अनूदित कथा : सम्बन्ध विच्छेद

~अनुवादक : शशांक लामा~

जब म त्यस रात घर पुगेँ, मेरी श्रीमती खान पस्किन तरखर गर्दै थिइन्।
तिनको हात समात्दै मैले भनें: तिमीसित एउटा कुरा गर्नुछ। तिनी बसिन् र
चुपचाप खान थालिन्। मैले तिनको आँखामा उदासीपन महसुस गरें। अचानक मेरो
वाक्य बन्द भयो। तर जे कुरा मैले धेरै दिनदेखि सोचिरहेको थिएँ, त्यो
भन्न जरुरी थियो – म तिनिसँग सम्बन्ध बिच्छेद गर्न गैरहेको थिएँ। मैले
आफ्नो कुरा संयमका साथ राखेँ। मेरो कुराबाट तिनी बिस्मयचकित् भएको पाइन,
बरु नम्र भएर सोधी: किन? मैले तिनको प्रश्नलाई टार्न खोजेँ। तिनी रिसाइन्
र चप्स्टिक हुर्याएर मलाई ‘नामर्द’ भन्दै चिच्याइन। त्यस रात हामी
दुवैबिच कुराकानी भएन, तिनी रोइरहेकी थिइन्। हाम्रो बैबाहिक सम्बन्धमा
के त्यस्तो खोट देखापर्‍यो भन्ने कुरा तिनले जान्न चाहनु स्वभाविकै कुरो
थियो । तर मसंग तिनलाई दिने त्यस्तो सन्तोषजनक जवाफ थिएन। जेन भन्ने
महिलाले मेरो हृदय जितिसकेको थियो र मैले मेरो श्रीमतीलाई माया गर्न
छोडिसकेको थिएँ। तिनी प्रति दया जागेर आयो।

गह्रुगो अपराधबोधकासाथ मैले एउटा सम्बन्ध्-बिच्छेदको सम्झौता पत्र तयार
पारेँ, जसानुसार हाम्रो घर, गाडी र मेरो कम्पनीको ३०% शेयरमा
तिनलाई हकदार बनाएँ। तिनले त्यो सम्झौता-पत्रमा एक नजर दिइन र फाडेर
च्यातच्युत पारीन। दश दश बर्षसम्म एउटै छानामुनी बसेकी ती महिला अब
अजनवी भैसकी थिई। यस घरमा आएर तिनको आफ्नो समय, शिप, शक्ति र यौवन
बित्थामा खेर गएकोमा म अत्यन्तै दुखित थिएँ। तर मैले जे निर्णय गरेँ,
त्यसबाट पनि म बिमुख उन चहिरहेको थिइन, कारण म जेनलाई असाध्यै माया
गर्थेँ। अन्तत मैले अपेक्षा गरे अनुरुप तिनी डाँको छोडेर रुन थालिन्। साँच्चै भन्नु हो भने
तिनको रुवाइले मलाई केही सान्त्वना दिलायो। अनि धरै दिनदेखि मनमा सँगालिराखेको
सम्बन्ध्-बिच्छेद गर्ने बिचार अहिले आएर ठोस् र स्पष्ट भएजस्तो लाग्यो।

