~ललिता ‘दोषी’~
मूल पात्र परिचय :
- वीणा खरेल (६४ वर्षीय वृद्धा )
- नवराज के.सी ( ६९ वर्षीय वृद्ध )
- समृद्ध कार्की (२७ वर्षीय युवा )
- दिवाकर पाण्डे (२६ वर्षीय युवा )
- हुकुमबहादुर खरेल (५१ वर्षीय अधबैँसे )
- मैते कुमाल (४९ वर्षीय अधबैँसे )
- चन्द्रलक्ष्मी खरेल (४२ वर्षीय अधबैँसे )
- मिलन खरेल (४४ वर्षीय अधबैँसे )
(झमक्क साँझ पर्दाको समय , वीणा माटोको एकमुखे चुलोमा भात पकाउँदै । कसैँडीमा भात छड्को पर्दै । छेउमा रेडिया , रेडियोमा उनको जीवनसँग मिल्दोजुल्दो गीत बजेपछिे रेडियो उचालेर कान नजिकै लग्दै । )
बालेर बस्छु दियालो सधैँ
निभाउछ हुरीले
कमलो मन काट्टी नै रह्यो
धारीलो छुरीले
परदेशी भए पति र पुत्र
एक्लै छु घरमा
सहारा कोही छैन नि मेरो
दैवको भरमा ।
वीणा : ( गीत सुन्दा वीणाको आँखाबाट आँसु झर्यो । बज्दाबज्दैको रेडियो बन्द गरिन् । बल्दाबल्दैको आगोलाई लोटाको पानीले छम्केर निभाइन् र गालामा हात राखेर मनोवाद गरिरहिन् ।) कठै ! यो गीत सुन्दा त मुटुमा भक्कानो नै गएझँै भयो । लागेको भोक पनि हरायो । यो गीत लेख्नेको पनि मेरोजस्तै मुटुमा बाण लागेको हुनुपर्छ । नखोलौँ भने पनि साथीजस्तै छ यो ठाडो । खोलौँ भने कहिले त घाउ नै उक्काइदिन्छ । कालो अक्षर भैँसी बराबर नभएको भए म पनि कति लेख्थेँ होला छातीभित्र बल्झिएका पीडा । उफ ! जिन्दगी बडो कष्टकर भयो । अहिले पो बुझ्दैछु किन चाहिँदोरहेछ बूढाको साहारा, सबैजना भन्थे –“ लोग्ने भनेको हिक्मत हो, लोग्ने भनेको आधार हो, ओछ्यानमा पल्टिरहने बूढो भए पनि घर रित्तो हुँदैन ।” तक्दिर भनौँ कि, असत्ती मुर्दारहरूले बिछ्याएको जाल भनौँ, भोकप्यास, खुसी सबैसबै लुटे । फाटेको मन न टाल्नु न सिउनुभयो ।
समृद्ध : (दुई युवक टायलले छाएको घरका पिँढीमा ,पछाडि भिर्ने झोला पिँढीमा राख्दै ) साह्रै थाकियो यार ! यो घरमा त चाइँचुइँ केही छैन । यो मसानजस्तो घरबाट केही आश नगरे हुन्छ,हिँड अन्तै जाऊँ ।
दिवाकर :(पिँढीमा बस्दै) तिमी पनि साइको कुरा गर्छौ यार ! गाउँ नै मसानजस्तो भएपछि घर मसानजस्तो हुँदैन त ? राम्रो पढेलेखेका धनीहरू अमेरिका, जापान, अस्टेलिया रामै्र देशमा गएका छन् । मध्यम वर्गकाहरू कतार, साउदी, कोरिया भारत आदि देशमा छन् । हामीजस्ता न ढोकाका न डोकाकाहरू….।
समृद्ध : (एक छिन मौन हुँदै) छोड यार, सिरेस कुरा, हामी भावनामा बहकियाँै भने भोलिदेखि भोकभोकै हुनुपर्छ बुझ्यौ बालक ?
दिवाकर :(ठूलो स्वरमा) होइन भित्र को हुनुहुन्छ हँ ?
वीणा : (लालटिन लिएर ढोकामा उभिँदै) होइन ,कोही बोलेजस्तो लाग्छ । आफू राम्रो कान सुन्दिनँ ।
दिवाकर :(वीणातिर हेर्दै सानो स्वरमा) आमा ! हामी अर्खावाङ्गे काजीका नातिहरू हौँ । अर्खावाङ्ग यहाँबाट दुईतीन घण्टा पर पर्छ रे त्याहाँ जाने आट नै भएन ।
वीणा : आच्या, अर्जुनेको पो नाता पर्नुहुन्छ ? अर्जुनेको घर पुग्न कहाँ दुईतीन घण्टा लाग्नु नि ! लामो फट्को हुनेलाई दशै मिनेट पनि लाग्दैन त्यही पर त हो नि !
