~राजकुमार लामिछाने~
आदरणीय कवि ज्यू
साहित्यिक अभिवादन एवं जन्मदिनको सम्झना,
मेरा घरपट्टीका हजुरबा हजुरआमाले पितालाई र मावलीपट्टीका हजुरबा हजुरआमाले मातालाई जन्माउनै ढिलो गरेको हुँदा मेरा बा, आमाले पनि मलाई मानव निर्मित गेटबाट यस संसारमा खसाल्न लेट गर्नु भएकोले हजुरको भौतिक शरिरसंग प्रत्यक्ष भेट गर्न नपाएकोमा मलाई औधी दुःख लागी रहेको छ । कच्चा उमेरको बच्चादेखि नै हजुरको साहित्यीक कृतिसंग मैले बडो प्रीति लगाएको छु । हजुरका साहित्यीक रचनाहरु सवै बेजोडका छन, तथापि कविता भने मलाई असाध्यै मन पर्दछ । त्यसैले सर्वप्रथम कविताबाटै हजुरप्रतिको सम्झनाको पोको फिजाउने धोको गरेको छु।
“बिन्ति डिठ्ठा बिचारी सित कति म गरुँ चुप रहन्छन् नबोली
बोल्छन ता ख्याल गर्याँ झै अनि पछि दिन दिन भन्छन भोली भोली
कि ता सक्दिन भन्नु कि त छिनी दिनु क्यान भन्छन यी भोली
भोली भोली हुदैमा सव घर विति गो बक्सियोस् आज झोली”
उतिबेलाका डिठ्ठा र बिचारीले गरेका कुरा हजुरलाई पुरा थाहा भएकोले यो कविता फुरेको हुनु पर्दछ । राणा शासनको समयमा रचना गर्नु भएको यो कविताले त्यति वेला हुने गरेको बेथितिको उजागर गरेकोले पञ्चायत कालभरी यसले असाध्यै चर्चा पाएको थियो । डिठ्ठाले मुद्दा छिन्थे भने विचारीले राय बझाउथे रे । ठुलै पद भएर होला दशैमा टिका लगाउदा समेत ठुला बडाहरुले आशिक दिदै बावु सरकारी जागिर खाएस डिठ्ठा बिचारी पायस भन्थे रे, तर प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा यी पदहरु मध्ये डिठ्ठा भन्ने पद चाही तामेल्दारको उपाधी पाएर अहिले म्याद बोकेर गाउ घरमा गिठ्ठा खोजेर खाने अवस्थामा पुगेको छ भने बिचारीको पद चाही निचोर नाचर पारी खाई नै सकेका छन, मतलब सो पद खारेज भै सकेको छ । यदी हजुरलाई जानकारी नभयाको भया जानकारी गरायाको हुँ ।
कवि ज्यू , बाचुन्जेली अपमान मरेपछि सम्मान गर्ने नीति अहिले सम्म जस्ताको तस्तै छ । सत्ताका रोगी देखि भत्ताका भोगीहरु कुर्सिकै लागी लडी रहेका छन । नेपाली साहित्यमा कसले कति योगदान गरेको छ भनेर सोच्ने यहा कसैलाई फुर्सतै छैन । अघिपछि नभएपनि यस्तै जन्म दिन तथा अन्य कुनै सभा समारोहमा भने प्रशंसा गर्दै भावुक भएर “उहाँ महान हुनु हुन्थ्यो, उहालाई आदीकवि मात्र होईन पुरैकवि भने पनि केही फरक पर्दैन, नेपाली साहित्यका चम्किला तारा जो अहिले स्वर्गलोक निवासी भए पनि उहाले मर्त्यलोकमा पुर्याएको योगदानले उहाको नाम नेपाली साहित्यको आकाशमा सधै चम्की रहेको छ । परलोकमा समेत उहाको साहित्यीक सृजनाले यमलोक नै हल्लाओस भन्ने कामना गर्दछौ ” भन्दै तपाई जस्ता मुर्धन्य साहित्यकारहरुको सम्मान हुने सँस्कारको तिरस्कार भै सकेको छैन । यस वर्षको गणतन्त्र दिवसको अवसरमा समेत धेरैलाई मरणोपरान्त पुरस्कृत गरियो । त्यसैले न मलाई विर्सिएका छन की भनेर तपाईले कुनै चिन्ता गर्नु पर्दैन । फेरी तपाईको कतिपय कविताको भाव पनी त्स्तै छ नी हेर्नोस त !
