नउठ्दै, एकाबिहानै साथीको श्रीमानको मोबाइल बज्यो। यति सबेरै कसको मिसकल होला भन्ने अड्कल्दैमा फोन अफ भयो। लगत्तै फेरि मोबाइल बज्यो र अफ भयो। बिहान साढे पाँच पनि नहुँदै दुई पल्ट आएको मिसकल संभवतः गल्तीले हानिएको थिएन। तर साथीले श्रीमानलाई सोध्दा अनभिज्ञता जनाएपछि, उसले उक्त मिसकल आएको नम्बरमा डायल गरी। निकै लामो रिङ गएपछि उताबाट कुनै महिलाले फोन उठाइन्। त्यो कुन ठाउँ हो भन्ने प्रश्न गर्न नपाउँदै उनले लाइन डिस्कनेक्ट गरिन्। कौतुहलतावश पुनः डायल गरिंदा मोबाइल अफ गरिएको भेटियो। साथीले उसको श्रीमानसँग यसबारेमा जान्न खोज्दा उनले फेरि पनि थाहा नभएको नै दोहोर्याए। खट्केको कुरा, मोबाइलमा कुनै महिलाको फोन आउनुको थिएन तर अनुपयुक्त समयमा आएको मिसकलमा साथीले उठाउँदा किन डिस्कनेक्ट गरिन् र पछि लगत्तै किन उताबाट मोबाइल अफ गरियो भन्ने प्रश्न मात्र थियो। यदि जरुरी काम थियो भने मिसकलको सट्टा कलै गर्नु पर्ने अथवा त्यो गलत डायल हुन गएको भए पनि कल गरिंदा यदि त्यही कुरा बताइएको भए पनि त्यसले गर्दा असमझदारी बढ्न पाउँदैनथ्यो। व्यर्थैमा रिसैरिसले जोइपोइबीच दुई चार दिन बोलचालै भएन तिनीहरुमा।
असम्बन्धित कसैलाई पनि यो कुरा अति साधारण र व्यर्थ उठाइएको मुद्दा लाग्न सक्छ। तर जसले यस्ता खाले घटनाहरु बोकेका र भोगेका हुन्छन् के तिनलाई पनि यो कुरा सानो लाग्न सक्ला ? यस्ता सानै कुराहरुले समेत घर परिवारभित्र, पति पत्नीका सम्बन्ध बीच अनावश्यक आशंकाहरु सजिलै जन्माउन सक्छन्।
मिसकलले धेरै राम्रो काम पनि गरेको छ। सम्झनाको मीठो तरंग प्रवाहित गर्न र दोश्रो व्यक्तिलाई आफ्नो बजेट न्यून रहेकोले कलब्याक गर्न लगाउन समेत यो तरिका प्रभावकारी बहाना बनेको छ। एक पैसा खर्च नगरी, बिना कम्युनिकेसन कम्युनिकेट गर्न सक्षम मिसकललाई नराम्रो भनिहाल्न हुँदैन। कुनै ठाउँमा जान/नजान, छिटै निस्कन, आफ्नो उपस्थिति जनाउन, कुनै कुराको हेक्का दिलाउन, अझ टिनएजर्सलाई मिसकल गरीगरी खेल्न एउटा सशक्त उपाय बनेको छ यो मिसकल। एक कलमा आउँछु, दुई कलमा आउँदिन, तीन कलमा डकुमेन्ट पाएँ, चार कलमा रिसाएको छु, साथीले बनाएको यी मिसकलका वर्गीकरण थिए। निश्चित कोडमा आएका यस्ता मिसकलहरुले प्रापकलाई राम्रै सन्देश देला। तर के मिसकलहरु सँधै सबैको लागि मिठै हुने गर्छन् त ? मिसकलले आफूसंग थुप्रै मिस्अन्डरस्टायण्डिङ पनि सहजै ल्याउन सक्छ।
एउटा साथीलाई पनि मिसकल गर्ने बानी थियो। बिहान उठेर गुडमर्निङ्गदेखि गुडनाइटसम्म, बोरिङ भयो र व्यस्त छु भन्न पनि उनी मिसकल गर्थे। उनको यो बानी, अर्को साथीको परिवारमा त्यही मिसकलको कारणले खटपट हुन थालेपछि मात्र रोकियो।
