स्रष्टा जीवनी : पं.धरणीधर शर्मा

~नरेन्द्रराज प्रसाई~

Pt. Dharanidhar Sharma

पं.धरणीधर शर्मा

नेपाली साहित्यिक जगतमा क्रान्तिकारी कविका रुपमा चिरस्मरणीय नाउँ हो– धरणीधर शर्मा । भानुभक्त आचार्यपछि नेपाली जातीय कविमा उनैको नाउँ दरियो । खासगरेर उनका कविताले २००७ सालको आन्दोलन छेड्न महत्वपूर्ण भूमिका खेलेको थियो । नेपाली भाषा, नेपाली भेष र नेपाली शैलीका उनी कट्टर पक्षपाति थिए । उनी समाजसुधारक र यस विषयका सुत्रधार पनि थिए  । बाँचुन्जेल उनी आफ्ना सिद्धान्तमा नै उभिइरहे ।अन्ततः उनले नेपाल र नेपालीको गीत गाएर नै आफ्नो भौतिक चोला रित्याए ।
शर्मा १९४९ साल माघ २४ गते रामेछापस्थित आफ्नो मामा घरमा जन्मेका थिए । सिन्धुलीको दुम्जाबाट आफ्नी आमा माइत गएका बखत यी जन्मेका थिए । अनि यी अवन्तीनाथ शर्मा र पुण्यमाता शर्माका प्रथम सन्तान थिए ।

