~बूँद राना~
कुन्नि कस्तो टुनामुना जानेको छ गजलले
काँचा–पाका जम्मैलाई तानेको छ गजलले।
दुई–चार ‘रन’ लिई कहाँ ‘प्याक’ हुन्थ्यो हरे
हान्यो कि त छक्कै–छक्का हानेको छ गजलले।
मीर, फैज, गालिबले धानी आएको थे जो
त्यही बिँडो गजबले धानेको छ गजलले।
अन्त भिन्दै खलोहुँदी कुनै अर्को होला मियो
हामी कहाँ ‘मोती’लाई मानेको छ गजलले।
तिर्खालुले प्यूँदा खरो, चर्को नहोस् भनेर हो
सागरका बूँद–बूँद छानेको छ गजलले।
रेसमले बाँधे पनि कतै गाँठो दुख्ला भनी
मनहरु भावनाले बानेको छ गजलले।
(श्रोत:- अन्तर्जाल)