ऊ बेला हामी साना सानै थियौं, त्यस्तै छ सात क्लास पढ्ने, वहाँ कलेज पढ्नु हुन्थ्यो । अग्लो, गोरो वर्ण, कालो घुम्रिएको कपाल र जुंगाको मसिनो रेखी , वहाँको चित्ताकर्ष व्यक्तित्वभित्र पर्ने केही कुराहरु थिए । वहाँ मेरो संगै पढ्ने साथी अस्मिताको मावली दाजु हुनुहुन्थ्यो । बेलाबेलामा वहाँ अस्मिताको घर आइरहनु हुन्थ्यो र म प्रायः वहाँलाई देखिरहन्थेँ ।
त्यो शायद शनिवारको दिन थियो, पटयारलाग्दो । नियास्रो मेट्न म अस्मितालाई भेट्न गएकी थिएँ उसकहाँ, विमल दा त्यहीं कोठामा हुनुहुन्थ्यो । म संकोचले भाग्नै लागेकी थिएँ, अस्मिताले मेरो हात समाई वहाँको परिचय गराएकी थिई, “दिपा,वहाँ मेरो विमल दा।” लाज मानी मानी मैले नमस्कार गरेथें । “ए ! तिमी छुच्ची कि साथी हौ ? छुच्ची कि साथी त झनै छुच्ची पो होली नि । कसो छुच्ची ? ” विमल दाले उल्टै अस्मितालाई जिस्काउँदै उसको कपाल तान्नु भएको थियो । अस्मिताले बताएकी थिई विमल दा उसलाई संधै छुच्ची भनेर जिस्काउनु हुन्थ्यो भनी ।
त्यसदिन देखि वहाँ मेरो लागि पनि विमल दा हुनुभयो । विमल दासँग सिक्ने, विमल दालाई भन्ने, विमल दालाई सोध्ने, मानौं हाम्रो लागि विमल दा एउटा ठूलो जादुगर हुनुहुन्थ्यो जोसँग हाम्रा सबै जिज्ञासा र समस्याका समाधान रहन्थ्यो । वहाँलाई म अस्मिताकहाँ आएको बेला हमेसा त्यो पढ्ने टेबुल अगाडि नै देख्थेँ , जहिले पनि केही न केही पढिरहेकै, किताबमा घोत्लिरहेकै । वहांका वरिपरि पत्रपत्रिकाहरु हुन्थे र टेबुलभरि टन्न किताब । अस्मिता भन्थी, त्यो विमल दाले नै ल्याइराख्नु भएको रे,आउंदा पढिरहन । म वहांको त्यही पढ्ने वानीवाट साह्रै प्रभावित थिएँ।
कुनै बेला वहाँको आउने क्रम अलि कम हुँदा हामी सबलाई छटपट हुन्थ्यो, के परेछ अचेल त विमल दा आउनु नै हुन्न । अनि जुन दिन वहाँ अस्मिताकहाँ फेरि देखा पर्नु हुन्थ्यो, हामीलाई रमिता हुन्थ्यो । हामी टिना,गीता,सुजी,रोमी सव झुम्मिन्थ्यौं अस्मिताकहाँ। अनि विमल दालाई प्रश्न सोध्न हामीमा हानाथाप हुन्थ्यो । कताकताका प्रश्नहरु समेत सोधी हामी वहांलाई हैरान पार्थ्यौँ ।स्कूलमा टिचरलाई सोध्न सकिने र सामान्य भन्दा सामान्य प्रश्नहरु समेत पनि म विमल दालाई सोध्न सांचीराख्थेँ ।
जब विमल दा हात हल्लाई हाउभाउमा कुरा बुझाउनु हुन्थ्यो , म वहांका गोरा र लामा औंलाहरु हेरिरहन्थंे । वहां अचेतन रुपले ती लामा औंलाले जुंगा चलाइरहनु हुन्थ्यो । म लुकीलुकी वहांलाई त्यसरी जुंगा चलाएको हेरिरहन्थें । विमल दा हामी सव साथीहरुलाई छुच्चीका बटालियन भन्नु हुन्थ्यो , छुच्ची, छुच्चीकी साथी, झन छुच्ची, झन भन्दा झन छुच्ची यस्तै यस्तै । हामी साथीहरु सबलाई यही मध्ये कुनै न कुनै एक यस्तै उपाधि मिलेको थियो विमल दा बाट ।
