सिस्नोपानी नेपालको देउसी भैलो

आहै भन भन भाइ हो – सहमति
आहै भन भन बैनी हो – सहमति
आहै देउसिरे भन – भन्दैनौ
आहै भनेको मान – मान्दैनौ
आहै जोडले भन – के भन्ने ?
आहै जे मन लाग्छ -त्यै भन्ने
आहै बुँदाका बुँदा – सहमति
आहै हुँदा न हुँदा – सहमति
आहै सागभन्दा सस्तो – सहमति
आहै सुगाले जस्तो – सहमति
आहै भन भन गोपी – सहमति
आहै भन भन कृष्ण – सहमति ।

हामी त्यसै आएनौ बाबुरामले खटाए
अर्को महिना बास् बस्ने घर खोज्न पठाए ।

नयाँ नेपाल हेर्न मन थियो अझै हेर्न पाइएन
चुनाव नभई थोत्रा नेता फेर्न पाइएन ।

काठमाण्डूको खाल्डे सडक के सकिन्थ्यो भिडेर
मुस्ताङ गाडी थिएन, आयौँ हिँडेर ।

आउँदा आउँदै बाटोमा कत्ति साथी हराए
गच्छेदारका गुण्डासँग देउसे डराए ।

मुस्ताङ चढ्छन् बाबुराम हिसिलाचैं प्राडोमा
हिसिलाले बाबुरामलाई पारिन् स्याडोमा ।

अघि अघि बुल्डोजर पछि पछि बाबुराम
बाबुरामले आँसु झार्दा डोजर जिल्लाराम ।

सुकुम्वासी घर भत्काई पुर्‍याएर घाटमा
गरिबीको प्रमाण पत्र दिन्छन् हातमा ।

बानेश्वरको बाटो हिँड्न मान्छे अचेल डराउँछन्
राति राति सभासद्का भूत कराउँछन् ।

सुत्थे, घुर्थे, बस्थे, उठ्थे, घुम्थे फर्की आउँथे
केको लेख्थे सम्विधान लुतो कनाउँथे ।

सम्विधान नामको – पोकैमा
कुनै बेला बानेश्वर – चोकैमा
सम्मेलन केन्द्रको -ढोकैमा
सभासद् पाइन्थे -थोकैमा
बेलाबेलै सभासद् – हराउँथे
मसाजसेन्टर पुगेर – कराउँथे
डिस्कोमा नाचेर – रमाउँथे
बारुले कम्मर – समाउँथे
तस्करले तिनलाई – चराउँथे
नोटले उठबस् – गराउँथे
लुटेका गाडी -गुडाउँथे
अर्काकी श्रीमती – उडाउँथे
अहिले ता भवन – रित्तो छ
सभासद् छैनन् – भित्तो छ
भनभन साथी हो – के भन्ने ?
तलवभत्ता फिर्ता – ले भन्ने ।

बूढो पार्टी काँग्रेस नेता सबै बालक
तीनटा बूढा बालक यसका चालक ।

म्याउँ म्याउँ गर्छन् देउवा-पौडेल यिनले खालो सार्दैनन्
तातातुतु गर्छन् सुशिल माखो मार्दैनन् ।

आन्दोलनको आँधिबेरी झलनाथले ल्याउने रे
यसपालिको तिहारमा गोरु व्याउने रे ।

एमाले र कङ्ग्रेसको देखेकै हो ह्याउ
राष्ट्रपति उचालेर खाने यिनको दाउ

पार्टी फोरी अध्यक्ष भै बढाउने रे पावर
वैद्यले नि बनाउने रे जुक्ति टावर ।

जनताको मुक्ति भन्ने उही ड्याङ्को नारा हो
अर्को झिल्के प्रचण्ड बन्ने पारा हो ।

ठिटाठिटी लिई वैद्य जङ्गलतिर जाने रे
वादल चाहिँ यतै प्रधानमन्त्री खाने रे Û

जङ्गल हो कि सिंहदरबार कतातिर जाने हो
जता गए नि यिनको नियत टन्न खाने हो ।

मुखले एक मधेश, नेतैपिच्छे प्रदेश
आफैं धामी आफैं झाँक्री कठै मधेश ।

एमालेले पहिले जसलाई नेता मन्त्री बनायो
के सुँघेर आज तिनलाई पार्टी गनायो ।

प्याज बोकी नारानकाजी वैठक बस्न गएछन्
विधानसभा मर्‍यो भन्दै क्वाँक्वाँ रोएछन् ।

भन भन भाइ हो- सहमति
मन भन बैनी हो- सहमति
दक्षिणमा एउटा – सहमति
उत्तरमा अर्कै – सहमति
पहाड मधेशमा – सहमति
अनेक प्रदेशमा – सहमति
चोर डाकासँग -सहमति
डन गुण्डासँग – सहमति
काले र कालेको- सहमति
सिध्याउने भाले – सहमति
चिकेनमा चिसो – सहमति
मटनमा मिठो – सहमति
तिघ्रामा तीन बुँदे – सहमति
छोइलामा छ बुँदे – सहमति
साँप्रामा सातबुँदे – सहमति
आन्द्रामा आठ बुँदे – सहमति
भन भन गोपि – सहमति
भन भन कृष्ण – सहमति ।

