कथा : सपनामा एक्लो मान्छे

~घनश्याम शर्मा ~Ghanashyam Sharma

एकाबिहानै उसले आँगनमा उभिएर छर्लङ्ग उघ्रिएको आकाशतिर हेर्दै लामो हाई काढी । कति स्निग्ध र सफा आकाश । सिङ्गो आकाशलाई चारैतिरबाट नियालेर हेरी उसले । पूर्व, पश्चिम, उत्तर दक्षिण चारै दिशा जता हेर्दा पनि उस्तै सफा र कञ्चन । आँगनको डीलमा रोपिएको गुलाफको बोटमा हेरी एउटा फूल फक्रनै आँटेको । शरद्यामको चिसो सिरेटो खसेर कोपिला खुम्चिएको होला, यस्तै अनुमान गरी उसले । उसका आँखा अगाडिको यो गुलाबको बोट दस वर्ष पहिले पनि यसै गरी फुल्ने गथ्र्यो, पन्ध्र वर्ष अघि पनि उसरी नै फुल्थ्यो, ओहो ! उसले गन्दै थिई बीस वर्ष भएछ । झण्डै दुई दशक लामो समय । उसको जीवन त्यही गुलाबको झ्याँङ् जस्तै कक्रक्क भएको हो कि ! आँगनको डिलबाट पर क्षितिजसम्म आँखा घुमाई । राती देखेको सपनाको सम्झना गर्ने कोसिश गरी:

दिनभरको घरायसी कामको थकाईबाट चुर भएकी ऊ विस्तारै भरेङ उक्लिंदै थिई । उसको टाउको रिङाएको थियो । भाउन्न छुट्ला जस्तो भएको थियो । भरेङबाट उक्लन असमर्थ ऊ तल झर्नु र माथि उक्लिनुको दोसाँधमा थिई । अचानक उसलाई पछाडिबाट कसैले धकेलेको महसूस भयो । ऊ सजिलै माथ्लो तलामा पुगी । पछाडिबाट उसलाई धकेल्ने दिवश थियो । उसैको लोग्ने । दिवशले उसलाई विस्तारै छेउमा बस्न भन्यो । आफ्ना कोमल हातले उसलाई स्पर्श ग¥यो । एउटा छुट्टै अनुभूति भयो उसलाई । धेरै दिनपछि लोग्नेले माया गरेको क्षण ! उसका निम्ति अत्यन्त खुशीको क्षण ! उसलाई लाग्यो यो समय छिट्टै नघर्कियोस् । यो क्षणलाई बाँधेर राखिरहन मन लाग्यो । उसले पनि लोग्नेको काखमा टाउको अड्याई । ऊ धेरै बेर रोईरही । उसको बोली फुटेन । उसले लोग्नेलाई धेरै कुरा सुनाउन खोजी । भन्न खोजी भन्न सकिन, गला अबरुद्ध भयो । बजाउँदा बजाउँदै तार चुँडिएको सारङ्गीको धून जस्तो । सारङ्गी छ , धून छैन । धून बिनाको सारङ्गी, लोग्ने बिनाको जीवन । अवरुद्ध कण्ठले लोेग्नेका आँखामा एकपटक नियाली रही । विचरा लोग्ने दुब्लाएको थियो । दाह्री, जुँघा नकाटेको थुप्रै दिन भयो होला । हात खुट्टाका नङ कति लामा लामा । उसको आँखामा हेरेर ऊ केवल मुस्काई मात्र रह्यो । कुनै संवाद गरेन । एकै शब्द बोलेन ।

उसले धेरैबेर लोग्नेलाई झकझकाई रही । लोग्ने एकनास हाँसी मात्र रह्यो । ऊ रोई मात्र रही । उसले एक पटक पनि नरोऊ भनेन ।

“तिमी लाटो भयौ ? किन बोल्दैनौ ?”

