~ललिता दोषी~
सधैँझैँ राम चौधरीका आँखामा आज निद्रादेवीले बास गर्न सक्दिनन् । ऊ बगरमा फ्याँकिएको माछोझैँ छटपटाइरहन्छ । उफ् ! लामो सास फेर्छ चौधरी । सधैँ श्रीमतीलाई अङ्कमाल गर्ने उसका हातहरू आज थरथराउँछन् । एउटै ओछ्यानमा सुतेकी श्रीमती पनि उसलाई बिरानोझैँ लाग्छ । आफ्नै सुन्दर संसारमा यसरी चट्याङ पर्ला भन्ने कुरा कुनै क्षण कल्पनासम्म गरेको हुँदैन चौधरीले , गरोस् पनि कसरी ? ऊ आफ्नी सुन्दरी पत्नीलाई आफ्नै मुटुझैँ माया गथ्र्यो । कसैले आफ्नी मायालुका बारेमा “आँ” सम्म गरे पनि ठाडै जाइलाग्थ्यो । आज आफ्नै आँखाले देखेका दृश्यलाई कसरी इन्कार गरोस् चौधरी ! चिचिला बच्चाहरू आमाको छातीमा टाँसिएर निर्धक्क निदाइरहेका छन् । भोलि के होला भन्ने भय तिनमा पटक्कै छैन । चौधरीको आघात आफ्नै ठाउँमा छ ।
चौधरीका कानमा केही समयअगाडि मात्र ईश्वरले भनेको शब्द गुञ्जिरहन्छ— “ओ चौधरी जी ! अलिअलि सम्पत्ति त आफ्नो नाममा पनि राख्नोस् है । आइमाईको जात, भर हुँदैन भन्छन् । मेरो श्रीमतीको ताल देखिहाल्नुभयो मैले बच्चाबच्चीको बिजोग नगरा, आफ्नैे घरमा रङ लगाउन आउने त्यस गरिबसँग नजा दु ःख पाउलिस्, भनेर लाख सम्झाए, मोरे मानिन , हाम फालेरै गई । आपूmले चोट पाएकोले तपार्ईंलाई सम्झाउँन मात्र खोजेको हँु । त्यसमाथि भाउजू ज्यादै राम्री हुनुहुन्छ ।”
ईश्वरले कुरा टुङ्ग्याउन नपाउँदै एकाएक चौधरीका हात ईश्वरको घाँटीमा पुग्छ । चौधरी ईश्वरको घाँटी न्याक्दै भन्छ— “होइन, तैँले के भन्न खोजेको हँ ? मेरी सीताजस्ती स्वास्नीलाई… ! तँलाई नमारी छोड्दिनँ बुझिस् ।”
ईश्वरले जबर्जस्ती चौधरीको हात हटाउँदै— “दाइ, तपाईं त एक्कासी आई पो लाग्नुभो ! मैले त तपाईंकै भलोका लागि मुखसम्म फोरेको हुँ । त्यो महिन्द्रसँग भाउजूको राम्रै उठबस् छ रे; “आफू भलो त जगतै भलो” भन्छन् । बाँकी जे सोच्नोस् ।” यति भनेर ईश्वर आफ्नो बाटो लाग्छ ।
चौधरी एक्लै— “बेश्याको बाहनले मेरी स्वास्नीलाई आफ्नै स्वास्नीसँग दाँज्यो । गरी खा’को देख्न नसक्ने मान्छेको जात ! कत्ति न त्यसको कुरामा विश्वास गरेर आफ्नो घरगृहस्थी भत्काउँछु भन्ठानेको होला पाजीले । पखेस्, त्यसलाई गालीबेइज्जतीको मुद्दामा जेलमा नजाके त मेरो नाम चौधरी होइन !” भन्दै मुर्मुरिँदै घर आउँछ । स्वास्नी–छोराछोरीलाई देखेपछि उसको सम्पूर्ण रिस त्यसै सेलाउँछ । ईश्वरले किन त्यसो भन्यो होला भनेर खोतल्नसम्म मन लाग्दैन चौधरीलाई । ऊ आफ्नै मायालु संसारमा सधैँझैँ रमाउछ । ईश्रले भनेका शब्दहरू सम्झेर चौधरी