नियात्रा : यसरी सकुशल घर आइपुग्यौं

~पद्मावती सिंह~

हो, कहिल्यै नबिर्सिने भो गोरखाको त्यो बृहत कवि गोष्ठी जुन भानुजयन्तीको उपलक्ष्यमा गोरखामा आयोजना भएको थियो ।

यस वर्षको शुरुमै द्रव्यशाह‌‍‍‍‍‌ क्याम्पसप्रमुख मोहननारायण श्रेष्ठले भानु जयन्तीमा काठमाडौंबाट कविहरूको सहभागिता जुटाउने अभिभारा मलाई सुम्पिनु भएको थियो । पोहरसाल पनिमैले नै जिम्मा लिएको थिएँ । मेरो संयोजनमा पोहर १२ जना कविहरूको चयनबाट आयोजकहरू अत्यन्तै प्रशन्न भएका थिए भने सहभागी कविहरू पनि सन्तुष्ट भई फर्केकमा थिए । आयोजकहरूले देखाएका सदभावना र अतिथ्य सत्कारबाट मलाई जाँगर चल्यो कविहरू जुटाउन यसपालि पनि ।

पोहर र यसपालिको परिस्थिति उस्तै थिएन । पोहर देशमा शान्ति सुरक्षा यस्तो नाजुक अवस्थामा पुगेको थिएन । जिल्लामा माओवादी आतङ्कका गतिविधिहरू त्यति साह्रो चम्केका थिएनन् । तर यसपलि भने जताततै आतङ्ककारी र पुलिसबीच भिडन्त । दुबैतिर हत्या र अपहरणजस्ता घटना र समाचारहरूले भय र सन्त्रासले मानिसको मुटुभित्रसम्म जरो गाडिरहेको अवस्थामा नमुना जिल्लाको रुपमा घोषणा गरिरहेको मोओवादीहरूको थलो गोरखा जिल्लामा जाने सबैले खतरा अनुभव गरेको हुँदा यसपालि साह्रै प्रयत्न गर्दा पनि केवल तीनजना कवियत्रीहरूले मात्र सहभागिता रह्यो । यस वर्षको कवि गोष्ठिमा कविहरूको सहभागिता जुटाउन जुन कसरतगर्नु पर्यो । त्यसलाई उल्लेख गर्नु सान्दर्भिक नै होला भनी मैले ठानेकी छु । बैशाखका दोस्रो हप्तादेखि मैले गोरखा कवि गोष्ठिमा भाग लिनका लागि कविहरूलाई आग्रह गर्न शुरु गरिसकेकी थिए । करिब १४ जना कवि र कवियत्रीहरूले जान उत्सुकता देखाएका थिए । कसैकसैले त फोनबाट आफ्नो नाम समावेश असार २३ गते सम्ममा गोरखामा कवि गोष्ठिमा भाग लिन कविहरूको अन्तिम लिष्ट तयार भई आयोजकहरूलाई सहभागी कविहरूको नाम फोनबाट सूचित गरिसकेका थिएँ । कविहरूको टोली असार २९ गतेको कवि गोष्ठीमाभाग लिन असार २८ गते गोरखा प्रस्थान गर्न तय भयो । माओवादीहरूले असार २८ गते नेपाल बन्द कार्यक्रम राखेपछि २९ गते बिहान गोरखा जाने सल्लाह भयो । त्यसै साता माओवादीहरूको र पुलिसको बीचमा दोहोरो भिडन्तका घटनाहरू बढ्यो । ठूलो संख्यामा माओवादीहरू र पुलिसहरूको हत्या र अपहरणका समाचारहरूले सञ्चार माध्यम रेडियो, टेलिभिजन र अखबारमा प्रमुख स्थान ओगटान थालयो ।

‘यस्तो समय गोरखा जाने?’ सबैले मसित प्रश्न गर्थे ।

गोरखा जिल्लालाई श्री ५ को सरकारले एकीकृत विकास र सुरक्षा कार्यक्रम गर्न नमुना जिल्लाको रुपमा चयन गरेको र माओवादीका केही नेताको जन्मथलो पनि गोरखा नै भएकोले गोरखा जान सबैलाई खतरा महसुस गरी जान मनस्थिति बनाइसकेका कविहरूले असमर्थता व्यक्त थर्न थाले । कसैले घरायसी कारण देखाए त कसैले स्वास्थ्यको कारण देखाए । कसैले त आवश्यक काम आइपरेकोले जान नसक्ने असमर्थता प्रकट गरे । कारण जे सुकै भए पनि गोरखा जान हिम्मत नभएको कुराचाहिँ प्रष्टै थियो । कसैकसैले त कार्यक्रमै स्थगित गर्ने सल्लाहसमेत पनि दिए । तर मचाहिँ कुनै पनि हालतमा कार्यक्रम स्थगित गर्ने मनस्थितिमा थिइन् ।