दिवाकर : (ठूलो स्वरमा) अर्खावाङ्गे काजीको नाति भनेको त अर्जुन पो सुन्नुभयो ।
वीणा : (हाँस्दै) आच्या, अर्खावाङ्गे काजीका नातिहरू पो हुनुहुन्छ ? भित्र नै पाल्नुहोस् । म आग्रोभन्दा गाग्रो सुन्छु । खैर जे होस्, अर्खावाङ्गे काजीका छोराहरूको अन्वार देख्न नपाए पनि नातिहरूको अन्वार देख्न पाइयो । त्यही मूल ओछ्यानमा राज होस् । काजीका चारै भाइ कुशलमंगलै हुनुहुन्छ ?
समृद्ध : (दुवै मूल आछ्यानमा बस्छन् । वीणा ठूलो पिर्का ओछ्याएर उनीहरूको सामुन्ने बस्छिन् । ठूलो स्वरमा) सबैलाई आरामै छ आमा !
वीणा : (लामो स्वास फेर्दै) काजी–कजिनी बितेपछि सहरबाट कोही फर्कनु भएन । त्यो महल त मुसाले परेड खेल्ने थलो भएको छ पो भन्थे गाँठे !
समृद्ध : (हाँस्दै ठूलो स्वरमा) यहाँको महलमा मुसाहरूले परेड खेलेको हल्ला काठमाडौँमा पनि पुगेको थियो । परेड खेल्ने मुसा कस्ता रहेछन् भनेर हेर्न आएको नि आमा !
वीणा : (हाँस्दै) आच्या, बाबु पनि , यहाँ पर्याटक हो कि क्या हो ले जस्तै गाउँ घुम्न त पाल्नुभएको होला नि ! अनि कुन भाइको छोरा पर्नुभयो नि ?
दिवाकर : हामी माइलाका छोरो पर्यौं आमा ! पर्यटकहरूजस्तै घुम्न आएका हौँ । पर्सि नै फर्कन्छौँ ।
वीणा : आच्या, महादेव त कान्छा हुनुहुन्छ होइन र ? के अचम्म कान्छाका छोरा पनि …..।
समृद्ध : (सानो स्वरमा) तँ नै जवाफ दे बैरीलाई, गाँड नै फुट्ने गरी म बोल्न सक्दिनँ ।
दिवाकर : (ठूलो स्वरमा) हामी माइलाका छोरा हौँ भनेको नि !
वीणा : (हाँस्दै) के गर्नु कान नसुनेपछि, माइला नानीका दुई भाइ छन् भनेको त सुनेकी थिएँ । बाबुहरू भोकाउनु भयो होला ।
दिवाकर : हामी भोकाएका छैनौँ । त्यहीँ सिमलटारीमा टन्न खाएर आएका हौँ ।
समृद्ध : (दिवाकरलाई चिमोट्दै सानो स्वरमा) हैन साइको, पेटभित्र मुसा दगुरिरहेको छ भोक लागेको छैन भन्छौ । खुरुक्क खानाको चाँजोपाँजो मिलाऊ नत्र……।
दिवाकर : (सानो स्वरमा) पेटभित्र मुसा दगुरिरहेको छ भने अब पेटभित्र बिरालो पनि पठाऊ अनि कुरै खतम हुन्छ यार !
समृद्ध : (सानो स्वरमा हाँस्दै) साइकोले आज गिदी नै खाने भए ।
वीणा : (चुलोमा आगो बाल्दै) तातो एकदुई गास त खानुपर्छ बाबुहरू अनि बाबुहरूको इलम कति छ नि ?
दिवाकर : (ठूलो स्वरमा) गर्न त एम.ए. पास गरेका छौं नि आमा तर……..।
समृद्ध : (दिवाकरलाई चिमोट्दै सानो स्वरमा) आज यो साइकोले कुरा खुस्काउने नै भए । कति चपरचपर बोलेको तरसर नजोड सोधेको कुरा मात्र भन ।
वीणा : (दुवैलाई छड्के आँखाले हेर्दै) बाबुहरू मीठो –मसिनो खाइरहेको मान्छे आजलाई गुन्द्रुक भुक्लुक्क उमालौँ कि ?
