~श्यामु बस्नेत~
हामी रिक्सामा थियौँ। मैले अरु कुरा सोधे पनि उसको नाम नै सोधिनछु। आफैदेखि हाँसो उठ्यो। सकेसम्म स्वाभाबिक भएर सोधेँ ,’ नाम ?’।
‘स्नेहा चौधुरी ‘ एकदम बङाली लवजमा उसले भनी। मेरो नाम उसले मेरो ब्यागमा हेरेकी रहिछ ‘साम’ भनी। मैले श्यामु भने। उसको जिब्रोले मानेन र ‘सामु’ उच्चारण गरी। म हाँसे।
ऊसँग केही घण्टा पहिले मात्र भेट भएको थियो। ढाका शहरको मालिबागस्थित बसको काउन्टरमा। हामी दुबै जनाको बस रातिको थियो। गन्तब्य पनि फरक।
‘ यु आर फ्रम ? ‘ उसले सोधेकी थिइ। मैले नेपाल भनेपछि उसको अनुहार उज्यालो भयो।
मेरा नेपाली साथीहरु छन् दार्जीलिङमा उसले भनी। तिमी वेस्ट बेङ्गाल को हौ ? मैले सोधेको थिएँ र उसले हो भनी। त्यति भनेर ऊ चुप लागेको भए हुन्थ्यो तर बोलीरही।
बोल्नेक्रममा उसले आफु संगीतको विद्यार्थी हो भनी। म चुपचाप थिए। ऊ अझै के के बोल्दै थिई। मलाई भने काठमाडौंको चिसो छोडेर अचानक ढाकाको गर्मी र कोलाहलमा आउनुपर्दा चिड्चिडाहट भैरहेको थियो। यसै पनि बाङ्लादेश आएको कयौ दिन सम्म केही कुरामा मन लाग्दैन। म सुनी मात्र रहेको थिए।
‘ बिहानदेखि बोलेकी छैन म। बोल्ने साथी पनि थिएन। ‘ उसले भनी। यसो भनेपछी मैले उसलाई हेरे। हाँस्दा उसको कालो र सुन्दर अनुहार झन् रुन्चे देखियो।
तिमी किन आको बङ्लादेश ? मैले सोधे।
अब ऊ चुप लागी। मलाई अब ऊ चुप लागेको मन परेन। मोबाइल निकालेर चलाको जस्तो गरे। अझै बोलिन।
आ…बाल मतलब नबोले नबोलोस् भनेर कानमा कानेस्वोर छिराए र गीत सुन्न थाले।
दिउँसोको समय भएकोले होला काउन्टर खाली थियो। काउन्टरको मान्छे रातिको निद्रा पुर्यौउदै थियो। उसले एउटा चकलेट मलाई दिई। मैले लिन मानिन। गीत बन्द गरे। ऊ के के भन्दै थिई। मैले कानको बुझो झिकेर ‘के?’ भने।
उसको बोली बन्द भयो। मैले ठूलो स्वोरमा बोलेछु। काउन्टरको मान्छेले ख्वाक्क खोक्यो र यसो हेर्यो। मैले ‘सरी’ भने।
उसले भनी ‘हामी केही बेर बाहिर जाउँ न। म साह्रै बोर भएँ।’
म छक्क परे। मैले फेरि सोधे ,’तिमी किन र कहाँ बाट आको ?’
ऊ उदास थिई। केही बेर चुप लागि र भनि ‘आई ह्याव अ स्टोरी ‘!
म चुपचाप बसे। अनि भने तिमी एक्लै किन जादैनौ ? उसले ढाकामा साझँको बेला एक्लै हिंड्न डर लाग्छ भनि। मलाई उसको कुरा ठिकै लाग्यो। र हामी त्यहाँबाट निस्केर एउटा रिक्सामा चढेका थियौँ। यसरी नाम समेत सोध्न छुटेको थियो।
स्नेहा किन आकी त बाङ्लादेश ? एक्लै छे। बिहानदेखि। अनि उदास। अनि भन्छे ‘डर लाग्छ ‘। के ऊ मसँग डराइन ? मैले उसलाई सोधे ‘ तिमीलाई मसँग किन डर लागेन ?’
‘किनभने तिम्रो आँखामा त्यो छैन ‘ उसले भनी।
के ? के छैन ?मैले थपिरहे।
‘बासना !! बासनासँग डराँऊछु म ‘ स्नेहाले भनि र देखाइ फुट्पाथतिर र सोधी ‘के त्यहाँ
केटीहरु हिडिरहेका छन् ?’
म केही बोलिन।
ऊ बोलिरही ‘केटी केटाको सबैथोक हुन्छे तैपनी केटीको सम्मान छैन ‘। अनि माथि देखाइ एउटा होर्डिङ बोर्डतिर ‘हेर संसार सारा मिलेर केटीहरुलाई नङ्याउछन् र पछी संसारले उनिहरुलाई चरित्रहिन भन्छ। ‘
ओह ! मैले भने ‘तिमी तस्लिमाकी बहिनी हौ ?’ ऊ हाँसी। यसपल्ट एकदम उन्मुक्त भएर। मलाई उसको कथा झन् थाहा पाउन मन लाग्यो। एकछिन किचकिच नै गरिदिए। कत्तिन पहिले देखि चिनेको जस्तो !
