कथा : अन्ततः तिमी मेरो कथाको पात्र

~निलम कार्की ‘निहारिका’~

म कथा लेख्थे । कहिलेकाही उसलाई सुनाउथे, उ भन्थि – कसरी लेख्छेस् कथा ?
म यसो हेर्छु, देख्छु, जुन कुराले मलाई बढी हुन्छ, त्यही लेख्छु, कथा बनिदिन्छ ।
उसले भन्थि – कतै हामीलाई हेरेर पनि कथा लेख्लिस् नि । साथी हो १ यो सँग डराउनु पर्छ है ।
मैले भने विश्वस्त पा¥र्थे – तिमीहरुसंग के नै छ र, त्यस्तो लेख्ने लायकको ।
अठार वर्ष उमेर हुँदाका कुराथिए माथिका ।
म तीस वर्ष हुँदासम्म हाम्रो भेटघाट भएन् । ऊ अन्तै जिल्ला अन्तै अञ्चल म अन्तै । केही समय त देश नै फरक प¥र्यो हाम्रो बसाइको । जब पुनः भेट भयो, हाम्रो कर्म थलो एकै परेछ राजधानी ऊ मास्टर्स पढि सकेर मास्टर्नी भएकी रहिछ । मेरो पेसा पनि उस्तै ।
एक पूर्व साथीको बिहे भोजले हामीलाई पुन भेटाएको थियो ।
आत्मियता फेरी उस्तै भयो, तर १२ वर्ष पहिला जस्तो दिन भरको समय हुन्थेन सँगै बस्ने, गफ गर्ने । निलकानु प¥र्यो समयलाई – बिदाको दिनमा त्यो पनि घरायसी कामबाट कटौती गरेर । तर हामी त्यति टाढा थिएनौं जति ती बिचका १२ वर्षमा थियो । त्यति नजिक पनि थिएनौ जति त्यो बाह्र वर्ष अगाडि थियौँ ।
यसैपनि म एक बच्चाकी आमा त्यसैले भेटघाटको लागि समयले उसलाई भन्दा मलाई साथ दिंदैन थियो ।
समय अलि फरक भएछ ।
पहिला म मेरा कथा सुनाउथे । अब उ पत्र–पत्रिकाबाट आफै खोजेर पढ्ने भइछ । कथामाथी टिप्पणी गर्ने समेत भइछ । मैले भन्थे – तिमी मेरो राम्रो पाठक भइछौं, मित्र मात्र रहिनौ अब ।
उसले भनी – अपुष्पिंणी कथाकी साइली कति कमजोर ? लालन–पालन गर्न सकिदैन भनेर सन्तान नै नजन्माउनु । साइली माथि कथाकारले गरेको अन्याय हो यो ।
मैले भने – कथाकारले अन्याय गरेको होइन । समाजको गरिबीको, विद्रुपरुप पस्केको मात्र ।
म एक बच्चकी आमा। दोस्रो बच्च मेरो पेटमा चल्दै छे । उ तेत्तिस वर्षीय अविवाहित ।
तनुको बिहे गर्नुप¥र्यो केटा खोज्न । हाम्रो पुरानो साथीले भनी, तनु र मेरो, हामी दुवैको मिल्ने साथी ।
केटा त खोज्ने तर कस्तो खोज्ने ?
