~जनकराज भट्ट~
आज फेरि दर्केर झरी पर्यो। बिहानसम्म त मौसम ठिकै थियो अहिले कुन्नी के सुरमा हो मौसम बहुलायो, गड्केर पानी पर्न पो लाग्यो।
सुरजले टेबलबाट हिजोको Royal Stag को बाँकी गिलास उठायो, अघी वेटरले ल्याइदिएर चिसो भैसकेको कफीमा मिसायो र बरान्डामा निस्क्यो। पानी उत्तिकै जोडले दर्कीराखेको थियो।
फोनको घन्टी बज्यो उस्लाई झस्काउनेगरी, नचिनेको नम्बरबाट फोन आएकोले एकछिन त उठाएन उस्ले, तैपनी बजेको बज्यै गरेपछी उस्ले फोन उठायो। फोन स्याँ गर्दैथियो जोड्ले, केही सुनिएन। उस्ले मनमनै नेपाल टेलिकमलाई सराप्यो, कलब्याक गर्ने प्रयास गर्दा फोनमा बोलिरहने युबतीले “संपर्क हुन सकेन” भनेको भन्यै गरिन्।
“बर्खामासमा बिदामा न आको भए हुने रैछ”, उ मनमनै चुकचुकायो। “उता बिदा पनि सकियो, यता कतै जान पाको पनि होइन, पानी दर्केको दर्क्यै गर्छ ३ दिन देखी।” जापानबाट बिदा मनाउन भनेर झोकै झोकमा कसैलाई नभनी नेपाल हान्निएको केटो तीन दिन देखिको बर्षाले सिङ्गापुर गेस्ट हाउसमा थन्किएको थियो। “सौराहा जाने प्लान त त्यस्तै होला जस्तो भो” मनमनै हिसाब गर्यो उस्ले। “पोखरा नि नगै त के फर्कनु? बाटो जाम होला, सात दिनमै फर्कनुछ, ह्या जेसुकै होस्, माछापुच्छ्रेको दर्शन त गरेर आऊनै पर्यो।” उस्ले व्हिस्की स्वाट्ट पार्यो र रिसेप्सनमा फोन गरेर हिसाब गरिदिन र ट्याक्सी बोलाइदिन भन्यो।
“नगाको भए पनि हुने सर, बाटो बन्द छ पहिरोले भन्थ्यो याफेमले।” होटेलको कामदारले ट्याक्सीमा सामान राखिदिदै भन्यो। जवाफमा सुरज मुसुक्क मुस्कुराउदै ५० रुपैया उस्को सर्टको अगाडिको खल्तिमा हालिदियो। ट्याक्सी हुइंकियो बसपार्क तिर।
उ बसपार्क पुग्यो, मानिसहरु चिसोबाट छेल्लिदै बिहानको चिया पिउदै थिए, १० बज्न लागेको थ्यो। एउटा केटो “भैरहवा बुटवल” भन्दै उस्को झोला तान्न आइपुग्यो। उस्ले झट्कार्यो झोला र पोखराको माइक्रो रोकिएको ठाउतिर गयो। एउटा माइक्रोको अगाडिको सिट खाली रैछ झ्यालतिरको, उस्ले पैसा तिर्यो टिकेट लियो, गाडी नम्बर हेरेर खलासी भाईलाई झोला राखिदिन अह्राउदै पानीबाट बच्न गाडीमा पसिहाल्यो।
*************************************************************************
“हेल्लो! हेल्लो! कस्तो नसुन्ने के?” उ तर्स्यो, एउटा महिला छाता ओढेर उस्लाई उठाउन खोज्दै थिइन्, राती टेनिस हेरेर बसेको अहिले निस्क्यो, उ गाडीमा बस्ने बित्तिकै निदाएछ।
“के भो?” उस्ले झर्केर सोध्यो टाउको नउठाइ।
“मेरो सिट हो के यो छोड्नु न, म भिजिसकें पानीले।” उस्ले माथि तिर हेर्यो, सलले मुख ढाकेर छाता ओढेकी केटी ऊ तिर हेर्दै थिइन्। “यो मेरो सिट हो, टिकेट हेर्नुहुन्छ?” उस्ले भन्यो।
“मेरो हो के प्लिज ल, म भनी वरी आको हो त नि, मलाई भोमिट हुन्छ के।” तिन्ले पुराण सुरु गरिन्, उस्ले झर्को मान्दै ड्राइभर तिर सरिदियो।
गाडी बिस्तारै थानकोट तिर घिस्रियो।
गाडी जोल्टिङमा परेर घच्याक्क भएपछी ऊ फेरी बिउँझियो, हेरेको मलेखु पुगेको रेछ। पानी सिम सिम गर्दै थियो। गाडीमा दन्केर “मैले त्यही भएर मन पराको” भन्ने गीत बज्दै थियो। उस्ले छेउमा बस्ने केटीलाई हेर्यो, तिनी बाफले ढाकेको सिसा औंलाले पुछ्दै बाहिर हेर्ने प्रयास गर्दै थिइन्। उस्ले फेरी सुत्न टाउको अड्यायो सिटमा।
