यत्रो वर्ष बन्दुक बोकियो, अहिले क्यै न क्यै

~दीपेन्द्र ठकुरी~

‘दाजु तमी पनि! त्यो मु** को घर हेरी मलाई क्या निको हुन्या हो र?’

‘उ हेर सन्तोषको घर,’ नेपालगन्ज न्युरोडको आधाआधी पुगेपछि सेतु बिकचोकको छेउपट्टीको तीनतले घर मैले वीरेलाई देखाउनुअघि नै उ आक्रोशमा आइहाल्यो।

म मौन रहेँ, म अनविज्ञ छैन उसको वास्तविकता र बाध्यताका उपजसँग।

रिक्सा भेरी अस्पतालतिर कुदिरहेको छ। वीरबहादुर मौन छ। बेलाबेला सुस्केरा हाल्छ।

‘तेइ बेला इन्डिया गया भए बालबच्चाको भविष्य त हुन्थ्यो,’ म उसको तर्कनासँग निष्क्रिय रहेँ।

मसँग उसलाई दिन केही जवाफ थिएन। मौनता अस्पताल गेटमा पुगेर टुंगियो।

कुरा ५६ सालतिरको। गाउँघरतिर युद्ध फुल्थ्यो हरेक युवामनमा। त्यो प्रायोजित थियो वा स्वस्फूर्त- भन्न सक्दिन। सुदूर पहाडमा त्यो बेलासम्म हजुरआमाले प्रहरी भन्न नजानेर ‘डोर’ भन्नुहुन्थ्यो। अधिकाशं मानिस बर्खामा खेती गर्न गाउँ आउँथे नत्र धेरैजसो समय कालापहाडतिर, पुनातिर, महाराष्ट्र, बम्बैतिरै बिताउँथे। उतैबाट आयातीत एचआइभीको हिसाबकिताब झन् विकराल थियो। आँकडाहरु भन्छन् नेपालमै सप्पैभन्दा बढी यो रोग बोकेका मान्छे हाम्रै जिल्लामा छन्। कुरा कता पुगेछ बग्दै जाँदा।

५६ सालतिर माओवादीहरु अछामतिर आधारइलाका घोषणा गर्दै थिए। शुक्रबार स्कुलमा हाम्रा सिर्जनात्मक गतिविधि ठ्याम्मै बन्द थिए। बरु त्यो बेला उनीहरुका विभिन्न सांस्कृतिक कार्यक्रम देख्न पाइन्थ्यो। गिरिजा र देउवाको सत्ताकिचलो केन्द्रित नाटकहरु बहुतै चाखलाग्दा हुन्थे। नयाँ नेपालका गफ हाँक्न जुनसुकै बेला जुनसुकै पिरियडमा उनीहरु आइपुग्थे। सरहरु पनि पढाउँदा पढाउँदैको पाठ छाडेर बाहिरिन्थे। कहिलेकाहिँ लाग्थ्यो परिवर्तन भन्या यही हो। माओवादीको जनयुद्ध नै एकमात्र विकल्प हो। त्यही अग्रगामी सोचले स्कुल रित्तियो, त्यही अग्रगामी सोचले गाउँ रित्तियो। मंगलसेनमा एसएलसी तयारीको ट्युसन पढिरहेकै बेला ठूलो लडाइँ भयो। गाउँमा सेना पस्यो। बलात्कार, हत्याका दर्जनौं समाचार सुनेपछि मलाई बाले गाउँ जानै दिनुभएन। अनि आइपुगेँ नेपालगन्ज। बेलाबेलामा थकथक लागिराख्थ्यो, ‘जनताको युद्ध’मा सहभागी हुन नपाएकोमा। बाले नबुझेजस्तै लाग्थ्यो त्योबेला। जतिबेला पनि ‘पढ्, त्यत्तै केही गर, गाउँ आउन पर्दैन’ भनेको सुनिरहँदा।

मेरो फुपुको छोरा त युद्धमा लागेछ, पछि सुनेँ मैले। उमेर उस्तै भए पनि म नातामा दाइ पर्थेँ वीरबहादुरको। वीरे मैले उसलाई बोलाउने नाम थियो।