यसले धेरै बेर झकझकाइ–पुराना मैंला फाटेका, टालेका लुगामा देखिएको उसको लोग्ने अचानक गायब भयो ।

ऊ झसङ्ग भई । एउटा मिठो सपना यसरी अन्त्य भयो ।

उसलाई लाग्यो यस्ता मीठा सपना बोकेर आइदिने रातहरु नआइदिएको भए कति जाति हुन्थ्यो । यसरी धेरै पटक धेरै रातहरु उसको लोग्नेलाई बोकेर ल्याउने गर्दछन् । कति रातहरुलाई सराप्नुहोला ! कति बिहानहरुलाई धिक्कार्नु होला वा आफ्नै जीवनलाई ।

सिङ्गोरातको अवसानसँगै मृत सपनाका लाशहरुको भारी बोकेर हिडीरहनु पर्ने उराठिला दिनहरुको कल्पनाले उसलाई आहत बनाउँछ । छटपटाहटमा दिनहरु बित्ने गर्छन् । छोराहरु दुई जना ठूलै भैसके । जेठो पोहोर बाटै कलेज जान थालिसक्यो । कान्छो अर्को वर्ष एस.एल.सी. दिनेवाला छ । छोराहरु स्कूल र कलेज गएपछि दिनहरु बोझिला बन्दै जान्छन् । आफन्तकोमा पनि कति दिन मात्रै गइरहने होला । के ठान्दा हुन् । हेर लोग्ने अमेरिकामा छ टन्न पैसा पठाईहाल्छ होला त के भो डुलेरै खान पनि त पुगेकै छ ।

कति भन्दा हुन् लोग्ने उता ढाड भाँची भाँची रातदिन काम गर्दौ हो यता स्वास्नीलाई भने चैन छ, विचरो अभागी र’ छ । पन्ध्र वर्ष देखुन् स्वास्नी र छोराहरुको मुखै देख्न नपाउनु । के पैसा भन्दै बसिरा,को होला नि ! खुरुक्क आफ्नै देश फकिर्नु नि ! स्वास्नी बालबच्चाहरुसँग बस्नु !
जति मानिस उति नै कुरा । जति थरि आफन्त र नातेदार उति धेरै प्रतिक्रिया ।

“हैन हो नानी ज्वाईसाब कहिले फिर्ने हो ?”
“बाफ रे ज्वाई साबले त के पैसा त कति कति ! किन आउनु हुन्थ्यो ” ।

“हेर है तिम्रो जवानी त यसै गयो नि ! आखिर पैसाले नै पो के गर्नु छ । धन सम्पत्ति दोस्रो हो हेर ! किन यसरी तड्पिएर बस्छ्यौ खुरुक्क बोलाउ लोग्नेलाई ।”

यस्ता सुझाव पनि कति संगीनीहरुले नदिएका होइनन् ।

“हेर अमेरिका त आम्मा मा ……………………………त्यहाँ बसेका लोग्ने मानिसहरु के फर्किन्थे ” कसैले यस्तो प्रतिक्रिया सुनाउँदा भने उसको मनमा पहिरो जान्थ्यो । डाँडा उर्लेर बगेको पहिरो सबैले देख्दा हुन् । मान्छेको मनमा, मस्तिष्कमा, ह्रदयमा चोट परेर गएको भीषण पहिरोलाई नियाल्ने क्षमता कतिले पो राख्छन् होला । आवाजविहिन मौन, पहिरो ह्रदयको कुना हल्लाएर खस्किदिने, बगिदिने चिराचिरा पार्दै । ह्रदयको पहिरो जान वर्षात् कुर्नुपर्दैन , आकाशमा कालो बादलको डढेलो लागेर दुनियाँ वर्षर्नु पर्दैन । आफन्तहरुका केही चोटिला बचन वाणले ठूलो भूकम्प ल्याइदिन्छ ।

दुई दशक अघिको कुरा थियो लोग्ने स्वास्नी जहाज चढेर काठमाडौं आइपुगेको । सपनाको राजधानी ! गाउँतिरबाट एकभारी सपना जहाजमा बोकेर काठमाडौं ओरालेका थिए । तिनै सपनालाई गोडमेल गदर्,ै मलजल गर्दै फुलाउनु थियो, फष्टाउनु थियो । उसलाई हिजै जस्तो लाग्छ । एकभारी सपनालाई एउटा डेरामा थन्काएर लामो सास फेरेको ।

