~सङ्कलक: इमानसिंह चेम्जोङ~
हिमालयको सृजनापछि भगवानका अगाडि एउटा नयाँ समस्या उपस्थित भयो । हिमालय त्यति विस्तृत, उच्च औ सुन्दर भए तापनि त्यसको उपयोग गर्ने तथा अन्य कुनै जीवात्मासँग त्यसको सम्बन्ध स्थापित गर्ने त्यहाँ कुनै व्यक्ति थिएन । तसर्थ भगवानले त्यस विपुल हिमपुञ्जमा बोखोपी नाम गरेको एकजना मानिसको सष्टि गरे र साथै सन्तसुरुख नाम गरेकी उसकी स्त्रीको पनि । बोखोपी र सन्तसुरुखको दाम्पत्य जीवनका सिलसिलामा एउटी छोरीले जन्म पार्इ । उनको नाम रह्यो सुम्निमा । ऊ वृन्दावनमा बस्तथी ।
आफूलायक कुनै जीवन नभएको त्यस प्राय: एकान्त औ निर्जन स्थानमा सुम्निमा केवल पंक्षीहरूसँग हिंडडुल गर्दथी, तिनीहरू नै उसका साथीसंगी थिए । ऊ आफ्ना ती साथीहरूको भाषा बुझ्दथी, तिनीहरूसँग ऊ कुराकानी पनि गर्दथी । एकमात्र प्रकृतिको संसर्गमा हुर्केकी सुम्निमा सुस्तरी(सुस्तरी युवती भर्इ । तैपनि ऊ केवल चराचुरुङ्गीहरूसँग यो वन त्यो वन तथा वनको एक छेउदेखि अर्को छेउसम्म घुम्न पाउँथी । त्यतिखेर स्वभावत: उसका मनमा कुनै एकजना पुरुषको सहज इच्छा जागृत हुन्थ्यो तर त्यहाँ कुनै पुरुष थिएनन् । यसै अभावमा भित्रभित्रै पिल्सिरहेकी सुम्निमाका दृष्टिमा एक दिन एकाएक एक जना पुरुष देखापर्यो । पुरुष आकाशबाट पृथ्वीमा आएर वनजङ्गलतिर घुमिरहेको थियो ।ऊ निकै हृष्टपुष्ट थियो, खुबै आकर्षक, खुबै लायक । उसको शरीरमात्र देख्नासाथ पनि सुम्निमा ऊप्रति मोहित भर्इ । ऊ थियो पारुहाङ ।
पारुहाङ सुम्निमाका विषयमा केही पनि जान्दैनथ्यो । सुम्निमा आफूप्रति आकर्षित भएको कुरा त के विचराले उसलार्इ देखेकोसम्म पनि थिएन । तसर्थ सुम्निमालार्इ एकपल्ट आफ्नो अनुहारसम्म पनि नदेखाएर ऊ आफ्नो बाटो लाग्यो । सुम्निमाले ऊसँग भेट्ने मन गरेकी थिर्इ तर भाग्यले उसको धोको पूरा हुने मौका दिएन । जे होस्, पारुहाङको दर्शनको कामना सुम्निमाको मनमा सदा बिझी रहने एक मधुर काँडाकै रूपमा रहिरह्यो । उसले जसरी भएपनि पारुहाङसँग सम्पर्क स्थापित गर्न चाही तर कुन उपायले ऊसँग भेट हुने हो ? यो सुम्निमाका लागि एउटा समस्यै थियो । अन्त्यमा उसले आफ्ना साथीहरूसँग सल्लाह माँगी । चराहरूले भने – “पारुहाङको घर आकाशमा छ । ऊ हावाबाट आउँछ र हावाबाटै माथि जान्छ ।” साथीहरूले सुम्निमालार्इ आशा देखाए – “हावासँग कुरा गर्न सक्छौ भने उसैमार्फत समाचार पठाउँदा पारुहाङकहाँ पुग्छ ।”
प्रकृतिपुत्रीजस्ती सुम्निमा हावासँग पनि कुरा गर्न सक्थी । साथीहरूले दिएको उपाय सुन्नुमात्र थियो उसले तत्काल अनुरोधपूर्वक हावालार्इ आफ्नो काममा लगाइहाली । हावाले तुरुन्तै पारुहाङकहाँ गएर ऊसँग पृथ्वीका एउटी तरुनी सुम्निमा ऊसित विवाह गर्न चाहन्छे भन्ने खबर पुर्याइदियो । यो कुरा सुनेर पारुहाङ अत्यन्तै खुशी भयो र आफूलार्इ एउटी सुन्दरीको वर बनाइन पाइने हर्षमा हावा सँगसँगै पृथ्वीमा ओर्ल्यो । पृथ्वीमा पुग्नासाथ ऊ सरासर सुम्निमा बसेको ओढारमा गयो । तर अफशोस, काम कुरो मिल्न सकेन । सुम्निमा जति सुन्दर थिर्इ, पारुहाङ उत्तकिै कुरूप थियो । केवल शरीरको देखेर आकर्षित भएकी सुम्निमाकालागि पारुहाङको च्याप्टो, कालो र ससाना आँखाहरूले रूप बिगारेको अनुहार एक किसिमको धोखा साबित भयो । पारुहाङलार्इ देखेर सुम्निमाका हृदयमा प्रेमको बदला सहसा भय उत्पन्न भयो । विचरी उसका सामुमा उभिनसम्म पनि सकिन र भागेर गर्इ ।