दिवाकर : (ठूलो स्वरमा) हुन्छ आमा हुन्छ, भोक मीठो कि भोजन मीठो भन्छन् …..।
(दिवाकरको कुराले वीणा एक छिन टोलाउँछिन् पुनः आफूलाई सम्हाल्छिन् ।)
समृद्ध : (रिसाउँदै सानो स्वरमा) अब तिमीले मुख खोल्यौ भने म निको मान्दिनँ । जे जवाफ दिनु छ म नै जवाफ दिन्छु बैरीलाई …….।
दिवाकर : (वीणालाई तलदेखि माथिसम्म हेर्दै) यार, मान्छे काँडामा टेकेर फूलको खोजीमा हिँड्छन् । हामी मूला भने यस्ता सुन्दर फूलहरूलाई टेक्छौँ …. ।
समृद्ध : (सानो स्वरमा) ऊ साइकोले कविता छाँटे । यथार्थमा आऊ बालक, बगलीमा सुक्को छैन याद राख । भावनामा बहकिने होइन । मुटु पत्थर बनाऊ ।
दिवाकर : (सानो स्वरमा) हामीले थुपै्रको कथा सुन्यौँ । हामीभित्रको ढुङ्गा कहिले मैन भयो र बरु भान्सामा गएर बैरीको पीडा सुन्दै गोहीको आँसु झारौँ ।
वीणा : (दुवै उठेर भान्सामा जान्छन् । वीणा दुवैलाई बस्न पिर्का दिँदै) ल दूध खानुहोस् ! सहरा त खाँटी दूध के पाइन्थ्यो होला ?
समृद्ध : (समृद्ध, दिवाकरले गिलास समाउँदै) पाइँदैन आमा ! पाइँदैन । एउटाले भैँसीको खाँटी दूध भनेर ल्याउँदा सानो माछा पनि ल्यायो रे भनी हल्ला गर्थे ।
वीणा : (हाँस्दै) आच्या , होला पनि बाबु , दूधमा खोलाको पानी मिसायो होला ।
समृद्ध : (दूध पिउँदै) आमा, काठमाडौँका खोलाहरू ढलमती बनेका छन् । त्यस्तो पानी त मिसाएन होला । बर्षादको समयमा खेतकै पानी मिसायो होला । यहाँको दूध त यति मीठो हुँदोरहेछ ।
वीणा : (पाकिरहेको गुन्द्रुकमा चौलानी हाल्दै) सुनेकै हुँ पापीहरूले बाग्मती, विष्णुमतीलाई पनि दुर्गन्ध पारेको कुरा । अब त गाउँमा पनि शुद्ध खान पाइदैन बाबु हो । सकिनसकी भैँसी पालेकी छु । यस्सो सघाउन पल्लाघरे जीवेकी छोरी आउँछे । उसलाई स्कुल पढ्न पुग्ने खर्च जुटाइदिएकी छु , त्यसैले सेतो देख्न पाइएको छ । भोक नै नभएपछि फेरि मिष्टाङको के काम? पटक्कै भोक लाग्दैनँ । बाबुहरू पाल्नु भएकोले निभाएको आगो पनि बालेँ । आफूलाई कृष्णे र कृष्णेको बाबुलाई सम्झियो भने लागेको भोक पनि हराउँछ । रेडियोमा उनीहरूको झल्को दिने गीत बजेकोले मन त्यसै भाँडिएको थियो । टुप्लुक्क बाबुहरू पाल्नुभयो । दुवैको झल्को केही भए पनि मेटियो ।
दिवाकर : (ठूलो स्वरमा) उहाँहरू कहाँ हुनुहुन्छ त आमा ?
वीणा : (लामो स्वास फेर्दै) तातो भात पनि फुकेर खान नजान्ने काइँला कुमाललाई असत्ती मुर्दारहरूले समसाँझमै सुराकी भन्दै बोको छिनालेझैँ छिनाले । (आँसु पुछ्दै ) बरा उसको दुई वर्षे छोराले गिँडेको टाउको हल्लाउदै बा उथउथ भनेको सुन्दा र बाबुको रगतमा निथु्रक भिजेको देख्दा २० वर्षीय राइकी छोरी मुढो पल्टेझैँ आँगनमा पल्टी । धेरैले सम्झाउँदा पनि न त एक शब्द बोली, न डाको छोरेर रोई । पीर खप्नै नसकेर त होला भोलिपल्ट छल्दी खोलामा हाम फालेर मरी । उसका बाबुआमा एक माना खान पुग्ने भएकाले नातिलाई लगेर पाले । त्यसपछि गाउँमा अलि सक्ने जति रातारात गरेर भागे । भाग्नेमा कृष्णे र कृष्णेका बाबु पनि परे । यसरी घेरैको विल्लीबाठ भयो ।
समृद्ध : (एकै छिन सबै मौन भए ) यो कहिलेको कुरा हो नि आमा ?
