कथा : म अब एक्लो छैन

~इल्या भट्टराई~Illya Bhattarai_1

देहव्यापार कतिको लागि विवसता  हुन सक्छ, तर तिनको लागि भने देहव्यापार विवसता होइन भन्ने मलार्ई पक्कै थाहा छ । त्यसैले त तिनी देह व्यापार गर्छिन् भन्ने तथ्य जब मैले थाहा पाएँ, त्यो सत्य मेरा लागि आठौं आश्चर्य भै दियो । तिनीलाई म सधैँ देख्थें । कहिले बाटामा हिँडिरहेकी, कहिले ट्याक्सीको प्रतीक्षामा रहेकी, कहिले ट्याक्सीमा वा कहिले निजी गाडीमा । तिनी उच्च कूलकी,उच्च मध्यमवर्गीय आर्थिक स्तर भएको परिवारकी बुहारी हुन् ।

धेरै अघि उनको लोग्ने पनि यतै थियो । तिनीहरु एउटा आदर्श र सुखी दम्पति भएको बेला तिनीसँग मलार्ई कसैले परिचय गराई दिएको थियो । मलार्ई तिनी साँच्चिकै राम्री लागेकी थिइन् । त्यस्ती राम्री स्वास्नी पाएकोमा तिनको लोग्नेको इष्र्या लागेको थियो । तिनीलाई आफूले नपाएकोमा आफ्नो मनमा केही कुरा एक्कासी रित्तिएको जस्तो पनि भएको थियो । तिनीसँग औपचारिक कुराकानी नभएकोले होला बाटोमा देख्दा वा भेट्दा पनि तिनी मसँग बोल्दिन थिइन् । अझै भनौं चिनेको भावै देखाउँदिन थिइन् । पछि तिनको लोग्ने अमेरिका गएछ । उनले चाहिँ भिसा पाउन सकिनछन् । पर्यटक भिसाको म्याद सकिएर पनि उनको श्रीमान् लुकेर बसेको पत्तो पाएकोले, अनेक प्रयत्न गर्दा पनि दुतावासले उनलाई अमेरिका जाने भिसा दिएन । अहँ दिदै दिएन । लोग्नेचाहिँलाई यहाँ पैसाको त्यस्तो गाह्रो त थिएन, तर पनि ऊ फर्किएन । अमेरिकाको आकर्षण नै त्यस्तै छ क्यारे ! राम्री र तरुनी स्वास्नीको आकर्षणलाई पनि बिर्साउन सक्ने । उनले कति प्रयत्न गरिन् लोग्ने कहाँ अमेरिका जान, तर सक्दै सकिनन् ।

एउटी आकर्षण र राम्री युवतीप्रति स्वतः उब्जिने आकर्षणले ममा उनकोबारे उब्जिएको जिज्ञासाको फलस्वरुप मैले पाएको जानकारीहरु यिनै थिए ।तर त्यो दिन अकस्मात तिनीबाट आएको प्रस्तावले म किर्तब्यविमुढ हुने अवस्थामा पुगेको थिएँ । त्यतिखेर मलार्ई एक्कासी बाहिरको अँध्यारो निकै बढेर गएको अनुभव भएको थियो । अनि त्यही अँध्यारो रातमा कतै नजिकै एउटा ठूलोे चट्याङ परेको जस्तो भएको थियो । बाहिर चिसो हावा चलेको थियो कि थिएन कुन्नि, तर मलार्ई भने त्यसै त्यसै कम्प छुटेर आएको थियो । त्यो दिन साथीले विदेशी लगानीको एउटा ठूलोे प्रोजेक्ट कन्सल्टेन्सीको काम हात पारेको थियो । त्यत्रो ठूलोे काम पाएको खुसी बाँड्न उसले हामीलाई रातिको खानाको लागि निम्त्याएको थियो ।