समयसंग हामीले कक्षाहरु पनि उक्लिंदै गयौं । अस्मितासंगको मेरो मित्रता टुटी नहाले पनि उसकहाँ जाने क्रम भने कम हुँदै गयो । उसले स्कूल परिवर्तन गरी, म चैं त्यही स्कूलमा पढिरहें । कहिले काहिं काम पर्दा र कुनै विदामा म अस्मिताको घर जान्थें । हरेक पटक त्यसरी साथी भेट्न जांदा मेरा आंखाले विमल दाको उपस्थिति खोज्थ्यो तर म प्रायः विमल दालाई भेटदिनथें । अस्मितासंग सोध्न मन लाग्थ्यो वहाँको बारेमा, कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ र किन आउनुहुन्न अचेल भनी । सँकोच लाग्थ्यो । उसमाथि अस्मिता आफै आफ्नो पहलमा केही पनि बताउँदिन थिई । केटाकेटी हुँदो त सोध्थेँ पनि होला, तर अव त्यो स्वाभाविक सहजता रहेन ममा ।
स्कूल पनि सकाएं राम्रो अंकमा । त्यसपछि के पढ्ने के नपढ्ने निकै दोधार भयो । परिवारमा कसैले के पढ्नु भन्थे कसैले के,आफूलाई भने सवै विषय राम्रै लाग्थ्यो । संगै पढेका साथीहरु कोही कता लागे कोही कता । ठूला सपना वोकेकाहरु विदेशिए ,कसैको त त्यही वेलामा नै विहे पनि भयो । अस्मिता र मेरो कलेज एउटै थियो । मैले कमर्श पढेँ, फाइनान्स लिएर । उसले पनि कमर्श नै पढी तर उसको मुख्य विषय मार्केटिङ्ग थियो । केही क्लास छुट्टाछुट्टै भएपनि धेरै जसो समय बांकी क्लासमा हामी संगै हुन्थ्यौं । पहिले कम हुन थालेको ऊसंग को मेरो भेटघाट कलेज पढ्न थाले पछि भने फेरि बढ्यो । कुनै दिन आफू कलेज नजांदा छुटेका नोट्सहरु र्सार्न र पढाइमा छलफल गर्न म उसको घर गैरहन्थें । ऊ पनि मकहां नआउने हैन तर तुलनामा म नै उसकहां बढी गैरहन्थें । जान मन लाग्थ्यो मलाई । त्यहांको हरियो र सुकिलोपनामा धेरै माया भेट्थें ।
पहिला उनीहरुको घरमा ठूलो बगैचा थियो त्यहां धेरै थरीका फूल रोपिएका हुन्थे तर मलाई खास गरी पर्खालसंगै एकैलहरमा रोपिएका चमेली मनपथ्र्यो ,सेता साना औधी बास्ना आउने । अब त्यहाँ सानो टहरा बनिसकेको थियो । टहरामाथि कौसी बनाइएको थियो, जसको एक कुनामा ठूलो घ्याम्पोमा आरुको बोट रोपिएको थियो । फिका गुलाबी रंगको फूल फुल्ने त्यो रुखको छांयामा हामी घण्टौ गफ गरिरहन्थ्यौं । “तरुनीहरु टाउको जोडी के गफ गरेका ।’’ अस्मिताकी आमा सधंै हामीलाई जिस्काउंदै भन्नु हुन्थ्यो । केही मोटी र ठट्याउलो मिजासकी वहां भन्नुहुन्थ्यो , “मेरो आफनो कुनै छोरा भएको भए यिनलाई बुहारी बनाउंथे । ’’ आरुका फूलहरु फूले, झरे । फले हरेक साल । तर त्यसपछि मैले विमल दालाई फेरि देखिंन । सोध्ने कुरा पनि भएन, नारी स्वाभाविक सँकोचका बाधाहरु तर्ेर्सिन्थे । अरुले केही भनोस् या नभनोस् आफैलाई अप्ठयारो लाग्दथ्यो । निकैपल्ट आँट गरेकी थिए अस्मितासंग विमल दाको बारेमा सोधुँ भन्ने तर हरेक पटक शब्दहरु ओठभित्रै विवश भैरहे । संस्कार र संकोचले गर्दा आंट आउंदैनथ्यो त्यसैले सोध्ने कुरा मुखसम्मै आएर पनि रोकिएं धेरै पटक ।
मेरो मानसपटलबाट विमल दा कहिल्यै मेटिनु भएन । वहाँको व्यक्तित्व मेरो लागि आदर्श थियो र पे्ररणा । वहाँको प्रतिभा , अध्ययन प्रियता र विद्वताको म सानैदेखि कायल थिएँ ।
कैले काहि अस्मिताको कुराका प्रसङ्गमा वहाँको नाम आउँथ्यो । उसले विमल दाको बारेमा अझ बढी केही बताउली कि भन्ने आशमा म उसको मुख हेरी बस्थें तर ऊ त्यो भन्दा बढी केही भन्दिनथी । मेरो मनस्थिति उसलाई थाहा थिएन या भनुं मैले थाहा दिएकी थिइंन ।