वीणा : ( वीणाले धोतीको सप्कोले आँसु पुछ्दै । ) काइँला सुराकी हुँदै होइन बाबु हो ! पापीहरूले जतिलाई मारे तीमध्ये एक खण्ड पनि दोषी होलान् भन्ने मलाई लाग्दैनँ । राईको गोठ पसेको काइँलोलाई इमान्दार देखेर एस.एल. सी. गरेकी राईकी छोरीले आफैँले मन पराई । उसैले केही दिन बुटबलतिर भगाई । राईराइनीले फर्काएर यहाँ ल्याए । हुन पनि चखेवाको जोडीजस्तै थिए । उनीहरूको खुसी दैवलाई सह्यभएन ।
दिवाकर :(ठूलो स्वरमा) यो कहिलेको कुरा हो भनेर सोधेको नि आमा ?
वीणा :(हाँस्दै) आच्या, मैल त काइँला को हो भनेको पो सुनेछु । यो कुरा ठ्याक्कै २०५५ साल साउन २१ गतेको कुरा हो । मर्भुङ्गबासी मात्र होइन काइँलाको हत्या देख्ने सबै आँसुको तालमा डुबे त्यो दिन । काइँलाजस्ता सोझासाझा त कति मरेमरे लेखाजोखा नै छैन । दुनियाँका सन्तानलाई आगोमा होमेजस्तै आफ्नै सन्तानलाई होमून् न पापीहरूले के सक्छन् ? दैव त छ भन्छन् तर ती पापीहरूलाई केही गर्दैनन् ।
समृद्ध : (ठूलो स्वरमा) त्यस्तो विचल्ली त कैयौँको भयो नि आमा ! अनि तपाईँको कथा नि?
वीणा : (नम्र स्वरमा आँखाभरि आँसु पार्दै) बाबु हो, बूढा लाउरबाट २० वर्षमा पेन्सन पकाएर आउनुभयो । लाऊँलाऊँ –खाऊँखाऊँ भन्ने वैंस त्यत्तिकै गए पनि बुढेसकालमा मुख बोल्ने साथी पाउँदा हामी साह्रै खुसी थियौँ । छोरो सिमलटारी स्कुलमा मास्टरी गथ्र्यो । मैले तराईको गर्मी सहन सकिनँ । मेरै लागि बूढा र छोरा यहाँ बसेका थिए । काइँलालाई अचाक्लिसँग दु:ख दिएर मारेपछि बूढाले मनको शान्तिभन्दा ठूलो केही छैन , हिडँ बाबै अन्तै जाऊँ भन्नुभयो । छोराले पनि तपाईंलाई एक्लै बस्न गाहृो हुन्छ भन्थ्यो । दश नङ्ग्रा खियाएर जोडेको सम्पत्ति त्यसै छोड्न नसकेर म खिच्चिएँ । २०६२ सालमा गाउँमा अलि शान्ति भयो । लोकतन्त्र कि पापीतन्त्र के आयो भनेर बूढा मलाई लिन आउनुभयो । बूढा आएको पर्सिपल्ट अर्काको पसिना खान पल्केका मुर्दारहरूले चन्दा दिने भए दे नत्र मार्छौ भने ।
बुढाले रातदिन पाले बसी कमाएको दुईचार लाख सिरिखुरी पारेर लगे । उहाँले क्वाँक्वाँ रुँदै असत्तीहरूको पाउ समात्नुभयो । ढुङ्गाको मुटु भएकाहरूले उल्टै लातले हानेर आँगनमा पल्टाए । गुन्द्रुककै भाउमा भए पनि घरजग्गा बेचेर तँ पनि दिल्लीतिरै आउनू भनी बूढा रुँदै हिँड्नुभयो । यो मोर्दासँगै नजाने हिरन कसैले खान मानेनन् र म यहीँ थच्चिएँ । बूढा यताबाट गएपछि पैसाको पीर र मेरो पीरले होला भोकभोकै बस्नुभएछ । अल्सर नै भएछ । बच्चा नभएर लोग्नेले छोडेकी इन्डियन नर्सले साह्रै सेवा गरिछ । परिबन्दले गर्दा दुवै जुटे । छोरा कतारमा नै घरजम गरी बसेको छ । म बूढी ऐयाआत्थु, भन्दै यहीँ थच्चिएकी छु ।
समृद्ध : (ठूलो स्वरमा) बाबुसँग कुराकानी हुँदैन त आमा ?
वीण : ( आँखा ओभानो पारेर भात पस्किँदै ) आच्या, हुन्छ नि बाबु हो किन नहुनु । बूढा यतै आइज बाबै भन्नुहुन्छ । आफूले त्यत्रो वर्षसम्म सुमरेको लोग्ने सौतासँग बोलेको देख्दा मनमा औडाह छुट्ला बरु नभेटेकै राम्रोझैँ पनि लाग्छ । मलाई त्यस आइमाईसँग कुनै रीस भने छैन । ऊ त मेरो लागि भगवान् नै हो । उसले मेरो सिन्दूर बचाई । (आँसु पुछ्दै ) ल भात खाऊँ ।
समृद्ध : (भातको गाँस हाल्दै) अहो ! भात त साह्रै मीठो रहेछ ।
दिवाकर : आमा ! हामीले मात्र चोट सह्यौँ भनेको त तपाईंले पनि धेरै चोट सहनुभएको रहेछ ।
समृद्ध :(दिवाकरलाई चिमोट्दै सानो स्वरमा) दिवाकर, तिमी खुस्केऊ, आज बाँच्ने चान्स छैन बुझ्यौ ?
