कथा : विडम्बना

~इल्या भट्टराई~Illya Bhattarai_1

सुमित्राको मन आजकल निकै भरङ्ग भएको छ । आज आएर उनको मनले अनुभूत गरेको छ, जीवनमा ठूलै चौटा खान पाउँला भनेर यहाँ आएका उनीहरू आज आएर झोलमा डुबेसरि पो हुन पुगेका छन् ।

अस्तिजस्तो लाग्छ उनलाई आफूहरू यस ठाउँमा बसाइँ सरेर आएको । कति दङ्ग परेका थिए उनीहरू यहाँ आउन पाउँदा । श्रीमान्ले पीएचडी गर्नका लागि यो देशको एउटा �� ूलो विश्वविद्यालयमा छात्रवृत्तिपाउँदा उनीहरू कति खुसी भएका थिए । छात्रवृत्ति श्रीमान्ले पाएका थिए तर पनि किनकिन सुमित्राका खुट्टाले भुइँमा टेक्न छाडेका थिए । उनले खोइ किन हो, आफूलाई अरूभन्दा विशेष �� ान्न थालेकी थिइन् । अहम्ले उनको शिर उचालिँदै गएको थियो, “अरू भन्या त्यस्तै हो, अब मेरा छोराछोरीको पढाइ राम्रो हुने भयो । उनीहरूको भविष्य बन्ने भो । त्यहाँको पढाइ त के पढाइ र ! त्यस्तो पढाइले के हुनु ! मेरा छोराछोरी मान्छे बन्ने भए !” त्यतिखेर उनले बिर्सिएकी थिइन्, उनका श्रीमान्ले यही देशमा पढेर पनि नाम र इज्जत कमाएका थिए ।

नभन्दै, उनका छोराछोरीले त अमेरिकामा पढे । पछि गएर लायक भएर पनि देखाए । तर, उनीहरूले आफ्नो संस्कार, मूल्य र मान्यतालाई बिर्सिदिए । अर्काको देशमा आइसकेपछि यहाँ टिक्न पनि त्यहीँको आनीबानी, मूल्य-मान्यता अपनाउनुपर्छ, यो स्वाभाविक हो पनि । उनका सन्तानले पनि आफ्नो सजिलोका लागि आफूलाई यहीँकै रङ्गढङ्गमा ढाले । सुरुसुरुमा त सुमित्रा साह्रै दङ्ग परेकी थिइन् । यद्यपि नेपालमै पनि उनीहरूको स्थिति रामै्र थियो तर अमेरिकाको सुविधाको कुरै अर्कै ! यहाँ यस सुविधाको उपभोग गरिरहँदा, उनलाई कतिपल्ट नेपालमा भएका उनका आफन्तहरूलाई उनको यो राजसी सुखभोगको दृश्य देखाउन मन लागिरहन्थ्यो । ती बेलाहरूमा उनका प्रत्येक पलहरू दिन सुनौला र रात रुपौला भएर बित्ने गरेका थिए । शान्त समुद्रमा बिनाकुनै बाधा, अवरोध जसरी डुङ्गा सलल्ल बग्छ, उनको जीवनरूपी डुङ्गा पनि आनन्दको सागरमा उसैगरी बगिरहेको थियो ।

तर, जीवनमा अकस्मात् एउटा बाधा आइलाग्यो । छोरी हाइस्कुलको परीक्ष्ाा दिएपछि एउटा आइसक्रिम पार्लरमा काम गर्न जान थाली । आमाको मन, छोरीले त्यति सानै उमेरमा काम गर्न थालेको पटक्कै मन पराएन । “हैन, तँलाई के पुगेन र तैँले काम गर्नुपर्‍या ? तैँले माग्याजति पकेटमनि त दिएकै छु नि ! फेरि केका लागि तैँले काम गर्नुपर्‍यो ? भो ! पर्दैन काम गर्नु । बरु घरै बसेर कलेजको परीक्षाको तयारी गर् ! होइन भने यसो घरको काम गर्न सिक् । छोरीमान्छेले घरको काम गर्न जान्नुपर्छ, पकाउन तुल्याउन जान्नुपर्छ । भोलि कस्तो घर पर्छ, के थाहा !”

“आमा पनि कुन पुरानो आउट अफ डेटेड कुरा गर्नुहुन्छ । मैले अहिले काम नगरे पैसा कसरी जम्मा हुन्छ त ! अनि आफूसँग पैसा नभए मैले आफ्नो फ्ल्याट कसरी अफोर्ड गर्ने ? त्यसका लागि कमाउनुपरेन ?”

