~उमेश धिताल~
गोरखा बजारसम्मको टिकट लिएर गाडीमा उक्लेको थिएँ । बर्खाको समय, गाउँमा काम भ्याईनभ्याई थियो, यता म भर्खरै परीक्षा सकेर फुर्सदमा थिएँ ।
‘दाइ, टिकट हो ?’
पत्रिकाबाट आँखा नहटाएरै टिकट देखाइदिएँ ।
‘झ्यालतिर बस्नु पाए हुने नि ।’
म आज्ञाकारी भएर उठिदिएँ, केटी रहिछ भर्खरकी । झ्यालतिर बसी, म अझै छेउ लागे ।
रातभरिको पानीले उपत्यका कञ्चन थियो । हावा चिसो थियो, उसले झ्याल बन्द गरी, मैले थोरै खुल्ला नै राख्न आग्रह गरेँ ।
गाडी भरियो । यसपालि चिनजानका कोही भेटिएनन् । ठीकै लाग्यो, गाडीको यात्रा वेसी कुरा मिल्ने भए बेग्लै अन्यथा एक्लै मज्जा लाग्थ्यो मलाई ।
गाडीमा गीत बज्न थालेको थिएन र मैले पनि पत्रिका भ्याइसकेको थिइनँ । उसले बीचमा एक दुई ठाउँमा घाँटी सफा गरेझै लागेथ्यो, बोल्न खोजेको सङ्केत । नबोलेरै पुगियो थानकोट ।
नागढुङ्गाबाट ओह्रालो ढल्कनै लाग्दा पहिले जस्तै गाडी रोकियो । प्रायः सबैझैँ म पनि झरेँ पिसाब फेर्ने बहानामा । नजिकैको डाँडाहरुमा कुहिरो दौडिरहेको थियो । तीब्र बेगमा । मलाई सबैभन्दा रमाइलो नै त्यसैमा लाग्थ्यो । जब म सानोमा कुदिरहेको कुहिरोभित्र ढाकिन्थे, त्यसै त्यसै उत्साह भरिएर आउँथ्यो, सकेजति उफ्रन्थें । जति बेला ‘तेरो पनि पछि अनुहारमा कालो दाह्री आउँछ’ भन्दा ‘होइन’ भनेर जिद्धि गरिरहन्थें, त्यति बेला लाग्दथ्यो म पनि पछि बादलसँगै उड्न सक्नेछु । आज दाह्री, जुँगाको स्पष्ट रेखी बसिसक्दा बल्ल थाहा पाएको छु म भन्दा कति शक्तिशाली रहेछ बादल ।
गाडी ओह्रालो लाग्यो । गीत बज्न थाल्यो । उसले फेरि एक दुई फेर घाँटी सफा गरी र अन्तत बोलेरै छाडी ‘दाइ कहाँ पुग्ने हो ?’
‘गोरखा बजार’ मैले जवाफ दिएँ ।
ऊ अलि खुसी देखिई, ‘म पनि गोरखा’ ऊ मस्किई ।
केही बेरेको मौनतापछि मैले सोधें, ‘तिम्रो नाम चाहिँ ?’
ऊ लजाए जस्तो गरी र केही बोलिन ।
मलाई अप्ठ्यारो लाग्यो कस्ती केटी रहिछ नाम सोध्दा मात्र पनि रिसाउनु पर्ने ! मैले मन नलागेर पनि पानी पिएँ ।
अर्काे गीत बज्यो र गीतसँगै बोली ऊ, ‘अँ, मेरो नाम चाहिँ सुमिता, अनि अघि गीत बजेको थिएन नि त्यही भ‘र नभनेको ।’
अहो, कति चलाख । हामीले बोल्दा अरूले नसुनून भन्ने चाहेकी रहिछ ।
‘अनि अब पूरै गीत बजेन भने नि ?’
