~उत्तम पौडेल~
स्वर्ग र नर्कको बार्षिक आय-व्यय, प्रगति विवरण निकाल्न देबी-देउताको असार मसान्तमा बैठक बस्यो। आफैले सृस्टि गरेको हुनाले धरै माया लागेर पो हो की, सृस्टिकर्ता ब्रह्माले पृथ्बीका सबै देशको विवरण पनि सोहि समयमा हेर्ने गर्दथे। राम्रो र गतिलो केहि नभएको नेपालको विवरण देखेर सबै देउताहरुले जिब्रो टोके|
दिक्क मान्दै ब्रह्माले भने -” आफुले भने कति दुख सहेर, चिसोले कठ्याँन्ग्रिदै हिमालयको काखमा कस्तो न सुन्दर देश बनाइयो भनेर घोर्ले नाक पारियो, अहिले आएर यस्तो पो भयो ।”
यहि मौकामा भुँडे गणेशले सुँड हल्लाउँदै जिस्काए – ” हिस्स बुढा हरिया दाँत।”
विष्णुले गणेश तर्फ हेर्दै भने – ” पोलेको घाउमा नून नछर्किनुस् न गणेश जी, बरु यो तोरीलाउरे रिपोर्ट सीता बैनीलाई पो कसरि देखाउने हो ? माइतीको यो हालत देखेर बिचरी कति रोलिन्”। उनले फेरी थपे -” होइन यो नेपालको उँधो गति उँधै मति भाको किन होला ? संबिधान बनाउँछु भनि टोपल्थे , नयाँ नेपाल हो यो भन्थे, इ….स् !! नयाँ नेपाल।” उनको रिस अझै मरेको थिएन।
चारैतिरको खबर बुझेर आफुलाई अपडेट राख्ने नारदमुनि बिचमा प्वाक्क बोले-” नेपाल बिग्रेको नेपालीको अल्छी बानी र आफ्नै मूर्खताले गर्दा हो हजुर। रामचन्द्रजी ससुराली जाँदा दरबारको सुसारेलाई चिया लिएर आउ भन्नुभएछ। हातमा चिया आउँदा त सेलाएर सर्बत भैसकेछ।दरबारको त यो हाल छ, झुपडीमा झन् के होला ?”
ब्रह्मा- ” दरबार भित्रैका ले त सबै बिगारेका हुन् नि नारद जी। पहिले एउटा दरबार हुन्थ्यो, अहिले दशौ दरबार भए। बरु रामचन्द्र जी ले राजा जनक लाई अबगत गराउनुभयो त ?”
नारद – ” जनक दाइ दरबारमा बसे पो !! कत्रो पुत्रीमोह छ उँहालाई अझैपनि, तपैलाई के था ? बिहान जुरुक्क उठ्यो, चट्ट हलो बोक्यो, अनि खेततिर टाप।”
कुनामा बसेर सबैको कुरा सुनेरहेका महेश्वर बल्ल बोले- ” हेर्नुस, आफ्नो त घर भने पनि, जे भने पनि त्यै हिमालयको कैलाश पर्बत हो …. जतिनै धोइसिन्ग्रे-फ़ोईसिन्ग्रे भएपनि मेरो प्यारो मन्दिर पनि त्यै कांठमान्डूमा नै छ। बरु हामीले नै केहि गरेर भए पनि यो पुन्टे देशको उद्दार गरिदिनु पर्यो।”
मठ-मन्दिरले भरिएको नेपाल सबै देबी- देउतालाई उत्तिकै प्यारो थियो। नेपालको मुहार कसरि फेर्ने भनेर निकै गम्भीर छलफल भयो, तर अँह देउताहरुको दिमागमा समेत झट्ट कुनै बत्ति बलेन।
धेरैबेरको मन्थन पश्चात नारद ले उपाय निकाले – ” हेर्नुस, हामीले नै २०-३० वटा फटाफट सब काम गर्नसक्ने यन्त्रमानब ( रोबोट ) हरु स्वर्गबाटै तयार परेर नेपाल पठाईदिउँ। यिनीहरुको कार्यकौशल र क्षमता देखेर नेपालीले पक्कै केहि सिक्छन्।”
ज्ञानकी देबी सरस्वतीले शंका देखाईन् – ” जालो दिनुभन्दा माछो दिनु अलि प्रत्युतपादक हुन्छ की त नारद जी ?”
