कथा : त्यो विचरो !

~सुषमा मानन्धर~Shushma Manandhar

दुईचार दिन बढार्न ढिला भयो भने कौसीमा गमलाबाट झरेका पातपतिँगर टन्न थुप्रिसकेका हुन्छन् । अनि जब पानी पर्छ, कौसीबाट पानी तल जाने पाइपको मुख थुनिएर जलमग्न हुन्छ । कैयैा पल्ट मैले मध्यरातमा उठेर झरीमा रुझ्दै कौसीको टालिएको प्वाल खोल्न जानुपरेको छ । त्यही बिचार्दै म कौसीको गमलाको कापकापमा कुचो छिराउँदै बढार्दै थिएँ, छेवैबाट चिर्चिर कराएको सुनेर आवाजतिर विस्तारै चियाएँ

रुख रोपेको ठूलो गमलापछाडि एउटा भँगेरो रहेछ । उड्न नसकेर पखेटा फ्याट फ्याट गर्दै उत्तानो परिरहेको । मैले कुचोले ढकेल्दै त्यसलाई बाहिर निकालेँ । त्यो उभिनै सकिरहेको थिएन । विस्तारै त्यसको पखेटा समाएर उठाउन खोजेँ, भँगेरो आत्तिँदै करायो र्चिचिर र्चिचिर । शायद पखेटामै केही भए जस्तो छ । किनकी त्यो सन्तुलित नबसेर बाँयापट्ट ढिल्किएर बसिरहेको थियो । त्यसलाई त्यहीँ कुनामा छाडेर मैले पहिला आफ्नो काम सकाएँ । यदि यति सानै कुरामा अल्झिएर बसेँभने बाँकी काम कतिबेला गर्ने ? कौसीमा ढोका थुनेर तल ओर्लन लाग्दा छिमेकीको घरमा एउटा ढाडे कुरिरहेको देखेँ । हुन त सानो भँगेरोको ज्यान कुनै ठूलो विषय थिएन तर त्यो उड्न पनि नसक्ने निरिह प्राणीलाई विरालोको आहारा बन्न त्यत्तिकै कौसीमा छोड्न मनले सकिँन । तल लगेर पनि कहाँ राख्ने यसलाई ? निकै सोचमग्न बनायो यसले ।

भँगेरोलाई विस्तारै उठाएर आफ्नो हत्केलामा राखेँ । छाती र ढाडतिर गहिरो कालो रंग भएकोले बुझेँ, भाले रहेछ । त्यसको ढाडमा विस्तारै चोर औँलाले सुम्सुम्याउँदै कोरीदिंदा आँखा बन्द गर्‍यो भँगेरोले, शायद सन्चो मानेर होला । “के भयो ? कसले गर्‍यो तेरो यस्तो हविगत हँ ?” मेरो प्रश्नमा त्यसले आफ्ना स-साना गोला आँखाले पुलुक्क मतिर हेर्दै केही भने झैँ लाग्यो मलाई । “तेरो आफ्नो यस्तो पखेटा त छँदै थियो नि, भुर्रर उडे भैहाल्थ्यो, पाजी ! ” मैले गाली गर्दा पनि त्यसले आँखा खोलेन, मुन्टो निहुर्‍याएर चुपचाप सुनिरहृयो मलाई ।

मैले त्यसलाई तल भान्छामा ल्याएँ । दिमाग खियाएँ तर त्यसलाई राख्नहुने जस्तो कुनै बस्तु देखिँन । खाटमुनि जुत्ताको बट्टा थियो,त्यसैलाई झिकेर सफा गरेँ । थोत्रो सिरकको खोल सानो टुक्रा च्यातेर तह लगाई त्यो बट्टाभित्र राखी त्यसमाथि त्यो भँगेरोलाई राखेँ । त्यो अझै पनि सानो स्वरमा कराईरहेकै थियो । मैले भँगेरो समेतको त्यो बट्टा भान्छामा एउटा बाकस माथि राखेर आफ्नो अरु दैनिक कार्यमा लागेँ ।