“साहित्यकारहरूलाई के गर्छ र माओवादीहरूले ?” म उहाँहरूलाई मनाउन प्रयत्नमा लागिरहें । ‘आजसम्म पत्रकार र साहित्यकारहरू माओवादी आतङ्कको तारो भएका छैनन् …‘मैले उहाँहरूको मनोबल द¥हो पार्न भनें ।

“तर के भन्न सकिन्छ र आजकल जेपनि हुन सक्छ” कसैकसैले जवाफ दिए । अन्त्यमा, गोरखा जाने कविहरूको संख्या १४ बाट ७ जनामा झर्यो । त्यस संख्यामा पनि म आश्वस्त थिएँ कमसेकम ७ जना साहसी साहित्यकारहरू त निस्किए ।

फेरि गोरखाबाट फोन आउँदा ७ जना जतिको मात्र सहभागि हुने कुरा जनाएँ । सोही अनुसार होटेलको व्यवस्था गर्नको निम्ति अनुरोध गरेँ ।

तीनदिन अगाडिसम्म जान तयार कविहरूलाई दुई दिन अगाडि अर्थात असार २७ गरेर फोन गरेर सोध्दा चार जनाले तयार भइसकेकाहरूले नजाने निर्णय सुनाए । मेरो गोरखामा दिनहुँजस्तो फोन भइरहेको र त्यहाँको स्थिति सदरमुकाममा शान्त नै रहेको कुरा आयोजकहरूले बताएको जानकारी दिई जान अनुरोध गर्दा माओवादीले जनसरकार घोषणा गर्न गाईगुई चलेको स्थितिमा घर छोड्न नहुने र परिवारबाट अनुमति नमिलेको हुँदा नजाने अन्तिम निर्णय सुनाए । जान तयार भई नाम समेत पठाइसकेका ४ जना पुरुष साहित्यकारले जान आँट नगरेपछि अब जान उत्सुकता देखाउने केवल दुई जना मात्र रहे – बेञ्जु शर्मा र प्रभा भट्टराई । किन हो कुनि मलाईचाहिँ पटक्कै डर त्रास केही लागेको थिएन । गोरखामा धेरै वर्ष बसेको हुनाले कि गोरखाप्रति मेरो विशेष मोह र माया रहेकोले हो । म त हरहालतमा जाने पक्षमा थिएँ ।

असार २८ गतेका दिन हिजोसम्म जान्छु भन्ने बेञ्जुजी र प्रभाजीले पनि कही विचार बदल्नु भएन ! भनी मैले फोनबाट सम्पर्क राख्ने विचार गरें ।

उहाँहरूसित सम्पर्क नहुँदै गोरखाबाट मोहननारायणसरको फोन आयो । मैले उहाँलाई जान तयार भएका सबले प्रोग्राम रद्द गरेका कुरा बताएपछि उहाँले भन्नु भयो –‘पद्मावती सिंह एकमात्र आए पनि पुग्छ । काठमाडौंको सबै कविहरूको प्रतिनिधित्व तपाईले नै गर्नुहोस् ।’

‘म त अवश्य आउँछु –एक्लै आउन पनि तयार भएर बसेकी छु ।’ मैले भनें ।

साथै एउटा कविजीले मलाई हतोत्ससाही गर्न भनेको कुरालाई पुष्टि गर्न मैले उहाँलाई सोधें –‘गोरखामा अस्ति मात्र गोली चल्यो रे हो बजारमै ?’

