कथा : हेम सुब्बाले पान खाए

~डा. ध्रुवचन्द्र गौतम~

हेम सुब्बा त्यस सहरमा नौलो आएका थिए । पुड्के काँटीका हेम सुब्बा पिचरोडमा जुत्ता बजाई जब हिड्थे, तर नगरका धेरै महाजनहरु दोबि्रएर नमस्कार गर्थे । यीनी पनि भलादमी थिए, मन राख्नलाई सबैको नमस्तेको जवाफ दिन्थे । वास्तवमा यीनी कारमा कारण पनि के हो भने, कारले जनसम्पर्कमा बाधा दिन्थ्यो । हेम सुब्बा नगरमा रातारात प्रसिद्ध भए । उनको व्यक्तित्वको बयान सहरको कुना काप्चामा समेत हुन थाल्यो । उनको पुड्को व्यक्तित्वको सहरको सम्पूर्ण क्षेत्रफल ढाक्यो । उनको बोलीको विनम्रताको चर्चा चल्न थाल्यो । उनको शिष्ट व्यवहारको गुणगान हुन थाल्यो ।

उनको उदारता अगाध थियो । उनका विभिन्न बानी व्यहोराको घरघरै चर्चा चल्यो । हेम सुब्बा कार चढ्दैनन् । हेम सुब्बा पावरदार चस्मा लगाउँन् । हेम सुब्बा नोट आˆनो हातले छुँदैनन् । हेम सुब्बा घडी बाँध्दैनन् । हेम सुब्बा रक्सी खाँदैनन्, चुरोट खाँदैनन् । हेम सुब्बाकी स्वास्नी छैन । यी बानीहरुमा चस्मा लाउने बानी त छाडिदिउँ । अरु उनका बानीहरुको चाहिँ ।एक एक ओटा विकल्प थियो । जस्तै -हेम सुब्बा कार चढ्दैनन् ! जिप चढ्न सक्छन् ।उनी नोट आफ्नो हातले छुँदैनन्-त्यस कारण उनको बगलीभरि मोहर र सुकीहरु हुन्छन् ।हेम सुब्बा घडी बाँध्दैनन्, एउटा सुनको जेबी घडी राखेका छन् ।हेम सुब्बा रक्सी खाँदैनन्-बियरले उनको काम चल्छ, उता चुरोट खाने तलतल सिगारले मेटिन्छ ।हेम सुब्बाकी स्वास्नी छैनन् (डेलीभरी केशमा मृत्यु भएकाले)-उनका एलबममा ४-५ तरुणीको तस्बीर चाहिँ छ ।भने यी बानीहरुबाट उनको केही त्याग देखिए पनि, उनलाई असाधारण वा अनौठा मनुष्य मिल्दैन । चर्चाले नै मानिस असाधारण हुन्छ र ? उनी एउटा स्वस्थ्य र सामान्य पुरुष थिए । अलि अलि भकभके हुनु बाहेक उनको बोली बचन पनि मिठो मानिन्थ्यो । तर उनका एक र्दु बानी भे अवश्य विचित्र थिए । हेम सुब्बा पान खाँदैनथे ।सहरमा भने पानको निक्कै चल्ती । जसको हेर्‍यो मुखै रातो । उनी चाहिँ सुपारिसम्म खाइदिन्थे । तर पान खाँदैनथे । तर सुपारी एक्लैले मुखको शोभा बढाउँदैन ।

सहरमा एउटा साहु थियो । पान खान र खुवाउनमा बडो मनकारी । उसले देख्यो हेम सुब्बाले गर्दा नगरको परम्परा भङ्ग भैरहेको छ । संस्कृतीमा धक्का पुग्न आँटयो ।