‘बजा भन्नेनि खलासीलाई’ ऊ हाँसी र झ्याल तिर हेर्न थाली । मलाई पनि हाँसो उठ्यो, कुरा गर्न सहज भइसकेको थियो ।
उसले एक दुईपल्ट अप्ठ्यारो माने जस्तो गरेर हेरी र सोधी, ‘तपाईँसँग कपी छ ?’
‘छ, किन, हवाइजहाज बनाएर उडाउने ?’ मैले बाल्यकाल सम्झें ।
‘हि…हि… हि… होइन, गेम खेलूम् न !’
अनौठो मान्दै सोधें, ‘कस्तो गेम ?’
गीत बन्द भो । उसले मलाई हेरी र हाँसी । मलाई पनि हाँसो उठ्यो । धेरै बेर सम्मै गीत बजेन । हामीले पटकपटक एकअर्कालाई हे¥यौँ र हाँस्यौँ । मलाई अलि भिन्न महशुस भइरहेको थियो, पहिले कहिल्यै नगरेको अनुभव । गीत बज्दा एक आपसमा बोलिन्थ्यो तर त्यो भन्दा नबोलेरै हेर्दै हाँस्दा कता हो कता मज्जा आइरहेझैँ लाग्थ्यो । एउटी युवतीसँग साना बच्चाहरुजस्तै हेर्दै हाँस्दै गर्दा अब त गीत नबजेकै बेस लाग्न थालिसकेको थियो । अन्ततः गीत बजि छाड्यो ।
‘तपाई किन हाँसेको ?’ उसले सोधी ।
‘तिमी हाँसेर’ मैले जवाफ फर्काए ।
‘रोएँ भने नि ?’
‘रोई दिन्छु, हा…हा….’ म हाँसे । अलि चर्काे भएछ क्यार अरूले सुने भन्ने सङ्केत गर्दै ऊ रिसाई ।
मैले कापी झिकेर दिएँ । उसले केही लेखे जस्तो गरी र त्यो अनौठो खेलको सुरुवात गरी । ‘तपाईलाई मन पर्ने रङ्ग कुन हो ?’
‘पहेँलो’ म बोलेँ ।
‘मन पर्ने फूल नि ?’
‘तोरी,’ सानो तोरीबारीमा पुतलीसँग खेल्दा र आज ऊसँग बोलिरहँदा उस्तै खुसीको महशुस गरिरहेको छु म ।
‘किन नि ?’ ला पसाद पारी ।
‘तोरीको रस भमराले खान पाउने भए नि ? मैले घोच्न खोजेँ । उसको अनुहारमा लाज पोतियो । लाग्यो यस्ता कुरा बुझ्िदरहिछ । तर ऊ रोकिइन । झनै अचम्मको प्रश्न सोध्न थाली ।
‘तपाईंलाई म नपर्ने मान्छे नि ?’ सोध्दा ऊ डराएकै थिइन ।
‘रामजी’ मैले साँचो बोलेको थिएँ । तर उसले इन्कार गरी टाउको हल्लाएर ।
‘केटाको नाम भनेर हुँदैन,’ उसले नाक खुम्च्याई ।
उसले बीचबीचमा अरू यात्रीतिर पनि हेर्थी र उनीहरु आप्mनै सुरमा रहेको पाएपछि फेरि सोधी, ‘भन्नु न मनपर्ने मान्छे ?’