छोरीका कुराले सुमित्राको मनमा भुइँचालो गयो, “होइन के भनेकी तैँले ? कुन फ्ल्याट ? कस्तो फ्ल्याट ? कहाँबाट आयो तेरो फ्ल्याट ?”

“आमा, अब हाइस्कुल पास गरेपछि पनि म यही घरमा बस्छु त ? हजुरले के कुरा गरेको ?”

“यहाँ नबसेर कहाँ जान्छेस् तँ ?”

“हाइस्कुल पास गरेपछि पनि म बच्च्ााजस्तो हजुरहरूमाथि नै आश्रति भएर कसरी बस्न सक्छु ? यहाँ हाइस्कुल पास गरेपछि त सबैले आ-आफ्नो घर छाडेर छुट्टै बस्छन् । आफू बाँच्न र आफ्नो पढाइका लागि आफैँले कमाउनुपर्छ । अब पनि म यसरी हजुरहरूसँग टाँस्सिएर बसिराखेँ भने मलाई साथीहरूले खिसी गरेर बसिटिक्नु पार्दैनन् । उनीहरूले मलाई हेप्छन् ।”

छोरीको कुरा सुनेर सुमित्रा छाँगाबाट खसेजस्तो भइन् । आफूले जन्माएर, दुःख गरेर हुर्काएर आज यत्रो पारेपछि, अहिले आएर ऊ ‘ममाथि तिमीहरूको कुनै अधिकार छैन’ पो भन्न थाली । के भयो छोरीलाई ? अहिलेदेखि यस्तो स्वतन्त्र खोज्न थाली र आफ्ना लागि कुन सही, कुन गलत कसरी छुट्याउन सक्ली ! यहाँको यस्तो छाडा र स्वतन्त्र समाजमा यसको चरित्र कस्तो होला ? हे भगवान् ! यो के देख्नुपर्‍यो ! हुन त अमेरिका आएको पछुतो त उनलाई पहिलोपल्ट त्यही दिन लागेको थियो, जुन दिन बाबुचाहिँ अफिसबाट आउनेबित्तिकै छोरीले निकै उत्साहित भएर बाबुलाई अँगालो हाल्दै उत्तेजित स्वरमा “बुबा, आज मेरो पहिलोचोटि पिरियड भयो नि !” भनेर सुनाई ।

छोरीले केके न भन्न लागि भनेर उत्सुक भएका बाबु त्यो कुरा सुनेर एकछिन अलमल्ल परे । उनलाई के गरुँ, कसो गरुँजस्तो भयो । आफ्नो घाँटीमा बेरिएका छोरीका हातहरूलाई विस्तारै पन्छाउँदै उनले कुरालाई अन्तै मोड्न खोजे ।

छोरीको चालामाला देखेर रिसले आगो भइन् सुमित्रा, “ए, कसैलाई नभएको कुरो तँलाई भयो । मैले झन् उतिभाँती तँलाई भनेकी हैन, यस्तो बेलामा बुबा र भाइलाई नछुनु । पहिलोपल्ट दस-दस दिन बाबु र दाजुभाइको मुख पनि हेर्न नहुनेमा झन् यो त नकच्चरी भएर उल्टै बाबुलाई अँगालो मार्न पो जाँदी रै’छ ।”

“छ्या ! कहीँ न भा’को कस्तो ब्याकवार्ड घर हाम्रो । आमा पनि कुन जमानाको कुरा गर्दै हुनुहुन्छ ? यस्तो सोच्ने भए त हजुरहरू किन अमेरिका आएको ! उहाँ भने मेरा साथीहरू रोजी, मेरी, एलिन सबैको घरमा अबदेखि छोरी �� ूली भई भनेर सबैले कस्तो खुसी मनाए ! साथीहरू सबैले ‘गिफ्ट’ पाए । बाबुआमाले उनीहरूलाई बाहिर खान लगेर ‘सेलिब्रेट’ पनि गरे । अझ लिजको बाबुले त घरमै एउटा �� ूलो पार्टी नै डाकेको थियो । हामी सबै कति रमाएका थियौँ । यहाँ भने यस्तो ! खुसी हुनु त कताकता, झन् गाली मात्र पाइयो ।”

“ए ! तँ धेरै चोथाले भएर मुख नचला है, च्यातिदिउँला अहिले । यो अमेरिकाको छाडा समाज हैन, मेरो घर हो बुझिस् । तँ अहिले पनि हामीसँगै छेस् । त्यही नेपाली समाजको बीचमा हुर्किएकी छेस् । यहाँ तेरो मनपरि चल्दैन, मेरो इच्छा चल्छ ।”