अर्कातिर उस्तै पारुहाङलार्इ पनि नराम्रो चोट पर्यो । विवाहको सुखद लालचमा आकाशबाट ओर्लिने भएको विचरो फुस्सामा पर्ने देखियो । उसलार्इ एकातिर घोर लज्जाको अनुभव भयो भने अर्कोतिर उसको पौरुषत्वप्रति यो एक प्रकारको साह्रै ठूलो अपमान पनि थियो । अपमानित पारुहाङले हावालार्इ भन्यो- “तिमीले गर्दा सुम्निमासँग विवाह गर्न भनेर म पृथ्वीसम्म आएँ, सुम्निमा भने मेरो अगाडिसम्म पनि पर्दिन ! कस्तो सरमलाग्दो कुरो हो ! तर म पनि आफूले सकेको नगरी त कहाँ छाड्छु र !” यति भनेर आहत अपमानित पारुहाङले गएर सुम्निमा बस्ने जङ्गलको प्राय: जम्मै पानी सुकाइदियो । तरल पदार्थका नाममा केवल एउटा कर्कलाको पातमा विशेष प्रकारले अलिकतिमात्र शेष राखेर ऊ आकाशमा उडेर गयो । पिउने पानी नपाएपछि जङ्गलका सबै प्राणीहरू तिर्खाले सताइन थाले । सुम्निमा पनि हरर्हर भर्इ । उसले यताउतिका सारा खोल्सा-खोल्सीहरूमा गएर आफ्नो प्यास मेट्न खोजी तर कतै एक थोपा पनि पानी थिएन । उसले आफ्ना साथीहरू न्याउली, कुथुर्के, लाहाँचे, चाँचर, भ्याकुरो, चिबे, जुरेली, ढुक्कुर, हलेसो, च्याखुरा, प्यूरा आदिलार्इ पानी खोज्न पठार्इ । लाहाँचेले रूखको टोड्कामा अलिकता पानी भेट्टायो तर आफै तिर्खाले हर्हर भैरहेको त्यस विचरोले त्यति पानी आफ्नै तिर्खा मेट्न खाइदियो । चिबेले कर्कलाको पातमा अलिकति पानी भेट्टायो । उसले चाहिँ इमानदारी साथ त्यो पानी सुम्निमालार्इ ल्याइदियो । तिर्खाले साह्रै आतुर भैरहेकी सुम्निमाले पानी भेट्टाउनसाथ आँखा चिम्लेर पिइहाली ।
सुम्निमा विचरी त्यो पानी पिएको महिना दिनपछि नै थला परी । यस बिमारीले एउटा अनौठो कुरा हुनगयो । सुम्निमा के कारणले बिरामी भैछ भनेर चुइयाँ, बगेरो, लाटोकोसेराहरूले जोखाना हेर्दा कर्कलाको पातको पानी खास पानी नभर्इ पारुहाङले टुना गरी छोडेको एक प्रकारको ओखती पो रहेछ र यसैको प्रभावले गर्दा पो विचरी बिरामी भएकी रहिछ भन्ने पत्ता लाग्यो । अब के गरे सन्चो हुन्छ ? भनेर सोच्दा सुम्निमाका साथीहरूले भने – “स्वयं पारुहाङलार्इ झिकाएर उसैले औषधिउपचार गरेमात्र सन्चो हुन सक्तछ ।” साथीहरूको सल्लाहअनुसार विचरी सुम्निमालार्इ फेरि एकपल्ट हावालार्इ बोलाएर पारुहाङलार्इ झिकाउन करै लाग्यो । सुम्निमाको सौन्दर्यले आकर्षित तथा उसको व्यवहारले अपमानित पारुहाङ पनि यही दाउ पर्खेर बसेको थियो । हावाद्वारा समाचार पाउनासाथ ऊ पृथ्वीमा ओर्लिहाल्यो । साथै उसले जडीबुटीको उपचारद्वारा सुम्निमालार्इ निको पनि पारिदियो । गुन लाएकाले सुम्निमाले पारुहाङलार्इ आफ्नू पति मानी ।
सुम्निमाले एकैचोटी पाँचवटा छोराछोरी जन्मार्इ । बच्चाहरू पनि अनौठो भए जेठो बाघ, माहिलो मानिस (हेन्कम्बु), साहिंलो भालु, काहिंलो चितुवा र कान्छो कुकुर । आकाशनिवासी पारुहाङ आकाशमै फर्किसकेको थियो, सुम्निमा पनि अब एक्लै थिइन । ऊ आफ्ना पाँच भाइ छोराहरूका साथ आनन्दपूर्वक बसी ।
(श्रोत:- Kapanonline )