सानैदेखि शर्माले आफ्नो घरव्यवहार देखे । आफ्नो पारिवारिक दुक्खसुक्खको जीवनबाट पनि उनी पर सरेनन् । उनी मन, वचन र कर्मका पक्का थिए । त्यसैले बाल्यकालमा गाँसिएको उनको धारणाले उनी बाँचुन्जेल साथ पाइरह्यो । त्यही हिसाब जोडिएर नै उनी नेपाली परिवेशमा स्थापित भए । भनौं देशदेशान्तरमा जहाँजहाँ नेपाली भावना छ, त्यहाँत्यहाँ धरणीधर शर्मा पुगिरहे ।
शर्माले नेपालमा नै आफ्नो जरा गाड्दै थिए । तर यहाँ टिक्न नसकेर उनले डाँडा काटे । काका कृष्णप्रसाद कोइरालाको औंला समाएर १९७५ सालमा उनी दार्जीलिड पुगे । त्यहाँ टेकेपछि आफ्नो कोइराला थरलाई छोपेर उनले शर्मा लेख्न थाले ।
दार्जीलिड पुगेको दुई वर्षमा उनको सूर्यविक्रम ज्ञवाली र पारसमणि प्रधानसँग आत्मीयता जोडियो । त्यहीक्रमको डोरी बाटिंदा नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि उनीहरु एउटै धारमा बाँधिन थाले । अन्ततः त्रिरत्न र सुधपाका नाउँमा यिनीहरु सुपरिचित पनि भए ।
१९७८ सालमा त्रिरत्न अथवा सुधपाको गठनपछि धरणीधर, सूर्यविक्रम र पारसमणिले नेपाली भाषासाहित्यको संस्थागत संरचनाका लागि औपचारिक पहल गर्न थाले । अनि त्यसैको निष्कर्षमा दार्जिलिडमा नेपाली साहित्य सम्मेलनको स्थापना भयो । साहित्यका यी तीनै महारथी त्यस संस्थाका हस्ती थिए । कोलकत्ता विश्वविद्यालयमा नेपाली भाषाको प्रवेश गराउन सुधपाको नै गुरुत्तर भूमिका थियो । ती तीन भाइमध्ये शर्माचाहिं सम्मेलनका उपसभापति थिए । त्यस संस्थाको सभापतिचाहिं हरिप्रसाद प्रधान थिए । यस संस्थामा शर्माले ३५ वर्ष नरिन्तर सेवा गरेका थिए ।
सुधपाले नै २००९ सालमा काठमाडौंबाट दार्जिलिड पुगेका कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटालाई त्रिमूर्तिको उपाधि प्रदान गरेका थिए ।
दार्जीलिडको नेपाली भाषासाहित्यको जग निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अग्रणीका रुपमा धरणीधर शर्माको नाउँ आउँछ । नेपाल र भारतको दार्जीलिड वीच साहित्यिक सेतुका रुपमा यिनैको अद्वितीय भूमिका थियो । त्यतिबेला स्कुलमा पढाउदै साहित्यिक सङ्गठन गर्दै आफ्नो सृजना यी अघि सार्थे । उनले नेपाली भाषामा धेरै नै फुटकर लेखरचनाको निर्माण गरे अनि आठ ओटा आफ्ना कृति प्रकाशनमा ल्याए । उनी नेपाली, संस्कृत, हिन्दी, अड्ग्रेजी र वड्गला भाषाका पनि ज्ञाता थिए ।
शर्माले कासी, दार्जीलिङ, कोलकाता र ढाकामा पढे । यिनले बीएबीटी पास गरे । उनी दार्जीलिडमै हँुदा लण्डन र अमेरिकाबाट पनि उनले विश्वविद्यालय स्तरीय शैक्षिक उपाधि पाएका थिए ।
पढ्न थालेदेखि नै शर्माले समाजसेवा गरे । काशीमा बस्ता उनले हिमालय प्रेस खोल्न प्रोत्साहन गरे, गोर्खाली साप्ताहिक स्थापना गर्ने भूमिका खेले र हिमालय विद्यार्थी सड्घको स्थापनामा नेतृत्व गरे । उनैले त्यहाँ आफ्नै डेरामा धरणीधर छात्रावास खोले । त्यहीं उनी विद्याधर्म प्रचारिणी समितिको अध्यक्ष पनि चुनिए । समाजसेवा कै कुरा गर्दा उनी दार्जीलिडका मनोविनोद पुस्तकालय र भीम छात्रवृत्तिका अध्यक्ष भए । उनी काठमाडौं फर्पिडको त्रिभुवन आदर्श आवसीय विद्यालयमा प्रधानाध्यापक भए । साथै उनले नेपालकै शेषनारायण महिला विद्यापीठ, राजनीति निरपेक्ष नवनेपाल संघ र सनातन धर्म सेवा समितिको पनि अध्यक्ष भएर काम गरे ।
शर्माले शिक्षणसंस्था र साहित्य विषयक कममा हात हाले । उनैको नेतृत्वमा दार्जीलिडमा मनोविनोद पुस्तकालयको स्थापना भएको थियो । उनी दार्जीलिडको सरकारी उच्च माध्यामिक विद्यालयमा धेरै वर्ष प्रधानअध्यापक भए । अनि त्यस स्कूलका उनी नेपाली पढाउने प्रथम गुरुबाबु थिए । त्यतिखेर दार्जीलिड बाहिरबाट पढ्न आउने विद्यार्थीलाई उनैले संरक्षण दिन्थे । त्यस स्कूलमा भर्ना हुँदा उनको मासिक तलबचाहिं बीस रुपियाँ थियो ।
शिक्षण पेसामा जीवन निर्वाह गरेका शर्माले पेसागत रुपमा पढाउने काम मात्र गरेनन् । उनले विद्यार्थीलाई देशप्रेम, भाषाप्रेमका साथसाथै नैतिकता र सदाचारको पाठ पनि कण्ठाङ्ग्र गराउँथे । उनका कारणले समेत त्यसबेला शिक्षण पेसा मर्यादित मानिन्थ्यो ।
शर्मा भानुभक्तका भक्त थिए । उनको मुखमा भानुभक्तको रामायण नै टाँस्सिएको थियो । उनले आफ्ना हरेक रचनामा पनि भाुभक्त नै भानुभक्त मात्र खिप्थे । स्कूलमा पढाएका बेला होस् या बजार भर्न गएका बेला होस् या साहित्यिक र साँस्कृतिक समारोहमा गएका बेला होस् उनी भानुभक्त नै मात्र गाउँथे र त्यसैबारे मात्रै देउसिरे भट्याउँथे ।

