~सन्तोष खतिवडा~
कोठाका अरु प्रत्येक सदस्यहरु मौन छन् । मात्र टेबुलबाट काठेकिरा मन्द रुपमा चुइँ चुइँ….कराइरहेको छ । म यतिखेर पनि उत्तानो पल्टेर सुतिरहेको छु । भर्खरसम्म भान्छा कोठाबाट आएको भाँडाको आवाज पनि हराउन थालिसक्यो । कोठाको सुनसान वातावरणलाई ढोका खोलिएको आवाजले चिर्छ । फेरि देख्दछु, त्यहीचेहरा जसलाई मैले विगत दुई बर्षदेखि देख्दै आएको छु । संसर्गले माया जन्माउनुपर्ने, आलिङ्गन र स्पर्शका काउकुति संगै मायाको घेरा तन्किदै जानुपर्ने । फेरि किन २ बर्षदेखि एउटै खाटमा सुत्ने गरेकी मेरी श्रीमती, किन त्यसको पटक्कै माया लाग्दैन मलाई ?
‘खुट्टामा तेल लगाउने हैन ?’ उ मेरो खुट्टा नजिक आएर खाटको डिलमा बस्दै सोध्दछे ।
‘लाउँदिन म’ अपुरो र अलि कडा जवाफ दिन्छु म । उ केही नबोली दरफरिएका र फुटेका हातले मेरो खुट्टा सुम्सुम्याउन थाल्दछे । फेरि कोठामा मौनता छाउँछ । त्यही मौनताको प्रतिकुल फाइदा उठाएर अझ जोडले चुईंकिराखेको छ काठेकिरा । एकछिन पछि त्यही काठे किरालाई साथ दिन्छे मेरी श्रीमती ।
‘आज दुई बर्ष भयो हजुर र मेरो विवाह भएको त्यस्तो कुनै दिन छैन हजुरको मुहार हँसिलो भएको होस् । के कमी छ मेरो सेवामा ? के म हजुरको योग्य नभएर हो ? किन म हजुरलाई कहिल्यै खुशी देख्न सक्दिन ? भन्नुहोस् न म के गरौं हजुरलाई खुशी पार्न ……….. ।’
उ अझ के के भन्दै हुन्छे । म एकाग्र भएर उसको कुरा सुनेकै हुन्न तर पिडँुलामा एक्कासी चिसो पानीले स्पर्श गर्दा म उठेर हेर्न बाध्य हुन्छु । देख्छु उसका आँखा रोइरहेका छन् । मलाई झनक्क रीस उठेर आउँछ । सम्झन्छु त्यही विगत जतिबेला म थिएँ, अनि मेरो साथमा मात्र बिनु थिई ।
मैले जिस्केर अरु नै केटीसँग विवाह गर्छु भन्दा कसरी रोएकी थिई बिनु । उसका रुवाई एकनाश घुँक्क घुँक्कमा बढिदिँदा झण्डै मेरा आँखा पनि रसाएका थिए । विगतकी बिनु र वर्तमानकी सरुमा के अन्तर ? दुवैका रुवाई एउटै । प्रदर्शन, मायाको प्रदर्शन, क्षणिक प्रदर्शन मैले अरु केटीसँग विवाह गर्छु भन्दा रुने बिनु, कसरी गएकी थिई मलाई छोडेर । उसले आफ्ना बुबा आमासँग भनेकी थिइ रे -’मैले उसलाई माया नै गर्दिन । उ एकोहोरो छ, वाध्य गराउँछ, त्यही बाध्यताका उपज मबाट गरिएको मानवीयताको प्रतिक्रियालाई माया सझिन्छ उ ।’
हो त्यही बिनु जसले देवीको मन्दिरमा गएर मलाई जीवनभरी साथ दिने कसम खाएकी थिई । त्यही बिनु, जोसँग मैले जिन्दगीका अविस्मरणीय क्षणहरु बिताएको थिएँ । त्यही बिनु, जसलाई म अति माया गर्दथेँ । संगै बस्दा मेरो ज्याकेटमा टाँसिएको उसको कपालको रौं जम्मा पारेर राखेको थिएँ मैले । मलाई उसको केश राशीदेखि खु्ट्टाका नसा-नसा पनि आफ्नो लाग्दथ्यो । त्यही बिनु, जसले मेरो मायालाई खिल्ली उडाएकी थिई । जसले मेरो बाटामा सफलताका नरोकिने भेलहरुलाई बाँध बाँधिदिएकी थिइ । अनि मेरो मनभित्र सम्पूर्ण स्त्री जातिको लागि घृणा सृजित गराएकी थिई । साँच्चै केही भिन्नता पाउँदिन म सरु र बिनुको आँशुमा ।
