लघुकथा : स्वामी १००८

~सिन्धु गौतम~Sindhu Gautam

गेरु वस्त्रधारी १००८ स्वामीको प्रवचन सुन्न धेरै मानिसहरूको भीड लागेको छ । ठूलो खुला मैदान पनि खचाखच छ । कोही १००८ स्वामीको दर्शन गर्न, कोही प्रवचन सुन्न, कोही भीड हेर्न, कोही भीडभित्र भीड हेर्न अनि कोही स्वामी नभएकाहरू स्वामी खोज्न र स्वामी हुन त्यहाँ जाने गर्दथे । यस्ता केही न केही उद्देश्य लिएर मानिस त्यहाँ जाने गर्दथे ।

कडा सुरक्षाका बीच स्वामीज्यूको प्रवचनस्थललाई सजाइएको थियो । उनको आगमनको पर्खाइमा सबैका आँखा रातो कार्पेटको लामतिरै थियो । आज १००८ स्वामीज्यूले भौतिकताका विरुद्धमा प्रवचन दिने कार्यक्रम तय भएको उनका निजी सचिवले बताए ।

लामो पर्खाइपश्चात् स्वामीज्यूको आगमन भयो । मखमलको गद्दा सोफामा विराजमान हुँदै, पस्मिना च्यादर ओडेका स्वामीको मुखारबिन्दबाट यसरी प्रवचन सुरु भयो- ”प्रिय र प्रियाहरू, स्वामी भक्तजनहरू, संसारमा आउँदा नाङ्गै र खाली हात आउने हामीहरू संसारबाट परमात्मकहाँ विलिन हुँदा पनि नाङ्गै र खाली हात जान्छौं, बाचुञ्जेल जति लोभ लालच राखे पनि मरेपछि लैजाने केही होइन, त्यसैले म भन्छु- संसारमा बाँचुञ्जेल सांसारिक मोह लिनु हुँदैन, कसैलाई कमारो बनाउनु हुँदैन, कसैलाई दुःख दिनु हुँदैन । गाडी, बङ्गला, सुसारे, भौतिक साधन प्रसाधनहरू सबै मोह हुन्, यस्ता मोहलाई त्यागेर यसको अप्राप्तिमा उदास नभई हामी सम्पूर्णले परमात्ममा ध्यान लगाउनु परमात्ममै लिन हुनुपर्छ यो नै सर्वसुख हुन्छ । जुन हामी भौतिक प्रसाधनले पाउँदैनौ …।”

यस्तैयस्तै लगभग एक घण्टे प्रवचनरूपी भाषण सकेपछि स्वामीज्यूको प्रस्थानको समय भयो ।

प्रवचन प्राङ्गण बाहिर उनको चिल्लो प्राडो, अगाडि पछाडि निहुरिएका, कोही पानदानी, कोही थुकदानी, कोही के लिएर उभिएका सुसारेहरू अनि छेवैमा आजको आम्दानीको विवरण दिँदै गरेका उनका निजी सचिव अनि बीचमा १००८ स्वामी महाराजलाई देखेँ । उनको मुहार मलिन देखेर नजिकै गई बुझ्न मन लाग्यो ।

उनका सुसारेमध्येका एक सुसारेबाट थाहा लाग्यो, उदासिनताको कारण । उनको आजको एक घण्टे प्रवचनको आम्दानी, प्रवेश टिकटको रकम जम्मा एक लाख आठ हजार आठ सय आठ मात्र भएको रहेछ ।

मैले उनको भौतिकता विरोधी एक घण्टे भाषण याद गर्न थालेँ । रातो कार्पेट, मखमली कुर्ची, कडा सुरक्षा अनि प्रवचनस्थल बाहिरको उनको भौतिक समायोजनको सबै मानसपटलमा घुमिरहे । अनि सही अर्थ खोज्न थालँे १००८ को ! त्यसको अर्थ उनको बौद्धिकताको उपाधि हो कि उनलाई एक प्रवचनपश्चात् चाहिने रकमको पछाडिका शून्यहरू बाहेकको अङ्क …..?

-भरतपुर

(श्रोत:- मधुपर्क असोज, २०६६)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.