राजधानीका थुप्रै गल्लीहरु चहा¥यो उसको लोग्नेले । स्वास्नीले धेरै विश्वास दिलाई ऊ पनि लोग्नेको होस्टेमा हैंसे मिलाउने छे । धन, सम्पत्ति, घर, घडेरी, मोटरसाइकल अन्ततः गाडी अनि महङ्गा बोर्डिङ्ग स्कूलमा छोराछोरीको शिक्षा दीक्षा हुनेछ । हुनेछन्, धेरै कुराहरु । जीवन सुन्दर हुनेछ । सुखी परिवार हुनेछ उसको । सुखको परिभाषा उसका निम्ति त्यतीखेर यही वा यस्तै यस्तै थियो । सम्पन्नतालाई उसले सुख ठानेको थियो होला । स्वास्नीले मीठो खान पाउनु र राम्रो लाउन पाउनुलाई सुख ठानेकी थिई होली संभवतः ।
आमा बाबुसँग मागेर ल्याएको एक लाख रुपैयाले उसले किराना पसलको शुरुवात ग¥यो । राजधानीका सडकहरुमा अभावको भारी टाउकोमा बोकेर कुदिंरहेका मानिसहरुको लाममा उ पनि सहभागी हुन पुग्यो । हरेक मानिसका संघर्षका कथा रोचकपूर्ण लाग्थे उसलाई ।

तिनै संघर्षशील मानिसहरुको हुलको अंश ठान्यो उसले आफूलाई पनि । किराना पसलमा तरकारी थप्यो । तरकारीमा फाइदा निकै देख्यो, उसले तर दुःखको सुमेरु त्यती नै अग्लो थियो, चढ्नै मुश्किल । बिहान चारबजे टुकुचा खोलाबाट साइकलमा तरकारी बोकेर ल्याँउदा काठमाडौंको चिसो सिरेटो र हुस्सुले उसका गालामा हिर्काउने थप्पडको बोझ फाइदा भन्दा गहुँरङ्गो थियो । स्वास्नीले पनि साथ दिइरही । जीवनरुपी रथ घिस्रिरह्यो ।

एक रात लोग्नेले उसलाई भन्यो –
“ हाम्रो जीवनमा कुनै चमत्कारिक आर्थिक उन्नती होला जस्तो मलाई लाग्दैन । वर्षाैंको हिसाब किताब जम्मै काठमाडौंको महङ्गीलाई फाइदाका रुपमा बुझाइयो, धन्न साँउँसम्म जोगिएको छ । यत्रो दुःख गर्दा पनि पेट पाल्ने र यी दुइटा छोराको औषधी मूलोमै ठिक्क हुन थाल्यो । यिनीहरुको स्कूल खर्च कसरी पु¥याउने होला ? यो महङ्गीमा के गरी बाँच्ने होला ?”

यसो भनिरहँदा यसले लोग्नेको अनुहारका रेखाहरु पढीरही । छोराहरु निद्राले छिटोछिटो श्वास फेर्दै काठमाडौंको प्रदुषित हावालाई कलिलो फोक्सोसम्मै तानिरहेका थिए । लोग्ने घरी स्वास्नी र छोराहरुको अनुहारमा एक टक हेरिरहन्थ्यो त घरी भित्तामा भविष्यको गोरेटो खोजिरहन्थ्यो ।

उनीहरुको जीवन अत्यन्त दुरुह बन्दै थियो । चिसोले कठ्याङिग्रएका हातले परिश्रम गरिरहेका यी जोडीको निरन्तरको घोटाई र मेहनत अनुकरणीय लाग्दथ्यो । जति नै गर्दा पनि जीवनको क्षितिज उघ्रिने संभावना दिन प्रतिदिन क्षीण हुँदै थियो । जीवनमा उज्यालोको संभावना घट्दै जाँदा यी जोडी जीवन निर्वाहका अनेकन मोडेलहरु अपनाउँदै गर्न थाले ।