भर्खरै खोलिएको राजधानीको त्यो स्तरीय रेष्टुरेन्टको, त्यो वातावरणमा ठूलोे काम पाएको उमङ्गले निम्ताएको जोश र खुसीलाई मदिराको रमरमसँग हामी साट्दै थियौं ।त्यही जोस र खुसीको आनन्दको रङ्गमा रङ्मङिदै, त्यसको अनुभूतिमा डुब्दै हामीले समयको दुरी निकै छिचोलिसकेको थाहै पाएनौं । यसै त आठै बजे सुनसान हुने जाडोको रात त्यसमाथि एघार बजेसम्म त निकै चकमन्न भइसकेको रहेछ । हामी केही बाहेक रेष्टुरेन्ट त रित्तिनै सकेको रहेछ ।

अब जान्छु भन्ने मनस्थिति बोकेर पहिला बाथरुम जान लाग्दा, जोडिएको लेडिज ट्वाइलेटको ढोकामा उभिरहेकी तिनीले मेरो मुखै नहेरी अन्तै हेर्दै “आज राती तपाईहरु यहीँ रमाइलो गर्न लाग्नु भा हो ? त्यसो भए, तपाई प्लिज मसँग है ?” भनेर मतिर नहेरी सोझै रेष्टुरेन्टको टेबुलतिर लागिन् । तिनको त्यस अप्रत्यासित व्यवहारले म बिस्मित भएँ । पहिला त तिनीले के भनिन् मैले बुझ्दै बुझिन । बाथरुमबाट आफ्नो सिटमा फर्किउञ्जेल तिनको प्रस्ताव भित्रका लुकेका अर्थहरुले मलाई नराम्ररी रन्थनाइदिएको थियो ।“हैन के भनेकी तिनीले ? को हुन् तिनी ? एक त त्यस्ती सम्भ्रान्त परिवारकी बुहारीलाई एघार बजे राति एक्लै रेष्टुरेन्टमा देख्नु त्यो नै मेरो लागि विस्मयकारी थियो । त्यसमाथि झन् तिनीले मसँग राखेको प्रस्ताव !” त्यो त सोच्नै पनि नसकिने खालको आठौं आश्चर्य सरह थियो ।

 प्रायः अरु रेष्टुरेन्टको जस्तै त्यस रेष्टुरेन्टको पनि चपाउने दाँत अर्कै रहेछ । त्यसैले त खानाको साथै आफूकहाँ आउने स्तरीय ग्राहकहरुलाई, मागेको खण्डमा स्तरीय कलगर्लहरुको सेवा पनि उपलब्ध गराउँदो रहेछ । अनि स्वास्नीमान्छेहरु पनि त्यहाँ आफ्ना भौतिक सुख प्राप्तिको लागि, आफ्ना भौतिक स्तर माथि उठाउनका लागि गृहिणीको आवरण भित्र आफ्नो काँचो मासुको मोलतोल गर्दा रहेछन् । तिनी पनि त्यस रेष्टुरेन्टमा काँचो मासुको रुपमा बिक्ने वस्तु पो रहिछन् । त्यो रात मलार्ई आइलागेको प्रस्तावले साथीहरुको बीचमा निकै चर्चा पायो । म एक्कासी नायकमा दरिएको थिएँ । त्यस्ती आकर्षण नारीले आफ्नो रात्रीको साथीको रुपमा मलार्ई चयन गरेकोमा मेरा साथीहरुले मेरो भाग्यमा ईष्र्या गरेका थिए । अनि आफू त्यस छनोट भित्र नपरेकोमा भित्र भित्रै चुक्चुकाउँदै आफैसित खिन्न पनि भएका थिए ।

