~अनमोल मणी~
जब मर्छन् मन्दिरकै ढोकाअघि भोकाहरू
सोच्नु तिम्रो लागि पनि बन्द छन् ती ढोकाहरू
पखालिन्न पीडाको खत नपुज निर्जीव ढुङ्गा
तिमीलाई नै गिज्याउँदछन् ती पीडाका पोकाहरू
कालोलाई कालो देख्न छाड्छन् भने तिम्रा आँखा
आफ्नै थाप्लो उक्लिएर माथि चढ्छन् धोकाहरू
जबसम्म खान्छ द्यौता रगतको अर्घ मात्रै
तबसम्म मर्छन् निर्दोष मन्दिरमा बोकाहरू
(स्रोत : प्रतिनिधि नेपाली गजलहरू – गजल सङ्ग्रह – सम्पादन : ललिजन रावल)