~इल्या भट्टराई~
गर्मीको मध्यदिनको त्यो घाममा, रत्नपार्कमा रोकेको त्यो सानो माइक्रो बसमा, यात्रुहरू बोलाउनका लागि एउटा सानो खलासी मुटु फुटुन्जेल कराउँदै थियो ।
“नारनथान, नारनथान, यता हजुर यता, ऊ याँ सिट छ ।” त्यो बच्चो खलासी सकेसम्म त यात्रुहरूलाई फकाउँदै थियो । तरअगाडिका सजिला सिटहरूमा सबै यात्रुहरू बसिसकेका थिए । अनि गर्मी महिनाको त्यो चर्को मध्यान्हमा अरू खाली सवारी साधन हुँदा हुँदै त्यो सानो माइक्रो बसको भित्री सिटमा कोचिएर जान कोही पनि तयार भएन ।
आएका २, ४ जना यात्रुहरू अर्कै माइक्रोबसतिर लागेको देखेपछि ड्राइभर एक्कासि रिसायो “आइसकेका मान्छेहरूलाई पनि भित्र हुल्न सक्दैनस्, भाते मोरा ! कसरी नोक्सानी गराउन सकेको होला हँ ? भित्र बसेकाहरूलाई भित्र–भित्र पठाउनुपर्दैन ? त्यत्ति पनि गर्न सक्ने हुती नभएकोलाई के को खलासी राख्नु ? यस्तै चाल हो भने त २, ४ सिट खाली नराखी त बस हिँड्नै नपाउने भै हाल्छ नि ।”
“पख न ! अहिले सिट खाली राखेर कुदाउनु प-यो भने तँलाई नारनथान पुगेर नगोदी काँ छाड्छु र । मान्छे बोलाउन नसक्ने हुतिहारा !”
“अनि तपाईंहरू यसो पर–पर सरी दिनुस् न ! अगिल्तिर सिट देखे पो मान्छेहरू बस्न आउँछन् , अनि बस चाडै लैजान पाइन्छ । फाइदा त तपाईंहरूलाई नै हो । सिट नभरेसम्म बस जाँदैन त !”
उसको हकारले यात्रुहरू पर–पर सरिदिन्छन । त्यो अगिको खाली ठाउँमा यात्रुहरू पनि भरिन्छन् । बस गुड्छ । अनि गुडिरहेको बसको ढोकामा खतरनाक पारामा टुक्रुक्क बसेर त्यो बच्चो भाडा उठाउन लाग्छ ।
“भाडा दिनुस न भाडा” प्रतिक्रियामा दुईचार जनाले भाडा दिन्छन् । कसैले दिएको पैसा पुग्दैन । कसैसँग खुद्रा पैसा हुँदैन ।
“ला ! पाँच रुपियाँ”
“दाइ पैसा पुगेन नि त ?”
“मसँग कार्ड छ ।”
“उसो भए देखाउनुस न ।”
“ऐले देखाउँला पख”
“हैन, दाइ अहिले देखाउनुस न ।”
“ए ! तँ खाते मोरा, ममाथि विश्वास नगर्ने, ऐले एक झापु दिएर दाँत–साँत झारीदिन्छु अनि था’ पाउलास् ।
केटो एक्कासि सन्केपछि त्यो फुच्चे डरायो । अस्ति भर्खर कार्ड माग्यो भनेर एउटा केटाले बसबाट ओरालेर उसलाई कस्तरी कुटेको थियो । अहिलेसम्म जीउ दुख्दैछ । त्यो कुटाइ सम्झेर उसको मुटु थरर् भयो । पिडौला लगलग काम्यो । तर के गर्नु मागेन भने यिनीहरू थोरै पैसा दिएर पछि कार्डै नदेखाई खुरु–खुरु हिन्दिन्छन् अनि फेरि ड्राइभरको कुटाइ खानु आफैले हो ।
“दाइ हजुरको भाडा ?”
“हैन तँलाई कति हतार लागेको ? पख न दिइहाल्छु नि ऐले ।”
“हैन दाइ अहिले दिइहाल्नोस न, फेरि पछि काँबाट चढ्या भन्ने बिर्सिइन्छ ।”
“ए ! उसो भए तैंले मलाई पूरा भाडा नदिने चोर ठानिस ?”