दिवाकर :(अलि डराएको स्वरमा ) तपाईंको सौतासँगको नाता कस्तो छ नि आमा ?
वीणा : (थाहा नपाएझैँ गरी भातको गाँस हाल्दै) आच्या, सार्है राम्रो छ नि ! ऊ स्वादैकी छे । दिदी, आइए भन्छे । मैले लगाएका कपडा गहना सबै उसैले पठाएकी त हो नि ! मन नै मरेपछि लाउन खानको त वास्तै हुँदोरहेनछ । आज भने तपाईंहरूले गर्दा घर नै उज्यालो भयो ।
हुकुमबहादुर : (ढोका धकेलेर भित्र पसी खुकुरी नचाउँदै अरू चारछ जना पनि हँसिया बन्चरो खुकुरी लिएर पस्दै) उज्यालो होइन भाउजू, मोराहरूले घोर अँध्यारो पार्थे घर । तपाईंको बुद्धिमा त कीरा नै लागेको छ । आफूमाथि त्यत्रो बाण लाग्दा पनि… । सुमितले सुत्ने बेलामा यी डाँकाहरूलाई यहाँ देखेको कुरा नगरेको भए…. ।
समृद्ध: (समृद्ध र दिवाकर थरथर काँप्छन् । समृद्ध डराएको स्वरमा) हामी अर्खवाङ्गे काजीका नातिहरू….।
हुकुमबहादुर :(रिसाउँदै) अहिले आँसीले मुख चरचरी चिरौँला अनि अर्खवाङ्गे काजीका नाति हुन्छौ कि के हुन्छौ थाहा भइहाल्छ नि !
मैते : यस्ता पातकीहरूलाई त पाता फर्काएर नुनचुक दल्नुपर्छ बुझ्नुभयो ?
वीणा 🙁 हुकुमबहादुरलाई जुठै हातले धकेल्दै) हो…हो…. यिनीहरू डाँका नै हुन् । सर्प नै बनेर डस्न आएका थिए । मेरो भान्सामा आएपछि यिनीहरूभित्रको विष सबैसबै झरिसकेको थियो । भोलि यिनीहरू यहाँबाट निस्किँदा केवल उज्यालो लिएर निस्किन्थे । यिनीहरूभित्र मैले ज्वालामुखी देखेकी छु । यी बूढा आँखाहरूले यति त भेउ पाउछ बाबु हो । त्यसैले बिन्ती सबै निस्किनोस् । म सधैँ मरेकीलाई फरि मृतुको के डर ?
मिलन : (समृद्ध र दिवाकर छक्क पर्छन् । मिलन रिसाउँदै) मान्छे खुस्केपछि कसको के लाग्छ र ? ‘मुति सकेपछि दैलो देख्लेऊ’ काकी !
वीणा : (ठूलो स्वरमा) म खुस्केको होइनँ । तपार्इंहरू खुस्कनु भएको हो । यिनीहरू उज्याला चिराग हुन् मेरा लागि बुझ्नुभयो ? केवल उज्याला चिराग… ।
चन्द्रलक्ष्मी 🙁 ढोकामा पुगेर फर्किंदै ) दिदी, ‘भीर खोज्ने गोरुलाई राम’ मात्र भन्न सकिन्छ । काँध थाप्न सकिँदैन । यही उज्याला चिरागले डढाएर खाक बनाउलान् याद राख्नुहोस् ।
नवराज : (रिसाउदै ) जाऊँ ‘मूर्खदेखि दैव डराउँछ’ भन्छन् जब्बर बूढी मै हुँ भन्छिन् । अगाडि भड्खालो देख्दादेख्दै पनि ।
वीणा 🙁 सबै रिसाउदै जान्छन् । वीण ढोका लगाएर समृद्ध र दिवाकरतिर हेर्दै ) भाँडा बाटामा राखेर चुठ । गिलासको पानी मलाई देओ । (रिसाउँदै ) सहयोग गर्न पर्यो भने चार बित्ताअगाडि सर्दैनन् । घर भाड्न पर्यो भने कोसौँकोस नागेर आउँछन् चुतियाहरू ! यी पापीहरूले घर जग्गा खाएको भए मेरो यो दुर्गति हुन्थ्यो र ? म बूढासँगै जांदी हुँ । सित्तैँ घरनग्गा खान आँ मुख गरेर बसेका थिए । अहिले सबै भत्किसकेपछि दया देखाएझैँ गर्छन् ।
दिवाकर :(पानी दिँदै) आमा ! बिन्ती हामीलाई माफ गर्नुहोस् । वास्तवमा हामी……।
वीणा : (मूल ओछ्यानमा बसेर दुवैलाई बस्न इसारा गर्छिन् । दुवै बस्छन् । दिवाकरको हात मुसार्दै ) तिमीहरूभित्र आत्मविश्वास छैन र भड्केका छौ । आत्मबल हुँदो हो त …..।