यसो गर्दा पो होला कि ! उसो गर्दा पो होला कि ? प्रयासका ढोकाहरु ढकढकाउन छाडेनन् अपितु अभाव र गरिबीको सगरमाथा हरेक वर्ष चुलिंदै गयो । शहरीया जनजीवनमा अभ्यस्त यी दम्पत्ति र यिनका सन्तान गाँउतिर फर्किनै सकेनन् । गाँउको परिवर्तनले यिनलाई छोएन । शहरको परिवर्तनबाट विमुख हुन यिनीहरु सकेनन् । गाँउहरुलाई सहरहरुले दोहन गरिरहे । सहरहरु ठूला सहरको दोहनको चपेटामा परिरहे । मुलुकमा गरिवी उल्लेख्य रुपमा घट्न सकेन । जीवनस्तर, जीवन प्रत्यासाका सूचकहरु बढ्ने संकेत देखिन छाडे । मानवश्रमको ओइरो विदेशतिर लाग्यो । मानिसहरु खाडीतिर हान्निन थाले । विदेश सबैका निम्ति एक मात्र रोजगारीको गन्तव्य ठानिन थाल्यो । देशका हराभरा खेतपाखाहरु बन्जरमा रुपान्तरण भएका अधवैंसे मानिसका आँखाहरुले अपलक हेरिरहनु बाहेक केही गर्न नसक्ने भए ।

हरेक दिन बिहानदेखि बेलुकीसम्म नै निराशा र कुण्ठाका भारीहरु बोक्ने बानी परेपछि उसले पनि अरुले जस्तै आफू पनि पीडाको पोखरीमा डुबिरहेको पायो । यस्तो पीडाको पोखरीबाट जीवन बाँच्ने उपायको खोजीमा रक्सी र भट्टीलाई रोज्न पुग्यो ।

ह्वास्स गन्हाएको लोग्नेको मुखछेउ कानमा उसले साउती गरेकी थिई ।

”यस्तो नगर्नु यसले ज्यान जान्छ,बरु जाउँ गाँउतिरै । छोराहरु गाँउको स्कूलमा पढ्छन् अरुले पनि त पढेकै छ छन् नि गाँउमा । हजुरले पनि त गाउँकै स्कूलबाट एस. एल.सी. पास गर्नुभो । यत्रो वि. कम. सम्म पढेको मानिसले यस्तो गर्न सुहाँउछ र ? हिड्नु भोली नै गाँउ जानुपर्छ ।”
स्वास्नीको यस्तो कुरा सुनेपछि उसले अट्टहास हाँसेको थियो ।

“ए ! अब म गाउँ जानु ! बरु मर्छु म यतै किमार्थ म गाउँ जान्न । के मुखले गाउँ फकिर्नु । गाँउबाट मानिसहरु सहर पस्छन् । म वर्षांै काठमाडौं बसेको मानिस अब गाउँ जानु ! गरी खान नसकेको हुतिहारा भन्दैनन् मलाई सबैले !”

यसो भनिरहँदा ऊ आफूभित्रको पुरुषत्व जागृत गरिरहेको लाग्थ्यो । स्वास्नी मात्र सहयोगीको भूमिकामा थिई । प्रमुख निर्णयकर्ता त ऊ स्वयं नै थियो । उसको दिनचर्याले कमाएको आम्दानीको ठूलो अंश रक्सी लगायतका कुलतमा खर्चिन थालेको थियो ।

उसले विस्तारै किराना पसल घटाउँदै गयो र एकदिन किराना पसल बेचेर फेन्सी पसल थाल्यो । यसबाट केही सन्तोषको सास फेर्न थाल्यो उसले । किराना पसल भन्दा अलि कम दुःख थियो उनीहरुलाई ।

“तिमी पसल सम्हाल, म टे«किङ अफिसमा एकाउन्टेन्टको काम पाएको छु, गर्छु ।”