‘तपाईको ताहाचलमा पनि त गोली चल्यो नि ….। के त्यहाँ सबैजना घरमा लुकेर बस्नु भएकको छ । काठमाडौंमा त्यत्रो दरबारकाण्ड भएन ? कोही डराएर काठमाडौं त जान छोडेका त छैनन् नि ….! उहाँको जवाफले म नाजवाफ भएँ ।

असार २९ गते बेञ्जु, प्रभा र म गोंगबुसिस्थत नयाँ बसपार्कबाट गोरखातर्फ रवाना भयौं – आठ बजेको मिनिबसबाट भाइ मनोज दहालले कलंकी पेट्रोल पम्पबाट बस समाते । बसमा हामी अनेक गफ चुट्दै यात्रा गरिरहेका थियौं । कृष्णभीरको अगाडि पु्गी बस रोकियो । डोजरले बाटो सफा गरी पालैपालोसित सवारीलाई एकतर्फी आवतजावत गर्न दिइरहेको थियो । साच्चै भन्नुँ भने मलाई गोरखाको राजनीतिक स्थिति भन्दा कृष्णभीरको डरले मनभित्र कताकता धय उत्पन्न गराएको थियो । हामीले झ्यालबाट टाउको निकालेर कृष्णभीर हेर्यौँ । साँच्चिकै कहालिलाग्दो भीर रहेछ ….! कृष्णभीर कटेपछि बाटोमा एउटा दुर्घटनाले गर्दा एकघण्टा रोकिन प¥यो । करिब एक बजेतिर मनकामना केबलकार पुग्नुभन्दा १५ मिनट जति भरखरै खुलेको एउटा भोजनालयबाट भोजन गरी हामी खैरिनी हुँदै करिब दुई बजेतिर गोरखाको बस बिसौनीमा पुग्यौं ।

गोरखा बसपार्कमा मानिसहरू आवतजावत गरिरहेका त्याहाँको जनजीवन सामान्य र स्थिति पनि ठीकै देखेकोले मैले सन्तोषको सास फेरें । गोरखाको चिसो स्वच्छ हावा र मनमोहक वातावरणमा गाँसिएको आत्मीयताले मनमा उत्साह र उमङ्ग सञ्चार भयो । बसपार्कबाट माथि डाँडामा देखिने गोरखा दरबारतर्फ‌‌‌‌‌‌ दृष्टि दौडाएर मैले मनमनै गोरखकालीलाई प्रमाण गरेँ ।

मोहननारायणसर र अरू गोरखाका कविहरूले हामीलाई स्वागत गरी गोरखा बस बिसौनीतिर लग्नु भयो । हामीलाई चिसो पेय पिउन दिई बस्ने व्यवस्था मिलाई ३ बजेतिर कवि गोष्ठिको आयोजना हुने जिल्ला सभाकक्षमा आउने अनुरोध गरी उहाँहरू आवश्यक व्यवस्था मिलाउन त्यसततर्फ लाग्नुभयो । होटेलको लबीमा हाम्रो भेट सिने कलाकार रवि गिरी र सगरमाथा एफ.एम.एक प्रतिनिधिसित भयो । उहाँहरूपनि कवि गोष्ठिमा आउनुभएको रहेछ ।

ठीक ३ बजेतिर हामी बृहत कवि गोष्ठिको लागि आवश्यक तयारी भइरहेको जिल्ला सभा भवनको सभाकक्षमा पुग्यौं । करिब सवा तीन बजेतिर प्रतियोगात्मक बृहत् कवि गोष्ठीको आरम्भ भयो ।

गोष्ठीको सभापतिको आसन द्रव्य शाह क्याम्पसका क्याम्पसप्रमुख मोहननारायण श्रेष्ठको मुख्य अतिथिका आसन ग्रहणका लागि सभाका सञ्चालक गोरखा क्याम्पसका क्याम्पसप्रमुख तुलसीप्रसाद श्रेष्ठले मेरो नाम उचारण गरेपछि म साह्रै अप्ठ्यारोमा मान्दै मञ्चमा आसिन हुन पुगें । भानुभक्तको तस्विरमा माल्यर्पण र भानुभक्तको कृतित्वबारे मन्तव्य प्रस्तुत भएपछि कविता वाचनको कार्यक्रम शुरू भयो । प्रतियोगी र अप्रतियोगी गरी २०–२२ जना कविहरूले कविता वाचन गरे ।
कवि गोष्ठी साह्रै शान्त र आल्हादपूर्ण वातावरणमा सम्पन्न भयो । सभाकक्ष श्रोताहरूले खचाखच भरिएको थियो । श्रोताहरू मौनभएर कविता श्रवण गरिरहेका थिए र बीचबीचमा ताली बजाएर कविहरूद्वारा वाचन गरिएका कविताको प्रशंसा पनि गर्दै थिए । सबैभन्दा उल्लेखनीय कुरा मलाई के लाग्यो भने करिब तीन घण्टा सम्म जारी रहेको सो कवि गोष्ठीमा कुनै पनि श्रोता बीचमा उठेर गएनन् । प्रतियोगी कविहरूको कविताहरूको निर्णय गर्न तीनजनाको निर्णक मण्डलको घोषणा भएको थियो । बेञ्जुनी त्यसमध्ये एकजना निर्णाक हुनुहुन्थ्यो । बेञ्जुजीले दुई वटा कविता सुनाउनुभयो । त्यसैगरी प्रभाजीले पनि छन्दमा दुईवटा कविता सुनाउनु भयो । गोरखालीहरूले दुवैको कविताको जोडसित ताली बजाएर प्रशंसा गरे । कविता वाचनको बीचबीचमा उदघोषक तुलसीप्रसादसरले ठट्यौली र मुक्तकहरू सुनाएर गोष्ठीलाई रोचकता प्रदान गरिरहनु भएको थियो ।