केटी ड्राइभरतिर फर्केर भनिन्, “कती नेपाली फिल्मको गीत बजाको? हिन्दी छैन दाई?” पहिला उस्ले ध्यान दिएन तर गालाको कोठी चिनेको जस्तो लाग्यो। उस्को निद्रा भङ्ग भयो, “कतै यिनी एन्जिला त होइनन्?” उ झसङ्ग भयो। उनी फेरी झ्यालतिरै फर्किन्, “अब अगाडि गएर हेर्न नि मिलेन, बोलाउँ अर्कै पर्यो भने कार्टुन् भैन्च्” उस्ले सोच्यो।
कसरी कन्फर्म गर्ने त भन्ने सोचेर उस्ले पाँच मिनेट बितायो। केही नलागेपछी उस्ले ड्राइभरतिर फर्केर भन्यो,”दाइ, साइड लाइदिनुन।” भनेर उस्ले पिसाब आएको संकेत गर्यो। ड्राइभरले दुई मिनेट पछी गाडी साइड लगायो। उस्ले ओर्लिनको लागि ढोका खोल्यो।
उस्ले ऐनामा देख्यो, ती महिला एन्जिला नै थिइन्। ऊ ओर्लियो, गयो र फर्केर आयो। पिसाब लागेकै थिएन कहाँबाट आउनु ? फर्कियो र पानीबाट बच्न फेरी गाडीमा उक्ल्यो। एन्जिला अझै झ्यालको बाफमा केही लेख्ने कोशीश गर्दै थिइन्। गाडी गूड्यो।
त्यसपछिका आधा घण्टा उस्ले कसरी कुरा शुरु गर्ने भन्ने सोचेर बितायो। सिधै बोलाउँदा केही भन्ने हुन् कि। “टेन्सन भो त यार।” उस्ले सोच्यो। उस्का आँखामा कलेजका दिन आए।
शंकरदेब क्याम्पसमा BBS पढ्न भर्ना भएको पहिलो दिन नै साथीको बाइक चलाएर जाँदा एन्जिलालाई हिलो छेपिदिएको थियो, खसिबजार् अगाडि। मंसीर महिना भए पनि त्यो दिन पानी पर्दै थियो, भिज्नबाट बच्न दुबै हतारमा थिए, उन्ले उस्लाई गाली गरिन्, उस्ले फिस्स दाँत देखायो, र बाइक हुँइकाएको थ्यो। पछी कलेजमा तिनी पनि संगै एउटै क्लासमा पो परीन्।
एन्जिलासँग BBS पढुन्जेल राम्रो भएन। उस्ले कती प्रयास गर्यो, केही गरे उनी टसमस भैनन्। उस्ले सरीको कार्ड समेत् पठाएको रेस्पोन्स नै आएन। पछी उनी पढाई छोडेर UK को भिसा छरपस्ट भएका बेला त्यता छिरिन् भन्ने सुनियो। उस्ले पनि BBS third Year मै छोडेर जापान पस्यो।
तर उस्लाई त्यो झरीमा एन्जिलालाई हिलो हालिदिएपछी उन्को रिसाएको अनुहार झल्झली याद आउथ्यो। उस्ले फेस्बुकमा खोज्ने प्रयास गर्यो, भेटीइनन्। खै कता हराइन्।
अब चाँही अत्ती भो भनेर उस्ले बोल्ने बिचार गर्यो एन्जिलासँग। “धेरै भए माफि मागुम्ला, या पिट्लिन्। भागने त ठाउँ छैन क्यारे।” उस्ले सोच्यो र झ्यालमा अडेस लागेर निदाउन लागेकी एन्जिलालाई आफुतिर फर्काउनको लागि तान्न खोज्यो। “खोइ त भेटिन्नन त, अघी भर्खरसम्म संगै थिइन् त।” सोच्दै हात घुमायो उस्ले।
हात ढोका खोल्ने स्विचमा लागेर दुखेपछी उ झल्याँस्स भयो। यसो हेरेको गाडी खाली भैसकेको थियो, उ ओर्ल्यो, गाडी त पोखरा बसपार्क पुगिसकेछ। पानी रहेर घाम लागिसकेको थियो। एउटा मान्छे मुस्काँउदै उ नजिक आएर भन्यो :” बाटो भरी तपाईंले मलाई तानेर बिजोक पार्नु भो, कस्तो सारो निदाको ?”
सुरजले आङ तान्दै “सरी, हिजो राती अलिक बढी भएछ।” भन्यो।
सुरज बसपार्कबाट बाहिर निस्क्यो, माछापुच्छ्रे उस्लाई हेरेर हाँस्दै थियो, सडकमा उही खसिबजारको झैँ हिलो जमिराखेको थियो, उ त्यो झरी र यो झरीलाई संगै सम्झ्यो र मुस्कुरायो, अनी एउटा ट्याक्सीको ड्राइभरलाई भन्यो “लेकसाइड जाने??”
(श्रोत:- Blog)