अर्को दिन जब म राती अबेर घर पुगेँ, तिनी टेबलमाथि केही लेखिरहेकी थिइन।
मैले बेलुकीको खाना खाएको थिइन, तर त्यसदिन जेनसंग गजब रमाइलो दिन
बिताएकोले गर्दा म थकित थिएँ र सिधै ओछ्यानमा गएर पल्टेँ। जब म बिउँझे,
तिनी अझै लेख्दै थिइन। मैले वास्ता गरिन र अर्कोतर्फ फर्केर फेरी सुतेँ
। भोलिपल्ट तिनले सम्बन्ध्-बिच्छेदका शर्तहरु मेरो सामु तेर्स्याइन-
सम्बन्ध्-बिच्छेद गर्नुअघि १ महिनाको अग्रिम सुचना दिनुपर्ने बाहेक तिनले
म बाट कुनै हकदावी गरिन। त्यो एक महिनाभित्र हामी दुवैले सकेसम्म सँधैको
जस्तो पारिवारिक माहौल कायम गराउनु पर्ने तिनको अनुरोध थियो, कारण १
महिनापछि हाम्रो छोराको जांच थियो र हाम्रो तनावपुर्ण सम्बन्धले उसलाई
नराम्रो असर नपरोस भन्ने तिनको चाहना थियो। यो बाहेक तिनको एउटा अनौठो
शर्त थियो: हाम्रो बिहे भएको बेला कसरी मैले तिनलाई बोकेर सुहागरात
मनाउने कोठामा लगेको थिएँ, त्यो स्मरण गर्न भनिएको थियो। अनि त्यो एक
महिनाभरी बिहेताका झैँ तिनलाई शयन कक्षबाट घरको बाहिरी ढोकासम्म बोकेर
लानुपर्ने तिनको अनुरोध थियो। कतै पगली त भइनन् ?! एकछिन त म अकमक परेँ
। हाम्रा अन्तिम दिनहरु राम्ररी बितोस भन्नाका खातिर मैले तिनको अनौठो
प्रस्ताव स्वीकार गरेँ। मैले जेनलाई मेरी श्रीमतीको शर्तहरुबारे बताउँदा
तिनले जोडले हांसेर तिरस्कार गर्दै भनेकी थिइन: जस्तोसुकै चलाखी अपनाए
पनि त्यल्ले सम्बन्ध्-बिच्छेद नगरी धरै पाउँदिन।

हाम्रो सम्बन्ध्-बिच्छेदको कुरो भएदेखी श्रीमती र म बीच शारिरीक सम्बन्ध
भएको थिएन। उनको अनुरोध बमोजिम पहिलो दिन जब मैले तिनलाई बोकेँ, हामी
दुवैलाई कस्तो कस्तो अप्ठ्यारो महसुस भएको थियो। ड्याडिले मम्मीलाइ
बोक्नुभयो भनेर छोरो हाम्रो पछाडि ताली पिटदै थियो। छोराले त्यसो भन्दा
मैले नजानिन्दो पिडा महसुस गरेँ। श्रीमतीलाई बोकेर शयन्-कक्षदेखी बैठक
कोठा हुँदै मुलढोकासम्म करीब १० मिटर म हिँडे हुँला। मैले तिनलाई
बोकिरहेको बेलामा तिनले आँखा बन्द गरेर मधुर स्वरमा भनिन: हाम्रो
सम्बन्ध-बिच्छेदबारे छोरालाई नभन है। मैले दुखी भएर स्वीकृतिसुचक टाउको
हल्लाएँ। तिनी काममा जान बस बिसौनितिर लागिन भने, म एक्लै गाडी हाँकेर
अफिस गएँ। दोस्रो दिनको बोकाइमा हामी दुवैले केही सजिलो अनुभव गर्यौँ,
तिनले टाउको मेरो छातीमाथि राखिन, तिनको ब्लाउजबाट मिठो अत्तरको सुगन्ध
आइरहेको थियो।मुहारलाई राम्ररी नियालेर हेरेँ, तिनी अब पहिले जस्तो जवान
थिइनन, निधार र आँखाका छेउछाउ हल्का चाउरीहरु देखेँ, केश पनि कहीं कहीँ
फुलेको थियो। वैवाहिक जीवनले नै तिनलाई यस्तो तुल्याएको थियो। मैले
तिनलाई वास्ता नगरेको निकै भएछ।