काठमाडौंबाट गएका हामी तीनजनालगायत गोष्ठीमा २०–२० जना कविहरूले कविता पाठ गरेको भए तापनि त्यसमध्ये १५ वटा प्रतियोगितामा सामेल भए । कवि प्रकाशपुञ्ज प्रथम, श्याम बलामी द्वितीय तथा हरिप्रसाद सेठारी तृतीय घोषित भयो सानुमाया थापाले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । कुनैकुनै कविताले समाजिक विसङ्गति र वर्तमान राजनैतिक परिस्थितिप्रति चोटिलो प्रहार गरेका थिए । स्थानीय बुद्घिजीवी, समाजसेवी र साहित्यानुरागीहरूको उपस्थितिमा गोष्ठी सफलतापूर्वक सम्पन्न भयो । कुनै विघ्नवाधाले गोष्ठी विथोलिएन ।

त्यस रात ठूलो वर्षा भयो । बिहान सबेरै उठेर गोरखा दरबारतिर जाने कार्यक्रम थियो । बिहानै सबेरै मेरा उठने बानी अनुसार ५ बजेतिर आखाँ खुल्यो । मैले प्रभाजीलाई उठाएँ । उहाँ उठीसक्नु भएको रहेछ ।

‘अब जाने सुरसार गर्नुपर्यो’ मैले भनें ।

‘खै पानी परिरहेको छ कसरी जाने?’ उहाँ उठेर बस्नुभयो । ‘आज राती ठूलो पानी पर्यो – कृष्णभीरमा पहिरो गई बाटो रोकिने पो हो कि ।’ उहाँले मनको चिन्ता प्रकट गर्नुभयो ।

”छोडनुस् चिन्ता घरबाट निस्किसकेपछि अब के को चिन्ता…?” मैले बत्ती बालेर बिछ्यौनामा पलेटी कसेर भनें “अँ तपाईलाई तपाईको श्रीमानले गोरखा जान रोक्नुभएन ?”

“अहँ…। उहाँले भन्नुभयो “कुनै पनि शुभ कार्यमा एकचोटी जाने निर्णय गरेपछि त्यसलाई पूरा गर्नुपर्छ भन्नु हुँदै उहाँले मलाई जान सहर्ष स्वीकृति दिनुभयो ।”

‘तपाईलाई नि…..?’ उहाँले प्रश्नु गर्नुभयो ।

मेरो श्रीमानले त केही बोल्नुभएन तर मेरो छोरा आशिषले भनें “यस्तो बेलामा तपाईलाई गोरखा नगई नहुने…? भनेको थियो । एकपटक जाने निर्णय गरेर बचन दिएपछि म पछि फर्कने मान्छे होइन भनेपछि केही नबोली ऊ आफ्नो बाटो लाग्यो ।

त्यसपछि बिहानको चिया हामीले कोठामै बसेर पियौं । बेञ्जुजी पनि उठेर आइपुग्नु भो ।

मैले उहाँलाई फेरि त्यही प्रश्न दोहोर्र्याएँ ।

बेञ्जुजीले भन्नुभयो –मेरो छोराले प्रयत्न गरेको थियो तर मैले भनें– ‘तिमीहरू ठूलो भइसक्यौं । अब मलाई केही भएपनि फरक पर्दैन । कति मरिने चिन्ता लिएर बस्ने त हैन….? उहाँले हास्दै भन्नुभयो । पानी परेकोले जाने कि नजाने दोधारमा बसिराखेका थियौं– त्यही बेला मोहननारायणसर टुप्लुक छाता लिएर आइपुग्नु भयो ।