ऊ अझै दर्शन छाट्दै थिई। कस्तो जब्बर रईछे। पहिले स्टोरी छ भनी। जब जान्न मन लाग्यो। स्टोरी सुरुनै गर्दिन। उल्टा दर्शन छाट्दै थिई।
रिक्सा जाममा फसेको थियो। ढाकाको जाममा केहीपल्ट फसेपछी मलाई काठमाडौंको जाम त जाम जस्तै लाग्दैन।
‘तिमीलाई अरु कुरा गर्न आउँछ ?’,मैले केही झर्कदै भने। ऊ चुप भई।
‘तिमी के सोच्दै छौ ?’ उसले सोधी। यो जाममा , यो गर्मिमा ,यो फत्फते केटीसँग बेकार हिंडेँछु। चिन्नु न जान्नु। उफ्।
‘मेरो आँखामा अचानक ‘बासना’ आयो भने तिमी के गर्छौ होला भनेर सोचेको।’ मैले अलिक उत्त्ताउलो हुँदै सोधे। अब चुप लाग्छे भन्ने अनुमान सहित।
तर मेरो अनुमान गलत भयो।
‘डन्ट जोक। मैले बिदेशमा नेपालीको भर हुन्छ भन्ने सुनेकी छु।’ भनेर उसले मेरो काँधमाथि हात राखी।
मलाई अलिकति ‘सिरिङ्ग’ भयो। मैले तर तिम्रो भर लागेन है भन्दै हात हटाएँ।
‘कसले भन्छ तिमीलाई यस्तो बकम्फुसे कुरा?’ मैले झन जिस्काएँ।
‘मैले भने नि मलाई नेपालीहरुको बारे केही थाहा छ। मेरा साथीहरु छन् नेपाली।’उसले भनी।
यो जब्बरसेठ केटी प्रति उत्सुकता झन् बढ्दै गयो। त्यसपछी मैले भने ,’तिमीले आफ्नो कथा भन्छौ भन्ने सोचेको थिएँ। तिमी मसँग नबोल अब।’ शायद यसैलाई भन्छन् इमोसनल ब्ल्याकमेल।
अनि उसले आफ्नो पोल खोली। ऊ भागेर आकी रहिछ। उसको प्रेमीसँग नभएर घरबाट अन्तै बिहे गरिदिन लागेछन्। प्रेमी फेसबुकमार्फत् भेटिएको रहेछ। उसको प्रेमी कलकत्ताको कुनै नाट्य समुहमा कलाकार रहेछ र दुई महिनाको लागि युरोप गएको थियो। र अझैसम्म उसको प्रत्यक्ष भेट भएको थिएन। प्रेमीको बारेमा निकै उत्साहित थिई ऊ। उसले मलाई बुझेको छ। र म ऊ सँग मात्र खुशी हुन्छु भन्दै थीई। उसको फुपुको घर रहेछ बाङ्लादेशको कक्स बजारमा। फुपुले उसलाई माया गर्छिन। र दुई महिना लुकाउँछिन भन्नेमा ऊ ढुक्क थिई।
‘धन्य रहेछौ तिमी त’मैले यति मात्र भने। ‘बाबु-आमालाई मनाउन भन्दा शरणार्थी हुन सजिलो’ उसले भनि। हामी निकैबेर चुपचाप भयौं।
हाम्रो रिक्सा एकफन्को मारेर पुन पहिलेकै बाटो फर्कन थाल्यो।
मलाई अलि अलि भोक लागेजस्तो भयो। ‘ तिमीले के खायौ आज ‘,मैले उसलाई सोधे।
उसले एउटा बिस्कुट खाए भनि। ‘किन बिस्कुटमात्र?’ मैले सोधे।
उसले भनि ऊसँग धेरै पैसा छैन र यदी फुपुकोबाट हिंड्नु पर्ने भयो भने उसलाई पैसा चाहिँनेछ।
ओहो !!तिमी हिन्दी फिल्म धेरै हेर्छौ ?’ मैले भने।
‘मेरो बापुको लाइन हो त्यो ‘ उसले भनी।
अनि हामीले खाजा खायौँ। आलु-परौठा। मिक्सड भेजिटेबल्स।
बस चढ्ने बेलासम्म हामी काउन्टरमै गफ गर्दै बस्यौँ।
मैले उसलाई आफ्नो ठेगाना दिए। फेसबुकमा कुरा गरौला र केही समस्या परे आएर भेट्नु भने।
उसले ‘सामु नाइस टु मिट यु ‘ भनि।
म बस चढेँ।
केही दिन अघि उसले फेसबुकमा एउटा सन्देश पठाइ।
जसमा लेखिएको थियो : ‘सामु आइ गट माइ लब। तुमी भालो आसो ?’(मेरो प्रेम सफल भयो। तिमी ठिकै छौ ?’)
उसको प्रोफाइल फोटोमा एउटा केटोको टाउको पनि सँगै थियो। गाला जोडेको
(श्रोत:- Mysansar)