चाहे भूगोलको कुनै पनि कुनामा
हतियार चलोस्,
हतियार मर्दैन
मारिने सधैँ एउटै हुन्छ
मान्छे ।
अस्तित्वको लडाइँमा
संसारै हाँक्ने
तीव्र तृष्णा महत्त्वाकांक्षाको
अहम्, अझ विकृत बन्दै,
आँखामा पट्टी बाँधी
करुणामा गोली हानिरहे छ
र सारिरहे छ निरीह धरतीमा
रक्तिम सिमानाहरू ।
न कसैसँग जन्मको वैरी
न कुनै शत्रुता
रणमा, एकअर्काका सामु
सर्वथा अपरिचित
र, पनि मानौँ
जन्म जन्मान्तरको ईख साँधेर
सनक बोकेको मान्छे
कसैका छोरा, पति, बुबा र दिदीबहिनी
अनाहकमा एकएकलाई ताक्दै
चिनेको घमण्डमा
दुस्मन सिध्याइरहे छ,
युद्धमा कत्रो ठूलो सेखी !
असंख्य भ्वाङ परेका भित्ता
द्वन्द्वका साक्षी छन्
युद्धले हस्ताक्षर गरेको
अपाहिज भविष्य
भताभुङ आँगनमा मृतप्राय,
अस्मिता लुटिएका दिदीबहिनी
आँसु सुकेका आँखामा
नफर्किने भाइका
प्रतीक्षा थापिरहे छन् ,
अर्का भाइ
काख र सिउँदो रित्तो बनाउने
बेहिसाब उन्माद बोकेर
अगाडि राखिरहे छन्
र डाकिरहे छन्
एउटा नसिद्धिने युद्ध ।
मान्छेभित्र रातो बग्ने रगत
मान्छेले नै युद्धमा तताएर
कालो बनाएका छन्,
चिस्याएका छन् मानवता ।
हृदयबाट सम्वेदना चुँडेर
मेसिनगन बनिरहेका मान्छे
हरेक कुनामा युद्ध ललकार्दै
बनाइरहे छन् अर्का व्यक्तिमा
पीडाका आहाल,
देख्न छाडेर
दुख्न पनि छाडेको छ, मान्छेलाई
हरेक दिन, हरेकक्षण
घृणा पोतेर चाल्नी मनभरि
युद्धकै लागि नत्र उद्दत किन ?
हैन भने,
खाटा बस्न नसकेको घाउ हो युद्ध
पोल्छ, पिरोल्छ
आलो भएर सधैँ दुख्छ ।
sumisayemi@gmail.com
(श्रोत:- अन्तर्जाल)