टाउको उठाएर हेर्छु, सरु मेरो खु्ट्टा नजिक टाउको राखेर निदाईरहेकी छे । मलाई सरुदेखि रीस उठेर आउँछ । खु्ट्टाले हिर्काउन मन लाग्छ । फेरि त्यसो गर्दिन म, कडा स्वरले बोलाउँछु -’सरु राम्रो सँग सुत’ उ आँखा उघार्छे । उसका आँखा रातो भएको देख्छु । सायद धेरैबेर रोइछ । नक्कली रुवाई, किन रुन परेको होला नि । मनमनै भन्छु । फेरि उसलाई केही भन्दिन । उ केही नबोली चुपचाप सुत्दछे । साँच्चै, सरु र ममा यो दूरी केले ल्यायो ? थाहा छैन मलाई कहिलेकाहीँ नारीको छुच्चो मुख शत्रु भइदिन्छ । नमिठो बोलीले मायालाई बिस्थापित गरेर निर्दयी बनाइदिन्छ । तर सरुले आजसम्म मसँग नमिठो बोली बोलेकी छैन । फेरि किन म सरुलाई माया गर्न सक्दिन ? किन उसलाई देख्ने बित्तिकै रीस उठ्छ मलाई ?
‘चिया पिउने हैन ?’ सरु चियाको कप बोकेर मेरो अगाडि उभिरहेकी छे । निद्रा खुलिसकेपनि मैले ओछ्यान छाडेको छैन । ‘त्यहाँ राख’ मेरेा सिरान छेउको सानो टेबुल देखाउँदै भन्छु । उ आफनो मनको सारा पीडालाई लुकाएर खिस्स हाँसेर बाहिरिन्छे । म उसलाई ढोका बाहिर नपुग्दासम्म हेरिरहन्छु । आज किन किन शरीरका अंगहरु दुखे झैं लाग्दैछ । टाउको मन्द दुखिराखेको छ । काम गर्ने जाँगर नै छैन । सुतौं सुतौं जस्तो लागिराखेको छ । म आफुलाई सम्हाल्नै नसकेर घर आईपुग्छु । ‘हजुरलाई सञ्चो भएन ?’ आत्तिँदै सरु म नजिक आइपुग्छे । ‘हैन’ म रुखो जवाफ दिएर खाटमा पल्टिन्छु । उ म नजिक आएर म सुतेर बाँकीरहेको ठाउँमा आफनो शरीरको एक चौथाई भाग अड्याएर बस्छे । म आँखा चिम्लन्छु । निधार चिसो भएको महसुस हुन्छ र आँखा उघार्छु । सरु मेरो निधारमा चिसो रुमाल राखिदिँदै हुन्छे । मैले आँखा खोल्ने बित्तिकै उ रुन्चे हाँसो निकाल्दै बोल्छे -’कस्तो ज्वरो आएको ? चिसो पानी पट्टलिे अलि घटे जस्तो छ ।’ हजुरलाई गाह्रो भइरहेछ ?उ घाँटीमा स्वर अड्काएर सोध्छे । म भने केही उत्तरै दिन्न । मेरो सामुन्नेको भित्तामा टाँगिएको घडि हेर्छु । रातको १२ बजिसकेछ, कस्तो निदाइएछ । सात बजे सुतेको थिएँ । उठ्न खोज्दछु । तर रिगँटा लागेर आउँछ । टाउको दुख्न थाल्दछ सम्हाल्नै सक्दिन म आफ्नो शरीरलाई ।
सरु जुरुक्कै उठ्छे मेरो पाखुरामा समातेर भन्छे -’हजुरलाई ज्वरोले कमजोर बनाएको छ । किन उठ्न पर्यो ? हजुरलाई मैले अनारको जुस बनाईदिएको छु, अलिकति पिउनुस है ।’ उ फेरि मौन हुन्छे । अनि एकै छिन पछि म उसलाई सोध्दछु -’तिमिले के खायौ नि ?’