तर त्यस रातको घट्नाबाट उब्जिएको विस्मयवोधबाट म आफै उम्किन सकिरहेको थिइनँ । किन,  किन ती नारीले आफू एउटी भद्र महिला हुदाँ हुँदै, एउटा गणिकाको रुप धारण गरिन् ? के विवशता थियो तिनको र तिनले यो घृणित पेसा अपनाइन् ! अनायासै अगिल्तिर आएको परिस्थितिले मेरो मनमा खुल्दुलीको ठूलोे हुण्डरी मच्चाइदिएको थियो । त्यसरात म तिनको अङ्गशायी भइनँ । एक त मेरो मनमा तिनी, त्यस उच्च कुलकी सम्भ्रान्त बुहारीप्रतिको आदरको भाव एकातिर थियो । अर्कोतिर समाजका मूल्य मान्यताप्रतिको आदरको भावबाट म कत्ति पनि बाहिरिएको थिइनँ । मेरा आफ्नै नीति र आदर्शहरु छन् । समाजका स्थापित मान्यताहरु भत्काएर आफ्नो देह सुख प्राप्त गर्नुपट्टि मेरो कुनै रुचि छैन । त्यसकारण तिनको रुपको प्रशंसक हुदाँ–हुदैपनि म उनको आकर्षणमा अल्झिन चाहिनँ ।

आफ्नै स्वास्नी र घरपरिवारको मायाबाट तृप्त मलार्ई, बाहिरको कृत्रिम मायाको खाँचो थिएन । त्यसैले तिनीले आमन्त्रण गरेता पनि म उनको संसर्गमा पर्न चाहिनँ । तर पनि त्यस घट्नाले म निकै उदेकमा परें । त्यस्ती सम्भ्रान्त कुलकी छोरी, घरानियाँ परिवारकी बुहारी, पैसाको छेलोखेलो भएको तिनीलाई कुन आवश्यकताले गणिकाको रुप धारण गर्न बाध्य तुल्यायो ? तिनको त्यस रुपले, तिनको घर माइतीको प्रतिष्ठालाई कति हानी गर्दो हो । यसबारे तिनीहरुलाई ज्ञान छ वा अनभिज्ञ नै छन् ? तिनको त्यस कार्यले बोर्डिङमा बसेर पढ्दै गरेका तिनका हुर्कदो उमेरका सन्तानहरुको मनमस्तिष्कमा, तिनीहरुको भविष्यमा के कस्तो प्रभाव पार्दो हो ? मेरो मनमा अनेकौ प्रश्नहरु उव्जिए । जसको उत्तर सके तिनी आफैसँग पनि थिएन कि ? यिनै प्रश्नहरुले त्यो बेला मलार्ई तिनी बारे अरु जानकारी बटुल्न बाध्य तुल्यायो ।

तिनको आर्थिक स्थिति बारे बुझ्न विवश गरायो । तर तिनी आर्थिक रुपमा विवश भएर गणिका बन्न बाध्य भएकी रहिछिन् । पैसाको महत्व आफ्नो ठाउँमा हुँदा हुँदै पनि पैसा नै तिनीको प्रमुख रोजाई रहेछ ।बरु त्यसको विपरीत धनी व्यक्तिको साथमा उसको गाडीमा सैर, अनि कुनै भव्य रेष्टुरेन्टमा उच्चस्तरीय हलुका मदिराको साथमा साथीसँगको रोमाण्टिक वार्तालापलाई डिनरले टुङ्गयाउँदै साथको व्यक्तिले गलेको ठाउँमा उत्तेजक समर्पण, त्यही नै उनको चाहना, त्यही नै उनको कामना रहेछ । यही नै उनको आफ्नो एक्लोपन हटाउने उपाय रहेछ । अनि त्यही नै उनको आफ्नो बैगुनी लोग्नेप्रतिको बिद्रोह पनि रहेछ । यी साह्रा व्यवहारमा पैसा उनकालागि गौण तत्व भई दिन्थ्यो । तृप्त भएर दिनेहरुसँग तिनी लिन्थिन् । तृप्तीमात्रै दिनेप्रति पनि उनी उत्तिकै समर्पित हुने गर्दिरहिछिन् ।