चौथो दिन जब मैले तिनलाई बोकेँ, एक किसिमको आत्मियता मैले महसुस गरेँ।
यिनी तिनै महिला थिइन, जसले बिगत दश बर्षदेखी मलाई साथ दिँदै आएकी थिइन।
पाँचौ र छैठौँ दिन पनि त्यो आत्मियता झन झन प्रगाढ हुँदै गएको मैले पाएँ
। जति जति समय बित्दै गयो, तिनलाई बोक्न झन झन सजिलो हुँदै गयो। शायद
प्रत्येक दिनको बोकाइले म बलियो पो हुँदै गएँ की ! एक बिहान तिनी लुगा
छान्दै थिइन,चार पाँच चोटि लुगा फेरिसकेपछी लामो सुस्केरा हालेर भनिन:
मेरा सबै लुगाहरु खुकुलो भैसके, कुनैपनि जीउमा मिल्दैन। मैले ध्यान दिएर
तिनलाई हेरेँ, कस्ती दुब्ली भईछे, त्यसैले पो होला मलाई बोक्न सजिलो भएको
! आफ्नो मनभित्र अथाह् पीडा, ब्यथालाई लुकाएर तिनी बाँचेकी रहिछिन भन्ने
कुराले मलाई अत्यधिक पीडाबोध भयो ।एकाएक अर्धचेतनमा मैले तिनको शिर छोएँ
। त्यति नै बेला छोरो करायो: मम्मीलाइ बोकेर बाहिर लाने बेला भएन र? उसको
बाबुले आमालाई बोक्ने काम दिनचर्या जस्तो ठानिसकेको थियो मेरो छोरोले।
मेरी श्रीमतीले छोरोलाई नजिक आउन साउती गरिन र बेस्कन अंगालो हालिन।
आफ्नो अडानमा बिचलन नआओस भन्ना खातिर मैले टाउको अन्तै मोडेँ। शयन-कक्ष,
बैठक कोठा, हलवे हुँदै म श्रीमतीलाइ बोकेर पाइला चाल्दै थिएँ, तिनको
हातहरु मेरो घाँटिमा आरामसंग बेरिएका थिए, हाम्रो विवाह् अवसरमा झै मैले
तिनको शरीरलाई बेस्मारी च्यापेको थिएँ।

तिनको हलुँगो वजन देखेर म चिन्तित थिएँ। अन्तिम दिन जब मैले तिनलाई
बोकेँ, किन किन मैले पाइला चाल्न सकिरहेको थिइन। छोरो स्कुल
गैसकेको थियो। मैले तिनलाई बेस्मारी च्यापेर भनेँ: हामी दुई बीचको
आत्मीय सम्बन्धमा कमी भएको त मलाई हेक्कै भएन। म काममा हिँडे, अफिस
पुगेपछी गाडीमा चाबी नै नलगाइ सरासर उक्लेँ। केही बेरको ढिलाइले मेरो मन
परिवर्तन होला भन्ने मलाई डर थियो। माथ्लो तल्लामा उक्लेपछी जेनले ढोका
खोली दिइन। आफु सम्बन्ध-बिच्छेद नगर्ने निर्णयमा पुगेको कुरा जेनलाई
बताएँ। जेनले छक्क परेर मतिर हेरिन र मेरो निधार छामिन। तिमीलाई जरो
आएको छ ? तिनले सोधिन। निधारबाट तिनको हात हटाउँदै मैले फेरी
दोहोर्याएँ: म सम्बन्ध-बिच्छेद नगर्ने भएँ, हाम्रो वैवाहिक जीवन यसरी
रसहीन हुनाको कारण हामीले एकार्कालाई माया नगरेर भएको होइन रहेछ,
जिन्दगीका झिना मसिना कुराहरुलाई महत्वहीन ठानेकाले नै यस्तो भएको रहेछ।
विहेको अवसरमा मेरी श्रीमतीलाई मैले बोकेर घरभित्र भित्र्याए झै
जिन्दगीको अन्तिम क्षणसम्म पनि त्यही भावना राख्नु पर्ने रहेछ भनेर म
अहिले महसुस गर्दैछु। जेन जुरुक्क उठिन, बेस्कन मेरो गाला चडकाएर ढोका
ड्याम्म थुनेर डाँको छोडेर रुन थालिन। म गाडी चढेर घरतर्फ लागेँ।
बाटोमा फुल पसलमा रोकिएर एउटा फुलको गुच्छा किन्न लाग्दा फुल पसल्नीले
सोधी: कार्डमा के लेखिदिउँ? कार्ड तिनको हातबाट लिएर मैले मुस्काएर
लेखेँ – जीवनको अन्तिम घडीसम्म प्रत्येक बिहान म तिमीलाई बोक्नेछु!!!

