~रत्नमणि नेपाल~
एउटा त्यसप्रकारको घटना घटेको थियो । त्यो देशका महाराजलाई त्यो घटनाले ठुलो चिन्तामा पारिरहेको थियो । देशको सम्पूर्ण शान्ति सुरक्षा मिलाउनु पर्ने । जनताका उर्लदा चाहना पूरा गर्नुपर्ने । विकास निर्माण, शिक्षा, स्वास्थ लगायतका दीर्घकालीन योजना तय गर्नुपर्ने । यी सबै प्रशासनिक कामहरूको अलवा भर्खरैमात्र महाराजलाई झन् ठुलो जिम्मेवारी आइपरेको थियो । त्यो थियो देशको कार्यकारी प्रमुख अथवा देशको प्रधानमन्त्री नियुक्त गर्नुपर्ने । दुईदिन अघिमात्र वहालवाला प्रधानमन्त्रीले जिम्मेवारी पुरा गर्न नसक्दा उनले राजीनामा दिनुपरेको थियो । कतिपयले प्रधानमन्त्रीलाई महाराजले हटाएको भन्ने समेत टिप्पणी गरेका थिए तर त्यसको त्यति ठुलो आधार भने तत्कालीन राजनीतिक समीक्षकसंग थिएन । किनभने प्रधानमन्त्रीको राजीनामा स्वीकृत गर्नु राजाको संवैधानिक कर्तव्य मानिन्थ्यो । प्रधानमन्त्रीले राजीनामा दिएपछिको महाराजको समय आफ्ना सल्लाहकार, भारदारहरुसंग परामर्शमा बित्यो । दोस्रो दिनपनि आधा हुन लागिसकेको थियो । महाराज एकजना दीर्घकालीन कार्यकारी नेतृत्व दिनसक्ने कुशल व्यक्तिको खोजीमा थिए भन्नेकुरा भारदार, सल्लाहकारहरु र जनताहरू सबैले नै प्रस्टै बुझेका थिए ।
उपयुक्त व्यक्ति खोज्न दरबार लगायत सहयोगी कुटनीतिज्ञहरु समेत त्यो दिन लागिपरे । विभिन्न पार्टी, समूहका क्रान्तिकारी योद्धासम्मका नाममा बहस चलाइए । स्वतन्त्र रूपमा शिक्षा, स्वास्थ्य, पत्रकारिता लगायतका अन्य क्षेत्रमा ख्याति कमाएका देशका प्रबुद्ध नागरिकहरुको पनि नाम लिई बहस चलाइयो । प्रशासनिक, कानुन कुटनीति आदि क्षेत्रमा अवकाश प्राप्त अनुभवी व्यक्तिहरूको नामावली पनि तयार गरियो । साँच्चै नै कर्मचारी भई काम गनुपरेको महसुस गरे त्यो दिन दरबारका कर्मचारीहरुले । उनीहरूलाई बिहानदेखि बेलुका ५ बजेसम्म एकैक्षण फुर्सद भएन ।
आखिर कार्यालय समयको डेढधण्टा पछि सबै कर्मचारीहरू बिदा भइसकेपछि महाराज स्वयम्बाट एउटा उपाय निस्कियो– अन्तर्वार्ता लिने । यो उपाय कुनै सल्लाहकारको थियो वा महाराज स्वयम्को थिया,े त्यो कुरा कसैले थाहा पाएनन, थाहा पाउने इच्छा पनि गरेनन् । केवल महाराजको उपायमा उनीहरू दङ्ग भए । उनीहरू महाराजका पटक पटकका निर्णयहरुबाट पहिलैदेखि दङ्ग नै थिए । उनको व्यक्तित्व अपार लाग्थ्यो उनीहरूलाई । उनको प्रभावशाली बय, फराकिलो चेहरा, प्रभावशाली बोली आदिबाट उनीहरू धेरै प्रभावित भएका थिए । उनीहरूलाई वास्तवमै राजा पाएकोजस्तो सधैँ महसुस हुन्थ्यो ।
