कथा : निर्लज्ज वस्त्रबाट चिहाएर हेरेपछि

~बी पी बजगाईं~

कोही पनि नाङ्गो देखिनु हुँदैन भन्छ वस्त्र| लाज ढाक्ने ठेका लिएको छ वस्त्रले| उ अरुको नाङ्गोपन जोगाउने धेरै सुर्ता गर्छ| सबैको लाज ढाक्ने भएकोले उसको प्रतिष्ठा समाजमा निकै छ| वस्त्र महान छ| यस्तै के के सोच्दै हुन्छु म,   टक्…, टक्…, टक्…, सडकमा आफ्नै जुत्ताको आवाजले मेरो ध्यानाकर्षण गर्दछ| मलाई लाग्छ, जुत्ताले पनि उसको महत्व दर्शाउन खोज्दैछ| हो त, जुत्ताले पनि त नाङ्गो खुट्टालाई सडकका चुच्चे ढुँगा र काँचका फुटेका कणहरुबाट बलात्कृत हुनबाट जोगाउने गरेको छ| जुत्ता आफू खिइन्छ, कोत्रिन्छ, लत्रिन्छ तर नाङ्गो खुट्टालाई बलात्कृत हुनबाट जोगाउँछ|

गान्तोकको एम जी रोडमा हिड्दै छु म| वस्त्र अनि जुत्ताको चासो र चिन्तालाई उदेश्यसँग गाँसेर परिभाषित गर्ने कोशिषमा लागेको हुन्छु| मुखमा सुर्ती खाने पाइप च्यापेको, हेर्दा सम्भ्रान्त घरको देखिने चश्मा लगाएको मानिससँग ठोक्किन पुग्छु|

“तिमीले वस्त्र अनि जुत्ताको चासो मान्छे प्रति के छ भनेर सोच्दैछौ होइन?” उक्त मान्छेको प्रश्नले छक्क पर्छु म| सोध्छु-
“तिमी को हो?” आफ्नो परिचय दिने आवश्यकता ठान्दैन उ अनि भन्छ, “मान्छेलाई निर्देशित गर्ने मान्छेबाहेक अरु कुनै अतिरिक्त सत्ता, मूल्य वा आदर्श छैन, आफ्नो नियतिको स्रष्टा मान्छे आफै हो|”

म पुनः सोध्छु, “तिमीले कलेज पड्दा पढेको हो यो कुरा?”

“होइन यो मेरो आफ्नै विचार हो,” उ बोल्छ|

“म के सोच्दैछु भनेर तिमीलाई कसरी थाहा भयो त?”

“यो मान्छेसँग ठोक्किएँ भन्ने लागेको थियो होइन तिमीलाई? ठोक्किएको होइन, म तिम्रो विचारबाट छिरेर यतापट्टी आएको, यसैले तिम्रो विचार ग्राफ पढेको छु मैले|”

“तर मान्छेलाई निर्देशित गर्ने सत्ता, मूल्य वा आदर्शको कुरा त…”

“सात्रेको विचार हो यो”, उ आफैं भन्छ |

“त्यसो भए तिमी…”

“म सात्रे हो…”

“अहो त्यसो भए कहींकतै बसेर गफ गरौं होइन?”

हामी दुवै गान्तोकको एम जी रोडको बेकर्स केफेमा कफी पिउँदै कुरालाई निरन्तरता दिन्छौं| यस्तैमा एक नवविवाहित जोडी होलान्, हाम्रो टेबल नजिक आएर बस्छन| युवतीले त्यस पुरुषलाई आफ्नो सुरक्षा कवच ठानेर होला च्याप्प टाँसिएर बसेकी छे |

मेरो नयाँ जुत्ताले खुट्टा निक्कै चेप्दैछ ।

“हाम्रो नाङ्गो खुट्टालाई सडकका चुच्चे ढुँगा र काँचका फुटेका कणहरुबाट बलात्कृत हुनबाट जोगाउने भरोसामा हामी ठगिएका त छैनौं? अरुबाट जोगाउँछु भन्दै आफले मात्रै च्याप्पै समातेर हाम्रो सम्पूर्ण खुट्टा आफैंभित्र समाहित गरेर यौन अनुभूतिलाई पेवा त बनाएको होइन जुत्ताले?” मेरो जिज्ञासामा सात्रेले उत्तर नफर्काएर हाम्रो टेबल नजिक बसेका नवविवाहित जोडीलाई हेर्छन| “भावना भित्रीय अवस्था पटक्कै होइन यो त अभिप्रायगत हुने गर्दछ, बाहिरी संसारसँग आफूलाई जोड्न| जुत्ता पनि त मान्छेले नै बनाएको हो, जुत्ताले खुट्टा चेप्यो भन्नु गम्भीर विषय होइन”, एकक्षण पछि बोल्छन उनी ।

“के चेप्नु बोध होइन र?”, मेरो प्रश्न|

“हो, केवल बोध मात्रै यसको भौतिक अवस्था छैन|”