‘स्याल जसरी मार्छम् दाजु शाही सत्ताका टट्टुहरुलाई।’ दसैंमा भेट हुँदा यस्तैगरी युद्धका नालिबेली सुनाउँथ्यो उसले।

‘दाजु तमि पनि आइजाओ हामीसँगै तमिजस्तो पढेलेखेको मान्छेको खाँचो छ हाम्रो पार्टीलाई,’ उ मलाई भन्थ्यो। म मौन बस्थेँ।

फेरि उसैले सुनाउँथ्यो, ‘देशमा वर्गीय भेद छ। मुक्ति एकमात्र लक्ष्य हो जनयुद्धको, २ सय ४० वर्षे राजतन्त्र सेलाउनु अति आवश्यक भइसक्यो।’ आदिआदि।

पछि एकदिन वीरेको तिघ्रामा गोली लागेको खबर सुनेर निराश भएँ।

‘सन्चो भैसकेँ दाइ, गोली निकाल्नपर्ने हो मिल्यो भने,’ धेरैपछि भेट्दा उसले यस्तै सुनाएथ्यो।

युद्ध झनै चर्कियो। जनआन्दोलन भयो। चुनाव भयो। धेरैथोक भयो। कठै त्यो ६४ सालतिरको नयाँ नेपालको जोश!

कयौं वीरेहरुको बलिदानीपछि माओवादी चुनाव जितेर सिंहदरबार पस्यो। कुन्नि किन हो क्रान्तिले अब बाटो फेरेथ्यो, दुश्मन फेरेथ्यो, लक्ष्य फेरेथ्यो। हुँदाहुँदा कार्यकर्ता फेर्दैथ्यो।

‘दाइ मलाई त इन्चार्जमा पनि पत्याएन पार्टीले,’ धेरैपछि वीरबहादुरको फोन आएथ्यो।

म स्तब्ध भएँ। पार्टीमा त्यत्रो वर्षको लगानी खेर जाने भो भन्ने लागेर छटपटाएँ।

‘पोस्टका लागि राजनीति गर्या त होइन, तैपनि यत्रो वर्ष बन्दुक बोकियो, ज्यान हत्केलामा राखियो तर अहिले क्यै न क्यै।’

म मौन। के बोल्नु? उसलाई था छैन र स्खलित उसको महान जनयुद्धको हालत?

‘सन्तोषेले पैसाका खात लायो रे दाइ, अनि हाम्लाई काँ गन्थे र पार्टीमा,’ उ त्यो पात्रको नाउँ लिँदैथ्यो जो समयानुसार पन्चे, काङ्ग्रेस,

एमाले सप्पैमा नाउँ लेखाइसक्न सफल थ्यो। अहिले उसको टार्गेट मा­ओवादी भएछ। मनमनै सोचें, ‘उस्को गैरकानुनी जटिबुटी ओसारपसारले अब वैधता पाउने भयो।’

‘हो र भाइ, तेसो भए तिमीहरुको नयाँ इन्चार्जको नयाँ ठडिँदै गरेको महलको राज यस्तो पो रैछ त,’ हैसियतभन्दा साह्रै ठूलो सन्तोषको निर्माणाधीन घर सम्झिँदै मैले भनेँ। यो पाला उ मौन रह्यो।

‘साला जिन्दगी, पोहोर तेत्रो महिना काठमाडौं गएर बसेँ, खुट्टोको अप्रेसन गर्दिन्छन् कि भनेर। लास्टमा फर्काएदिए,’ एकछिनको मौनता तोडेर रुँलाजस्तै गरी वीरे फोनमा बोल्दैथ्यो।

म वीरेको पीडा आँकलन गर्न सक्थे। उसले धेरै थोक गुमाएथ्यो युद्धमा पसेर। जवानीका उर्जाशील वर्षहरु खेर फालेथ्यो। ‘खेर’ नै भन्छु म, उपयोग या सदुपयोग त कसरी भन्नु र! न उस्को कदर छ, न उसकै काखमा तातो गोली खाएर मर्नेहरुको।

‘आउ यतै भेरीमा ट्राई गरम्ला नत्र लखनौउसम्म पुगम्ला,’ फोन राख्नुअघि उसको तिघ्राको गोली निकाल्ने जिम्मा लिँदै मैले भनेथेँ।

(श्रोत:- Setopati )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.