शर्मा जहाँ गए तापनि नेपाल, नेपाल र नेपाल मात्रै बोल्थे । उनी राणाशाहीको जग हल्लाउने कुरा मात्रै गर्थे र त्यस्तै लेख्थे । त्यसैले दार्जीलिड नै बसे ताक पनि उनलाई राणा विरोधी कामका अतिरिक्त गोर्खे सिपाहीलाई भड्काउने कुचेष्टा गरेको आरोप लाग्यो । अनि २००१ साल बैशाख २२ गते राजबन्दीका रुपमा उनी एक वर्ष जेलखाना बसे ।

शर्मा हिन्दूधर्म संस्कृतिप्रति कट्टर आस्थावान थिए । दार्जीलिङमा उनले धीरधामको पनि स्थापना गरे । त्यस संस्थाको बाँचुन्जेल उनैले अध्यक्षता ग्रहण गरे । नेपाली साहित्य सम्मेलनका हरेक भाका र प्रस्तुतिमा पनि उनी हिन्दूधर्म र संस्कृतिकै रङ्ग पोख्थे ।
स्कूलको शिक्षकबाट अवकास भएपछि शर्मा दार्जीलिङको जिल्ला समाज शिक्षा अधिकारीमा भर्ना भए । चार वर्ष त्यस पदमा बसेर उनले जिल्लाको शिक्षासेवा मात्र गरेनन् ठाँउठाँउमा पुस्तकालय खोल्न पनि प्रोत्साहन दिइरहे ।

नेपाली साहित्यमा शर्माको विर्सिनसक्नुको योगदान थियो । त्यसैले यिनलाई त्रिभुवन प्रज्ञापुरस्कार प्रदान गरियो । त्यसपछि त्रिभुवन विश्वविद्यालयले पनि उनलाई साहित्यबारे महाविद्यावारिधिको मानार्थ उपाधि प्रदान ग¥यो । उनी गोर्खदक्षिणबाहु तेसोबाट पनि विभूषित थिए ।

शर्माको पहिलो बिहे अर्कलाल उपाध्यायकी छोरीसँग बनारसमै भएको थियो । बिहे गरेको पाँच वर्ष नपुग्दै उनकी पत्नीले आँखा चिम्लिन् । त्यसपछि उनले काठमाडौं चाबेल बस्ने सुब्बा प्रेमनाथ ढुड्गानाकी छोरी चन्द्रकुमारीसँग लगन गाँठो कसे ।

शर्मा चन्द्रकुमारीको नियन्त्रणमा थिए । तर उनकी पत्नीले सन्तान पाएकी थिइनन् । त्यसैले उनी पत्नीप्रति विद्रोही थिए तर त्यस कुरामा उनी मुख बाउन सक्तैन थिए । उनी पुरातन संस्कृतिको जडका एउटा सग्लो प्रतीक थिए । त्यसैले सन्तान जन्माउने हेतु उनले कान्छी ल्याउन पत्नीसँग अनुनय विनय गरे । तर यसबारे उनले हार मात्रै खाए । त्यसबेला यी दार्जीलिड सरकारी स्कूलमा पढाउँथे । त्यसैफेरोमा इलाम कर्फोककी गड्गादेवी अधिकारीसँग यिनले प्रीति गाँसे । अनि यी जोडीले एउटा छोरो पाए र उनको नाउँ अच्युत कोइराला राखियो । बाँचुन्जेल उनले जति जुक्ति ख्याए पनि कान्छी पत्नी र छोरालाई आफ्नो घरमा छिराउन सकेनन् । अनि उनी २०३६ साल माघ २६ गते नेपालमा नै स्वर्गीय भए ।

(श्रोत:-अन्तर्जाल)

nai.com.np@gmail.com

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in स्रष्टा जीवनी and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.