समृद्ध : (वीणाको काँधमा मुन्टो राखेर रुन्चे स्वरमा) कति आत्मविश्वास आमा ? हामी दुवैले थाहा पाएदेखि नै अर्काको जुठो भाँडा माझेर आधा रातसम्म जागा भएर पढ्थ्यौ र पढिरहेका छौँ । त्यसरी पढेर एम.ए.पास ग¥यौँ । मालिकहरूले काम गरेर खानू भनी घरबाट निकालेपछि हामी गुँड भत्किएका बचेराजस्तै भयौँ । हामीलाई कसले काम दिने ? धेरै ठाउँमा काम खोज्दै भौतारियौँ । मालिकहरूले दिएको पैसा सकिएर भोकभोकै प¥यौ । तीनचार रात साथीहरूकोमा सुत्यौँ । सबै मतलबका यार त हुन हाम्रो यथार्थ थाहापाएपछि वास्तै गर्न छोडे । त्यसपछि सडकका पेटीमा पनि सुत्यौँ । पेट भर्नको लागि अरूले नचिनुन् भनेर अनुहारमा रुमाल बानेर,क्याप लगाएर पलास्टिक टिप्दै हिँड्न थाल्यौँ । कतिले त चोर डाँकाहरूले मोटर चोरे, भाँडा चोरे भनेर पिट्न पनि आए । संसार यस्तै हो भन्ने सोचेर सबैका गालीहरू चुपचाप सह्यौँ ।
वीणा : (नम्र स्वरमा) के तिमीहरूका बाबु–आमा छैनन् र ?
दिवाकर : (रुन्चे स्वरमा) म सात वर्षसम्म नबोलेपछि बाबुले कालीमाटीकमा छोडेर भागेछन् । एक दयालु आमाले ल्याएर काम पनि गराउने, पढाउने पनि गर्दा म बोलेछु । उहाँ म आठ कक्षामा पढ्दा मर्नुभयो । त्यसपछि उनका छोराबुहारीले धेरै सताए । तैपनि एम.ए सम्म पढेँ । घर थर पत्तो छैन । दिवाकर नाम र पाण्डे थर पनि आमाले नै दिनुभएको हो । यो सूर्यजस्तै चम्किनेछ भन्नुहुन्थ्यो । आज तपार्इंले नबचाएको भए जेल पो चिम्काउन जान्थ्यौँ ।
समृद्ध : म पाँच छ वर्षको हुँदा आमाबाबु तीर्थ जाँदा बस पल्टिएर मरेछन् । त्यसपछि काकाले सडकमा छोडेछन् । मलाई बाग्मतीको पाटीमा बस्ने आमाले भेट्टाएर केही वर्ष पाल्नुभयो । म मरे भने दुःख पाउँछस् भनी कुलेश्वर साहूको घरमा पठाउनुभयो । त्यही काम गर्दै दुःख सुख गरेर पढेँ । लोकसेबा पढ्दा दिवाकर त दुईपल्ट मूर्छा पनि परे । मैले पनि त्यत्तिकै मेहनत गरेँ । हामी बेकुफ हैनौँ आमा ! हामीलाई भोकले बेकुफ बनायो ।
दिवाकर :(आँखाबाट झरेको आँसु पछ्दै ) हामीले पलास्टिक टिपेको साथीहरूले थाहा पाएपछि उनीहरूले नै आफ्नो पुर्खौली थलो र आफ्नो सब आन्द्राभुँडी बताउदै ठग्ने उपाय बताए । पहिलोपल्ट तेह्रथुम तुम्बाहाम्फेको घर जाँदा भने हामी धेरै डरायौँ । हामीलाई अति आदर गरी खानबस्न दिने परिवारलाई (झोलाबाट झिकेर औषधि झिकेर देखाउँदै ) यो औषधि सुँघाएर बेहोस पारी भएको सुन पैसा लिएर रातारात सुइँकुच्चा ठोक्यौँ । बिचरा दुई बूढाबूढी मात्र थिए । दुईवटा छोराहरू पैसा कमाउन लाहुर गएका छन् भन्थे । त्यहाँ जाँदा हामी तेह्रथुमको गणेश खत्रीको छोराहरू बनेर गएका थियाँै । हामीले मुटु थिचेर वृद्धाको घाँटीको सुनको माला र बाह्र हजार लिएर काठमाडौँ आयौँ । गणेशको छोराले हामीलाई आठदश हजार दिएर सुन, अरू सुन पैसा लिए । त्यही दिनदेखि हामीले कालिकास्थानमा १५ सयको अँध्यारो कोठा लिएर बस्न सुरु ग¥यौँ । जहाँजहाँ विज्ञापन खुल्छ फर्म भर्दैमा भएको पैसा स्वाहा भयो । त्यसैले हामीले यो नीच काम गरेका हौँ आमा ! हामीले पैसा कमायौँ भने सबैको पैसा फिर्ता गरेरै छोड्छौँ ।