नारदले फेरी थपे – ” हुदैन होला। नेपालीहरुलाई पनि रोबोट संगै काम गर्न लगाउँ। अनि रोबोटहरु निश्चित समय सम्म मात्र नेपालमा बस्नेछन् भनेर अग्रिम सुचना दिँउ । कक्षामा जान्ने बिधार्थीको संगतले लद्धु र अल्छीको पनि बुद्दी आएजस्तै नेपालीले पनि यी रोबोटहरुबाट पक्कै थुप्रै कुराहरु सिक्लान् । ”
नारदको बिचारसंग सबै सहमत भए। नेपालमा पठाउने यन्त्रमानब तयार पार्न पृथ्वीतलबाट मरेर स्वर्ग आएका बैज्ञानिकहरु जम्मा पारियो। आइन्स्टाइन र न्युटनको निरिक्षण रहने गरि एउटा टोली उतिन्खेरै गठन भयो। बैज्ञानिकहरुले बनाउने उक्त यंत्रमानाबलाई फाइनल टच चैं ब्रह्माले दिने भए।
यन्त्रमानबहरु तयार भए, ब्रह्माले पारित गर्नु बाँकी थियो । हेर्दा अलिअलि मान्छे जस्ता तर शक्ति भने सय हातीको शक्ति भएका भीम भन्दा पनि शक्तिशाली। बुद्दी र चेतना भनौ भने लाखौ ज्ञानी, बैज्ञानिकहरुको दिमागलाई एकैठाउमा मिसाए जस्तो। यंत्रमानबलाई संचालन गर्न पनि धेरै सजिलो थियो, मात्र दुइवटा बटन थियो। एउटा रातो, अर्को हरियो, दुवै बटन छातीमा। हरियो बटन थिचेर ” फलानो काम गर्” भन्नेबित्तिकै रोबोटले फटाफट काम गर्थ्यो, त्यो पनि प्रकाशको गतिमा।रातो बटन थिचेपछी रोबोट बन्द हुन्थ्यो।
फाइनल टचको को लागी रोबोटहरुलाई ब्रह्माको प्रयोगशालामा पठाइयो। ब्रह्माले छातीको हरियो बटनलाइ नाइटोमा सारे, नाइटो ब्रह्मालाइ प्यारो थियो। अनि केहि दिन रोबोटहरुमै ब्यस्त रहे।यन्त्रमानबको अन्तिम रुप तयार भयो। फाइनल प्रोडक्ट देखेर ब्रह्मा समेत हर्षले गद्गद भए।यहि खुशीमा जिन्दगीमा पहिलोपटक आफ्नो दाह्री पनि खौरे।नेपालको लागि केहि गर्न पाएकोमा ब्रह्मा खुशी थिए, किनकि उनले बुझेका थिए सक्कली प्रभुको ठुलै कृपाबिना नेपालको मुहार फेर्न सम्भव थिएन।
रोबोटहरुलाई राबणबाट खोसेको पुष्पक विमानमा लगि प्यारासुट लगाई खासाईयो। रोबोटहरुले नेपाल खसेको भोलिपल्टै देखि छु-मन्तरको शैलीमा चमत्कार देखाउन थाले:-
– बराजुको पालादेखि थाङ्नामा सुतेको कुलेखानी-अरुणलाई लात हानेर दौडाए, लोडसेडिंग ‘पत्तासाफ’।
– फोहोरको पर्बतलाइ कन्टेनरमा लागे, मल बनाए,कृषक मालामाल। लाखौं झिंगा,मुसा, सांङ्लाहरु ‘ठहरै’।
– पृथ्वी राजमार्गको दुवै छेउमा पर्खाल, कृष्णभिरमा जामको ‘सफाया’।
– देशैभरि सुरुंगमार्ग। बिहान मनांग, हेलम्बुमा टिपेको स्याउ बेलुका चितवनको बालखाले कुटुक्क। नक्कली प्रभुको दुतहरुको धन्दा ‘चौपट’। आदी……..