हाम्रो मान्यता ठिङ्ग मेरो सामु उभिएको छ ।
– केटीभन्दा केटा, उमेरमा पाको हुनुपर्छ नभएर सँगैको तर कम हुुनु हुदैन ।
– केटीभन्दा केटा शिक्षा हुनुपर्छ नभए बराबर कम हुुनहुदैन ।
– केटीभन्दा केटा आर्थिक सम्पन्न हुुनुपर्छ नभए बराबर कम हुुनहुदैन ।
– केटीभन्दा केटा उचाइमा केही अग्लो हुनुपर्छ नभए बराबर कम हुुनहुदैन ।
– केटीभन्दा केटा बढी आय आजएन गर्ने हुनुपर्छ नभए बराबर कम हुुनहुदैन ।
– केटीभन्दा केटा प्रतिष्ठित हुनुपर्छ नभए बराबर कम हुुनहुदैन ।
बरारब नै हुनैपर्छ भन्नेकुरा जातभातमा मेल खान आउँछ । उपाध्याय हो कि जैशी ? जैशीमा पनि तल्लो भात कि माथिल्ःलो भात? यो मेल खानुपर्छ, बराबरीको हिसाबले । जब घरबाट बिहेको कुरा चल्छ यस्तै सुनिन्छ ।
हो, यहाँनेर एउटा कुरामा भने केटा केटीभन्दा कमी भए हुन्छ । हेर्दाको सुन्दरतामा । केटाभन्दा केटी राम्री हुनुपर्छ । चिटिक्क परेकी सरलक्ककी ।
यत्तिका क्राइटएरिया छ मेरो सासु । म कहाँ कसरी खोज्नु केटा उसको लागि ।
वर्ष दिन बित्यो । मेरो आँखामा कोही परेन, यसरी मिल्दो ।
उमेर चौतिस काटेको, माथिल्लो भातको जैशी बाहुन, उचाइ पाँच फिट तिन इन्च भन्दा बढी, कम्तीमा स्नातकोत्तर, मासिक आठ हजारभन्दा बढी आर्जन गर्ने । यही हो न्यूनतम योग्यता ।
– केही कुरामा केही बुँदामा कम भएको सँग कुरा चलाईदिउँ भने हेला गरेको भै दिने होकी, डरलाग्थ्यो ।
मेरो श्रीमान्को दुई साथी उहाँको सिफारिमिा परेका हुन ।
एकजना लगभग छत्तीस वर्षको, पेसाले वकिल तर श्रीमती गुमाएका ।
अर्का, त्यस्तै पैतिसका हाराहारीका तर उनको एउटा दाँया हात बाँयाको तुलनामा अलि मसिनो । अलि कमजोर पनि ।
मेरी साथीलाई – के सोचेर यो प्रस्ताव ल्याउन सक्नु भएको ? म कड्केकी थिए श्रीमानसंग ।
उहाँले भन्नु भएको – फरक पर्दैन होला भनेर ।
– कस्तो फरक नपर्नुनि, ल तनुलाई उनीहरूको ठाँउमा, तनुको ठाउँमा उनीहरूलाई राखेर सोच्नुस त ।
म नारीवादी कुरा गर्न थाले । एक्लै फत्फताए पनि । उहाँ चुपलाग्नु भनु ं– गल्ती स्वीकारे झैँ ।
म रिसाउनुको पनि कारण थियो । कारण मध्ये एक कारण मेरो श्रीमान उसलाई ”हेपे” भन्नु भन्दा पनि उसले मैले ”हेपी” भन्ने थियो । कसैगरी गरी म यो प्रस्ताव लिएर उसको अगाडि जान सक्ने थिइन । जब मेरो रिस चिसियो –
कि भनिदिऊँ एक बाजी, मनले भन्यो ।
होइन, के ठान्ली, मेरो कस्तो मूल्याङ्कन गरिन्छ भन्लि । हुँदैनन् । यही बन्द गर्नुपर्छ यो ? फेरी मनले नै भन्यो ।
केही महिनापछि खबर सुने, पुरानो मित्रबाट – उसको बिहे हुने भएछ ।
उसले बिहे गर्ने निर्णय गरिन्छ ।
केही हप्तापछि थाहा लाग्यो – उसले बिहे गरिन्छ । सँगै पढाउने टिचरसँग ।
बिहे हुनु के थियो, उ एक डेराबाट अर्कोमा सरिछ । पहिला एक्लै बस्थी अब दुई भएछन् ।
एकदिन ढोका थुन्दै थिएँ बाहिरबाट, टेलिफोनको घण्टी बज्यो । श्रीमान्ले भन्नुभयो छाडिदेऔं – ल हिंड ढिलो भैसक्यो तर मनले मानेन । एक मिनेट ल, श्रीमानसँग अनुमति मागेर नलगाएको चापी उघारे ।