“त्यसो त मैले काँ भने र ! खालि ऐले भाडा दिनुस पो’ भन्या त ।”
त्यसले बेसरी आँखा त-यो । बिचरो त्यो बच्चो खलासी डरले फेरि लगलग काम्यो । “यिनीहरू यस्तै हुन । काँ परबाट चढछन्, अनि भाडा दिने बेलामा नजिकै, चढेको भनी थोरै भाडा दिन्छन । भन्यो भने गाली गर्छन् । “उता ड्राइभरले याद गरिराखेको हुन्छ अनि टाढाबाट चढेकोसँग पनि थोरै भाडा लिने भनेर रिसाउँछ । अल्छी मोरा !
राम्ररी काम गर्न सक्दैनस भनेर गाली गर्छ । के गर्नु आफूले अल्छी ग-या त हैन नि । तर, यी सहरका मान्छेहरू कस्ता ढाँट हुँदा रै’ छन् । अनि हेपाहा नि !” मनमा यिनै तर्कना खेलाउँदा खेलाउँदै यन्त्र चालित झैं भएर बस रोकेर एउटी महिलालाई उतारेर उनीसँग पैसा लिएको उसले पत्तै पाउँदैन । ऊ टोलाएकै हुन्छ । ऊ खोई के कल्पनामा डुबेको थियो कुन्नि उसले रोकिएको ठाउँमा चिच्याएर ग्राहक बोलाउन बिर्सेछ । बस गुड्नै लागेको बेलामा एउटा यात्रु आउन लागेको चाल पाएर ड्राइभरले बस रोक्छ । त्यहीँ यात्रु हुँदा पनि त्यो बच्चोले चिच्याएर नबोलाएको देखेर ड्राइभर च्याठिन्छ ।
“हैन ए भाते ! तँलाई भातको उँघ लाग्यो कि क्या हो ? यस्तो दिउँसै सुत्नु पर्ने मान्छे याँ किन काम गर्न आ’को ? राजकुमार भएर जन्मेको मान्छे, दरबारमा बस्नु पर्ने बरा ! याँ खलासी बन्न पो आइपुगेछ ।” ड्राइभरको पेचिलो बोली सुनेर, बसका सबै गलल्ल हाँस्छन । तर त्यो बोलीको पेचले केटोको मुटुमा गहिरो प्वाल पार्छ । ऊ पीडाले रन्थनिन्छ । झन् अरू मान्छेहरूको हाँसो त उसको सर्वाङ्गमा अङ्गार खन्याएसरी हुन्छ । आँखा रसाएर आउँछ ।
“बिहान सात बजे नुन पानीमा मुछेको भात खाएर हिँडेपछि उसले एक कप चिया पनि खान पा’ थिएन । अगि नारनथानमा चिया र पाउरोटी खान पैसा माग्दा ड्राइभरले अर्को टिपमा खालास् भनेको थियो । अहिले तीन बजिसक्यो भोकले आन्द्रै बटारिइसके, रिङाएको जस्तो भै’ राख्या छ । उहाँ भने यो ड्राइभरचाहिँ मलाई टन्न भात खाएर उँघ्या पो भन्छ त ।”
“मलाई भोक लाग्या छ भन्ने तँलाइ था’ छैन र ?” “पख ! मलाई ड्राइभर त हुन दे त्यतिन्जेलसम्म तँ बूढो भै सक्छस्, अनि तँलाई म यसै गरी गाली गर्छु । अनि हेरुला नि, तँ के गर्न सक्दो रै’छस् ।”
यसरी ड्राइभरको कुरोले आफ्नो चित्त दुखेपछि उसले कल्पनामै ड्राइभरलाई हेप्छ । आफू ड्राइभर भएर, ड्राइभरलाई खलासी बनाएर, त्यसलाई सकेसम्म हेपेर अहिलेको बदला लिने कल्पनाले बच्चोलाई एकै छिन रोमाञ्चित बनाउँछ । तर तुरुन्तै आफू ड्राइभर बन्न पाउने हो कि नपाउने भन्ने चिन्ताले उसको सोचाइलाई अन्तै मोड्छ ।