उ त्यही रुञ्चे अनुहार लगाएर भन्छे – ‘हजुरलाई सञ्चो भएन, अनि हजुर सुतेदेखि नै यहीँ छु, अब वनाउँछु नि ।’
‘अहिले कति बज्यो थाहा छ तिमीलाई ?’ म अर्को प्रश्न राख्दछु । उ झस्केर घडि हेर्दछे । मानौं उ भर्खरसम्म समय बिनाको संसारमा थिई ।
‘ओहो १२ पो बजेछ’ उ नाडी घडीलाई अर्को हातले बटार्दै भन्छे । ‘भोक लागेको छैन तिमीलाई ?’ म फेरि अर्को प्रश्न राख्दछु । आजसम्म हामीबीच यति लामो कुरा कहिल्यै भएको थिएन । यद्यपि उ त्यसैको प्रतिक्षामा थिई । त्यसैले सायद आज उसको दुःखभित्र पनि खुशीको अनुभुति गरिरहेको छु म ।
‘अहँ छैन त, मैले हजुर आउनु भन्दा एकैछिन अघि खाजा खाएथेँ’ उसले भनी ।
‘एऽऽ….’ भन्दै म बुझेजस्तो गरि टाउको हल्लाउँछु । यद्यपी दुईबर्ष यतादेखि उ, म आएपछि मात्र खाजा खान्थी ।
उ कुरालाई छल्न खोज्दछे -’हजुर अलिकति जुस पिउनुहोस् न ।’ ‘पहिला तिमी केही खाऊ, जाऊ’ म उसलाई धकेल्दै भन्छु ।
मलाई आफैंलाई अचम्म लाग्दछ । आज किन यति लामो कुरा गरिराखेको छु म ऊसँग ? किन आज ऊसँग कुरा गरिरहन मन लागिरहेछ मलाई ?
हजुर खानुहोस न पहिला, हजुरले नखाई मैले कहिल्यै केही खाएको छु र ? मलाई झट्ट बिनुको याद आउँछ । जसले कुनै रेष्टुरेण्टमा मैले नखाई कोक छुँदै, छोएकी थिईन । मैले जुठो हालेपछि वल्ल खाएकी थिई उसले । साँच्चै बिनु र सरुमा के अन्तर ? तर अन्तर छ । बिनुको त्यो देखासिखी थियो । त्यहाँ, प्रेम र कर्तव्य भन्दा बढी औपचारिकता वा वनावटीपन थियो । तर उ त दुई वर्षदेखि त्यही गर्दै आएकी छे र सायद जीवनभर गरिरहन्छे । त्यहाँ प्रेम छ, साँचो प्रेम, कर्तब्य छ र यथार्थता पनि छ । उ गिलास लिएर आउँछे र हातको गिलास मलाई दिन्छे । र मेरो मुखमा हेरिरहन्छे । मानौ उसले मलाई पहिलोपल्ट देखेकी हो । मैले गिलास समातेपछि उभान्छातिर जान्छे ।
बिनु, उसको प्रेममा देखासिकी थियो । प्रेम जीवनमा गर्नैपर्छ भन्ने मान्यताको उपज हृदयभन्दा बढी मस्तिस्कबाट निकालिएको औपचारिकता थियो । भनाईमा आफूभन्दा धेरै माया गरेपनि आˆनो खुसी र सुखका लागि क्षणमै लत्याउन सक्ने स्वार्थको प्रतिविम्व थियो । त्यसैले त लत्याईदिई उसले मलाई । तर