‘एकपटक तिमीलाई भेट्नु थियो’ तनुको आवाज थियो ।
– ल हामी हिड्नै लागेका बाहिर । श्रीमानुको पर्सि फ्लाइट छ, फ्रान्स जानु हुने । हामी सपिङ जान लागेका । साँझ गरन, अनि कुरा गरौला ।
मलाई टेलिफोनमा बोल्न समेत फुर्सद मिलेन । उ केही बोल्दै थिई म कुरा छोट्याएर टुङग्याई पनि हाले । बाहिरबाट छिटो छिटो भन्ने आवाज अर्को कानमा बढी नै ठोक्किरहेको थियो ।
न उसले नै साँझ सम्र्पक गरी , न मैले नै गरेछु । सोझो अर्थमा मैले बिर्सिएछु, बिहान उसले फोन गरेको थिई भन्ने समेत ।
तिहारको बेला थियो । लक्ष्मीपूजाको अघिल्लो दिन मैले देखे – बाटोमा उ सानो पोलिथिनको झोला झुण्ड्याएर हिडेकी छ । मैले नै देखे र बोलाए । बल्ल झ्वाट्ट सम्झिएँ उसले टेलिफोन गरेको कुरा ।
मैले बोलाउँदा ऊ झस्किइ ।
– यता – कता ? यो मेरो टोल थियो ।
– म पर्दा पसल खोज्दैछु । यही कतै छ भनेका थिए ।
– पल्लो चोकमा छ । अनि कता ? मेरो प्रश्न मेरो सङ्केत फेरि पनि मेरो टोल प्रतिको थियो ।
– म हिजो मात्र यतै डेरा सरेकी । ढोकामा पर्दा हाल्नु थियो ।
– हो र १ ल बस । स्कुटरमा बस्छे ऊ ।
– फोन गरेकी थियौ नि किन ? पर्दा रोज्दा बोलें ।
– अ ….. । अप्ठ्यारो मानी ।
– के हो ? मैले उसको शरिरहेरे जिस्काउने पाराले केही परामर्श चाहिएको ?
– होइन १ फेरी अप्ठ्यारे मान्छे ।
– अनि किन त ?
– पछि कुरा गरौला ।
– भनन् । म ढिपी कस्छु ।
– उ अल्कोहोलिक छ । उ खुल्छे
– आजभोली कसले खान्न ? मेरो प्रतिक्रिया
– ज्यादै ड्रङकर छ ।
– भन्नाले ?
– अलि बढी नै । खाएपछि दिन रात खान्छ ।
– हो र ? आश्चार्य मेरो ।
पर्दा रोजियो । उसले भनी – यो अलि अध्यारो रङ्गको छ यही लिऊ । फोहोर हुदैन ।
– फोहोर नहुने होइन्, फोहोर देखिन्न ।
– हो फोहोर नहुनु बेल्लै कुरा, फोहोर नदेखिनु बेग्लै ।
सँगै फर्कियौं ।
एकपटक उसले अनुरोध गरी कोठामा जान । म पनि तयार भए । त्यो अनुरोध – अनुरोधकै लागि मात्र थियो बा साच्चै को सोच्दै सोचिन ।
ढोकामा ताला झुण्डिएको मात्र थियो, चावी लागेको थिएन । उसले ढोका उघारी ।
एउटा खाट, एक कुनामा । पक्कि चिसो भुईमाथी प्लाष्टिकको गुन्द्री । त्यहिछेऊमा एउटा ब्रिफकेसमा लुगा कोचिएको र खुल्लै पनि । त्यहीछेउमा केही किताब, विद्यार्थीको उत्तर पुस्तिका । अर्को कुनामा सानो टेवल टेवलमाथी ग्याँस चुल्हो झ्यालतिर सिलिण्डर । टेवलको तल प्लाष्टिकका विभिन्न रङ्गका डिब्बा अर्थात् खाद्य साधन । चामलको अन्दाजी तीस किलोको बोरा । बोराको मुख खुल्लै । कागज ओछ्याएर राखिएका हरिया तरकारी तर सुकेर चाउरीपरेका । झ्यालको उचाइ नमिलेको पर्दा । यही देख्यो आँखाले ढोकादेखि पलङसम्मको दुरी तय गर्दा ।
– बसन् । उसले पलङ तर्फ सङ्केत गरी ।
– म बसे ओछ्यानमा ।
सँगै बस्दै भनी – ज्यादै खान्छ । बिहोस नै हुनेगरि । अफिसको नजिकबस्दा सबैले थाहापाउने भए भनेर, हिजोमात्र डेरा सरेको । अस्तव्यस्त सामान तर्फको सङ्केत हो भनेर बुझे मैले ।
– धेरै जसो होस्टलमै बस्नु हुन्छ भनेको होइन ?