वीणा : (दुवैको हातलाई पालैपालो चुम्बन गर्दै) बाबु हो ! यो विकृति फैलिएको नै अभावले गर्दा हो । तिमीहरू जस्ता होनाहार देशका कर्नधारहरूलाई चोरफटाहा बनाएर वास्तविक डाँकाहरूले कुर्सी खोसाखोस गर्दै देशलाई खोक्रो बनाइसके । पैसाको पीर नगर मर्दा लैजाने केही होइन । मैले तिमीहरू दुई जनालाई उज्यालो बनाएँ भने, तिमीहरूले अरू दुई जनलाई उज्यालो पार्लाऊ । यसरी उज्यालो फैलिँदै जानेछ ।
दिवाकार :(दुवै वीणाको खुट्टा ढोग्छन् । वीण दुवैलाई अँगालोमा हाल्छिन् । ) हामीलाई धेरै ठेस लागेको त तपाईंलाई भेट्न कै लागिरहेछ आमा ! अबदेखि हामी मेहनत साथ काम गर्दै पढ्छौँ ।
वीणा : (उठ्दै) हो, मलाई विश्वास छ । ल अब आरामले सुत । म पनि सुत्न गएँ ।
(दिवाकर र समृद्धको आखाँमा खुसीको आँसु हुन्छ । वीणा लालटिन लिएर चोटातिर लाग्छिन् )
दिवाकर ,समृद्ध :(ओछ्र्यानमा पल्टिदै दुवै) हुन्छ , आमा हुन्छ ।
समृद्ध : (ओछ्यानमा पल्टिएर बत्ती निभाउदै ) हामीले चेतनाको आँखा दिने आमा पायौँ ।
दिवाकर : हो यार, वास्तबमा यिनी नै हुन् हाम्री आमा , अब आनन्दले सुतौँ ।
चन्द्रलक्ष्मी : ( आठदश महिनापछि एक साँझ पिँढीमा तरकारी केलाउदै गरेकी वीणासामु बस्दै चन्द्रलक्ष्मी ) दिदी ! खोइ त बाबुहरू ?
वीणा : ( साग केलाउन छोडेर चन्द्रलक्ष्मीतिर हेर्दै ) इलम हुनेलाई के फुर्सद र चन्द्रे ,दिवाकरले एस.एल.सी. दिनेहरूलाई पढाउन थालेका छन् । समृद्ध खेततिर गएका छन् । थाकेर आउछन् यस्सो भात बसालि दिउकी भनेर साग केलाउन लागेकी ।
चन्द्रलक्ष्मी : जहाँ पुग्ला वहीँ आगो फुक्ला जस्तालाई तपाईंले त हीरा नै बनाउनुभयो दिदी ! दुवैले झपाझप मास्टरी जागिर पाइहाले । तपाईंको बगर पल्टेको खेतबारी पनि हराभराभयो । सबै गाउँलेहरूको भलोभयो । उनीहरूको बुद्घि देखेर सबै चित खाएका छन् ।
वीणा : (हाँस्दै ) मैले कहाँ उनीहरूलाई हीरा बनाएको हो र चन्द्रे ! मैले त केवल नालीमा परेको हीरालाई निकालीदिएकी मात्र हुँ । गाउँमा अलि शान्ति भएकोले र पढेलेखेकाहरू कोही सहर,कोही विदेश गएकाले उनीहरूले मौका पाए । खैर राम्रै गरे । आठदश महिनामा त यत्रो प्रगति गरेका छन् । अबस्य राम्रै गर्छन् । म तिमीहरूलाई पाल्छु बाबु हो भनेकीे थिएँ । कहाँ मैले उनीहरूलाई पाल्नु उनीहरूले पो उल्टै मलाई पाले । रोग भनेको त मनको पीर पो रहेछ । अहिले त उनीहरूले समयमै खानदिने हँस्सीमज्जा गर्ने गरेकाले संसार भुलेकी छु । यो पनि थाहा छ । यी सबै दुईदिनको घामछाया मात्र हुन् र पनि…..।
चन्द्रलक्ष्मी : (सागको पात चुड्दै ) किन कुरा चपाउँनु हुन्छ दिदी ! हुन त जिन्दगी नै घामछाया मात्र हो तर तपाईं छायामा नै नपरी डुब्ने सङ्केत पाइसक्यौँ हामीले ।
वीणा : ( हाँस्दै) लौ हेर ,भित्तोको पनि कान हुन्छ भनेको यही रहेछ ।
समृद्ध : (पसिना पुछेर पिँढीमा बस्दै) काकीले ठीकै सोच्नुभयो । हामी आमामाथि कालो छाया पर्न दिदैनौँ । त्यसैले आमासँग सोधेर नै मैले थाइ माध्यामिक शिक्षिका नम्रतासँग विवाह गर्नै निर्णय गरको हुँ । लुकाउनु पर्ने कुरा केही छैन । गाउँलाई पनि त चारछ जना नम्रताजस्ता मानिसहरू चाहिन्छ नि हैन र काकी ?