कुनै काम परेर गरिने कलहरुको कुरा अर्को हो तर कतिपय समय र परिस्थितिमा आउने मिसकलहरुले उत्सुकताको साथै शंका उपशंका र अविश्वासको वातावरण पनि सृजना गर्नसक्छन्। बेसमय र कूठाउँमा आउने त्यस्ता मिसकलहरुले रंगलाई भंग गर्ने मात्र हैनन् कि कहिलेकांही त अपरिचितहरुका मिसकलहरुमा कलब्याक गर्दा नबोलिदिने मिसकलरहरुको मौनताले पनि सँगै बसेका साथीमा प्रश्नचिह्न जन्माउन सक्छ। त्यस्तै मिसकलहरुबाट आजित अर्की साथी मोबाइलमा आएका कुनै पनि अपरिचित नम्बरका कलहरु समेत पनि उठाउँदिनन्। अपरिचित नम्बरबाट आएका मिसकलका बारेमा आफैलाई थाहा नहुने र सोध्नेहरुलाई पनि कुनै चित्तबुझ्दो जवाफ दिन नसक्दा, ढाँटिरहेको हो कि भन्ने भ्रमपूर्ण स्थिति पनि उत्पन्न हुनसक्छ।
मेरी साथी आफ्नो श्रीमानसँग क्यान्डललाइट डिनर गर्दै थिई। उसलाई साथीबाट दुई तीन चोटी मिसकल आयो। प्रत्येक पल्ट मिसकल आउँदा श्रीमानले आपत्तिजनक रुपमा हेरेकाले उसले त्यो नम्बरमा कलब्याक गरी। संभवतः साथीले नसुनेर उठाएनन्। तिनीहरुको डिनर गर्दाको रोमान्टिकनेस चौपट भयो। भोलिपल्ट मेरी साथीले आफ्नो साथीसँग किन लेटनाइट मिसकल गरेको भनी झगडा पनि गरी।
मिसकल त मिसकल, मेसेजले पनि कम मिस्अन्डरस्टायडिङ गराउँदैन। वास्तवमा कल नलाग्दा, कल गर्न अप्ठ्यारो परिस्थिति र मितव्ययिताको लागि यस्तो छोटा सन्देशहरु शर्ट मेसेज सर्भिस (एस.एम.एस) को रुपमा मोबाइलमा पठाउने गरिन्छ। आउने त्यस्ता मेसेजहरु सम्बन्धितहरुका लागि रमाइलो र सूचनामूलक नै होलान् तर त्यो मेसेज पढ्ने हरेकका लागि त्यस्तो नलाग्न पनि सक्छ।
एक जना साथीले आफ्नो मोबाइलमा सेभ गरी राख्नुभएको मेरो मेसेज देखेर उहाँकी श्रीमतीले मलाई फोन गर्नुभयो। लामो कुरा गरिसकेपछि मात्र उहाँले आफ्नो गलत धारणा हटेको भन्दै मिस्अन्डरस्टायडिङ गरिएकोमा माफी माग्नुभयो।
एसएमएस गर्न र पढ्न मन पराउने एक साथीको एकजना अपरिचितसँग सिर्फ एसएमएस मोबाइल मित्रता चलिरहेको थियो। उक्त अपरिचित साथी एकपल्ट बिरामी पर्दा साथीले स्वास्थ्य लाभको कामना गर्दै घरेलु उपचार पनि लेखिपठाइन्। संयोगवश त्यो मेसेज अपरिचित मित्रकी श्रीमतीको हात परेछ। त्यसपछि घरमा बवाल भयो भन्दै तिनले साथीलाई आफ्नो घरको ल्याण्डलाइन फोन नम्बर, आफ्नी श्रीमतीको नाम समेत उल्लेख गरी घरमा फोन गरेर कुनै कुरा नभएको स्पष्ट पारिदिन मेसेज र कल गर्न थाल्यो। अन्तमा साथीले “भाइ अबदेखि मलाई मात्र हैन,कुनै पनि अपरिचितलाई मेसेज नगर्नु” भन्ने मेसेज पठाएर पिछा छुडाई।