छाता ओढेर हामी गफ गर्दै गोरखा बजार हुँदै कुनै बेला गोरखा जिल्लाको अड्डा अदालत तर अहिले राष्ट्रिय सम्पदाको रूपमा संरक्षण गरिएको पुरानो दरबार डुलेर ठूलो आगनमा मोहननारायणसरलाई पर्खी बस्यौं । हामी गफ गर्दै अघि लागेका थियौं उहाँ होटेलमा हामीलाई कता गयौं भनेर पर्खी बस्नु भएकोरहेछ । हामीसँग भेट गरुँ भनिआएका कविभाईहरू सुरेन्द्र देवकोटा र प्रकाशपुञ्जमध्ये प्रकाशपुञ्जलाई होटेलतर्फ दौडायौं । उहाँ र मनोज दहाल हामीलाई पर्खेर होटेलमा बसी राख्नुरहेको रहेछ । यसो त्यसो गर्दा आठ बजिहाल्यो । बेञ्जुजी, प्रभाजी, मनोजजी र दुई जना स्थानीय कविहरू कविहरू सुरेन्द्र र प्रकाशपुञ्जल मोहननारायणको नेतृत्वमा गोरखा दरबारतिर लाग्नुभयो । मचाहिँ ब्लडप्रेसर बढेर अलि अस्वस्थ हुनाले गोरखामा आत्मीयजनहरूसित भेट्नतिर लागेँ ।

उहाँहरू गोरखा दरवारको अवोलोकन गरी तल झर्दा ११ बजिसकेको थियो । म उहाँहरूलाई मोहननारायणसरको घरमा नास्ता खाएर पर्खिबसकी थिएँ । त्यस बिहानी नास्ताको लागि उहाँको घरमै हामीलाई निम्तो थियो । छिटोछिटो चिया र नास्ता खाएर हामी होटेल गोरखा बिसौनीतिर लाग्यौं ।

बिसौनीमा कलाकार भाई रवि गिरी, सुशीलचन्द्र र सगरमाथा एफ. एम का प्रतिनिधिभाई हामीलाई पर्खेर बसिरहनु भएको रहेछ । अघिल्लो दिन रातको खाना खाँदा मनकामनाको दर्शन गरी काठमाडौं फर्कने योजना बनाएका थियौं । मनकामना जाने कि नजाने….? भन्ने कुरामा एकछिन छलफल गर्यौं–बिहानको भोजन गर्दा ….।

बेञ्जुजी र प्रभाजीले मनकामना दर्शन गर्दा कृष्णभीर पुग्दा अँध्यारो पो हुने हो कि भन्ने शङ्का व्यक्त गर्नुभयो । सुशीलचन्द्रको भाइले पहिले नै टिकटको व्यवस्था गरिसक्नुभएकोले मनकामना दर्शनगरी घर फर्कने निधो भयो ।

उपन्यासकार सुशीलचन्द्रको निजी गाडीमा बसेर हामी चारजना सँगै गएका, चारजना गोरखा भेटेका रवि गिरी, प्रकाश पुञ्ज, सगरमाथा एफ. एम का भाइ र सुशीलचन्द्र मनकामना दर्शन गरी काठमाडौं तरर्फ रवाना भयौं। बाटोमा साह्रै रमाइलो कुराकानी गरी, हँसी ठट्टा गरी हामीले यात्रा काट्यौं । कलाकार रविभाइ पर्दामा खलनायक हुनु भए पनि निजी जीवनमा साह्रै रमाइलो मान्छे हुनुहुँदोरहेछ । मनकामनामा पनि त्यसदिन पनि ठूलै लाइन थियो । तर हामीले छिटै दर्शन गर्ने सौभाग्य पायौं । पुजारीले चिनेर हो कि रविभाइ र सुशीलभाइलाई बोकाको टाउको प्रसादस्वरुप दिए ।

मनकामना दर्शनगरी मलेखुमा पेटभरि तातो माछा खाएर करिब ६ बजेतिर हामीले सकुशल कृष्णभीरलाई पारगरी काठमाडौं टेक्यौं । सुशीलभाइ, रवि गिरी र प्रकाशपुञ्जले हामीलाई घरको ढोकासम्म पुर्याएर फर्कनुभयो ।

मेरो श्रीमान् त्यतिखेर झ्यालमा हुनुहन्थ्यो । “ल है भिनाज्यू –दिदीलाई सकुशल बुझाइदिएछौं” रवि भाइले मेरो श्रीमान्लाई अभिवादन गर्दै भन्नु भयो । यसरी म सकुशल आफ्नो घर आइपुगें ।

(श्रोत:- मधुपर्क फाल्गुन, २०५८)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.