उसले एकदिन श्रीमतीलाई यस्तो प्रस्ताव ग¥यो । उसले लोग्नेलाई एकोहोरो हेरीरही । यो मानिस मेरो निम्ति जस्तो सुकै दुःख गर्न तयार छ । उसलाई आफ्नो लोग्नेसँग एक प्रकारको गर्व लाग्यो । उसले हाँसेर स्वीकृति दिई । उसले ठानी जीवनका उज्याला पक्षहरु पनि यतै कतै वरिपरि त हुँदा रहेछन् । ती स्वर्णिम उज्याला दिनहरुलाई आत्मसाथ पो गर्न सक्नु पर्दोरहेछ त ! उसले आफूलाई धन्य ठानी । लोग्नेको जागिर ! आफ्नो पसल । दुई जनाको कमाईले केही त गर्न सकिएला नि ! हो रहेछ, आंैसी पछि पूर्णे त अश्वय नै आउँदो रहेछ ।

आज पुनःऊ ती दिनहरुको संझना गर्छे । बेला–बेलामा चार भन्याङ्गतिरबाट काठमाडौं खाल्डोलाई नियाल्छे । बाफ रे ! यो घना कंक्रिटको जङ्गल । कत्रो सघन मानव बस्ती ! एकै धक्का भूइँचालोले ………………… बाफ रे ! ऊ यस्तो अनिष्ट कल्पना पनि गर्छे बेला बेला ।

यो बस्ती यति विघ्न बाक्लो थिएन । हावा यति प्रदुषित थिएन, पानीको यति विघ्न काकाकुल थिएन । गाडीहरुको यत्रो बाक्लो ताँती कमिलाको जस्तो सडकमा गुड्दैन थियो । हेर्दा हेर्दै दुई दशकको परिवर्तन । आफ्नो जीवन छाम्छे , ऐनामा अनुहार हेर्दै ,गालामा चाउरी उम्रिन थालेछन् । हाँस्छे थुक्क…………….झनै अनुहार चाउरिले बटारिन थाल्यो ।
एक दिन त्यो साँझ उसलाई हिजै जस्तो लाग्छ । लोग्नेले भनेको थियो ।
“हेर यो मुलुकमा केही होला जस्तो छैन । व्यवस्था परिवर्तन भएको पनि देखियो । पञ्चायत व्यवस्था धरायसी भयो, बहुदलीय व्यवस्था स्थापना भयो तर पनि आम मानिसको आधारभूत जीवनचक्रमा कुनै परिवर्तन आउन सकेन । म त अब अमेरिका तिर कोसिस गर्छु । जसो तसो अमेरिका घुस्न पाएँ भने विस्तारै तिमीहरुलाई पनि बोलाउँछु अनि त …………..”
उसले वाक्य पूरा गर्न नपाउँदै स्वास्नी मज्जाले हाँसेकी थिई भित्रैदेखि, मनै देखि । अमेरिकी जीवनको चित्र उसका आँखा अगाडि काल्पनिक रुपमा आएको थियो ।

उसले कुनै सोच विचारै नगरेर खुशीले गद्गद् हुँदै लोग्नेको कुरामा समर्थन जनाएकी थिई ।

लोग्ने गाउँबाट सहर पसेको थियो । गाउँलाई छाडेर काठमाडौं राजेको थियो । अब उसलाई काठमाडौंमा पनि रोग, भोक र गरिबी बाहेक केही पनि देखिन छाडेको थियो । उसका आँखा निरन्तर एउटा अदृश्य सुख र सम्पन्नताको खोजीमा लालायित थिए ।

उसले सुनेको थियो अमेरिका सुखको सहर हो अमेरिकी जनजीवन बैधव्य र सम्पन्नताको अनुपम नमूना हो । यो स्वर्ग हो । यहाँ मानिस जिउँदै स्वर्ग पुगेको अनुभूत गर्छन्, आफूलाई । स्वतन्त्रता र सम्पन्नताको जीवन बाँच्ने मानिसहरुको स्थल हो अमेरिका आदि आदि………………………….
यस्तो जीवनशैली मन नपराउने को हुनसक्छ ? उसले आफैसँग प्रश्न गरेको थियो । अहँ उसले कसैलाई भेट्टाएन जसले उसलाई अमेरिका जान पाए जानुहुन्न भनोस् ।