चन्द्रलक्ष्मी : (हाँसेझैँ गर्दै ) लप्टनलप्टनी र दिदीजस्ता पारखी मान्छेहरूले जे सोच्छन् राम्रै सोच्छन् । हाम्रो त कालो र सेतो छुट्याउने क्षमता भए पो । लाखौँ ताराहरूभन्दा एउटै चन्द्रमा काफी हुन्छ भन्थे बूढापाकाहरू ठीक नै रहेछ । तिमीहरू आएपछि दिदीको मात्र होइन सारा गाउलेको भाग्य खुल्यो । गोबर ग्यास ,सोलार बत्ती भोग गर्न पायौँ । तिमीहरूले मेहनत गरेको देखेर गाउँलेहरू पनि मेहनत गर्न थाले । बाँझो जमिन पनि खनजोत मलजल गरेपछि हराभरा हुदो रहेछ भन्ने पाठ सबैले सिके । राम्रो बाटो देखाउने मान्छे नभएर नै देश उदो झरेकोरहेछ । यसरी राम्रा मान्छेहरू गाउँमा आउने हो भने गाउँ नै सहर हुदोरहेछ । गरीबलाई ऋण र बाँझो जमिन दिएर मेहनत गर्न लगाउनाले उनीहरूको गरिबी फु मन्तर भयो | समृद्ध : (हाँस्दै) तपाईंहरू सबैको सहयोग सल्लाह पाएर त हामीले यो सबै गर्यौं । होइन आमा ?
वीणा : हो बाबु हो ,कप्तानकप्तानीले एउटै भएकी छोरी तिमीलाई दिनुकोपछाडि धेरै कारणहरू छन् । उनीहरू यो गाउँलाई स्वर्ग बनाउन चाहन्छन् ।
समृद्ध : (उठ्दै)सबैको सपना साकार गर्न पाए हुन्थ्यो ।
वीणा :(हाँस्दै) सबै साकार हुन्छ बाबु ! भगवान्ले तँ आँट म पुर्याउँछु भन्छन् रे ।
चन्द्रलक्ष्मी : ( उठ्दै) पुर्याउँछु भन्छन् होइन , पुर्याई पनि सके ।
दिवाकर : ( हातमा बोकेको कपी पिँढीमा राखेर वीणालाई अँगालो मार्दै ) यस्ती सिङ्गै धर्तीजत्रो छाती भएकी आमा पाएर नै हामी अँध्यारा मान्छे उज्याला भएका हौँ । नत्र……..।
समृद्ध : (आँखाभरि आँसु पारेर वीणालाई अँगालो मार्दै ) नत्र हाम्रो अस्तित्व नै हुदैनथ्यो ।
चन्द्रलक्ष्मी : कुरा ठीक नै हो । रत्नको पारखी असल जुहारीले गर्छ । दिदीको त गुन गाएरै सकिन्नँ। तिमीहरूले पनि वहाँको मायाको मोल राख्यौ र त शिर गर्वले उठेको छ ।
वीणा : मणि मणि नै हुन्छ चन्द्रे ! मैले त केही गरेकै होइन । खैर, सज्जनले थोरै गुन गरे पनि धेरै देख्छ । दुष्टले प्राण नै आहुति गरे पनि देख्दैन । (घरभित्र पस्दै ) ल चन्द्रे,भित्रबाट छोराहरूलाई खाजा ल्याइदिन्छु ।
चन्द्रलक्ष्मी : ( हिँड्दै ) ल म पनि गएँ ।
दिवाकर, समृद्ध : ( भित्र पस्दै ) हुन्छ काकी, आउँदै गर्नु होला ।
समाप्त
(श्रोत:- अन्तर्जाल)