भँगेरो अशक्त देखिन्थ्यो । त्यो कहिले यताबाट कहिले उताबाट बस्ने असफल प्रयास गरिरहेकोथ्यो । त्यसलाई के भएको भन्ने कुरा नै मैले बुझ्न सकिँन । बाहिरी घाउ केही नभए पनि भित्र पो कहिँ चोट लाग्यो कि, मलाई पीर पनि लाग्न थाल्यो । मैले नदेख्दासम्म क्यै न क्यै, उसमाथि अन्त कतै अरुका छानामा परिरहेको भए पनि मेरो टाउको दुखाई थिएन । बचाउँछु भनेर ल्याइसकेपछि त्यसको लागि कुनै प्रयास नगर्नु, उचित थिएन शायद । जहाँ छोए नि चिर्र्चि कराउने हुँदा, मलाई भँगेरोलाई ओल्टाईकोल्टाई गर्न पनि डर लाग्यो । डराई डराई हेर्दा भँगेरोको पखेटामुनि रातो दाग देखेँ । हुन सक्छ, त्यसैको चोटले घाइते भएर त्यो उड्न नसकेको हो । मैले बेसार र तेलको लेदो बनाएर त्यसको चोटमा लगाई दिए । त्यसपछि त्यो भँगेरो अघिजस्तै आँखा बन्द गर्दै बसिरहृयो । त्यो दिन र राती पनि भंगेरो त्यसरी नै सुस्त देखिइरहृयो । मैले राखिदिएकी भात र पानी त्यसले छुँदै छोएन ।

भोलिपल्ट अलिकति तँगि्रएको देखियो त्यो । म विहान भान्छामा पुग्दा ठाडो घाँटी पारी चिर्बिराउँदै थियो । “के छ बबुरो,तेरो हालखवर ?” मैले बट्टाभित्र हात छिराएर त्यसलाई छुन खोजेँ । त्यो भने मेरो पहुँचबाट बच्ने प्रयास गर्दै थियो । हिजोकै जस्तो हालत भएको भए तै के हो के हो । आजको त्यसको अवस्थाले त्योे चाँडै ठीक होला भन्ने आशा जाग्यो । मैलै दुईतीन भातका सिता बट्टाभित्र त्यसको छेउमा खसालीदिएँ । त्यसले एक नजर मलाई हेर्‍यो अनि मुन्टो बटार्‍यो । पहिले त त्यसले भातको सिता छुँदै छोएन, पछि अलिअलि ठुँग्दै थोरै भए पनि खायो । “खानु नै थियो भने किन स्वाङ्ग पारेको, तोरी लाउरे ?” मेरो व्यङ्गयमा त्यसले शायद हैन भन्ने बताउन पखेटा हल्लाउन खोज्यो । मैले आज पनि त्यसको चोटमा बेसार र तेल दलिदिएँ । त्यो आफ्नो चुच्चोले प्वाँख सफा गर्दै बसिरहृयो ।