आज मनमनै भक्कानिँदै आँसु झार्छ । आफ्नो सोझो व्यवहार र आदर्शको फाइदा उठाएर स्वास्नीले खेल्ने गरेका खेलहरू उसले आफ्नै आँखाले देख्यो । आफ्नै सटर भाडामा लिएर काठको काम गर्ने महिन्द्र एक दिन फुत्त कोठाबाट निस्क्यो । त्यसपछि छरपस्ट भएको कपाल र कपडा मिलाउँदै मैयाँ निस्की । त्यति बेलासम्म पनि चौधरीले कुनै शङ्का गरेन । आज फेरि जब बरन्डामै मैयाँलाई तान्दै चुम्बन गरेर महिन्द्र तल झर्दै गरेको पल्लो कोठामा बसेको चौधरीले आफ्नै आँखाले देख्यो, अनि त उसले सहन गर्न सकेन र डङ्ङ भुइँमा पछारियो । धेरै बेरसम्म उठ्न सकेन । मुटु चस्किएझैँ लाग्यो । नराम्रोसँग पिल्सिँदै घुँक्क–घुँक्क गरी रोयो ।
“होइन, तपाईं कुन बेला आउनुभयो ?” चौधरीलाई देख्नेबित्तिकै मैयाँँले मायालु स्वरमै सोधी ।
लाचार चौधरीले आँसु लुकाउँदै “भर्खर आएको हुँ” भनेर ढाँट्यो । मैयाँँ ढुक्क भई र हाँस्दै कोठाबाट निस्की । चौधरी भने घोप्टो परेर पुनः छाती पिटीपिटी रोयो ।
चौधरीलाई दिउसोको भयावह दृश्यले मुटु पोलिरहन्छ । नाउ डुब्ने भयले ऊ चाहेर पनि निदाउन सक्दैन । चौध वर्ष आफ्नै छातीमा निदाएकी जीवनसँगिनीले यसरी खेलवाड गर्ली र घर नै चौपट पार्ली भन्ने त सपनामा पनि सोच्न सक्दैनथ्यो चौधरी । स्वास्नीको विश्वासघातले गर्दा बिर्सिसकेका पुराना कुराहरू सम्झन्छ ।
“होइन रामे, किन मुख फुलाएर बसेको हँ ? ला खाजा ।” उही चौधरी रामकी आमा मझेली ऊतिर खाजा बढाउँदै भन्छे ।
राम खाजाको थाल बजार्दै भन्छ –“मुख नफुलाएर के गरौँ त ? बिचरी मैयाँँ, खानु न पिउनु दिनभरि काममा जोत्तिइरहेकी छ ।”
मझेली सम्झाउँदै भन्छे— “रामे, नानाभाँतीका कुराहरू खेलाएर किन पिरोलिन्छस् बाबु ? तँ रिसाउलास् भनेर मैयाँँलाई खेत–बारीमा पठाएका छैनौँ । देखेकै छस्, यो बूढो हाड जोत्तिएको छ । घरको कुटुकुटु काम त सुबेदारका बुहारीहरू पनि गर्छन् ।”
“सुबेदारका बुहारीहरूको रूप र उमेर पनि हेर न ।” आमासँग राम कड्किन्छ ।
“हेर् रामे, राम्रालाई भगवान्ले काम नै नगरी खान दिने भए अर्कै कुरो, भन्छन्— “मान्छेअनुसारको कुरा, देवताअनुसारको पूजा । भोलिको दिन पनि हेर्नुपर्छ बाबु ! स्वास्नीमान्छेको सानोतिनो कुरामा टाउको दुखाउन हुँदैन । मन जिती त ठीक छ, मन मिची भने ? आमाको बचन गला लाग्छ बाबु ।” मझेली दिक्दारी ओकल्छे ।
राम चौधरी रिसले जताततै अँध्यारो देख्छ । आफूभन्दा दस–बाह्र वर्ष कान्छी र मन परेकी श्रीमतीलाई केही भनेको सहन सक्दैन । दाह्रा किट्दै— “अब म सधैँको कचकच सहन सक्दिनँ । तिम्रो एक छेस्को पनि चाहिँदैन । मेरी स्वास्नीलाई रूखमुनि लगेर भए पनि पाल्छु, बुझ्यौ ?” भन्दै राम घोसे मुन्टो लगाएर उठ्छ ।