“परा भौतिक अवस्था त छ नी, र त चेप्नु र चेपिनुले अलग अलग अर्थ बोक्ने गरेका छन”, मेरो विचार पोख्छु| ठण्डा महिना भएकोले होला, युवती अझै धेरै टाँसिंदैथी युवकसँग| चिसो भएर होला मेरो खुट्टा कट्कटि खाँदै थियो, जुत्ताले चेपेर| युवती शंकालु आँखाले यता-उति अन्य टेबलतिर घरि-घरि हेर्छे, कतै उसको पतिलाई अरु युवतीहरुले आँखा गाडेका छैनन्| नयाँको महत्व हो की सुरक्षाको सुरक्षा हो, उ ढुक्क हुन्छे, सबै आफ्नै धुनमा भएको देखेर| उसको परिवर्तित नव-जीवनमा अवस्थाको नयाँ स्वरुपलाई मेरो दुखाईले परिभाषित गर्दै थियो| युवकको ज्याकेटमा बटनहरु आधामात्र लागेका छन| भित्र टाइट शर्टमा उसको बलिष्ठ छाती देखिँदैछ| अरुले त्यो दृश्य पनि नदेखोस भन्ने ठानेर आफ्नो निजी सम्पत्ति बाकसमा हाले झैं युवतीले ज्याकेटको बटनहरु लगाईदिई| त्यो दृश्य हेर्दै म मुसुक्क हाँसें, सात्रेको जिज्ञासापूर्ण आँखा मसँग चार भए|

“तपाईंको मस्तिष्कमा ‘साइकोलजिकल डिफेन्स’ –को सिद्धान्त छरपष्ट भयो की क्या हो?”, उनले प्रश्न गरे|

“वस्त्रलाई चेतन स्वरुपमा राखेर हेरेको मात्रै…”, मेरो उत्तर|

“वस्त्र बनाउने पनि त मान्छे नै हो|”

“त्यसै र त वस्त्रले छोपेको लाजमा मानवीय चेतनाको चश्मा हुन्छ| अरुले नदेखोस भनेको शरीरका प्रत्येक अङ्गहरु वस्त्र आफैले भने देखिरहेको हुन्छ, ती अङ्गहरुसंग खेलिरहेको हुन्छ…” मेरो विचार पोख्छु| युवती ढुक्क भएर क्वीन केक खाँदैछे| वस्त्रले युवकको शरीरको प्रत्येक अवयव चिहाएर हेरिरहेको छ भन्ने उसलाई थाहा छैन|

“नव-फ्रायडवादी चिन्तन हो यो?”

“होइन| अब्राहम कार्डिनर, एरिक फ्रोम, करेन होरने हिँडेको गोरेटोमा यसको गन्ध छैन| मैले त्यस युवकको वस्त्रमा मेरो चेतना टाँसेको मात्रै हो…”, कुरालाई अघि सार्दै भन्छु|

“वस्त्रमा चेतनाको अस्तित्व समायोजित भैहाल्यो भने त्यहाँ देखि उता के हुन्छ?”, ‘बिइङ्ग एण्ड नोथिङनेस’ –को परिधी भित्रबाट सोध्छन् उनी|

“अराजकता आउँछ…”, मेरो सहज उत्तर| वस्त्रले आलिंगन गरेको युवकलाई अँगालो मारेर युवती सक्दो टांसिएकी छे|
“अराजकता आउनु राम्रो हो र?”

“शब्दकोष पनि त मान्छेले नै बनाएको होइन र?”, केफेको बील तिर्दै उसको सूत्र उसैलाई प्रयोग गर्दै बोल्छु म|

“त्यो त हो…”, उ उठ्दै बोल्छ|

“शब्दकोशले अराजकता भनेको नियम प्रतिकूल भन्छ, तर सबै स्व नियन्त्रित रहेर कसैले कसैलाई शासन गर्न नपर्ने स्थापित नियम अनुकूल हुनु पनि त अराजकता हुनुपर्ने होइन र?”, मेरो प्रश्न|

“अस्वीकारको निम्ति गवाही छ तिम्रो?”, आफ्नै सिद्धान्त छाडेको छैन उसले| “गवाही? तिमी चाहीं के हो त? मेरो निम्ति अस्तित्वका पृष्ठाधार रहेका सबै रुपान्तरणहरु नै सौन्दर्य हुन्|”

हामी दुवै बेकर्स केफेबाट बाहिर निस्कन्छौं| युवकको ज्याकेट मेरो आँखामा पारदर्शी बनिसकेको थियो| त्यस जानकारीबाट अनभिज्ञ युवती युवकसँग अझै टाँसिएर बसेकी थिई| युवतीको प्रतिरोधात्मक क्रियाकलापमा प्रतिफलित उर्जाले वस्तुताको मान्यताहरुसँग अन्तरक्रिया गरिरहेको थियो, वस्तुको केन्द्रिय तत्वसँग मिलेर त्यसले नयाँ संरचनाको विकास गर्नेछ भन्ने मेरो विश्वास छ| थाहा छैन नयाँ अर्थ बोकेको अराजकता कहिले हुर्किने हो…|

(श्रोत:- Kapanonline )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.