– हो, बिदाको बेला यहाँ । दशैको बिदामा त के भनु ? रोकिएको होइन । उठ्यो मुख नघोइ खान सुरु गरेको साझसम्म खायौं निदायो, उठेर फेरी सुरु । कुनै होस नै नहुने गरी – ओछ्यान भर भोमिट गरेर ……… ।
उसको अनुहारमा घिन लत्पत्तिएको छ । मुख बिगार्छे ।
– होस्टलमा बस्दा के गर्ने त त्यसरी खानुपर्ने मान्छे त्यो बेला कसरी नखाई बस्न सक्छ ?
– खैनी खान्छ बेस्कनी,
– खैनी बाहेक केही, त्यस्तोे नगन्हाउने खानु हुन्छ कि रक्सी भन्दा फरक ?
कहिले काही गाँजा खान्छ । आमाले नै वन्दोवस्त गरिदिन्छन् । त्यही गएर खाएर आउछ ।
– आमाले ?
हो, उनीहरूलाई चाहिने कुरा सबै आमाले वन्दोवस्त गरिदिन्छीन् । जेठो पनि खान्छ उ भन्दा बढी ।
– कहाँ वस्छन ?
– कान्छो छोराको अफिस नजिकै
सोचमा परे म ।
– छुटाउने औषधी हुन्छ भन्ने सुनेकी थिए । त्यही सोधु भनेर तिमीसँग ।
मैले पनि सुनेकी थिए । त्यो औषधी खाएपछि रक्सी खायो भने धेरै उँधो उँभो हुन्छ रे डाएरिया भोमिटिङ्ग क्या, अनि कहिल्यै रक्सी हेर्न मन लाग्दैन रे । घर भरि हुन्छ रे ….. सफा गर्न तयार हुनुपर्छ।
– त्यस्तो सफा नगरेको होर ?
उसको अनुसारमा घिन छ, धृणा भन्दा ।
– बरु रिहयावलिटेसनमा लगेभैगो नि ।
– उसलाई त्यो सबै थाहा छ । ७ वर्ष त्यही काम गरेको रे, यहाँ गर्नु अघि ।
– के आपैmले इग्रस खानु हुन्थो पहिला ?
– हो ? धेरै पहिला । त्यो छडिरे नै त्यहा काम गरेको रे ।
– खाने मात्र हो कि सुई पनि आउने ?
– खोइ १ थाहा भएन त्यो त । दाजुले गर्दा त सिकेकोेरे सबै लत, इन्डिया हुदानै ।
यतिवेला भने उसको अनुहारमा घृणा छ, श्रीमानको दाजु प्रतिको ।
किताब माथि एलवम र केही खुल्ला फोटा छन् ।
– तिम्रो श्रीमानको फोटो होला नि ?
मैले उसको श्रीमान देखेकै थिइन । देख्ने मन भयो साह्रै नै ।
फोटोहरू फर्काउदै जान्छु म । उसले श्रीमान चिनाइ दिन्छे फोटो मै । एक फोटोमा दुई जना छन् । म त्यहीमा रोकिइरहन्छ ।
पहिलाको श्रीमती । उसैले प्रस्टै भन्छे
– के. पहिला विवाह भैसकेको थियो ? मेरो आश्चार्य
हो वंगालनी, बानी राम्रो थिएन रे । जो सँग पनि हिडने घुम्न जाने । पछि भागी रे अकै सँग । त्यै पिरले त खान लाग्या रे ।
फोटो हेदै जादा, एक अर्को फोटो, उनै महिला । नौ महिनाको गर्भ भए जस्तो शरीर । म रोकिए त्यही फोटोमा । प्रश्न राख्न सकिन् । त्यस पछिको दोस्रो – तेस्रो फोटो मै मेरो कौतुहल मेटिन्छ तिन जनाको फोटो थियो सानो बच्चा काखमा राखेको फोटो ।
तर पनि म यकिनमा पुग्न सकेकी थिइन । अझै पछाडि पुग्दा बच्चाको एक्लो फोटो । साहै्र राम्रो बच्चा । म धेरैबेर नै रोकिन्छु । प्रश्न विना उ जवाफ दिन्छे ।
– उसको छोरा । अन्दाजी चार वर्षको बालक ।
– अहिले कहाँ छ ?