आखिर भव्य रेष्टुरेन्टको मदिरा र खानाको खर्च थेग्ने व्यक्ति पनि त खल्ति भरिएकै हुने गर्दछन् । गाडि चढ्न सोख राख्ने उनको आफ्नो गाडी थिएन । आफ्नो गाडी राख्न नसक्ने हैसियतकी पनि तिनी थिइनन् । यसैपनि दिनहुँ एउटा न एउटा गाडीवालाले उनको त्यो सोख पूरा गराइनै राखेको थियो । तिनी निकै राम्री थिइन् । लोभलाग्दो रुप र रहरलाग्दो हिस्सिले तिनीलाई अद्धितीय बनाएको थियो । उमेरलाई मानांै तिनले आफ्नो मुठ्ठीमा बन्द गरेकी थिइन् । त्यसैले त एकपल्ट आइसकेपछि उनको शरीरमा सौन्दर्य र यौवन अजर र अमर भई दिएको थियो । तीसको दशकमा पाइला हालेको केही वर्ष नै भइसकेता पनि तिनको यौवनको आकर्षण प्रखर थियो । सौन्दर्यको आकषर्ण प्रवल थियो । उनी त्यसैको आधारमा कसैलाई पनि सम्मोहित गराउन सक्थिन् ।तर उनीसँगको मित्रताको लागि उनको महँगो खर्च बेहोर्न सक्ने मेरो क्षमता पनि थिएन । अनि आफ्नो परिवारको सुख शान्तिलाई दाउमा राखेर उनीसँग अल्झिने मेरो इच्छा पनि थिएन । त्यसैले त्यो रात उनले नै आफै अगि सरेर आफूसँगको अङ्कशयनको प्रस्तावलाई मैले केही न केही झैं गरेर अस्वीकार गरिदिएको थिएँ ।तर मेरो अस्वीकृतिले उनको लोग्नेले लगाएको घाउलाई आलो पारेछ ।

आफू नकारिएको अनुभूतिले उनलाई म प्रति आक्रामक बनाएछ । त्यसैले घाइते बघिनीसरह भइ उनी समाजमा मलार्ई बदनाम गराउन लागि परिछिन् । “त्यो…..त्यो पहिला मेरो प्रेमी मात्र थियो । अहिले त त्यो मेरो लोग्ने नै भइसक्यो । अहिले उसले नै मलार्ई घर लिइदिएर मेरो खर्च धानेर राखेको छ ।” मैले चिनेकाहरूलाई उनी त्यस्तो भन्दै हिँड्न थालेकी रहिछिन् ।“अरे यार ! तँ त सारै घुसघुसे पो रै’छस्, यत्रो दिग्विजय गरिसक्दा पनि तैँले हामीलाई सुइकोसम्म दिइनस् । तँ तिनीसँग लागेको छस् भन्ने कुरो, पहिले मैले पत्याउनै सकिनँ । तर हिजो तिनकै मुखबाट सुनेपछि त म चकित परेँ । अझ भनुँ दोधारमा परेँ ।

त्यस्ती सुन्दरीको लोग्ने भएकोमा तँलाई बधाइ दिउँ कि अथवा आफ्नो घरको सुख शान्ति, आफ्नी स्वास्नीको निश्छल माया, आफ्नो प्रतिष्ठाको साथै आफ्नो भए भरको कमाइको मूल्यमा एउटी सुन्दरी गणिकाको शारीरिक सुख र क्षणभरको देखावटी माया पाएकोमा धिक्कारुँ । तैँ भन म के गरुँ ।” मेरो हितैषी साथीले यसरी नै प्रतिक्रिया देखाएको थियो । उसको कुरो सुनेर म स्तब्ध भएको थिएँ । नखाएको विष पनि लाग्ने सम्भावनाले म डराएको थिएँ । उसका शब्दहरु भित्रका ती धारिला तिखा छेडहरुले मेरो आत्मासम्म छेडेको थियो । हिउँदको त्यो पारिलो घामले पनि मलार्ई त्यतिखेर पोलेको थियो । जीउबाट पसिनाका अश्रु धाराहरुले गति पाएका थिए ।एउटा अस्वीकृति मात्र मेरो अस्वीकृतिले मलार्ई कसरी बदनामीको परिवन्दमा जकडिन थालेको रहेछ ।