“वर्षभरि नङ्ग्रा खियाउँदा पनि छाक नटर्ने पाखाहरू छन् तँलाईं त्यस्तै लाग्छ भने ली न त बाबु !” मझेली भन्छे । भोलिपल्ट नै राम आफ्नी स्वास्नीलाई काखी च्यापेर परासी आउँछ । सानोतिनो ठेक्कापट्टा गर्न सुरु गर्छ । बिस्तारै–बिस्तारै ठूलो ठेकेदार बन्छ । दुई छोरा र एक छोरीको बाबु पनि बन्छ । परासीमा स्वास्नीकै नाममा सुन्दर महल बनाउँछ । ठाउँ–ठाउँमा घडेरी पनि किन्छ ।
यता मझेलीलगायत अन्य चार बाबुबिनाका टुहुरा मझेलीका छोराछोरीका दिनहरू खाई–नखाई बित्छन् । मझेलीको शरीरमा कहिल्यै नयाँ धोती पर्दैन । कात्रो ओढाएको दिन मात्र उसको लाज राम्रोसँग छोपिन्छ । आमाको मृत्युको खबर सुनेर घर पुगेको चौधरी भाइ–बहिनीको दरिद्रता देख्दैन । किरिया सिद्धिएको भोलिपल्ट नै परासी आउँछ ।
आमाको अनुहार, स्वास्नीको चाला र ईश्वरका वचन सम्झँदा–सम्झँदै चौधरीका आँखाबाट आँसुको मूल फुट्छ । पुसमाघको जाडोमा पनि पसिनै पसिनाले भिज्दै सारा रात छटपटाउँदै आमाको यादमा कटाउँछ ।
चौधरीका ओठ मैयाँँँलाई गाली गर्नका लागि खुल्न सक्दैनन् । न त जगल्ट्याएर नै निकाल्न सक्छ । बरु चुपचाप आँसु पिउँदै सहने निर्णय गर्छ । चौधरी सोचिरहन्छ— “यो कस्तो प्रेम हो ? उमेरको हिसाबले पनि महिन्द्र मैयाँँभन्दा दुई–चार वर्ष कान्छो छ । फेरि उसका घरमा सानी छोरी र षोडशी श्रीमती पनि छे । मैयाँँँसँगको उसको प्रेम खहरेको पानीजस्तै हो । मैयाँँँ क्षणिक वासनामा भुलेकी छ । महिन्द्रले सम्पत्तिका लागि नै ¥याल चुहाएको हुनुपर्छ । खोइ, कसरी च्यात्ने मैयाँँमा लागेको भ्रमको पर्दा । न भन्नै सक्छ ऊ—“ मैयाँँँ, प्रेम भनेको समर्पणको अर्काे नाम हो । प्रेम गर्नेहरू प्रेम खोस्दैनन् । आफू डुबेर पनि प्रेमीलाई उतार्छन् । बनावटी बोलीमा प्रेम हुँदैन । प्रेम त हृदयमा हुन्छ ।”
“होइन, के भएको छ हँ तपाईंलाई ? हिजोदेखि न बोल्नु हुन्छ, न त खाने चासो देखाउनु हुन्छ । नुन खाएको कुखुराजस्तै किन झोक्राउनुप¥या हो, कुन्नि !” मैयाँँ ठाडो भाषामा बोल्छे ।
चौधरी तुरुक्क आँसु झारेर मैयाँँतिर हेर्दै विशेष भूमिका नबाँधी बोल्छ— “मैयाँँ, धेरै सोचेँ । मनले तिमीलाई गुमाउन मानेन । मलाई केही भए त तिमीले यी बालबच्चा समाल्नुपथ्र्यो । त्यो नाथे महिन्द्रको बनावटी मायामा भुलेर… !”
मैयाँँ च्याँटठिँदै बोल्छे— “के भनेका बूढा तिमीले ? त्यस्तो सोच्न तिमीलाई अलिकति सरम पनि लाग्दैन ?”