महाराजबाट निकालिएको अन्तर्वार्ता प्रणालीबाट देशको योग्य प्रधानमन्त्री चयन गर्ने योजनालाई कार्यान्वयन गर्न त्यस राती देखि नै दरबारमा चहलपहल सुरु भयो । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरूको नामावली तयार पारियो । नामावली तयार पार्दैजाँदा त्यो निकै लामो पनि भयो । लामो नामावली भएकोमा त्यो तयार पार्ने वरिष्ठ अधिकारीहरू निकै डराए पनि । उनीहरूलाई महाराज यति लामो नामावली देखेर हामीसँग रिसाउलान् भन्ने लाग्यो । तर जब यो कुरा महाराजले सुने उनले त्यसलाई निकै सहज रूपमा लिए । उनले आस्वश्त हुन खबर पठाए र भने– मेरो देशमा पनि प्रधानमन्त्री हुन योग्य धेरै मान्छे छन् भन्ने यो राम्रो उदाहरण हो ।
अन्तर्वार्ता प्रणाली त लागू गर्ने तर अन्तर्वार्ता कसले लिने ? यो विषयमा पुन दरबारमा चर्चा सुरु भयो । कसैले महाराजका प्रमुख सल्लाहकारको नाम लिए, कसैले भविष्यका राजा, हालका युवराजबाट अन्तर्वार्ता लिदा राम्रो हुने सम्झाए । यो कुरा युवराजतर्फका नजिककाले उठाएका थिए । कतिले चाहिँ लोकसेवा आयोगलाई नै यो जिम्मा दिनुपर्ने तर्क राखे । तर यी सबैको विमर्श केही काम लागेन । भित्रबाट निर्णय सार्वजनिक भयो– अन्तर्वार्तामा स्वयम् महाराज नै बस्ने ।
अब फेरि अर्को समस्या खडा भयो । अन्तर्वार्तामा के के प्रश्न सोध्ने ? प्रधानमन्त्री हुने व्यक्तिलाई प्रश्न पनि त्यस्तै सोध्नु पर्यो ! तर यो समस्यालाई पनि महाराजले सरल रूपमा लिए । केही सहयोगीहरुको सहयोग लिएर महाराजले निम्न प्रश्नहरू तयार पारे ।
– तिमी आफूलाई को हुँ भन्ने लाग्छ ?
–तिमी प्रधानमन्त्री किन हुन चाहन्छौ ?
–यो देशको भविष्य कस्तो देख्छौ ?
पछि एकजना सल्लाहकारले दिएको उपाय महाराज लगायत अन्यलाई पनि मन पर्यो । उनले भनेका थिए– महाराजलाई इच्छा लागे उनले अरू प्रश्न पनि सोध्न सक्ने । यो उपाय महाराजको व्यक्तित्वलाई निकै प्रभावित गर्ने खालको थियो ।
देश प्रधानमन्त्री विहिन थियो । प्रवुद्ध वर्गहरु कुनै योग्य व्यक्तिको आशामा बसेका थिए । राजनीतिक दलहरुमा पनि उत्तिकै छटपटी थियो । उनीहरू एकातिर पार्टीहरुकै सक्रियतामा प्रधानमन्त्री नियुक्ति हुनुपर्छ भन्ने मत राख्थे । तर महाराजको त्यस्तो व्यग्र प्रयासको खुलेर विरोधमा पनि थिएनन् । मुख्य कुरा त उनीहरूमा राजाले राम्रै मान्छे छान्नेछन् भन्ने थियो । उनीहरू त्यसमा ढुक्क थिए । समग्रमा महाराजको उपयुक्त चयन र त्यसको प्रभावकारी भूमिकाको अपेक्षा नै देशभरको सबै तहले गरेको थियो । त्यसमा राजनीतिक दलहरू प्नि पर्दर्थे । अझ सर्वसाधारण त महाराजबाट हुने यो कार्यको खुसीसाथ प्रतीक्षा गरिरहेका थिए ।