– होस्टलमा ।
– आमाले नलगेको ?
– उसैले खोसेर ल्याको रे ।
– तिमीलाई बिहे गर्दा सबै थाहा थियो ?
– केही थियो, केही थिएन ।
उसले विवरण दिँदै गई ।
– मैले जब सबैकुरा थाहा पाए सासुसंग भने, म कसैकी छोरी थिए, किन मलाई नभनेर छलगरी आज यस्तो पार्नुभयो । उनले भनिन् – चार पाँच महिनापछि गर अहिले नगर बिहे भनेकै थिए, मानेनौं तिमीहरुकै मर्जीले ग¥यौं । किन अर्कालाई दोष लाउछौं ।
म यतिबेला गर्न सक्ने भनेको सहानुभूतिका केही शब्द बोल्न सक्थे – बोले र निस्किए । जाँदाजाँदै भने – पिर नगरी सुत्नु । उसले भनी–बानी भो, थकाइ लाग्छ, निदाउन्न भनेपनि निद आफै आउँछ ।
मेरै सानो बुवालाई सम्झे– छोरा बिग्रियो भनेर बिहे गरिदिएको । बुहारीले सम्हाल्छे भनेर ।
त्यो समाजसेवीलाई सम्झे, उसले पनि आफ्नो कुलतमा लागेको छोराको निम्ति मेरै सानो बुवाको बाटो समातेको थियो ।
मेरी सानीआमा बुहारीलाई भन्नुहुन्छ यसले त्यति जाबो लोग्ने सम्हाल्न सकिन ।
स्कुटरलाई गेटभित्र बिश्राम दिए । मेरो मनले विश्राम पाएन । धेरै गाह्रो भो ।
आइतबार घरमा खानाखाने गरी केही पाहुना डाकेकी थिए ।
दिउँसो देखि खाना बनाउनमा जुटेकि थिए ।
टेलिफोन बज्यो । बजिरह्यो । धेरैबेरमा बल्ल उठाएँ ।
”हेलो” हरेन, फेरी त्यस्तै भयो । आज स्कुल समयमै खाएछ । रमिता भा छ यहाँ अस्पताल लानुपर्छकी ? लग्यो भने भोलि फेरी मलाई के भा’थ्योर लगेको भन्छन् रिसाउछन् । …………..ल म पछि फोन गर्छु , आफैले सम्पर्क बिच्छेदगरि ।
तरकारी पकाउन तेल तताउँदै थिएँ ।
फेरि फोनको घण्टी बज्यो । चुल्हो निभाउछु ।
ल न म कोठामा लिएर जादैछु । एकै छिनको लागि भए पनि आउन मेरो कोठामा ।
पुनः चुल्हो खोलेर चिसिएको तेल तताउछु, प्याज भुट्छु , रातो पारेर, मसला भुट्छु र ओइरन्छु काउली ।
तरकारी चलाउदै गर्दा पनि उही आवाज आउछ उही अनुरोधको ? ग्यास बन्द गर्छु ।
सासु आमाको आखाले मलाई हेरिरहन्छ । शायद भनिरहेकोछ, – दुनियाभरकाको ठेक्का तैले नै लिएकी रहिछस् ।
उसको ढोका अघिल्तिर पुग्छु ।
ढोकाबाट बाहिरिदै हुन्छ रक्सीको गन्ध । रक्सीको गन्धसंग म ठोकिन्छु ।
उ अर्धचेत पल्टिरहेछ त्यै खाटमा । सिनेमामा मात्र देखेकी थिए त्यस्तो दृश्य साच्चै सिनेमाका कलाकारले ठ्याक्कै गरिदिने रहेछन् अभिनय । साच्चै गर्दा रहेछ्न नक्कल खुम्चिएको सर्ट जिङरिङ परेको कपाल, बढेको दाह्री रसिला राता–राता आँखा । त्यो सिनेमामा देखेको र अहिले देखेको दृश्यमा थप अहिले छ – मुखबाट चर्को गन्ध पनि ।
– आर यू श्रेया ?