त्यस घटनापछि आमाछोरीको बीचमा कैयौँ दिनसम्म शीतयुद्ध व्याप्त भएको थियो । त्यो शीतयुद्ध समाप्त पार्न छोरीले कुनै चासो देखाइन । तर, सुमित्रा त आमा थिइन्, कसरी चुप लागेर बस्न सक्थिन् र ! छोरीको रुखो व्यवहारलाई वास्ता नगर्दै उनले नै स्थिति सामान्य पारिन् ।

पोहोरै त हो नि, के कारणले हो कुन्नि, उनले छोरीको स्कुल ब्याग खोल्न पुगिन् । त्यसभित्र परिवार नियोजनका चक्की देखेर उनी स्तब्ध भइन् । उनले अमेरिकामा किशोरीहरूलाई अवाञ्छित गर्भ रहनबाट बँचाउन यहाँको सरकारले उनीहरू पर सर्न थालेपछि नै परिवार नियोजनका चक्की ख्वाउन थाल्छ भन्ने सुनेकी थिइन् । छोरीको ब्यागभित्र यस्ता चक्की देखेपछि केरकार पनि गरिन् । तर, छोरीकै डाको �� ूलो भएको थियो, “आ…आमा, हजुर पनि सानो कुरोलाई केके न भयो जस्तो गरेर �� ूलो पार्नुहुन्छ । यो त्यस्तो केही होइन । मेरो पिरियड खै किन हो कुन्नि रोकिएको थियो । स्कुलको हेल्थ सेन्टरमा देखाउन जाँदा यो चक्की दिन मिलाएर खाऊ, यसले पिरियड हुन्छ भनेकाले मैले यो चक्की खान थालेको । हजुरलाई चाहिँ एउटा सानो कुरा भए पुग्छ । त्यत्तिकै केके न भा’जस्तो गर्न खोज्नुहुन्छ ।” छोरीको रुखो कुराले एकातिर सुमित्रा अमिलिइन् भने अर्कोतिर कुनै अज्ञात आशङ्काले उनको मन भरङ्ग हुन पुग्यो । “होइन, छोरी कुन बाटो लाग्दैछे ?” उनको मनमा बारम्बार त्यही प्रश्न दोहोरिइरह्यो ।

त्यहीबेलादेखि नै छोरी असाध्यै बाउँ�� िँदै गएकी थिई । सुमित्राले ऊसित केही कुरा गर्नैनहुने, केही कुरा सोध्नैनहुने । ऊ त्यसैत्यसै झर्केर बोल्ने गर्थी । लोग्नेसँग यी कुराहरू गर्दा “नपढेकी आइमाईसँग बिहे गर्दा यस्तै हुन्छ । उनीहरू हुर्कन, बढ्न लागेका सन्तानहरूको मनोविज्ञान बुझेर त्यसअनुसार व्यवहारै गर्न जान्दैनन् । अनि, आफू पनि उनीहरूबाट टाढिन्छन् । उनीहरूलाई पनि आफूबाट टाढा पार्छन्” भनेर स्थितिलाई अति हलुको पाराले लिँदै सुमित्रालाई नै दोषको पगरी गुथाइदिन्थे । “हैन बाबुचाहिँको मन पनि अचम्मैको हुँदोरहेछ, छोरी बिगे्रली भन्ने पनि पीर नलाग्ने !” उनलाई श्रीमान्को बेवास्ताले पनि द्रवित बनाउँथ्यो ।

आजकल छोरी राती अबेला घर फर्किन लागेकी थिई । भन्यो भने पार्लरमा अबेलासम्म ग्राहक थिए भनिदिन्छे । केही भन्यो भने रिसाएर बोल्नै छाडिदिन्थी । अस्ति राती त हो नि, बाहिर सर्‍याकसुरुक सुनेर सुमित्राले झ्यालबाट यसो चियाएको त एउटा केटोसँग टाँसिएरै उभिइराखेकी थिई । खै के गरिरा’थे कुन्नि तिनीहरू त्यहाँ !