अन्तर्वार्ताको दिन सधंैजसो सूर्योदय भयो । तोकिएको समय पल्टिदै–पल्टिदै नजिक आइपुग्यो । प्रश्नहरू सोध्ने महाराजको आसन मिलाइयो । अन्तर्वार्ता दिने व्यक्ति बस्ने कुर्सी ठिक पारियो । छेवैमा दाँया–वायाँ महाराजका सहयोगी, सल्लाहकार बस्ने दुईदुई कुसीहर्रु मिलाइए । मूल ढोका, त्यसपछि अर्को ढोका अनि फेरि अर्को ढोकाबाट छिरेर त्यो कोठासम्म पुग्नु पथ्र्यो । प्रत्येक ढोकामा बन्दुक बोकेका सिपाही तैनाथ थिए । व्यक्तिलाई भित्र बोलाउन भित्री ढोकाबाहिर बसेको एक व्यक्तिले अर्को ढोकाभित्र बसेको व्यक्तिलाई इसारा गथ्र्यो । त्यो व्यक्तिले मूल ढोका भित्र बसेकोलाई अनि उसले वाहिरकोलाई । अन्तर्वार्तामा सामेल हुन आउनेहरुको भीड जम्मा हुन थालिसकेको थियो । कोही काला चिल्ला गाडी चढेर आएका थिए । कोही त्यस्ता गाडीबाट नओर्लिइ भित्रै वसिराखेका थिए । कोही कोही पाठ कण्ठ गरेजस्तो गरी एकान्तमा एक्लै गुन्गुनाइरहेका देखिन्थे । दौरा सुरुवाल कहिल्यै नलाएकाहरु आफैलाई घुमीघुमी हेर्थे । एउटा राम्रो उत्सबजस्तो भएको थियो त्यो भीड ।
पहिलो नम्बरको सहभागीको नाम वोलाइयो । ऊ ठाँटकासाथ भित्र छिर्यो । उसको हिडाइमा एक किसिमको दम नै देखिन्थ्यो । अन्तर्वार्ता लिइने कोठामा छिर्नासाथ उसले आफ्नो आसनमा बसिरहेका महाराजलाई झुकेर अभिवादन गर्यो । अग्लो त्यो व्यक्तिले झुक्दा वाँस नुहिएकोजस्तो दृश्य देखियो । त्यो देखेर दक्षिणतिर बसेका दुई सल्लाहकारहरु मुसुमुुसु हाँसे । महाराजले उसलाई हातको इसाराले अगाडिको मेचमा बस्न भने । ऊ धैर्यताकासाथ बस्यो । उसको बसाइले उसको दर्हो आत्मविश्वास प्रकट गरिरहेको थियो । त्यसपछि त्यहाँ एकछिन सन्नाटा छायो । महाराज चुप थिए । शान्त । उनलाई अन्तर्वार्ता दिन आएको व्यक्ति निकै परिचितजस्तो लाग्यो । त्यसकारण उनी एकछिन केही नवोली बसिरहे । सहयोगी भारदारहरु पनि एक न दुई भएर चुप नै रहे ।
महाराजाले त्यही सन्नाटालाई चिरेर तयारी प्रश्न मध्ये पहिलो प्रश्न सोधे
– तिमीलाई आफू को हुँ भन्ने लाग्छ ?
सहभागी निर्धक्कसाथ उत्तर दिन तयार पर्यो र भन्यो
–मेरो विचारमाÒ…….।
उसले यतिमात्र के भनेको थियो महाराजले टाउको हल्लाइहाले । सहयोगी भारदारहरु पनि छक्क परेजस्ता भए । महाराजले उनीहरूलाई इसारा गरे । त्यो सहभागीलाई त्यहाँबाट बिदा दिइयो । ऊ हातका औँला खेलाउदै, रुमालले निधार पुछ्दै बाहिर निस्क्यो ।
त्यसपछि अर्को सहभागी भित्र छिर्यो । उसैगरि अभिवादन गरी ऊ एकछिन भित्र ठिङ्ग उभियो । उसको उचाइ भने त्यतिको ठीक्कै हो । महाराजले बस्ने इसारा गरेपछि ऊ बस्यो । ऊ बस्नासाथ महाराजाले प्रश्न सुरु गरिहाले
–तिमीलाई आफू को हुँ भन्नेलाग्छ ?