“भरजन्म घाँस तिर मन दिई कन धन कमायो
नाम क्यै रहोस पछि भनेर कुवा खनायो
घाँसी दरिद्री घरको तर बुद्धि कस्तो
म भानुभक्त धनि भई कन क्यान यस्तो”
यो कविताको निचोडलाई निचोरेर हेर्ने हो भने पनि पछि नाम राख्नकै लागी केही गर्नु पर्छ भन्ने बुझिन्छ नी हैन र ? घाँसीले खनाएको कुवाँ मासिएको छैन तथापी पानी खान भने अहिले गाउँ गाँउमा धारा आईसकेकोले कुवाँको अलि वेवास्ता जस्तो भएको छ । कीर्ति राख्न खनाएको उक्त कुवाँमा पानी भर्न जादाँ कतिले मायाप्रीति लगाएर घरजम गरेका थिए होलान, अनि ती घासीसंग तपाईको भेटघाट हुन्छ हुदैन, भेट भएमा उनीलाई समेत मेरो तर्फबाट अभिवादन सुनाई दिनु होला ।
अनि तपाईका छिमेकी मित्र गजाधर सोतीको हाल खवर के छ ? एउटै शाखामा हुनु हुन्छ की अलग अलग ? कतै तपाइलाई अहिले पनि दुःख दिएका त छैनन नी ? तपाई साहित्यकार भएको हुँदा राम्रै स्थान पाउनु भएको होला अनि गजाधर छुल्याहा र मुल्याहा भएकोले पक्कै नराम्रो स्थानमा होलान भन्ने हाम्लाई लागीरा’छ । नेपालमा जस्तो सोझालाई सुली चोरलाई चौतारो त्यहाँ पक्कै हुदैन होला । यमराज निकै कडा छन निस्पक्षसंग निसाफ गर्दछन भन्ने सुनिएको छ । नेपालमा कस्तो निसाफ हुन्छ भन्ने कुरा तपाईलाई थाहै छ । यहाँ त अहिले खानलाई न धान छ न संविधान । ठुलाबडाले भूडी भरेको भर्यै छन, गरिब गरुवा खान नपाएर मरेको मर्यै छन ।
स्वर्गको कुरा गर्दा इन्द्रको वखान छुट्यो भने सो कथा अपुर्ण हुन पुगे झै हजुरको प्यारो अमरावती कान्तिपुरी नगरीको कुरा नगर्दा यो सन्देश पनि अधुरो हुन सक्छ । त्यसैले सानो प्रसङ्ग कोट्याउन लागी रहेको छु । कान्तिपुरीका बावु साहेवको अहिले सो नगरीबाट आफ्नो पगरी खोसिएकोले अन्तै डेरा सरेका छन, अहिले उनी भन्दैछन् :
“मेरा ललाटमा के लेखिएया दिया भावी भाग्या बनाया खोटो
डाक्टर अघिसर्न्या भया अहिले देखाउन्या मछिन्द्रको भोटो
छोरा मोरा वन्या सव मतलव छोडी दिया क्या भया हे हरी
छोड्नु पर्या भया मैले अव अमरावती कान्तीपुरी नगरी”
अरु सव ठिकै छ । के.पी.ओलीलाई सवैतिरबाट गोली लागेको छ । माधव नेपालको कपाल पुरै झरी सक्यो । शुशिल शुसेल्दै छन तर के भनेको हो बुझिदैन । साहानाको चाहाना सकिदैछ । सुर्य बहादुर केही अघि झण्डै हुर्य भएका । लोकेन्द्र पनि टोकेन्द्र जस्तै भै सके । रामचन्द्र १६ पटकसम्म चुनाव लड्दा समेत प्रधानमन्त्री हुन सकेनन, शेर बहादुरको लठेब्रो जिब्रो उस्तै छ चोर औलाले चस्मा मास्तिर सार्दै मलाइ.. मलाइ.. भनेको सम्म बुझिन्छ अरु केही बुझिदैन, । बैद्य र प्रचण्डको जुवारी चलि नै रहेको छ ।
अन्तमा , तपाईलाई एउटा खुशीको खवर सुनाउन चाहान्छु । यस हेटौडा नगरीको पुर्व तर्फ गढी गाउँमा तपाई कै नाउँमा संचालन भै रहेको भानु माध्यामिक विद्यालयको प्राङ्गणमा तपाईको सालिक स्थापना गरिने भएको छ । सालिकमा चराहरुले विस्ट्याउने, टाउकैमा आएर फोहर खुट्टाले कुल्चने, चुच्चोले दल्ने तथा कतिपय चराहरुले के जाती क्रिया समेत त्यही सालिक माथी आएर सम्पन्न गर्ने गरेका कारण तपाई हामी सवैलाई दुःख लाग्नु स्वभावीकै हो । अव त्यस्ता कार्यहरु हुन नदिनको लागी चराहरुकै भाषा वुझ्ने चरी दादा गौतम सापकोटालाई सो कार्यको जिम्मा दिइ चराहरुलाई त्यसो नगर्न अनुरोध गरिने भएको छ । यसपालीको हजुरको जन्म दिनको तिथिमा यिनै गन्थन मन्थन गर्दै यो विन्ति चढाउदो भया ।
इति
(श्रोत्:-Mysansar)