भाक्कल–भुक्कल परेको त्यो बच्चो नौ वर्ष भन्दा बढीको थिएन होला । उसका ती दूधे गाला अझै भुक्क परेका थिए । नारी, पाखुरा तथा औँलाहरूमा सम्पन्नताको पाक्कल–पुक्कल अझै पनि बाँकी नै थिए । निष्ठुर समयको चेपमा परेको त्यो बालकमा, बितेका सुखद समयका केही अवशेष बाँकी नै थिए ।
समयको मारमा ऊ नराम्ररी प-यो । त्यसैले फलस्वरूप एउटा सामान्य बालकको भन्दा उसको बालापन नराम्ररी प्रभावित भयो । ऊ टुहुरो भयो । त्यसैले आफू बाँ च्नको लागि त्यो कलिलो उमेरमै उसले आफै सङ्घर्ष गर्नुप-यो ।
“किन मारे होलान् माउवादीले हाम्रा बा–आमालाई ? ती माउवादीहरू को हुन कुन्नि ! तिनरूको हाम्रा बा–आमासित के को रिस, इबि थियो होला ।” आफ्नो सुखद अतीतमा डुबेको उसले, आफू टुहुरो हुन पुगेको कारण अझै पनि बुझेको थिएन ।
“हाम्रा बा सुराकी रे ! त्यै सुराक गरेको भनेर माउबादीले हाम्रा बा–आमालाई मारेका रे । हैन सुराकी भन्या के होला ? हाम्रा बा त डाँडाचौरको स्कुलाँ मास्टर थिए । गाउँका सबैले उनलाई “गुडमर्लिङ्ग” भनेर नमस्ते गर्थे । मास्टरका छोराछोरी भनेर सबैले हाम्री दिदी र मलाई कति माया गर्थे, बोक्थे । घरबाट कुराउनी, मह, सिरौँला ल्याएर खान दिन्थे । त्यै सुराकी भा’ कोले सबैले बालाई “गुडमार्लिङ” गरेका हुन त ? अनि हामीलाई माया गरेका हुन त ? सबैले माया गरेका मान्छेलाई ती माउवादीले किन मारेका होलान् ?”
“आमा त घरैमा बस्थिन् । घाँस जान्थिन् । बस्तुभाउ हेर्थिन् । हामीलाई पकाएर ख्वाउँथिन् । कति माया गर्थिन् । किन मारे होलान् तिनलाई ? आमालाई मार्न तिनरूलाई माया लागेन होला ? तिनी त स्कुलाँ पनि जान्नथिन् । अनि त स्कुलै नजाने मान्छे कसरी सुराकी भइन् ?”
“कति माया गर्थिन् उनी हामीलाई । अहिले आमा नमरेकी भए हामीले यस्तो दुःख गर्नु पथ्र्यो र ? ड्राइभरले मलाई यसरी हकार्न सक्थ्यो त । आमा भा’ भए मैले भोकै बस्नै पर्दैनथ्यो । उनी हामीलाई कति माया गर्थिन् ।
“हाम्री दिदी पनि काँ पुगिन् कुन्नि ? काकाले त ईंटा भट्टामा ईंटा बोक्ने जागिर लाइद्या छु, त्याँ तेरी दिदीले परसस्त कमाउँछिन् भन्थे । घराँ सानो घल्चामा पँधेराबाट पानी ल्याउन त गारो मान्ने मान्छे, ईंटा कसरी बोक्दी हुन् ?”