उसले सामान्य खुट्टा चलायो । अनि उस्तै निर्धक्क भएर भन्न सुरु गर्यो
–मलाई लाग्छ म…………।
यसपटक पनि महाराजले सबैलाई छक्क पारे । सहभागीले यति भन्नासाथ महाराज चल्मलाए र सहयोगीलाई इसारा गरिहाले । दोस्रो सहभागी पनि दौरा तान्दै वाहिरियो ।
त्यसपछि पुन अर्को सहभागीलाई त्यही प्रश्न महाराजबाट सोधियो । उसले तत्कालै जवाफ गर्न सकेन । उसले एकछिन सोचेजस्तो गर्यो । भूँइतिर एकटक हेरिरह्यो । त्यसपछि ऊ सिधा भयो अनि छड्केछड्के पाराले महाराजको कुम हेर्दै जवाफ दियो । महाराजले सोधे
–तिमीलाई आफू को हुँ भन्नेलाग्छ ?–महाराज ! म्………।
महाराजले यो सहभागीलाई त आँखा फुकालेर हेरे । महाराज रिसाएकोजस्तो देखेर छेउछाउका भारदारहरु पनि सशंकित भए । तत्काल उसलाई त्यहाँबाट निकालियो ।
त्यहाँ कोही वोलिरहेका थिएनन् । महाराजले दुई गिलास मनतातो पानी पिए । उनको अनुहारमा चिट्चिट् पसिना आए । सहयोगीहरु पनि बोल्न सकेनन् । महाराज अत्यन्तै चिन्तित देखिए । त्यसवीच वोलाइएका दुईचार सहभागीहरू पनि घोसेमुन्टो लाएर फर्किए । उनीहरू बाहिर पुग्नासाथ त्यहाँ उभिइरहेका अन्यहरुले घेरिहाल्थे । पत्रकारहरुले बाटै छेक्थे । सडकका कुनाकुनावाट सर्वसाधारण उभिइउभिइ नतिजा पर्खिरहेका थिए । देश एउटा ठुलो र ऐतिहासिक कार्यको परिणाम कुरिरहेको थियो । धेरैले राजनीतिक दलहरूका गतिविधिमाथि चासो राखेका थिए । तर अखवारहरुले दलका नेताहरू पार्टी कार्यालयमा नभेटिएका समाचार छापेका थिए । एउटा अखवारको प्रथम पृष्ठमा लेखिएको थियो– एक दलका नेताले मोबाइलको स्विच वन्दगरि बसेका छन् र उनले घरको फोन पनि उठाएनन् । घर परिवारहरू पनि उनी कहाँछन् भन्ने यकिनकासाथ भन्नसक्तैनन्…….. । भक्तपुरका ज्यापुहरु बिहानदेखि खेतमा पसेका छैनन् भन्ने समेतको चर्चा अखवारहरुले छापेका थिए ।
अन्तर्वार्ता चलिरहेको थियो । अर्को सहभागी महाराजको प्रश्नको प्रतीक्षामा थियो ।
– तिमीलाई आफू को हुँ भन्ने लाग्छ ? महाराजले प्रश्न गरे ।
उसले उत्तर दियो
– जिन्दगीका यत्रावर्ष पार्टीको दास भएँ, सँगैका साथीभाइ मन्त्री, प्रधानमन्त्री भइसके कतिचोटी । आफू कहिल्यै भइँन, न वैकक् जान पाएँ । न पजेरो नै चढ्न पाएँ । आफूलाई जनताको सेवक भन्थें तर होइन रहेछ । महाराजको सेवक म त, सधैंको ।
महाराज निकै प्रफुल्लजस्ता देखिए । उनले एकछिन त्यो उत्तर दिने व्यक्तिलाई नियाले । कतै देखेको त हो ! उनी दङ्ग भए । छेउछाउका सल्लाहकारहरु पनि खुसी देखिए ।
महाराजले दोस्रो प्रश्न पनि उसलाई सोधे
– तिमी प्रधानमन्त्री किन हुन चाहन्छौ ?