भँगेरोलाई भान्छामा राखेको पनि तीन दिन भयो । मैले ढक्कन उघारिदिएँ तर भँगेरो बाहिर निस्केन । बट्टा ढल्काएपछि भँगेरो भुर्र बाहिर आएर दराजमाथि बस्यो । आफ्ना कुँजिएका पखेटाका प्वाँखहरु टोक्दै त्यसले सानो टाउको घुमाएर भान्छा सवैतिर निरिक्षण गर्‍यो । त्यसपछि त्यो कहिले झ्यालको भेन्टिलेशनमा, कहिले तख्तामा, कहिले बट्टामाथि र कहिले टेबुल गर्दै भान्छाभरी घुम्नथाल्यो । त्यसरी उड्दा टेबुलमाथिको बोटल खसेकोले, डराएछ कि क्या हो कुन्नि, दराजमाथिको बट्टा पछाडि लुकेको भँगेरो बाहिरै निस्केन । त्यसले पोखाउन सक्ने कुरा दराजमा राखेर त्यसको निम्ति चामल र पानी राखी त्यसलाई त्यत्तिकै छाडी म स्कूल लागेँ । स्कूूलमा बच्चाहरुलाई पढाउँदै गर्दा पनि भँगेरोले घरमा के उधुम गर्‍यो होला भन्ने दिमागमा आइरहृयो । साँझ र्फकदा त्यो झ्यालको भेन्टिलेशनमा बसिरहेको थियो । भुइँमा दुई तीनवटा प्लास्टीकका बट्टा खसेका थिए । भोलिपल्ट भँगेरोलाई स्वतन्त्र गर्ने विचारले रिकापीमा थोरै भात तरकारी राखेर झ्याल तल राखेँ । भँगेरोले रिकापीतिर एक नजर पनि हेरेन । “लौ घुर्की नलाइकन राम्रोसँग खा त,भोलि जा लास् आफ्नो घर । ” आफ्नो धन्दा सकाई राती भान्छाको ढोका लाएर तल ओर्लदा भँगेरो भान्छाभित्र अझै भुर्र भुर्र उडिरहेको थियो ।

विहान सबेरै भान्छाको झ्याल खोलिदिएँ, भँगेरो बेतोडले झयाल बाहिर उड्यो । कति बेला झ्याल खुल्ला र उडुँला भन्दै बसेको होला विचरा त्यो । भँगेरोलाई बचाएर कुनै ठूलो पुरुषार्थ गरेको नभए पनि एउटा निरिह चराको ज्यान जोगाउन सकेकोमा आफूलाई सन्तोष लाग्यो । पशुपन्छिका पनि आफ्नै दुनिँया होलान्,आफ्नै भाषा । मैले त्योसँग कुरा गर्दा घरिघरि मलाई हेरेर धन्यवाद दिए झै लागिरहन्थ्यो मलाई । हुन सक्छ, त्यो मेरो भ्रम थियो । तर भ्रमै भए पनि आहा,कति मीठो । भान्छाभरी ठाउँठाउँमा भंगेरोले विष्टाएको थियो । त्यो सबै ठाउँ बढारेर कपडाले सफा गरेँ । कागजको बट्टालाई कुच्याएर डालोमा मिल्काएँ । हिजो अस्तिसम्म भात राखिदिनु पर्छ भन्ने चिन्ता लागिरहन्थ्यो,भँगेरो उडेपछि कामै नभएको जस्तो खाली भए झैँ लागिरहृयो ।

साँझ, स्कुलबाट फर्केर चिया पकाउँदै थिएँ,बार्दलीमा चराहरु चिर्विराए रहे । बराण्डामा बाहिर निस्केर हेरेँ, दुई चारवटा भँगेराहरु विहान फालेको पाउरोटीको टुक्रामा भोज गरिरहेका थिए । “ए । भँगेरो तैँ होस् कि ? ” म अगाडि आएको देखेर भँगेराहरु चिर्रर्र कराउँदै उडे । हेर्दा सबै भँगेराहरु उस्तै देखिने तर त्यसमा सायद त्यो भँगेरो थिएन ।

दिनहरु बिते,एकपछि अर्को । जाडो र गर्मी एक अर्कालाई पछ्याउँदै बितिरहे । नहारे पनि थाक्दै गरेकी एउटी अधबैंसे म पनि एक्लै यी चराहरुलाई साथी बनाउन बाध्य , जिन्दगीसँग बगिरहेकी थिएँ । मैले पढाउने स्कूले बच्चाहरु जस्तै निर्दोष र सरल, चराहरुको साथ मेरो समय बिताउने एउटा राम्रो बहाना बनेको थियो ।