परिस्थितिको विषमतामा म असहाय हुन पुगेको रहेछु । किन तिनी मप्रति क्रुद्ध भइन् मैले बुझ्न सकिनँ । म त थाहै नपाइ उनको कुण्ठाको सिकार पो भएको रहेछु । मैले के गरेको थिएँ र उनको अनैतिक आमन्त्रणलाई  अस्वीकार गर्न पनि मैले नपाउनु ? आफ्नो त्यस्तो अतुलनीय सौन्दर्य र यौवनलाई किञ्चित ठान्दै आफ्नो निश्छल माया र समर्पणको अवमूल्यन गर्दै आफूलाई एक्लोपनाको मझधारमा छाड्दै अमेरिकाको भौतिकताको रमझमलाई अपनाउँदै आफूलाई त्याग्ने आफ्नो लोग्नेप्रतिको चित्त दुखाइले समस्त लोग्ने मानिसप्रति उनीलाई विद्रोह बनाएको रहेछ । त्यसैले समस्त लोग्ने मान्छेलाई आफ्नो रुप र यौवनको रसस्वादन गराउँदै तिनीहरुलाई आफ्नो दास बनाउन पल्किएकी तिनको अहम्मा मेरो अस्वीकृति एउटा ठूलोे हाँक भएछ ।हैन तिनको यो कस्तो साेंच हो । आफ्नो कृत्यले आफूलाई नाश गराएर, आफ्नो परिवारको इज्जत प्रतिष्ठालाई भुइँमा खसालेर, आफ्नो मातृत्वको नै अपमान गरेर, कोही एक जनासँग बदला लिने त्यो कस्तो विकृति हो ? मेरो अस्वीकृतिले तिनको अहङ्कारमा ठूलोे चोट पारेछ । त्यसले तिनलाई आफ्नो लोग्नेले दिएको चोटको अनुभूति दिलायो । त्यही पीडाको रन्थनाहटमा बिक्षिप्त भइ तिनी म प्रति आक्रामक भएकी रहिछिन् । हुन पनि तिनको त्यही सर्वश्व रुप र यौवनलाई केही पहिले उनको लोग्नेले नकारेर उनको जीवन खल्लो बनाइदिएको थियो । पछि त्यही भावनाको पुनरावृति गरिदिँदा अपमानले तिनी म प्रति रुष्ट भइछिन् ।

त्यसैले उनी मेरो बदनामी गराएर मसँग बदला लिन तम्सिएकी रहिछिन् । साथीको कुरा सुनेपछि मन बिचलित–बिचलित भइरह्यो । बिनासित्ति आइलागेको बद्नामीले म समाजप्रति लाजले पानी पानी भइरहेँ । त्यो रात जूनमा मुस्काएको थियो । वातावरणमा सुवास छर्दै पर कतै जुही, चमेली फूलेका थिए । तर पनि मेरो मन निष्पट्ट अँध्यारो तथा निस्तब्ध थियो ।  मेरी पत्नीको कानमा यो कुरा प¥यो भने मैले के स्पष्टिकरण दिने ? एउटी स्वार्थी र बाठी आइमाईले आफ्नो स्वार्थको लागि बिनासित्ति मलार्ई बद्नाम गराउन खोज्दैछे । अनि पुरुष भएकै कारण मात्र मैले बदनामी बेहोर्न पर्ने । कस्तो न्याय हो यो समाजको ? अवला स्वास्नी मान्छेहरुले भनेको जे पनि ठीक हुने । अनि लोग्ने मान्छेहरु चाहिँ शोषण र अत्याचारको पर्यायवाचीको रुपमा गनिने ? प्रतिष्ठितको आवरण भित्र लुकेर समाजलाई प्रदुषित गर्ने यस्तो तत्वहरुद्वारा आफू पनि हिलोमा मुछिन लागेको तथ्यले मेरो मनमा ठूलै अशान्ति मच्चाइदियो । यिनीहरु जस्ता दुष्ट कुलतकाहरुले नै हाम्रो समाजलाई बिगारेका छन् । हाम्रा सोझा र असल दिदी बहिनी तथा श्रीमतीहरूलाई रगतको आँसुले रुन बाध्य पारेका छन् । परिवारमा बिखण्डन ल्याएका छन् । आपसि सम्बन्धको गरिमालाई धमिल्याएका छन् । अनि विस्वासको सम्बन्धमा भ्वाङ पारेका छन् ।