चौधरी ढोका लगाउँदै अझ नम्र स्वरमा भन्छ— “बस्, मैले सबै कुराहरू चाल पाइसकेँ । तिमी महिन्द्रविना बाँच्न सक्दिनौ भने जाऊ । त्यति मात्र होइन, हामीसँग भएको सम्पूर्ण चल–अचल सम्पत्ति पनि लैजाऊ, म रोक्दिनँ । महिन्दे्रले प्रेम नै गरेको सम्झेर तिमी उन्मत्त छ्यौ, तर त्यो प्रेम होइन ढोङ हो । तिमीले आजै आँखा खोलिनौ भने भोलि पाटीको बास हुन बेर लाग्दैन । एकफेर महिन्द्रसँग “बूढाले हाम्रा विषयमा सबै थाहा पायो, सम्पत्ति चाहिँ केही लैजान पाउँदिनस्, तँ मात्र जाने भए जा भनेको छ” भन त ! त्यसपछि तिमीलाई लैजान्छु भन्यो भने म राजीखुसी पठाउनेछु ।”
मैयाँँ आफ्नो साधुजस्तो लोग्नेको व्यवहार देखेर तीनछक पर्छे । उसको मनबाट चौधरीको माया रित्तो भइसकेको हुन्छ । वचनको पक्का चौधरीले सम्पूर्ण सम्पत्ति दिनेछ भनेर मख्ख हुँदै भन्छे— “महिन्द्रले हर क्षण छातीमा लुकाएर राख्छु भन्नुभएको छ । उहाँले मेरो सम्पत्तिलाई होइन, केवल मलाई माया गर्नुहुन्छ ।”
चौधरी भक्कानो बाँधेर भन्छ— “चौटा खान गएकी बुढी झोलमा डुबेर मरी भन्ने सुन्न नपरोस् भनेर मात्र हो । ठीक छ, तिमी खुसी हुन्छ्यौ भने म पीडा सहन तयार छु । अँध्यारोमा हिँड्नुभन्दा बाटो पहिल्याएर हिँड ।” यति भनेर ऊ, जुरुक्क उठेर हिँड्छ ।
मैयाँँलाई यति सजिलै आफ्नो इन्द्रेनी सपना साकार होलाझैँ लागेको थिएन । ऊ खुसीले उडूँ कि गुडूँझैँ हुन्छे । उसलाई समय पनि ज्यादै ढिलो बगेझैँ लाग्छ । चौधरी मलिन अनुहार लगाएर छोराछोरीलाई पवन माध्यमिक विद्यालय पु¥याउन जान्छ । घर फर्किन मनले मान्दैन । एकान्तमा बसेर हृदयको आगो निभाउन आँखाबाट आँसु बर्साइरहन्छ ।
यता महिन्द्र आउनेबित्तिकै मैयाँँ उसलाई कोठामा डाक्छे । महिन्द्र पनि मैयाँँलाई सधैँभन्दा हर्षित देखेर खुसी हुँदै सोध्छ— “होइन, आज त मेरी रानी किन यति खुसी ? फेरि बिहानबिहानै… !”
मैयाँँ महिन्द्रको काखमा सुत्दै बोल्छे— “होइन, अब कहिले जाने ? मैले तपाईंलाई दिएको गहना र पैसा कहाँ राख्नुभएको छ ? चिटिक्कको घर बनाएर मलाई राख्ने भनेको होइन ?”
महिन्द्र मैयाँँलाई सुम्सुम्याउँदै भन्छ— “नानी, यो जमानामा त्यति पैसाले खोइ के आउँछ र ? मैले घरजग्गा खाने मान्छे खोजिसकेको छु । लालपुर्जा ठिक्क पार न, पर्सि नै पास गरिदिएर कुलेलम ठोक्नुपर्छ । मेरी हृदयकी रानीलाई कुनै पल छोड्न सक्दिनँ । यति सुखसयलमा राख्छु कि, भो कल्पनै नगर ।”
मैयाँँ चौधरीको कुरो सम्झँदै भन्छे— “म पनि तपाईंविना एक क्षण अड्न सक्दिनँ । बूढाले लालपुर्जा सबै आफैँले राख्दै भन्यो— तँ गए जा, सम्पत्ति दिन्नँ । मेरो सम्पत्ति देखेपछि कुमारी केटी नै लाम लाग्छन् ।”
महिन्द्र झसङ्ग झस्कियो र आफ्नो काखमा सुतिरहेकी मैयाँँलाई धकेल्दै भन्यो— “के भनेकी तिमीले ? बूढाले चाल पाएर केही पनि दिन्नँ, तँ मात्र जा भन्यो रे ?”