– या । हाम्रो परिचय यसरी भयो ।
आई वान्ट टु टक विईथ यू यज अ डक्टर, श्रेया आई एम नट् ड्रङकर, आई एम नट् ड्रिंक……. उसले के भनी, म जँड्याहा हो ?
– होइन भनिन ।
उसले धेरै कुरा ग¥र्यो । कति बुझे कति बुझिन । उसले मसँग बोल्न हुने वाक्य पनि बोल्यो नबोल्ने वाक्य पनि बोल्योे ।
– म तनूको नजिक जादा, मलाई पहिला तिमी ब्रस गर भन्छे – उसले भन्यो ।
ऊ रुन्छ । आँसु बग्छ गालाबाट तलतिर । यहानेर के रोयो थाहा भएन । सुनेकी थिए, रक्सी पनि रुन्छ कुनै बेला ।
– अस्पताल जाऔं , उ भन्छे ।
– मलाई के भा छ के म बिरामी छु ? सिरक ओडेर सुत्छ । केहीबेरमा उठ्छ, र बोल्छ –
– मलाई अस्पताल नलैजाने ? म बाचोस् भन्ने चाहना छैन ? उठेर हिँड्छ लड्न खोज्छ, उ दौडेर समात्न जान्छे र उ चिच्चाउछ – के म आफै हिड्न सक्दैन ? उ लड्खडाएर भित्ता समाउछ ।
– ज्यादै दुब्लो मान्छे मात्र अस्थिपन्जर छ ।
उ ढोकामा उभिन्छ । तनक्क तन्किएर बोल्छ
– मे आई कम इन ? उ लड्खडाउँदै आउछ ।
एक सर्तमा अस्पताल जान्छु, तपाईँ पनि सँगै जाने भए – उसको अनुरोध ।
– साँझ घरमा पाहुना आउँदैछन् । केही पाकेको छैन उम्कने सुर गर्छु । व्यस्तता देखाउछु ।
उ कान समातेर उठबस गर्छ । रक्सी पिएकोमा श्रीमती सँग माफी माग्छ । तनु हिनताका हेराई हेर्छे । म किच्च हास्छु । मेरा दातमात्र हास्छन् ।
– तिमीलाई पछुतो छ म सँग बिहे गरेकोमा ? लज्जनापनि पछुताएकी थिई छाडेर गई मलाई, तिमीपनि जान्छौं ? उसले त एक छोरा दिए गएकी छ ।
उ बतुराउन थाल्छ । ओच्छ्यानमा पल्टन्छ ।
घरपेटी आईपुग्छन् । मलाई डाक्छन् बाहिर ।
तपाईँको चिनजानको भन्ने थाहा पाएका थ्यौं । यहाँ रात दिन यस्तै हुन्छ । केही बन्दोवस्त गर्नुप¥र्यो, आफन्तीलाई खबर गरिदिनु प¥र्यो ।
– मैले उसको घरवाला कोही चिनेकी छैन ।
– माइतीमा त चिनजान होला नि ?
– अँ १ यत्तिमात्र बोल्न सक्छु म ।
माइती, को छ ? आमा छैनन्, बाबुभएरपनि छैनन् ।
अस्पताल पठाउने निर्णय हुन्छ । घरपेटीले ट्याक्सी खोजिदिन्छन् ।
केही आवश्यक सामान म झोलामा हालिदिन्छु । ट्याक्सी चढाउनु भन्दा पहिला म भन्छु
– सबै टेस्ट गर्नु, रगतको सबै परिक्षण गराउनु । तिम्रो पनि जाँच गर्नु है डाक्टरलाई भनेर । हामी पढेलेखेकाले पनि सर्तकता अपनाउनैपर्छ ।
तनु ट्याकसी चढदै बोल्छे – फर्केर आएपछि बस्न एउटा कोठाको बन्दोबस्त गरिदेउ ल

(श्रोत:- WNSO)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.