भद्र भलाद्मी इज्जतदारको खोल ओढेर समाजको मूल्य र मान्यतालाई धमिरा झंै खोक्रो पार्ने यी धमिराहरू भन्दा त बरु समाजले छुट्टयाइदिएको क्षेत्रमा आफ्नो पेसा नै देह व्यापार हो भन्ने सकारेर बस्ने ती गणिकाहरु नै मानवीय दृष्टिकोणले आदरणीय छन् । तिनीहरुले कमसेकम समाजलाई झुक्याएर प्रदुषित त गर्दैनन् ।हे भगवान ! यस्ता आइमाईहरुलाई समाजबाट कसरी निर्मुल गर्ने ? यिनीहरूको विषालु सर्पदंसबाट कसरी यो समाजलाई जोगाउने ? मेरो मनमा चौबिसै घण्टा यिनै कुराहरू खेल्न थालेका थिए । त्यस परिस्थितिबाट उम्कन के गरुँ मैले सोच्नै सकिनँ । एक मन त त्यस दुष्ट आइमाईलाई कतै बोलाएर बेसरी झपारिदिउँकि जस्तो लाग्थ्यो । तर त्यसो गर्दा ब्यर्थैमा“……चलाएर गन्ध” भन्ने परिस्थितिको सिर्जना हुन्छ कि भन्ने डरले मलार्ई उसको नजिक पर्न पनि धक लागेर आयो । बरु स्वास्नीसँग सबै कुरा भनेर आफ्नो मन छर्लङ्ग पार्छु । मेरो मनले त्यही नै अठोट ग¥यो ।“स्वास्नी भनेकी आफ्नी हो । कुरा बुझाए बुझ्छे । यत्रो वर्षको संगतमा उसले मेरो चरित्र राम्ररी चिनेकी छे । मेरो मनलाई राम्ररी बुझेकी छे ।

ऊ एक जनाले मेरो स्थिति बुझिदिई भने मलार्ई अरु कसैको मतलव छैन ।”आफूमाथि आइलागेको त्यो असहज स्थिति स्वास्नीसँग बाँडेर, त्यसबाट निकास पाउने भावनाले बल्ल मेरो मनमा शान्ति छाउँछ । कति दिनदेखी कता कता दुखेको छातीको पीडा अहिले आएर बिसेक भएको जस्तो हुन्छ । मन हलुका हुन पुग्छ । एक्कासी बाहिर कता कता बाँसुरीको मीठो धुन सुने–सुनेको आभाष हुन्छ । बगैचामा रातकी रानी फूलेको रहेछ क्यारे, त्यसको त्यस्तो मादक सुवाश अघिसम्म मगमगाएकै थिएन ।

झ्यालबाट आएको हावाको शीतलहरलाई अहिलेसम्म मेरो मनले किन अनुभूति नगरेको होला ? म छक्क पर्छु । अब त्यस्तो असहज परिस्थितिलाई मैले एक्लै भोग्नु पर्दैन म अब एक्लै छैन । मेरो प्रत्येक असजिलोमा साथ दिने मेरो आफ्नोको साथ पाउने अनुभूतिले अघिसम्म धुम्मिएको मेरो मनमा अनायासै सूर्र्य उदाइदिन्छन् झलमल्ल ………………………।

(श्रोत:- Unity)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.