म ठूली भएँ सबैलाई त्यही लाग्थ्यो । त्यसैले घर परिवारतिर कतै जमघट भएमा कुरा मेरो बिहेको निस्कीहाल्थ्यो । म भरसक यस्ता प्रसंगहरुवाट पन्छिन खोज्थें र आएका राम्रै प्रस्तावहरु समेत नै पनि अस्वीकार गर्थें । म धेरै पढ्न चाहन्छु र बिहेले मेरो पढाइमा बाधा पुर्याउन सक्छ भन्ने कुरा बुझाउन खोज्थें घरतिर सवैलाई । लायकका र खानदानी परिवारमा समेत मैले मन नदिएकी देख्दा घरमा सवैलाई आर्श्चर्य लाग्थ्यो र मलाई सोधिन्थ्यो “हैन तैँले कस्तो खालको केटा चाहेकी होस् तँ म ठट्टा र सत्य मिश्रति हाँसोमा जवाफ फर्काउँथे, “विमल दा जस्तो । ” “हैन के भन्छे यो !”घरमा कोहि बुझ्दैनदथे मेरो आशय ,न त कसैले गम्भिरतापूर्वक लिए यसलाई । हरेक पुरुषहरुमा म विमल दालाई नियाल्थेँ,सवैमा वहाँको जस्तो व्यक्तित्व र प्रतिभा खोज्थेँ अनि तुलना गथें वहांसँग अरुलाई । हरेक पटक अरु भन्दा तुलनामा विमल दा मलाई धेरै माथि लाग्थ्यो । मेलै अवोध बालापनदेखि साँचेको वहाँको छवि कहीं कसैगरी पनि दुषित र बीसको उन्नाइस भएन ।
पछि एक दिन अस्मिताले खुशी हुंदै, धेरै वर्षछि विमल दाको छोरा भयो भनी बतार्इर्र्। वहांको विहे पनि भैसकेको रहेछ । कसरी म यो कुरावाट अनभिज्ञ रहें भनेर मलाई धेरै दिनसम्म यसमा विस्मात भैरह्यो । उसैबाट थाहाँ पाए वहाँ बुटवलमा सपरिवार बस्दै हुनुहुन्थ्यो, नोकरी उतै थियो, त्यसैले परिवार उतै रहेछन् । वहांको विहेले पनि वहांप्रतिको श्रध्दा घटेन ममा । मेरो लागि विमल दा उस्तै आदर्शमयी र प्रेरणादायी रहिरहनु भयो ।
मेरो पढाइ सकिए पछि घरबाट धेरै दवाव पर्न थाल्यो मलाई बिहे गर्नको लागि । राम्रो सम्पन्न परिवार हातबाट उम्केला भनेर डिप्लोमा सकिए लगत्तै मेरो बिहे गरियो । बिहे अनि घर गृहस्थी, केटाकेटी हुन कति बेर । माया गर्ने श्रीमान र दुई कलिला छोराहरुसँगको समय, जागीर खाँदाखाँदै वर्षरु पनि बित्दै गए ।
अस्मिताको पनि बिहे भैसकेको थियो र ऊ श्रीमानसँग पोखरा बस्थी । अरु साथीहरुसँग मेरो खासै सर्म्पर्क हुंदैनथ्यो तर अस्मिता टाढै बसेर पनि बेला बेला फोन गर्थी । यसले गर्दा ऊ नजिक नभएको महशुश हुंदैनथ्यो मलाई । हरेक दुइचार महिनामा ऊ काठमाण्डौ आवत जावत गरिरहन्थी । यता आएको बेला क्याफेमा कफी खांदै हामी घण्टौ गफ गथ्र्यौ केटाकेटी छंदाका, स्कूल कलेज अनि, घर गृहस्थीका । हामी शपिंग जान्थ्यौं, संगसंगै कुनै दिन हलमा सिनेमा हेर्थ्यौं । जव पनि म उसलाई भेट्न उसको माइती जान्थें विमल दाको अनुभूति मेरो दिमागमा अझ ताजा हुन्थ्यो । मनभित्र अंकित वहाँको पूज्य छवि समयका असंख्य छालहरुले पनि बगाउन सकेको थिएन ।
अहिले पनि अस्मिता काठमाण्डौ आएकी थिई । उसको माइतीमा पूजा लाइंदै थियो । कुरैकुरामा उसले मलाई विमल दा उपसचिवमा बढुवा हुनु भएको र अहिले काठमाण्डौमा सेमिनारमा आउनु भएको समाचार सुनाई । विमल दा १ म उत्साही र उत्तेजित पनि भएँ त्यो सुनेर । वहांसंग भेट्न साह्रै मन लाग्यो र पहिलो चोटि मनको कुरा फुत्कियो । मैले अस्मितालाई विमल दा संग भेट्न साह्रै उत्सुक रहेको बताएँ । ऊ एकछिन चुप लागी,अक्क न बक्क देखिई । खै