलाई खुदुनावारीको यस्तै घटनाको सम्झना भयो । जहाँ प्रहरीले भनेको थियो – ‘मान्छे झुण्डिएको रुखको हांगो काटेर ल्याउनु, प्रहरी त्यहां सुरक्षाका कारणले आउन सक्तैन ।’ त्यसपछि गाउंलेले त्यसै गरेका थिए ।
त्यसपछि विष्णुको झुण्डिएको लाशलाई गाउँलेले रातभर जाग्राम वसेर रुंगेका थिए । विष्णुको बुढो वाउले पनि रुंदै छोराको लाश रुंगेको थियो । विहान प्रहरी आएर सर्जमिन ग¥यो ।
यो घटना चोकमै सुनेर मेरा घरतिर हिडेका पाइला निकै ढिलो चले । मलाई काठको पुल पुगेपछि डर पनि लाग्यो । घर पुग्न सधैं पच्चिस मिनेटजति लाग्थ्यो तर यसपटक पचास मिनेटजति लाग्यो । मोति चोक छेउको मन्दिर अगाडि ढुङ्गाना दाइ टोल्हाएर उभिएका देखें । उनले मलाई देखेनन् । म सरासर घरतिर लागें । झोला विसाएपछि वहिनीसँग मागेर दुई गिलास पानी पिएं ।
भोलिपल्ट चन्द्रगढी वजारमा राजुसँग भेट भयो । ‘काठमाडौंमा केही काम खोजिदिनु प¥यो । वोर्डिङतिर भएपनि, जहां भएपनि । यहाँ वस्न नसकिने भयो ।’ उसले भन्यो । राजु निकै दुव्लाएको थियो । एकछिन उभिएर कुरा गर्यौं ।
सिसापसल अगाडि कृष्णेसँग भेट भयो । उसले भन्यो ‘ अव काठमाडौं मै गएर केही गर्नुपर्ला । यहाँ त केही होलाजस्तो छैन ।’
वाचनालयमा ईश्वर भेटियो । ऊ जस्ताको त्यस्तै रहेछ । उसले पनि त्यस्तै कुरा ग¥यो । भन्यो ‘काठमाडौं सरुवा गर्न के गनुपर्छ ? यहां त के वस्नु, के छ र वस्नु ! अव उतै सरुवा गर्नुपर्लाजस्तो लागिरहेको छ ।’ ऊ गोेरखापत्र हेर्न थाल्यो ।
वेलुका सरासर घर आइपुगें । साथीहरु प्रायः कोही थिएनन् । त्यसपछि सामान्य अंध्यारो भइसकेको भएपनि म खेततिर लागें । खेतको पल्लो छेउको वाँसको सानो घारीसम्म पुगें । यस पटक वाँसले निकै तामा हालेको रहेछ । फर्केर कदमका हुर्कदै गरेका वोटहरु छोएं । ती वोटहरु हलक्क वढेका थिए । आँपका तीनवटै वोटलाई नियालें । लिच्चीका वोटहरु र नुहेका हांगाहरुमा छोएँ । वरिपरिको खेतको माटोवाट निस्किएको गन्ध मनभरी राख्दै घर फर्किएं । खानाखाँदा बहिनीहरु पनि त्यति वोलिरहेका थिएनन् । आमा मलाई मनपर्ने भन्दै घिउ निकाल्न खोज्दै हुनुहुन्थ्यो । वुवा नवोली आफ्नै सुरमा खाइरहनु भएको थियो ।
खाना खाइसकेपछि केहिवेर टेलिभिजन हेर्यौं । सुत्नुभन्दा अघि वुवालाई भनें– ‘जग्गा किन्ने मान्छे कोही भेटिन्छन् भने खोज्नुहोला । घरजग्गा दुइटै लिनेभए झन् राम्रो । जागिरको के चिन्ता लिनुहुन्छ तीस बर्ष हुनलागिसक्यो । अब यहाँ वस्न सकिन्छजस्तो मलाई लागेन ।’
वुवा केही वोल्नु भएन । म आफ्नो कोठामा सुत्न गएँ । भोलिपल्ट फेरि फर्कनु थियो ।
(श्रोत:- अन्तर्जाल)