अचेल मकहाँ कौसीमा राखिएका भात र पाउरोटीका टुक्राहरु खान थुप्रै भँगेराहरु आउँन थालेका थिए । तिनमा त्यो भँगेरो हुन्थ्यो या हुँदैनथ्यो म जान्दिन । मैले ख्यालै गरिँन ।

एकदिन म गमलाको बोटमा पानी दिइरहेकी थिएँ,बरान्डाको बारमाथि एउटा भँगेरो बसिरहेको थियो । सधैँ आउने कुनै भँगेरो जस्तै साधारण भँगेरो होला भनी म वास्ता गरिँन । भँगेरो पछाडि फर्केर चिरचिर गर्न थाल्दा अनायसै त्यसको पखेटामा आँखा गयो, त्यहाँ केही दाग जस्तो थियो त्यो मेरो भ्रम थियो वा साँच्चीकै कुनै दाग ,भन्न सक्दिन । “यो त त्यही भँगेरो जस्तो पो छ । कहाँबाट आइस् हँ ,यत्तिका दिन पछि ?” मलाई आश्चर्य र खुशी दुवै लाग्यो । भित्रबाट पाउरोटी ल्याएर त्यसको सामु राखिदिएँ । त्यसले नखाई मेरो अनुहार हेरिरहृयो । चुच्चोमा सानो टुक्रा पाउरोटी च्यापेर भुर्र उड्नु अघि, भँगेरोले आफ्नो सानो टाउको घुमाइ हेर्‍यो मलाई ।

भोलिपल्टदेखि ख्याल गर्न थालेँ त्यो भँगेरोलाई । साँझैबिहान झयाल बाहिर र बरान्डामा उफ्रिरउफ्रि हल्ला गरिरहने थुप्रै भँगेराका हूल, मभित्रको कोलाहललाई एउटा शान्ति दिन्थे । एक अर्काका प्वाँखहरुमा मायाले टोक्दै आफ्नी भँगेरीलाई फकाउन जिस्किन खोज्ने भँगेरो, फोहरको थुप्रोमा सुकेका रोटीका टुक्रा खोज्दै बस्ने भँगेरी र मुखमा किरा च्याप्दै उड्दै गरेका चराका जोडीहरुले धेरैकुरा सिकाइरहेका हुन्थे । कहिलेकाहिँ एक्लै कहिलेकाहीँ अरु भँगेराको साथमा भुर्रभुर्र गर्दै वरिपरि उडिरहने त्यो भँगेरो मेरो दैनिक अवलोकनको एउटा अँग बन्दै गैरहेको थियो ।

आज फेरि अलिकति फुर्सद निकाल्दै थिएँ । कोसीका केही गमलामा किरा लागेको थियो । भित्रभित्रै जरा खाएर बोटै मार्ने सेता किराहरु,म एक पछि अर्को निकाल्दै थिएँ,चिमटाले । भँगेरो कौसीको डीलमा बसेर चिर्बिराउँदै मैले गमलाबाट किरा निकाल्दै गरेको हेर्दै थियो । घामले उकुसमुकुश ओढेको खास्टो फुकालेर मूढामाथि राखेँ । भँगेरो डीलबाट ओर्लेर धुलोमा केही खोस्रन थाल्यो । गमलाका माटो गोड्न तल भान्छाबाट सानो कुटो लिएर आउँदा कौसीमा भँगेरो थिएन । यताउता हेरेँ, कौसीका कुनामा भँगेराका थोरै प्वाँखहरु छरिएका थिए । त्यत्ति नै बेला मुखमा केही च्यापेर छिमेकीको छानाबाट अर्को छानामा हाम्फाल्दै गरेको विरालो देख्छु । विचरा ! कुटो त्यत्तिकै कौसीमा छाडेर भारी मनले चुक्चुकाउँदै मूढामाथिको खास्टो उठाएँ । अब त्यसपछि मैले कौसीमा काम गर्ने मूड बनाउनै सकिंनँ ।

(श्रोत:- अन्तर्जाल)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.