हातमा फुल, मुहारमा मुस्कान लिएर हतार हतार त्यस साँझ म घर पुगेँ।
दगुर्दै भर्र्याङ् उक्लेँ। यसरी हतारिएको त मेरी श्रीमतीलाई मृतावस्थामा
फेला पार्नुलाई पो रहेछ। म जेनको प्रेममा यसरी डुबुल्किएको थिएँ कि
मेरी श्रीमती महिनौँ देखी क्यान्सरको बिरामी भएको कुरो समेत मैले थाहा
पाउन सकिन रहेछु। आफ्नो मृत्‍यु चाँडै नै हुँदैछ भन्ने कुरा तिनलाई थाहा
रहेछ। हाम्रो सम्बन्ध्-बिच्छेद भैगएको भए त्यसको नकारात्मक असर छोरामा
नपरोस र छोराको नजरमा म दोषी नदेखियोस भनेर मलाई बचाउन तिनले त्यसो गरेकी
रहेछिन – फलस्वरुप छोराको नजरमा म मायालु लोग्ने हुन पुगेँ। जीवनका
झिना-मसिना कुराहरु नै वैवाहिक सम्बन्धलाई टिकाउने खम्बाहरु हुन, न की
भब्य महल, गाडी, जग्गा-जमीन र पैसा –यी चिजहरुले त केही टेवा दिने मात्र
हो, मुख्य कडी यी होइनन!!!!

तसर्थ, आफ्नो ब्यस्त दिनचर्याबाट केही समय निकालेर आफ्नो जीवनसाथीसंग
आत्मीयता गाँसौ र जिन्दगीका झिना-मसिना ठानिएका कुराहरुलाई अंगालेर त
हेरौँ! यिनै महत्वहिन ठानिएका कुराहरुले नै वैवाहिक जीवन भत्किनबाट
जोगाउँछ। सफलताको कारक तत्वहरुलाई पहिचान गर्न नसक्दा नै मानिसहरुले
असफलता बेहोर्छ।

(घरहरु सुन्दर छन् भने न समाज पनि सुन्दर बन्छ भन्ने कुरालाई ह्रदयंगम
गरी यो कथा पाठकहरु समक्ष प्रस्तुत गरेको छु। यो मेरो मौलिक लेख होइन,
एउटा अज्ञात लेखकले समाजलाई माया गरी लेखेको कथा हो, फिक्सन पनि हुन
सक्छ, सत्यकथामा आधारित पनि हुनसक्छ, जे भएपनि कथा मार्मिक छ, हामी
बाँचेकै जिन्दगीको बर्णन छ। फेसबुक मार्फत प्रचार प्रसार गर्न अनुरोध
गरिएको थियो। मौलिक लेख अंग्रेजीमा थियो र मैले नेपालीमा अनुवाद गर्ने
जमर्को गरेको छु। कतिपय हरफहरुमा शब्दानुवाद् नगरि भावानुवाद् गरिएको छ्
। मेरो यो अनुवादले कुनै नेपालीको भत्किन लागेको घरलाइ टेको दिन समर्थ
भयो भने मैले गरेको कार्य सार्थक भएछ भनेर ठान्नेछु। पाठकहरुको
प्रतिकृयाको अपेक्षा राख्दै…..)

(श्रोत:-Mysansar)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in अनूदित कथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.