घर आउँदा राति बाध्य भएर अरुको बाइकमा लिफ्ट मागेर आउनु परेकी साथीलाई भोलिपल्टैदेखि मद्दतकर्ताको गजल शैलीका मेसेजहरु प्राप्त हुन थाले। मेसेज मात्र हेर्ने हो भने, त्यो उसलाई चिन्दै नचिनेको मान्छेले लेखेको भनी कोही पनि पत्याउँदैनन्। उसले ती गजल, राम्रो लागेर सेभ गरी राखेकी रहिछ। कतिपय यस्ता कुराहरु सेभ गरिराख्दा त्यसले अनावश्यक झमेलाहरु निम्त्याउन सक्ने मात्र हैन कि आफूप्रति शंका गराउन सक्ने वातावरण पनि बनाउन सक्छ। भनिन्छ, माया र घृणा बीच सिर्फ एउटा झिनो रेखाको मात्र दूरी हुन्छ।
मेसेज अलर्ट टोन कसैका साइलेन्ट हुन्छन् कसैका विभिन्न रिङटोनका। एक सहकर्मी भन्दै थिए फरक रिङटोनको कारणले मोबाइलमा मेसेज आउने बित्तिकै घरभरी हल्ला भै हाल्छ। पहिले मेरो छोराले हेर्छ, अनि मेरी श्रीमतीले र अन्तमा मात्र मेरो पालो आउँछ। एउटै मेसेज कैयन् पटक पुग्ने मात्र हैन कि, पुगेको मेसेज ब्ल्यान्क भइदिने, बिहान पठाएको मेसेज बेलैमा नपुगी घण्टौपछि बेसमयमा डेलिभरी भइदिने जस्ता प्राविधिक गडबडीले पनि मिस्अन्डरस्टायण्डिङलाई बढाउन मद्दत पुर्याउँछ। पतिपत्नीसँगै बसिरहँदा कुनै एकको मोबाइलमा आएको मेसेज हेर्न खोज्यो, अविश्वास गरेको जस्तो हुने, नहेरौं, स्वभाविक कौतुहल हुनसक्छ।
आफ्नो परिचित, इष्टभित्र र आफन्तलाई परिस्थिति र आवश्यकतानुसार मिसकल र मेसेज गर्नु नराम्रो कदापि होइन। यसले सम्बन्धमा सुमधुरता, सम्झनाको झल्को र आफ्नोपनको आभाष दिइरहन्छ। प्रापक एक्लो छ वा एक्लै बसेको बेला मिसकल आएको छ भने त त्यो रसिलै महशुस होला। मिसकलको उद्देश्य मिठै होला तर त्यो बेठीक समय र परिस्थितिमा बज्न गएमा सामुन्ने भएका अन्य सुन्नेहरुका लागि विषकल जत्तिकै तीतो पनि हुनसक्छ भन्ने कुराको हेक्का राख्न पनि जरुरी छ। मोबाइलमा आउने एसएमएसमाथि तपाईँको आफ्नो नियन्त्रण नहुन सक्छ तर तिनलाई सेभ गरेर भविष्यको लागि झगडाको बीउ किन बनाउने ? आफ्नाहरुलाई पर्न सक्ने चोटसँग कुनै सरोकार राख्नुहुन्न भने कुरा अर्को हो अन्यथा संभावित झन्झटबाट पन्छिन र घरायसी महाभारतबाट टाढा बस्न चाहनु हुन्छ भने आफ्नो मोबाइलबाट मेसेज सधै पढ्ने बित्तिकै डिलिट गर्नुस्।
यदि तपाईसँग कुरा छ र काम पर्यो भने मिसकलको सट्टा भरसक कल नै गर्नुस्। त्यस्तो बेला,तपाईले खोज्नु भएको रिसिभर भन्दा फरक व्यक्तिले फोन उठाए पनि आत्तिएर फोन नराख्नुस्,तपाईँको सानो गल्तीले कसैमा ठूलै मिस्अन्डरस्टायण्डिङ पनि उब्जाउन सक्छ। अनि परिचित भनेर अझ खासगरी विपरितलिंगी र विवाहितहरुलाई निर्धक्क मेसेज वा मिसकल गर्दै हुनुहुन्छ भने समय र परिस्थितिलाई पनि अलिकति ख्याल गर्नु होला,प्रापक कतिबेला कोसँग बसेका हुँदा हुन् ……आखिर मूडै त हो !
(श्रोत:- Mysansar)