भोली भिसाको निम्ति उसलाई अन्र्तवार्ता दिनु थियो । अफिसको कामको सिलासिलामा उसलाई जानुपर्ने कारण देखाइएको थियो । सोही बमोजिमको कागजपत्रहरु उसले तैयार गरेको थियो ।

उसले प्रश्नकर्ताको हरेक प्रश्नहरुको जवाफ सन्तुलित भएर दिएको थियो । प्रश्नकर्तालाई भरमगदुर सन्तुष्ट पार्ने यत्न उसले ग¥यो । फलतः उसलाई भिसा लिन बोलाइयो ।

उसलाई सम्झना छ, त्यो रात उसको लोग्नेको अनुहारमा कस्तो कान्ति छाएको थियो । यो चारजनाको परिवार मध्यरातसम्म सुखद भविष्यका सपनाहरुसँग एकाकार भइरहे । लोग्नेले सर्वप्रथम जाँदा लाग्ने ऋण तिर्ने, तत्पश्चात घडेरी किन्ने र घर बनाउने योजना बनायो । उसले भनी –
“होइन म त हजुरलाई कहाँ छाड्छु र ! पर्दैन । नेपालमा घर घडेरी । हामी त उतै आउने । ”

छोराहरु सानै थिए । बोलेनन् । आफ्नै धुनमा खेलीरहे । उसले लोग्नेलाई पटक पटक आग्रह गरेकी थिई–
“छिटो कागज बनाएर पठाइदिनु हामी पनि आई हाल्छौं ।”

यो सब संझिदै गर्दा उसलाई खलखल्ती पसिना आयो । ऊ भित्र कोठामा पसी । भित्तामा झुण्डाइएको चार जनाको संयुक्त तस्वीर हेरी । लोग्ने उतिखेर कस्तो ख्याउटे थियो । बीचमा दुईटा छोरा, दायाँतिर लोग्ने बाँयातिर आफू । उसले लगाएको रातो सारी, चोलो, रातो चूरा, रातो टिका निधारको । यो सब देखेर उसलाई झनै रीस उठ्यो । आफ्नो विगतले आफैलाई निरन्तर कोतर्दै र चिथर्दै आइरहेको लाग्यो । यो सब के का निम्ति थियो । उसले निधार छामी निधार तातो थियो ।

लोग्ने फ्लोरिडामा बस्छ । ‘माइमी बीच’ मा खिचेको लोग्नेको खाइलाग्दो फोटो टि.भी.को छेउमा राखेकीछे । नीलो समुद्री किनार नियालीरहेको हँसिलो गोरो, कुइरे अनुहारको लोग्नेको तस्वीर देखेर उसलाइ कता कता रीस र घृणा मिसिएको विचार उत्पन्न भयो ।

छि……हेर एक्लै समुद्रको त्यो नीलो लहरलाई हेर्दै के संझेर हाँसेको होला ? एकपटक के के कागज पठाइदिएको थियो तिमीहरु यही पेस गर्नु एम्बेसीमा भिसा दिई हाल्छ अनि आउनु भनेर ई………दियो भिसा गोरेले…………………….उसले फोटोलाई लाप्पा ख्वाई……………………………………………………………………।
अन्तिम पटक अर्थात तेश्रो पटक पोहोर नै त पुनःउसले अमेरिकी दूतावासको पेटी नापेकी थिई । दुई पटकसम्म उसलाई गोरेले निकै होच्चाएर भनेको संझना छ –
“तिम्रो लोग्ने हाम्रो देशको गैरकानूनी नागरिक हो । यस्ता गैरकानूनी मानिसहरुलाई हाम्रो सरकारले पाल्नु पर्ने बाध्यता छैन । त्यसकारण तिम्रो लोग्नेलाई बरु आफ्नै देशमा बोलाऊ । तिमीहरुलाई किमार्थ हाम्रो मुलुकमा टेक्न अनुमति दिइने छैन ।”

उसले धेरै अनुनय विनय गरेकी थिई । दोभाषे नेपाली दाजु भाई मार्फत रोएकी थिई । उसले भनेकी थिइ–
“के अमेरिका साँच्चै झ्यालखाना हो, जहाँ भित्रिएको मानिसलाई आफन्तले भेट्ने अनुमति पाउन सक्दैनन् ? के अमेरिकी राज्य र सरकारले मानवता दया र माया जस्ता कुराहरुलाई बुझ्नुपर्दैन भन्ने मान्यता राख्दछ ? के माया संवेदनाको कुनै मूल्य हुँदैन ? मानिसका अनुभूति र संवेगहरुलाई पढ्न नसक्ने मानिसहरु कसरी प्रवेशाज्ञा अधिकारी हुनसक्छन् ?”