सहभागीमा पनि झनै आत्मविश्वास बढेको थियो । उसले ढुक्क भएर भन्यो
– मेरो विवेक, मेरो……………।
उसको वाक्य यत्तिमै राकिन पुग्यो । किनभने महाराजले देवे्रहात निधारमा लगिहाले । उनले नजिकको गिलासको भरी पानी स्वाट्टै पिए । यो देखेर सहभागी नीलोकालो भयो । सल्लाहकार सहयोगीहरु पनि चिन्तित भए । उसलाई पनि त्यहाँबाट बाहिर पठाइयो । ऊ एकोहोरो अगाडिको भुईँ हेर्दै वाहिरियो ।
बिहानदेखि थालिएको अन्तर्वार्ता । दिउँसोको साढेदुई बज्न लागेको थियो । कुनै नतिजा निस्कन सकेको थिएन । देश एउटा महत्वपूर्ण निर्णयको प्रतीक्षामा थियो । महाराजको चिन्ता हेरिनसक्नुको थियो । उनी छेउको पानी स्वाट्–स्वाट् पिउँथे । रुमाल निकालेर निधार गाला पुछ्थे । दाहिने खुट्टामाथि देव्रे खुट्टा एकछिन चढाउँथे । अनि फेरि फेर्थे । नजिक बसेका सहयोगी भारदारहरु पनि उदास देखिए । उनीहरू पनि के गर्न सक्थे र ? त्यहाँ कसैले भने – यो तरिकाको साटो महाराजले आपनो नैसर्गिक अधिकारे प्रयोग गरी कुनै उपयुक्त व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्छ । कसैले प्रधानमन्त्री नभए पनि देश चल्ने तर्क दियो । उसले कतिपय अरू देशको पनि विवरण पेस गरेको थियो । महाराजले उसको तर्कमा कान ठाडा पारेका त हुुन् तर कसैको कुरा सुनुवाइ भएन । अन्तर्वार्ता सुचारु गर्न महाराजले पुन. अराए । अव त सहभागी ४–५ जनामात्र भएको कुरामा त्यहाँ एकछिन बहस गरियो । अर्को ख्याउटे सहभागीले पनि महाराजलाई निराश पारेर जिव्रोेले ओठ भिजाउँदै निस्क्यो ।
पुन अर्को सहभागीलाई वोलाइयो । महाराज व्यग्र देखिन्थे । ऊ निराशजस्तो देखिन्थ्यो । हतारमा लगाएकोजस्तो देखिने सुरुवाल निकै खजमजिएको थियो । उसको नाक सामान्य मानिसको भन्दा फरक किसिमले उठेको थियो । लगाएको टोपीले छोप्ननसकेका कपालका कतिपय त्यान्द्राहरु सेतै देखिन्थे ।
महाराजको इसारा अनुसार ऊ मेचमा बस्यो । त्यसपछि महाराजले उसलाई पहिलो प्रश्न राखे
–तिमीलाई आफू को हुँ भन्नेलाग्छ ?
उसले डराइडराइ, अनुहार रातोकालो पार्दै एकटक भुइँमा मात्र हेर्दै जवाफ दियो
–पार्टी, जनता भनेको केही पनि होइन रहेछ । स्वतन्त्रता, अधिकार भन्नेकुरा फोगटिया आदर्श रहेछन् । सबैकुरा महाराज नै, सबै आदर्श महाराज नै ।
यस्तो उत्तर सुनिरहेका छेउछाउका सहयोगी भारदारहरु अलमल्ल परिरहेका थिए । उनीहरू महाराजबाट कस्तो प्रतिक्रिया आउने हो भन्ने जान्न आतुर र भयभित देखिन्थे । महाराजको अनुहार एकाएक उज्यालो र शान्त देखियो । उनीहरू पनि सिधा बसेर शान्त भए ।
महाराजले शान्त भएर दोस्रो प्रश्न पनि सहभागीलाई सोधे
– तिमी किन प्रधानमन्त्री हुन चाहन्छौ ?