“पैसा परसस्त कमाउँछिन् भन्थे काकाले । तिनी ट्याम–ट्याममा पेटभरि भात खान त पाउँदि हुन् नि । खै ! कहिले भेट्ने होला तिनीलाई ? तिनी भेटिइन् भने त, तिनीसँग पैसा मागेर दुनट र च्या पेटभरी खान्थे ।” चौबाटोको गोलोमा ट्राफिक पुलिस उभिएको हुन्छ भनेर बच्चोले स्वचालित रूपमा बसको ढोका लाउँछ ।
“ए मोरा, ढोका लाएर यो जेठ मैनाको गर्मीमा यै माइक्रो बसभित्र उसिनेर हामीलाई मार्न लागिस् कि क्या हो । ओ हो ! कस्तो गुम्सियो, उकुस–मुकुस भयो । एईई त्यो ढोका खोल हावा आउँछ ।”
“ढोका खोले त ट्राफिकले मारिहाल्छ नि । अस्तिन, एक दिन बिर्सिएछ वाँ दाइको झन्डै लाइसेनै खोस्द्याथ्यो, हगि दाइ ?” ऊ ड्राइभरको मन आफ्नो नजिक तान्न खोज्छ ।
ड्राइभरले बच्चोप्रतिको अगिको झिझ्याट बिर्सिसकेको हुन्छ । बसबाट यात्रुहरू झार्ने र खाली सिटमा फेरि यात्रुभरिने भै रहँदा त्यो टनाटन भरिका सिटहरूले उसको मनमा आनन्दको लहर सुस्तरी सल्बलाई रहेको हुन्छ ।
“भाते, झन्डै बिताइद्याथिस् नि त्यो दिन तैले !” आनन्दले निस्फिक्रीसँग हाँस्दै ड्राइभरले भन्यो ।
“तपाईंहरूलाई गर्मी भो’ भनेर ट्राफिक भा’ ठाउँमा ढोका नलगाउन मिल्दैन । त्यस्तो गर्मी लाग्नेले त ट्याक्सी चढ्नु नि, अनि दुवै झ्याल खोलेर हावाको आनन्द लिनु । यो माइक्रोबसमा त यस्तै हो ।”
ड्राइभरको बोलीको धारले त्यहाँ भित्रका सबै यात्रुहरूको मनलाई स्यारर्र चिरा लाउँछ । उसको एकै वचनले यात्रुहरूको मुखमा बुजो लाग्छ । बाटो जाम रहेछ । अनि उकालो परेको बाटोको परसम्म गाडीहरूको दोहोरो लस्कर देखिन्थ्यो । बसको ढोका खुल्ला भएकोले अगिजस्तो गर्मी त थिएन । तैपनि गर्मीको महिनामा त्यो सानो सवारी साधन भित्र कोचिएर बस्न यात्रीहरूलाई गाह्रै लागेको थियो । तर उपाय केही थिएन । उता बच्चोलाई त्यहाँ बस्ने ठाउँ पनि थिएन ।
बसको खुडकिलोमा टुक्रुक्क बस्दाबस्दै उसलाई झ्याउ लागेर आउँछ । त्यसैले ऊ बसबाट उत्रिन्छ । बस रोकिएपछि गर्ने कुरो केही नभएको शून्य समयमा बच्चोको कतातिर थिचिएर रहेको बालापन प्रकट हुन पुग्छ । ऊ गएर अगाडिको ट्याम्पुको पाउदानमा चढ्छ । एउटा हातले ह्याण्डिल समातेर अर्को हात तन्काउँदै ऊ हावामा झुल्न थाल्छ ।
टन्टलापुर घाम लागे तापनि सिर–सिर चलेको बतासले उसको शरीरले मात्र होइन, उसको मनले पनि आनन्द मान्छ । हात गलेपछि ऊ पाउदान र भुईंमा उफ्रिने अर्को खेल खेल्न थाल्छ । त्यसपछि ऊ फेरि बसको छेउको पेटीमा उफ्रदै खल्र्याङखुट्टे खेल्न थाल्छ । खेलिरहँदा ऊ आफूभित्रै हराउँछ । अनि एउटा गीत गाउन थाल्छ । यतिखेर ऊ आफैमा मग्न छ । अगि भर्खर उसले यात्रुहरूबाट पाएको हेपाहा व्यवहारको तुस र ड्राइभरबाट पाएको गालीको पीडालाई बिर्सिसकेको हुन्छ । त्यतिखेर ऊ माइक्रोबसको निरीह खलासीबाट, गाउँको एउटा मस्त र निश्चिन्त बालकमा परिवर्तित भएको हुन्छ ।