उसले कर गरिरही र अन्ततः आजित भएर मैले भनिदिएँ, ‘सुमिता ।’
ऊ लाज मान्दै मुस्कुराई, मेरो जवाफको नजानिदो प्रभाव प¥यो उसमा । उसले अनुहार खुम्च्याई र सानी बच्ची जस्तै जिद्धी गर्न थाली, ‘हा…हा…हा…. होइन, हुँदै होइन, अँह…अँह… हुँदै होइन ।’ मुखले इन्कार गरे पनि अनुहारले सन्तुष्टि झल्काउँथ्यो । बिहानको खाना खाने ठाउँ आइपुग्यो । हामी झ¥यौं कुरिनटारमा ।
कक्षा दसमा पुगिसक्दा म आफू ज्यादै राम्रो छु भन्ने ठान्थें । सायद पढाइमा पनि चलाख भएर पनि होला अरू केटाहरुभन्दा धेरै मसँग बोल्थे केटीहरु । म चाहिँ ठान्थें, यो सबै मेरो रुपको कमाल हो । मेरा साथीहरु मेरो जस्तै अनुहार भएको एउटा केटो छ छिमेकी विद्यालयमा र मैले ऊसँग मीत लगाउन पर्छ भन्थे । म पनि मीत लगाउन भनेर उसलाई चिन्ने केही साथीहरु लगेर छिमेकी विद्यालय पुगेको थिएँ । मैले उसलाई देखें ऊ नराम्रो थियो र साथीहरु भन्दै थिए ऊ म जस्तै छ । अर्थात् म पनि ऊ जस्तै नराम्रो छु । त्यसपछि मैले जबाब ऐना हेरें तब आफूलाई साच्चै नराम्रो पाउन थालें । यति सजिलै मेरो रुपप्रतिको घमण्ड तोडिएको थियो र केटीहरुको सङ्गतबाट आफूखुसी टाडिएको थिएँ ।
खाना खाएपछिको यात्रामा उसलाई असजिलो भएछ क्यार, ऊ निदाउन थाली । गाडी आप्mनै सुरमा गुडिरहेकै थियो । निदाएको उसको शरीर धेरै समय ममाथि रह्यो । उसको शरीरको तातो म बाहिरैबाट अनुभव गर्न सक्थें । उसको प्रत्येक श्वासप्रश्वास मेरो कुमले पत्तो पाउथ्यो । उसले बीचमा आँखा खोली र पुलुक्क मलाई हेरी । म सायद रातो भएँ हुँला । धेरै बेर हेरिरही र मुसुक्क हाँसी । त्यो हाँसो विशेष महत्वको थियो । निद्रा नखुल्दैको उसको आँखा र साइडतिरको अलि भित्र पसेको उसको दाँत कति आकर्षक देखिएको थियो, म मोहित भएको थिएँ ।
उसले आफू गुरुङ समुदायको रहेको बताइएकी थिई, जुन मैले त्यस अघि नै अनुमान गरिसकेको थिएँ । हिजो मात्रै, आप्mनो मामाको छोरीसँग बिहेको तयारीमा रहेको मेरा मित्र राकेशसँग गुरुङ जातिको बिहे गर्ने संस्कृतिको बारेमा कुरा गरेको थिएँ । यसरी आप्mनै नातेदार भित्र हुने विवाह (जुन अरू कतिपय समुदायमा पत्याउनै मुस्किल पथ्र्याे) को फाइदाको बारेमा पनि उसले भनेको थियो । पहिले पुर्खाहरु बसोबासको लागि टाढाटाढा पहाडतिर पुग्ने र त्यो सानो समूहमा विवाहको लागि आप्mनै नातेदारको विकल्प नभएकोले यो संस्कृति बसेको हुनसक्ने अनुमान सुनाएको थियो । भ्याएसम्म यही गाउँ बसाइमा राकेशको विवाहमा पुगेर गुरुङ संस्कृतिको बारे थप जानकारी लिन चाहेको थिएँ ।