चिप्लेकीराको गतिमा घस्रेको नेपालको बिकाशले चितुवाको गति पकड्यो। रोबोटहरु रातारात लोकप्रिय भए। अन्धकारमा चारैतिरबाट ठगिएर, चुसिएर भुत्ल्यायको भाले जस्ता भएका नेपालीहरुको मुहारमा कान्तिको सुर्यमुखि फक्रियो। रोबोटहरुबाट भएको देशसेवाको उच्च मुल्यांकन गर्दै, NRN लाइ तिरिमिरिझ्याँई पार्दै, नेपाल सरकारले रोबोटरुलाई नागरिकता पनि प्रदान गर्यो। यी रोबोटहरु रास्ट्रपती- प्रधानमन्त्री भए भने देशले ‘अग्रगामी छलांग’ मार्छ भन्दै जनताले तिनीहरुको नाम पनि राजाराम, रामप्रसाद,रामहरी, रामकुमार… आदी राखे।
……… केहिमहिना देखि अविछिन्न रुपमा बेपत्ता दौडेको नेपालको बिकाश अचनाक टक्क रोकियो।पहिलेजस्तै फोहोरको चुलि लाग्न थाल्यो, उपत्यकामा झाडा-पखाला चल्यो।बिजुली बत्ति पनि झ्याप-झ्याप हुँदै लोडसेडिंग सुरु भयो …।
कतै रोबोट पो बिग्रियो की भनेर कुरा बुझ्न ब्रह्माले आफ्नो दूतलाई नेपाल पठाए।
दूत फर्केर आयो। पिर मान्दै डाडू जत्रो मुख बनाएर ब्रह्मालई भन्यो-” नेपालीहरुको मुर्खता र अल्छि गर्ने बानी त कुकुरको पुच्छर जस्तै रैछ हजुर।”
ब्रह्मा – “म बुढो भैसकें, राजनीति पनि नगरेको मान्छे, यस्ता बाँगा-टिङ्गा कुरा बुझ्दिन बाबु।”
दूत – “बरु कुकुरको पुच्छर ढुँग्रोमा हाले सोझिंन्छ होला। त्यतिले नपुगे आरनमा चुटे त पक्कै सोझिंन्छ। तर नेपालीको मुर्खता र अल्छीपना कहिल्यै हट्ने भएन।”
ब्रह्मा – “अझै बुझिन।”
दूत- ” नेपालमा केहि बिदेशी नागरिकहरु बस्दा रैछन्। डीसेम्बर लाग्यो, अनि क्रिसमस मनाउन आफ्नै देश फर्केछन्। रोबोटको हरियो बटन थिच्ने ठेक्का समेत तिनै विदेशीलाई दिइएको रहेछ।”
ब्रह्माले पिच्च थुक्दै भने -” थुइक्क नेपाली !!” अनि ट्ँवा परेर धेरैबेर सम्म आफ्नो चिण्डे गाला मुसारिरहे।
तर दुत भने डाँको छोडेर रुँदै भन्यो – ” ति त जति रोबोटहरु बचे तिनीहरुको कुरा हो, धेरैजसो रोबोट त परमधाम भए।”
ब्रह्मा छाँगो बाट खसे जस्तै भए। मन थाम्दै सोधे -” कसरी?”
दुतले सुक्सुकाँउदै, रुन्चे आँखा पुछ्दै भन्यो – ” आफुमा भएको मुर्खता र रिसको आगोले बिनाकारण अरुलाई झोस्नुलाई नेपालमा ‘बन्द/चक्काजाम’ भनिंदो रहेछ।एउटाको स्वास्नी भागीछे, अर्कोको कुखुरालाई गाडीले किचेछ, एउटा उग्र समुहको अगुलालाई अर्को उदण्डले चड्काइदिएछ अनि बन्द भएछ हजुर। हाम्रा रोबोटहरुलाइ बन्दको दिन किन काम गरिस् भनेर एकदमै निर्मम तरिकाले हत्या गरेछन्।रोबोटहरु बाटो-पुल निर्माण गर्दै रहेछन् त्यो दिन।”
ब्रह्माले आफ्नो रसिलो आँखा पुछ्दै सोधे- ” कसरी मारेछन् पाखण्डीहरुले मेरो रोबोटलाई ?”
दुत – ” सुरुमा हँसियाले कोपेर अन्धो बनाएछन्, हतौडाले टाउको फोरेछन्, हलोको फालीले हात-खुटा काटेछन् अनि भुइँमा छट्पटाएर लडिबुडी गर्दा बुडो रुखको सुकेको हाँगाले पिटेर अंग-भंग परेछ्न्।”
ब्रह्मासंग अरु सुन्ने ताकत थिएन। तैपनि सोधे – ” त्यसपछि ?”
दुत -” त्यसपछि रोबोटलाई टुक्रा टुक्रा परेर, पारीबाट एट्लस साइकलमा आएको भाइको तराजुमा जोख्दै बेचिदिएछन्।”
चोटले बिक्षिप्त भएका ब्रह्माले सिनेमाको शैलीमा आदेश दिए -” अबको २४ घण्टाभित्र मेरा सबै बचेका रोबोटलाई जसरि पनि स्वोर्गमा हाजिर गराउ।”
पुष्पक बिमान रोबोट टिप्न नेपालतिर झर्यो।
…………पर बादलको कुनाबाट लुक्दै यी सब दृश्य चियाइरहेका नक्कली प्रभुहरु खुशीले मुसुक्क मुस्कुराए।
(श्रोत्:-Mysansar)