साहुले फागुको दिन पारेर स्टेनलेसस्टिलको प्लेटमा ठूलठूला बिरा पान सजाएर लग्यो । निवेदन गर्‍यो -’हजुर आजको दिन त यो खानै पर्‍यो !’ हेम सुब्बा आगो भए -’तिमीलाई थाहा छैन, म पान खान्न भनेर ? पानले मुख रातो पारेर रगत दलेर देखिन चाहन्न म । क्यान्सर गराउँछ पानले, फर्काइहाल्नुहोस् !’हेम सुब्बाले अबिर लाए, मसला सुपारी खाए, तर पान खाएनन् । साहु निकै चिन्तित भयो ! अब यहाँको चलनलाई मार्ने त ?उसले दोस्रोपल्ट प्रयास गर्‍यो । उसकी छोरोको बिहामा हेम सुब्बालाई निम्त्यायो । हेम सुब्बा आए । साहुले चाँदीका प्लेटमा मसला हालेको पहेला पानको बिराहरु टक्र्‍यायो । भन्यो -’हजुर, मेरो छोरोको विवाहको उपलक्ष्यमा, यो स्पेसल पान हो ।’एकपल्ट हेम सुब्बा शान्त भएर भने -”साहुजी, मलाई पानले निको गर्दैन, धन्यवाद, बरु मसला खान्छु ।”

साहुले मसला दियो । हेम सुब्बाकी छोरीको बिहे थियो । हेम सुब्बा अती चिन्तित झै थिए । के गर्ने, कसरी गर्ने ? छोरीको बिहा गर्न भन्या त महाभारतै जस्तो हुँदो रहेछ । सहरका सबै गन्यमान्यलाई डाक्दा ईज्जतको विचार राख्नै पर्‍यो, आफ्नो पनि उनीहरुको पनि । भने निक्कै धुमधामको तयारी हुन थाल्यो ।बिहाभन्दा दुईदिन अघि साहुँ आइपुग्यो र भन्यो -’हजुर हाम्रा कुनै सेवा ?”कुनै खास छैन साहुजी, चिन्ता चाहिँ लाग्ने नै भयो ।’ सुब्बाले भने । “केही चिन्ता गर्नु पदैन हजुर, हाम्री छाँदैछौ नि ।” साहुले भन्यो -’हजुरको यत्रो सम्पत्ति चारजना छोरीको बिहा गरेर घट्छ र ? घट्यो भने पनि भगवान प्रसन्न भएपछि फेरि भरिदिन्छन् ।’केहीवेर विवाहसम्बन्धी अरु कुराहरु भए । त्यसपछि साहुले प्लेट बिस्तारै ल्यायो । यसपल्ट सुनको । कुन्नि जलप मात्र थियो कि सुनै थियो । साहुले पान पनि लिएरै आएको रहेछ क्यार । प्लेटमा सजायो । चाँदीको वर्क लगाएको मसलादार पान, गुलाबजल सुगन्धित ।साहुले भन्यो -’खानुस् हजुर, छोरीको बिहे छ, रमाइलो गुर्नस् । हजुरकी छोरी मेरी पनि त छोरी हुन् ।’साहुले निकै मार्मिक र घतलाग्दो कुरा गरेको थियो । हेम सुब्बाले भने -’साहुजी यसले बिगार गर्ने हो कि ?”गर्दैन हजुर, केही विगार गर्दैन । मैले ठूलाठूला मानिसलाई पनि कती ख्वाएको छु, कसैलाई बिगार गरेन । यसले त रगत बढाउँछ, खानेकुरा पचाउँछ । एकपल्ट खाएर त हेर्नुहोस् ।’

यसपल्ट हेम सुब्बाले त्यो प्लेट ताने । पान हाले मुखमा र बिस्तारै त्यसको स्वाद र रसको आनन्द अनुभव गर्दै भने -’साहुजी, पान त ज्यादै रिसलो पो हुँदो रहेछ, मलाई त यती दिन थाहै थिएन ।’साहुले मुसुक्क हाँसेर भन्यो -’हजुरको यही एउटा बानीमा कैफत थियो, अरु त हजुर हीरा हुनुहुन्छ हीरा ।”अब फेरि कहिले पान ख्वाउनुहुन्छ त साहुजी ?’

‘अहिल्यै हाजिर गर्छु हजुर !’ साहुले भन्यो र खल्ततीर हात हाल्यो ।यसपल्ट हेम सुब्बाले पानको डब्बल बिरा लिएर प्रसन्न भएर मुखमा हाले । त्यसपछि साहुलाई, अब आउँदा पनि नलिई नआउनु भन्ने हिदायत दिए अनि साहुले ठिक्क पारिराखेको जिपमा छोरीको बिहेको किनमेल गर्न हिडेँ ।

(स्रोत :- किरण रिमालबाट  सम्पादित ‘नेपाली कालजयी कथासंग्रह’ बाट)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.