सरु मेरो माया नपाएपनि, कर्तव्यको कवज लगाएर मेरो अनवरत सेवा गर्दछे । उसको माया हृदयबाट निक्लिएको स्वच्छ माया थियो । यदि नहुँदो हो त म निदाएको बेलामा पनि उ किन म नजिक बसेर पानी पट्टी लगाई रहन्थी ? साँच्चै बिनु मेरो आत्मालाई भन्दा आवरणलाई प्रेम गर्दथी । त्यसैले त रोजेर छाडिदिई मलाई । तर सरु मलाई प्रेम गर्छे, मेरो आत्मालाई ।
यस्तै अन्तर खोज्दै थिएँ । सरु कोठाभित्र आउँछे । ‘सरु मैले तिमीलाई कहिल्यै माया गरिन हगि ?’ एक्कासी मैले प्रश्न गरें । उ अब पूर्ण रुपले हाँसिसकेकी हुन्छे । उसको चेहेरामा दुःखका एउटा पनि अवशेष भेट्टाउँदिन म । उ हाँस्दै भन्छे , किन मैले कहिले हजुरले माया गर्नु भएन भनेकी छु र ? उ त्यति भनेर म नजिक आएर बस्दछे । किनकिन आज मलाई सरुसँग बोलिरहन मन लाग्छ । सायद त्यसैले होला म सरुलाई, बिनुको सम्पूर्ण कथा सुनाइदिन्छु । बिनुलाई मैले मन पराएको, मैले पाएको, हामीले सँगै बाँच्ने मर्ने कशम खाएको अनि बिनुले मलाई कलंड्ढति बनाउँदै छोडेर गएको । सबै कहानी सुनिसकेपछि ऊ आँखाभरी आँशु बनाएर भन्छे -’हजुरलाई मैले विवाह गर्नु अगाडि नै चिनेको भए, म जस्तो परिस्थितमा पनि हजुरलाई बिनु दिलाएरै छाड्दथे ।’
उसका आँखा रोएको देखेर, मेरा आँखा पनि करीब करीब रसाउन खोज्छन् । मैले कर गरेपछि उ सुत्दछे र तुरन्त निदाईपनि हाल्दथे । तर मलाई अघि धेरैबेर सुतेकोले हो वा किन हो कुन्नि निद्रै लाग्दैन । यतिखेर कोठा मौन हुन्छ । कोठाको मौनतालाई मेरो सरुको रुन्चे स्वरले चिर्दछ । उ निन्द्रामा नै बरबराई राखेकी हुन्छे । ‘हजुर मसँग रिसाउनु भएको हो ? हजुरलाई खुशी पार्न म के गरौं ?’ उसका काँपिरहेका ओठ नजिकै आँशुको थोपा बग्दै हुन्छ । हेर्छु उ निद्रामै रोइराखेकी छे । मलाई किनकिन रोउ“ रोऊँ लाग्छ । मुटुमा कता कता दुखे झैं लाग्छ । अनि उसका ओठ, निधार र गालामा लगातार चुम्न मन लाग्छ । उसका आँशुको थोपाहरु पुछ्दै म मनमनै निक्र्यौल निकाल्छु – प्रेम हृदयसँग हुन्छ, आत्मासँग हुन्छ, र दीर्घकालिन हुन्छ । साँच्चै प्रेम शब्द एउटै भएपनि एउटै शब्दमा पनि अन्तर छ, ठूलो अन्तर छ ।
(श्रोत:- अन्तर्जाल)