सहभागी उत्तिकै त्रासमा देखिन्थ्यो । भुईँबाट उसका आँखा दायावाया उठेका थिएनन् । उसले त्यही अवस्थाबाट उत्तर दियो ।
–यो महाराजहरुको देश, सवैकुरा महाराज नै, सबै आदर्श महाराज नै ।
आफ्नो दोस्रो प्रश्नको जवाफ सुनेर महाराज एकदम हलुका भए । उनी कल्पनामा डुवेकाजस्ता भए । वरिपरिका सल्लाहकारहरु पनि महाराजलाई एकटक हेर्नथाले । महाराजलाई त्यो सहभागी निकै चित परिचित हो कि जस्तो लाग्यो । यस्तो मान्छे यत्रो दिन कहाँ थियो भनी उनले छेवैको सल्लाहकारलाई प्रश्न गरे । सल्लाहकार के भनँु–के भनुँ भई एकछिन अडियो अनि गएर आफ्नो कर्सीमा बस्यो ।
सहभागी अझै पनि उस्तै भयभित थियो । घोसेमुन्टो लाइराखेको । दुईखुट्टा फारेर बसेको । दुईहात दुवैतिर टेकेको । वेलावेला देव्रेहातले नाक कोट्याउँथ्यो ऊ । महाराजले अर्को प्रश्न पनि उसलाई गरिहाले
–तिमीले यो देशको भविष्य कस्तो देखेका छौ ?
अघि वसिराखेकै अवस्थाबाट उसले जवाफ दियो
– पार्टी, प्रजातन्त्र, प्रेस, पसिना केही पनि होइनन् । सवैकुरा महाराज नै, सबै आदर्श महाराज नै ।
यो उत्तर सुनेर महाराज अत्यन्तै दङ्ग परे । उनले टाउको हल्लाउँदै दायाँवायाँ हेरे । मुस्कुराइरहेका महाराजलाई देखेर सहयोगीहरु पनि मुस्काए । उनले एकछिन शान्त भएर आँखा चिम्लिए । पुन खोले । त्यो सहभागी त्यही मुद्रामा बसिरहेको थियो । उसको त्यो चाल देखेर नजिकको महाराजको सहयोगी चिन्तित देखियो । ऊ एकछिन् चलमलायो । छेउको साथीसँग खासखुस गर्यो । अनि ऊ महाराज छेउ विस्तारो आयो र भन्यो – महाराज यो अर्धपागल त छैन ? महाराजले उसको कुरामा वास्तै गरेनन् । ऊ चुपचाप आप्नो कुर्सीमा फक्र्यो ।
महाराजलाई त्यो सहभागीलाई अर्को प्रश्न पनि सोध्न मन लाग्यो । उनले यो इच्छा पनि पुरा गरिहाले । उनले सोधे
–संविधान भनेको के हो ?
सहभागीले भयभित मुद्रामै जवाफ दियो
– सवैकुरा महाराज नै, सबै आदर्श महाराज नै ।
महाराजले उसलाई जान इसारा गरे। ऊ लुरुलुरु वाहिरियो । महाराजले सहयोगी ,सल्लाहकारहरु तर्फ फर्किए । उनीहरू अलमल्ल परे । त्यसको आधाघण्टापछि अन्तर्वार्ता सकियो । अव नतिजाकोेमात्र काम बाँकी थियो ।
त्यस वेलुकी दरवारवाट सूचना टाँसियो र विज्ञप्ति पनि जारी गरियो ।
यो खबरलाई भोलिपल्ट अखवारहरुले प्रधानमन्त्रीको फोटो सहित प्राथमिकताकासाथ प्रस्तुत गरेका थिए । अखवारमा एउटा कपाल फुलेको, दुव्लो, नाक सामान्य मानिसको भन्दा फरक किसिमले उठेको, पुरानो मोडलको चस्मा लाएको भयभित अनुहार भएको मान्छेको फोटो छापिएको थियो ।
(श्रोत:- WNSO)