“ए मोरा कति खेल्छस् तँ ? जा त्यो पसलबाट पानी मागेर ले ।” सडकमा अनाहक कुर्नु परेको झ्याउले ड्राइभरलाई बच्चोको त्यो खेलप्रति झ्याउलो बनाइदिन्छ । बच्चो दगुरेर गई पसल्नीसँग कोकको पुरानो बोतलमा भरेको पानी मागेर ल्याउँछ । ड्राइभरले अघाउन्जेल पानी खान्छ । त्यत्तिकैमा जाम खुलेको सङ्केत आउँछ । गाडीहरू चल्मलाउन थाल्छन् ।
“ए छिटो गर ।”
बच्चो बोतल लिएर दगुर्छ । पछि फेरि के सम्झेर हो कुन्नि टक्क उभिएर त्यो पानी घटघटी पिउँछ । पानी खाउन्जेल उसको अनुहारमा चरम सन्तुष्टि भरिन्छ । मानौँ ऊ अगि भर्खर त्यही पसल्नी कहाँ देखेको दुनट र चिया खाँदै छ । उसले बोतल पु-याउन्जेल बस गुडेर परसम्म पुगिसकेको हुन्छ, तर दौडदै आई अभ्यस्त पाराले बसको ह्यान्डिल समात्दै उ उफ्रिएर बस चढ्न आइपुग्छ । उसको अभ्यस्तता तथा सतर्कताले ऊ सकुशल बस चढ्न सक्छ । नभए त एक सेकेन्डको फरकले पनि ऊ ठूलो दुर्घटनामा पर्न सक्ने निश्चित थियो ।
बिचरो बच्चो बाँच्नका लागि उसले कति जोखिम मोल्नु परेको छ ।
सुदर्शन नभए पनि, अनुहारमा खासै हिस्सी नभए पनि त्यसको कालो–कालो निर्दोष अनुहारमा र विशेषतः त्यसका आँखामा विचित्रको आकर्षण र सम्मोहन भएको त्यस अबोध बच्चो, भोकले अरूको बोलीले रत्नपार्कदेखि नारायणथान, नारायणथानदेखि रत्नपार्कसम्मको निरस, गुडाइले, यात्रुको पर्खाइले, यात्रु आह्वानको निरन्तर चिच्याइले, यात्रु तथा ड्राइभरको पिटाइले कतिन्जेलसम्म त्यस्तै निःश्छल र अबोध बनिरहन सक्ला र ?
भित्री मायाको अभावमा र बाहिरी परिस्थितिको प्रतिकूलताबाट बिस्तारै उसको कोमल व्यक्तित्वको क्षयीकरण हुँदै जाला । उसका संवेदनाहरू मर्दै जालान् । बोली तथा स्वभावमा उग्रता र रिस थपिदै जाला । उसको उमेर बढ्दै जाला । अनि एउटा कोमल बच्चो परिस्थिति कै कारणले एउटा रुखो, अभद्र तथा असामाजिक व्यक्ति कसो नबन्ला । ऊ आतङ्ककारी किन नबन्ला !
मलाई त्यो बच्चो खलासीप्रति साह्रै टिठ लागेर आयो । उसको साह्रै माया लाग्यो । तर जति नै माया लागेपनि म केही पनि गर्न सक्दिन । अनाहक मै टुहुरा भएका ती हजारौ निर्दोष र टुहुरा बच्चाहरूप्रति संवेदना मात्र प्रकट गर्न सक्छु । अनि तिनीहरूकोलागि प्रार्थना मात्र गर्न सक्छु ।
त्यसैले उसप्रति संवेदनशील भएर मेरो मन त्यसको लागि भगवान्सँग पुकारा गर्न थाल्छ । “हे भगवान् त्यो बच्चोको तिमी रक्षा गर । त्यसलाई असमाजिक हुनबाट बचाऊ । त्यसका संवेदनाहरू मर्दै गएर त्यो आतङ्ककारीमा परिणत हुनबाट त्यसलाई जोगाऊ । बस चढ्ने सबै यात्रुहरूमा त्यस्ता कलिला, निरीह, निःश्छल खलासीहरूप्रति सहृदयी बनिदिने बुद्धि जगाऊ ।भगवान् त्यो बच्चोको मन सधैँभरि यस्तै निश्छल र कोमल रहिरहोस्, उसको मन परिवर्तन नहोस् ।” बसबाट नउत्रिउञ्जेल मेरो मनमा यिनै कुराहरू खेलिरहन्छ–खेलिरहन्छ ।
(श्रोत:- अन्तर्जाल)