छोरीको मात्रै के कुरा गर्नु ! केही महिनाअघि छोराको ओछ्यानको तन्ना फेरिदिन लाग्दा उसको ओछ्यानमुनि उनले चुरोटका �� ुटाहरू देखिन् । उनको मुटु पीरले गर्दा हजारौँ टुक्रा भयो । बेलुकी घर आएपछि उनले छोरोलाई केराइन् । जवाफमा छोराले भनेको थियो, “आमा म कहाँ चुरोट खान्छु र ! त्यो त ह्यारी र माइकले खाएका �� ुटाहरू हुन् । मैले खाने भए मेरो मुख गनाइहाल्छ नि ! हजुरले आजसम्म मेरो मुख गनाएको चाल पाउनुभएको छ ?”

उनको मन एक तमासको भएर आयो । ‘ओहो ! केके न �� ूलो भाग खाउँला’ भनी उनी अमेरिका आएकी थिइन् । यहाँ आउँदा उनी कति रमाएकी थिइन् । आफ्ना सन्तानहरू बल्ल अब बाटो लाग्ने भए भनेर उनी कति फुर्किएकी थिइन् तर आज आएर त्यही अमेरिकाको आगमनले उनलाई एक्लो पारेको छ । यही अमेरिकाले उनका सन्तानलाई उनीबाट टाढा तुल्याइदिएको छ । यही अमेरिकाले उनलाई आफ्नो अधुरो शिक्षाप्रतिको हीनताबोधमा छट्पटिने पारेको छ । आफू अपूरो पो रहेछु भन्ने निराशाको भावनामा हराउने पारेको छ ।

श्रीमान् र छोराछोरीहरूले पढेर आफूलाई उनीभन्दा फरक पार्दै लगे । आफूहरू अघिअघि बढ्दै गए । तर, उनी आफू जहाँ थिइन्, त्यहीँको त्यहीँ रही रहिन् । आफ्ना लोग्ने र आफ्ना छोराछोरीहरूको व्यक्तित्व उकास्न आफू व्यक्तित्वविहीन बन्दै रहिन् । अमेरिका पुगेपछि स्वर्गै पो पुग्छु भन्ने दिवास्वप्नमा डुबेकी सुमित्रा, आज आएर पछुताएकी छन् । लोग्ने, छोराछोरीबाट मानसिक रूपमा टाढिएकी उनी अहिले नितान्त एक्लो भएकी छन् ।

समयले श्रीमान्लाई पनि यी कुराले चिमोट्न थाले । आफ्नो देशलाई तिरस्कार गरेर विदेशलाई माया गर्दै सुम्सुम्याएकोमा अहिले जोइपोई नैै पश्चातापको गहिरो भुमरीमा डुबेका छन् । आफ्नो सामाजिक मूल्य, मान्यतालाई तिलाञ्जली दिऊँ, उनीहरूको आत्माले मान्दैन । आफ्नै आँखाअगाडि छाडा सांस्कृतिक मूल्य �� हरिने आदर्शहरूलाई आफ्ना सन्तानले अपनाएको देख्दा तिनीहरू दिक्क हुनुबाहेक अरू के नै गर्न सक्थे र ! त्यही समाजमा हुर्केबढेका छोराछोरीका क्रियाकलापमा रोक लगाउ“m, पहिलो त उनीहरू टेर्दै टेर्दैनन् । दोस्रो, बाबुआमाको मन राखिदिन उनीहरूले आफ्नै सामाजिक मर्यादाअनुसार हिँड्न खोजे भने त्यहाँको समाजले ब्याकवार्ड र असभ्य भनेर उनीहरूलाई त्यस समाजबाट बहिष्कार गरिदिन्छ । अनि, उनीहरू कसरी बाँच्ने ?

अब आफ्नो देश फर्किन खोज्दा पनि यहाँ उनका सन्तानहरू समायोजित हुन सक्दैनन् । उनीहरू पनि यो सुखसुविधा छाडेर नेपालको सामान्य र अभावग्रस्त जीवन बिताउन सक्दैनन् होला । डलरहरूको मोटाइमा अभ्यस्त भएका हत्केलालाई नेपाली रुपियाँका नोटहरूले कत्तिको न्यानो देलान् र ?

आज उनीहरूलाई अमेरिकाको बसाइ ‘नखाउ“m भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाउको अनुहार’ जस्तो हुन पुगेको छ ।

“लौ ! पखेटा लागेका छोराछोरी भुर्र उड्ने भएपछि अब आफूले के नै गर्न सकिँदो रहेछ र ! सबैले आ-आफ्नो लिएर आएको भाग्यअनुसारकै भोग भोग्ने हो,” लाचार सुमित्राले खुइय्य गर्दै लामो सुस्केरा हालिन् र आफूले आपै“mलाई सान्त्वना दिने कोसिस गरिन् ।

(श्रोत:- नेपाल)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.