ऊ रोएकी थिई । छाँद हालेर ! छोराहरुको अनुहार बाबुले बिर्सिसक्यो होला भन्दै अनुनय, विनय गरेकी थिइ ! अहँ त्यो मानिस ढुङ्गाको मुटु बोकेर त्यहाँ बसेको थियो । उसले लगातार “ नो…………….. नो…………….. नो……………..” मात्रै भनिरह्यो । अन्तमा उसलाई पुलिस लगाएर घोक्राएर निकालिएको थियो ।

ऊ बाहिरिएपछि बेहोस जस्तै भएकी थिई । उसका आँखा अघिल्तिर अन्धकारै अन्धकार छाएको थियो । भिसा सेक्सन अघिल्तिरका ठूला ठूला रुख उसैको जीउमा ढले जस्तै लागेको थियो उसलाई । त्यो अजंङ्गको पर्खाल ढलेर उसैलाई किच्न आँटेको अनुभव उसले गरेकी थिई । छोराहरुले आमालाई सान्त्वनाका शब्दहरु बाहेक केही दिन सकेनन् । दुईटै छोराहरुको सहारा लिएर सडक पार गरेकी थिई । सडक पार गर्दा पनि उसलाई ठूलै नदी पार गरेको जस्तो भान भएको थियो । ओठ मुख सुकिसक्यो, तालु रिङ्गाइरह्यो । पुनः आज तेश्रो पटक उ आफू मरेको ठानी उसले । जीवनका दुई दशक कति अत्यास लाग्दा भए हुनन् उसले सोची रही ।

यसरी हरेक पटक भिसाको निम्ति गरिरहेको असफल प्रयत्न पछि ऊ महिनौं ओछ्यानमा लडीरही । उसलाई कतै जान मन लागेन अर्थात उसले चाहिन पनि । समयको यति लामो कालखण्ड उसले कसरी विताई होली के उसको लोग्नेले कहिल्यै सोच्यो होला ? कति रातहरु कहाली लाग्दा भएर बिते होलान् ? कति दिनहरु उराठिला भए होलान् ? विरामी पर्दाका क्षणहरु कति कठीन भए होलान् ? छोराहरुले कति पटक चित्त दुखाए होलान् आमाको ? आफन्तहरुको घोचपेच र शब्दवाणहरुले कति पटक घाइते बनायो होला ? आधी जीवनको बाटो सकिएर उत्तरार्ध टेक्न थाल्दा पनि लाग्ेनेले घर फर्किन नखोजेको त्रासद क्षणको कल्पना कति निरसिलो लाग्दो हो ।

लोग्ने कति विरामी भयो होला, कामको थकाई पछि उसलाई पे्रमपूर्वक खाना कसले दियो होला ? कति घुक्र्याउँथ्यो सानो सानो कुरामा, कहिले काँही उसको घुर्की सुनिदिने कसले होला त्यहाँ । अपलक कोठाको भित्तामा अडिएका उसका आँखा आफै रसाउन थाले । छाती भक्कानिएर आयो । उसले लोग्नेको तस्वीर बोकी छातीमा टाँसेर डाँको छाडेर रुन थाली । झ्यालबाहिर हावा उसरी नै बहिरह्यो । गुलाबको त्यो बोट बुढो भएको थियो । गुलाब भने उस्तै रातो फुलिरहेकै थियो । पुतलीले गुलाबको पराग उसरी नै चुच्चोले सेचन गरिहेकै थियो ।

(श्रोत:- Realkhabar)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.