बढुवाको तक्मा भिर्छन दमनकारी नाइके
छातिभित्रै गोली बोकी रुन्छन् घाइते ।

लडाकुका पसिनाले नेता नुहाउँछन् दिनदिनै
क्रान्ति भन्छन् गाडी घर फेर्छन् छिनछिनै ।

घुम घुम माल्दाजु मठ मन्दिर घुमिरऊ
ढोके छाते चम्चे ओरि परि झुमिरऊ ।

नआए नि राजतन्त्र आउँछ आउँछ भनिदेऊ
नेताहरूलाई निको पार्ने झाँक्री बनिदेऊ ।

तिम्ले माग्ने टेण्डर् अचेल प्रचण्डले माग्दैछन्
प्रधानमन्त्री खान आओ भनी डाक्दैछन् ।

खान्छौ कि त प्रधानमन्त्री हाल्छौ कि त टेण्डर
राम्रै था छ तिम्रो हिष्ट्री, तिम्रो जेण्डर ।

प्रचण्डको सत्तामा रोजगारी खूब् पाइन्छ
जुँगै कोर्न पनि कर्मचारी चाहिन्छ ।

घुमाई फिराई देशको सत्ता प्रचण्डको फन्दामा
कठैबरा राष्ट्रपति बिलखबन्दमा ।

जेठी भन्छे घाम देऊ कान्छी भन्छे पानी
एक्ला बूढा राष्ट्रपति कतातिर जानी ।

आहै भन भन भाइ हो- सहमति
आहै भन भन बैनी हो- सहमति
आहै होटलमा एउटा- सहमति
आहै रिसोर्टमा अर्को- सहमति
आहै बनमा एउटा- सहमति
आहै मनमा अर्कै – सहमति
आहै नशामा जोड्यौं – सहमति
आहै होशमा तोड्यौं – सहमति
आहै माथिमा टाल्दा – सहमति
आहै तलमा ह्वाङ्गै- सहमति
आहै तलमा छोप्दा – सहमति
आहै माथिमा छ्याङ्गै – सहमति
आहै पान खाई पिच्च- सहमति
आहै टिभीमा ङिच्च – सहमति
आहै भन भन गोपि – सहमति
आहै भन भन कृष्ण – सहमति।

दुई दिन मात्रै किन सरकार पूरै हप्ता बिदा देऊ
बन्द गर प्राधिकरण हाम्लाई टुकी देऊ ।

टेलिकमले लाइन बाँड्छ ढाड भाँच्छ जन्ताको
ताप्लेजुङ्मा फोन गर्दा बोल्छ पाल्पाको ।

फुस्स फुस्स हावा हान्छ खानेपानी धाराले
बन्छ बन्छ नयाँ नेपाल यस्तै पाराले ।

नेपालका एयरपोर्ट भारत चीनले बाँडेछन्
बाँड्न दिने हाम्रा नेता आलुपाँडे छन् ।

हाम्रो देशका थोत्रा पिलेन चराले नै खसाउँछन्
पाइलटलाई दोष देखाई बिमा पचाउँछन् ।

बूढो प्रश्न बनाउने, बूढीलाई उत्तर लेखाउने
लोकसेवा आयोगलाई धोती देखाउने ।

मन्त्री पुलिस नेताको हुलले जेल भरेको
सर्वोच्चले यस्तो गल्ती किन गरेको ?

सम्वैधानिक निकाय सबै खालि हुँदैछन्
बाबुरामले जङ्गेको उचाई छुँदैछन् ।

एसटिडि र लोकल सेवा सरकारले नै चलायो
हेल्लो सरकार भन्दा भन्दै नेटवर्क हरायो ।

मल गोदाममा मल छैन पसलमा पाइन्न
बाबुरामलाई खबर गर्नोस् पैसै चाइन्न ।

आसेपासे लिई आउँछन् मासुभात चराउँछन्
सबैलाई खेत बारीमै टट्टी गराउँछन् ।
खुवै वास्ना चलाएछन् चेपाङ् गाउँमा पुगेर
गाउँलेहरू फेन्ट भएछन् सेन्ट सुँघेर ।

सुपथ मूल्य पसलमा सस्तो किन्न पाइन्छ
काँ छ पसल भनी खोज्न गुगल चाहिन्छ ।

३० केजीको चामलमा ६० रुप्या छूट हुन्छ
घरसम्म पुर्‍याउँदा ५०० चट् हुन्छ ।

सत्ता पक्ष दाइँ गर्ने प्रतिपक्ष आइँ गर्ने
महंगीको तातो तेलमा जनता झवाईं गर्ने ।

आशिष
ए दिँदैछौं आषिश – गनेर
महंगी घटोस् – भनेर
शेयरको मूल्य – बढ्दो होस्
लोडशेडिङ सधैं – घट्दो होस्
थोत्रा पिलेन – नउडून्
भीरमा गाडी – नगुडून्
पानीमा पहेलो – तर नहोस्
सडकका छेउमा – घर नहोस्
डोजरले ढोकामा – नहानोस्
अख्तियारले फाइल – नतानोस्
सम्विधान छिटो – लेखियोस्
उज्यालो नेपाल – देखियोस्
धाराबाट भ्यागुत्तो – नझरोस्
डेँगुले निम्तो – नगरोस्
कालोमा छुँदा – कलर होस्
रुपियाँ छुँदा – डलर होस्
आमाभन्दा छोरी – जान्ने होस्
भ्रष्टलाई थाममा – बान्ने होस्
छोराले सगरमाथा – नचढोस्
चढे पनि त्याँबाट – नलढोस्
प्रधानमन्त्री पाहुना – नआउन्
आए पनि कुखुरा – नखाउन्
नेताका मनमा – भय होस्
नेपाली जनताको – जय होस् ।।
सयौं थुँगा फूलका हामी एउटै माला नेपाली
चड्काऊ गाला जस्ले चुँड्छ माला नेपाली

(श्रोत:- अन्तर्जाल)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in हास्य - व्यङ्ग्य and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.