कुन्नि के सोची उसले १ उसले मेरो अनुहारमा शायद त्यही पुरानो बालापन खोज्न चाही । मभित्र समयको लामो अन्तराल थियो । मेरो कांध थप्थपाउंदै उसले बिमल दा काठमाण्डौको अर्किड होटलमा भैरहेको सेमीनारमा अझै एक हप्ता रहने कुरा बताई । मनै मानेन, उत्तेजना ,खुशी र आतुरीले त्यही दिन होटल अर्किड पुगेँ । डर लागिरह्यो कस्तो प्रतिकृया पाइने हो भनी! एक मन त फर्कुं कि भन्ने पनि सोचें तर होटल पुगिसकेकीले मन दरो गरी बसें । रिसेप्सनमा बुझ्दा थाहा भयो, त्यो सेमिनारमा साढे बाह्रमा लन्च ब्रेक हुने रहेछ , कुरें । सेमिनार हलमा सूचना पुगिसकेको थियो विमल दासमक्ष, त्यसैले लन्च ब्रेक हुन पाँच मिनेट अगाडि एकजना भरिलो जीउडालको व्यक्तिसँग होटल कर्मचारी मतिर आइपुग्यो । अन्दाजैले ठम्याएँ ,मेरो विमल दा ! धेरै परिवर्तन भैसक्नु भएको थियो । वहाँका कालो र घुम्रिएका कपाल अब पातलिएर फुल्न थालेका थिए, मसिनो र आकर्षक जुँगा अब टाटेपाटे भैसकेका थिए । आँखामा बाक्लो चस्मा चढिसकेको थियो तर अनुहारमा आभा भने उस्तै थियो पुरानो केही घटेको थिएन । वहाँले मतिर प्रश्नसूचक दृष्टि लाउनु भयो । मेरो अभिवादनको प्रत्युत्तर फर्काउँदै वहाँले मसँग परिचय माग्नु भयो। “विमल दा, मलाई चिन्नुभएन ? म अस्मिताकी साथी दिपा । हामी तपाईलाई धेरै प्रश्न सोधिरहन्थ्यौं नि बच्चामा ।” मैले धेरै वर्षपछाडि फर्केर आफूलाई उही पहिलेकी झन छुच्ची फुच्ची कल्पना गरेँ । विमल दा जो मेरो आदर्श हुनुहुन्थ्यो ,जो मेरो अबोध हृदयको अमिट छाप हुनुहुन्थ्यो, जसलाई मैले कुनै दिन पनि बिर्सिन , आज यत्तिका वर्षछि प्रत्यक्षत मेरो सामु हुनुहुन्थ्यो । वहाँलाई मैले प्रश्न गर्न चाहें वहाँ किन हराउनु भएको थियो त्यो बिचको समयमा जब म वहाँको समिपमा हुन चाहन्थें,वहांलाई नजिक देख्न चाहन्थें । सकिन केही सोध्न, सोध्नुको कुनै औचित्य नै थिएन । “ए हो -” बिमल दाले सम्झिने प्रयास त गर्नु भयो । सम्झिनु भयो, भएन जानिंन । “ए, अंकल । ल ठीकै छ ।” वहाँले खासै कुनै महत्व दिनु भएन । शायद जरुरी पनि थिएन । “अनि ? के पर्यो त? कुनै विशेष ?” वहाँले देखाउनु खोज्नु भएको औपचारिकता र दूरीका अगाडि वहाँसंग भेट्न किन आतुर थिएँ भन्ने कुरा प्रकट गर्न सकिंन । त्यही बाटो भएर निस्केकी र वहाँलाई त्यहाँ सेमिनारमा आउनु भएको थाहा पाएर भेट्न आएकी बताएं। त्यहि बेलामा चारपांच जना अरु ब्यक्तिहरु पनि नमस्कार गर्दै वहांलाई घेर्न आईपुगे । विमल दा उनीहरुसँगै गफमा अल्मलिनुभयो । शायद चाहेर पनि वहाँले मलाई समय दिन सक्नु भएन । मनभित्र वर्षौदेखिको गुम्स्याई अटेस मटेस थियो तर विमल दाले देखाउनुभएको अपरिचित व्यवहार र बेवास्तापन धेरै पीडादायी थियो मेरो लागि । मेरो मनबाट एक छिनको लागि पनि नहटेका विमल दा, तर वहाँको मनको सानो कुनाको विस्मृतिभित्र पनि थिइन म । फर्किएँ । पीडाले आहत मन भक्कानिन खोज्दै थियो । गहभरि आंसु थियो अनि आँखाभित्र सांचेको वहाँको छवि आँसुसंग विस्तारै विस्तारै नजांनिदो रुपले पखालिंदै थियो ।
(श्रोत:- कान्तिपुर मार्च ५, २००८ )