तिमीले मलाई इतिहासको पन्नाहरूमा होच्याऊन सक्छौं
तिम्रा कटु र सेता झुठहरू प्रयोग गरेर………
तिमीले मलाई सडकको फोहर जस्तै कुल्चन सक्छौं
तर फेरि पनि, धूलो जस्तै, म उठ्ने छु,
हावा चलेकोवेला, हुरी चलेको बेला
आकाश ढाकेर म उठ्नेछु, पुनः उठ्नेछु,
धुलो जस्तै पुनः उठ्ने छु ।
मैले तिमीलाई गर्ने अनादरले तिमीलाई खिन्न पार्छ हो ?
कि, किन तिमी निराश र दुःखी देखिन्छौं ?
“मानौ म बस्ने कोठा छेऊ नै तेलको मुहान भेटिएको खुशीमा
लमक-लमक हिडे जस्तै, म हिड्दा
तिमीलाई रिश उठ्छ हो ?”
म खुशी हुँदा तिमीलाई मन पर्दैन हो ?
आकाशमा चन्द्रमा र सूर्यहरू सदाकाल उदाए जस्तै
समुन्द्रमा निरन्तर ज्वार भाटाहरू उठे जस्तै
निरन्तर आशाका छालहरूलाई उचाल्दै
म पुनः उदाउने छु,
म पुनः उठ्ने छु,
तिमीले म भत्किएको हेर्न चाहेका थियौं ?
झुकेको मेरो टाउको र लोलाएको मेरो आँखाहरू तिमीलाई मन पथ्र्यो होला ?
मेरो काँधहरू आँशुको थोपा खसे जस्तै लत्रिएको मन पथ्र्यो होला ?
र म आफ्ना दुःखहरूमा छाती पिटेर रोएको मन पथ्र्यो होला ?
तर, दुःखमा पनि शीर ठाडो पार्ने मेरो बानीले तिमीलाई रिस उठाउँछ हो ?
मनभरि वेदना भएपनि
मानौ, मेरै आँगनमा सुनको खानी भेटेर खुशी भए जस्तै
म सधै हा…..हा….हाँस्दै हिड्छु
यो मेरो स्वभावले तिमीमा डर जगाउँछ हो ?
तिम्रा कटु शब्दहरूले मलाई प्रहार गर्न सक्छौ
तिम्रा आँखाहरूले मलाई तिरस्कार गर्न सक्छौ
तिम्रा घृणाहरूले मलाई मार्न सक्छौ
तर फेरि पनि, हावा जस्तै, म उठ्ने छु
म पुनः उठ्ने छु,
इतिहासमा हामीमाथि भएका अपमानहरूलाई कुल्चंदै
म उठ्ने छु,
पीडामा डुबेको विगतलाई छाड्दै
म उठ्ने छु,
निरन्तर हलचल गर्ने, फराकिलो
म एक कालो समुन्द्र हुँ
कहिले बहदै र कहिले फैलिदै निरन्तर समुन्द्री ज्वारभाटासंग जुधिरहन्छु
आतङक र डरका अँध्यारा रातहरूलाई छोडी राखेर
म उठ्ने छु,
अदभुत उज्यालो, सुर्योदय संगै
म उठ्ने छु,
पूर्खाले दिएको “आत्मवल”को अमूल्य उपहार बोकेर
म उठ्नेछु,
किनकि, म उत्पीडितहरूको सपना र आशा हुँ
त्यसैले म उठ्नेछु
म उठ्नेछु
म पुनः ‘उठ्नेछु’
(सन् 1928 अप्रिल 4 मा मिसौरी, अमेरिकामा जन्मिएकी चर्चित अश्वेत अमेरिकी कवयित्री Maya Angelou ले अमेरिकामा कालाहरू उपर गोराहरूले गरेका दमनको विरुद्ध यस कविता लेखेकी हुन् )