खैरेनी काटेर गोरखा छुने तर्खरमा थियो गाडी । गोरखा भित्रनै लाग्दा एउटा साइनबोडएमा ठोकियो आँखा । ‘तमुवान प्रदेशमा हार्दिक स्वागत’ लेखिएको थियो । उसले पालैपालो त्यो साइनबोर्ड र मलाई हेरी अनि फिस्स हाँसी । एकदुई पल्ट हेरेपछि उसले बोली, ‘गुरुङभन्दा बाहुन बाठा ।’
मैले थपें, ‘बाहुनभन्दा गुरुङ राम्रा ।’
‘तपाईसँग बोलेर नसक्ने ।’ ऊ झ्यालतिर हेर्न थाली मैले पछ्याए ।
हामी गन्तव्य नजिक पुगिसकेका थियौं । बर्खाले पखालिएको गोरखा मकैबारी भित्र लुकेजस्तो देखिन्थ्यो । तल दरौदी किनारबाट उठेको कुहिरो उचालिँदै थियो । सदरमुकाम झरेपछि आ–आप्mनो घर पुग्नु थियो हामीलाई । हामीले एकअर्काको मोबाइल नम्बर साटासाट ग¥यौं र काठमाडौं फर्केपछि फेरि भेट्ने प्रस्तावमा दुवै सहमति भएपछि हामी छुट्टियौं ।
एक महिनाको गाउँ बसाइ निक्कै कष्टकर भयो मलाई । पहिलेजस्तै कुहिरो उडेर आयो, हावाले त्यसलाई यताउता उडाइरह्यो । ऊ पनि भइदिएको भए भन्ने सोच्न थालें । उफ्रने उत्साह थिएन पहिलेजस्तो ।
एकदिन आप्mनो एउटा बाहुन साथीले गुरुङ केटीसँग बिहे ग¥यो भन्ने झूटो खबर सुनाए घरमा । आमाले केही अनौठो मानेजस्तो गरे पनि बुबाले केही भन्नु भएन । त्यसले म झन् उत्साहित भएको थिएँ । विस्तारै म सुमितासँगको सम्बन्ध विस्तार गर्न थालेको थिएँ । त्यसको लागि मैले परिवारलाई मनाउनु पर्ने हुन्थ्यो ।
अन्ततः एक महिने बिदा सकेर काठमाडौं फर्किए । रातैभरि कसरी कुरा गर्ने भन्ने मात्र सोचिरहेँ र बिहानै फोन लगाएँ ।
‘हेलो,’ पुरुषको स्वर सुनियो ।
‘यो सुमिताको नम्बर होइन ?’
‘हो म उसको साथी, उसलाई दिऊँ ?’ ऊ हाँस्यो । ‘साथी !’ यति बिहानै, के ऊ बिहानी कलेज पढ्छे ? अनि किन हाँस्यो त्यो केटो ?
‘हेलो,’ म बोलें ।
‘हेलो, उमेशजी, मेरो बूढा ।’
‘बूढा ! के तिम्रो बिहे भो ?’
‘अँ… भयो । अस्ति हामीसँगै जाँदा, म बिवाहकै लागि गएको थिएँ । लाज लागेर केही भनिनँ । अनि गाडीमा तपाईंलाई भेटेको कुरा सबै उहाँलाई भनिसकें । उहाँ तपाईसँग रिसाउनु भा’छ ।’
‘बाठी भएर सबै कुरा किन भन्नुपर्ने । फेरि मैले उसलाई के नै पो गरेको थिएँ र रिसाउनु ? मलाई फोन काँटूँ काँटूँ लाग्यो ।
‘हेलो,’ बूढा चाहिँको स्वर ।
‘हजुर,’ म झस्किएँ ।
‘साले, चिनेनस् ? खुब मेरो प्यारो मित्र राकेश भन्थिस् त, बिहेमा आउनु पर्दैन ? पख न तेरो पनि पालो आउला नि ?’
‘के को पालो आउनु नि अब !’ मनमनै सोचेँ ।
उसले त मेरै साथी राकेशसँग पो बिहे गरिछ । मैले चाहिँ उसैलाई सम्झेर बिहे नै भुलेछु । हुन त ठीकै भो, सुमिता अर्कैकी बनेकी म के चुपचाप सुनिरहनु । पुरानै रोग टेलिकमको, नेटवर्क खत्तम, तुत…. तुत… तुत…. ।
खरिबोट–८, गोरखा
हाल ः पुल्चोक क्याम्पस, ललितपुर
(श्रोत:- Kapanonline)