मैयाँँले रुँदै भनी— “हो नि त ! बरु तपाईंको घरमा थाहा नहुँदै चाँडो अन्तै टाढा जाने व्यवस्था मिलाउनोस् ।”
महिन्द्रले मैयाँँलाई लोप्पा खुवाउँदै भन्यो— “के ठानेकी तैँले ? दुर्नाम बेश्या ! आफ्नो त्यस्तो मायालु लोग्नेलाई घात गर्नेले मलाई माया गर्छेस् ? मैले त केवल तेरो सम्पत्तिका लागि यो नाटक गरेको थिएँ । तेरो सम्पत्ति हात लागेको भए तँलाई कोठीमा जाकिदिन्थेँ, बुझिस् ?” महिन्द्र यति भन्दै उछिट्टिँदै कोठाबाट बाहिर निस्कन्छ ।
मैयाँँ महिन्द्रको कुरा सुनेर पागलजस्तै हुन्छे । सपना हो या बिपना हो, छुट्याउन नै गाह्रो पर्छ, उसलाई । उसको मस्तिष्कले काम गर्न नै छोड्छ । ऊ जुन हालतमा थिई त्यही हालतमै ओछ्यानमा पल्टिरहन्छे ।
डढेलो सल्केको छाती लिएर चौधरी मध्यान्हतिर घर फर्कन्छ । मैयाँँलाई त्यसरी बेहोस अवस्थामा देखेपछि डराउँदै यताउता हल्लाउँछ । टाउकामा पानी राखेर ठोक्छ । बल्ल मैयाँँ होसमा आउँछे र चौधरीको खुट्टा समातेर रुँदै भन्छे— “मलाई माफ गर्नाेस् । तपाईंले गर्दा म ठूलो दलदलबाट जोगिएँ । साधुको भेषमा त्यो गिद्ध रहेछ । मैले तपाईंजस्तो देवतालाई चिन्न सकिनँ । म मर्छु तर तपाईंलाई छोडेर कहीँ जान्नँ ।”
चौधरी मैयाँँलाई उठाएर छातीमा टाँस्दै बोल्छ— “मैयाँँ, तिमीले गर्दा हृदयमा ठेस त लागेको छ तर तिमीलाई गुमाउनुभन्दा पाउनुमा आज धेरै खुसी छु । हेर, बाँच्नु भनेको अझ धेरै बाँकी छ । दुनियाँ केवल स्वार्थमा अडेको छ । धन्न, मैले चाल पाएँ र पो यी छोराछोरीहरू टुहुरा हुनबाट बचे । तिमी कहाली लाग्दो धापबाट बच्यौ । तिम्रै मायामा मात्र अन्धा भएका मेरा आँखा खुले । त्यो चौबीस–पच्चीसकी बहिनी गरिबीले गर्दा अझै बैँस धानेर बसेकी छ । हामी मिष्ठान्न फ्याँक्छौँ, उनीहरू आँटाका लागि तड्पिरहेका छन् । म भोलि नै गएर सबै व्यवस्था मिलाएर आउँछु ।”
चौधर्नी स्वीकृति सूचक मुन्टो हल्लाउँछे । आँखाबाट भने पश्चात्तापको आँसु झरिरहन्छ । हिजोसम्म महिन्द्रले ओकलेका सप्तरङ्गी सपना, आजको वास्तविकता, लोग्नेको माया र आफ्नो बेहोसी यी सबै सम्झँदा मन चिरिन्छ । चौधरीले सजिलै माफी दिए पनि चौधर्नी अपराधबोधले जलिरहन्छे … ।
(श्रोत:- अन्तर्जाल)