नियात्रा : डाँडा, भञ्ज्यांग, चौतारा अनि आरूघाट

~पद्मावती सिंह~

कार्यवश गोरखा जिल्लाको आरूचनौटे पंचायतको मुख्य बजार आरूघाट जानु पर्यो । आवश्यक तयारी सकेपछि फागुन २१ गतेका दिन आरूघाटतर्फ प्रस्थान गर्ने कार्यक्रम अनुसार एक महिमा सहयोगीका साथ त्यसतर्फ प्रस्थान गरें ।

गोरखा बजारबाट करीब आधा घण्टाको उकालो चढी बाबा गोरखनाथ र कालिकाको दर्शन गरी मनिपानी हुँदै पाँडे चौतारामा केहीबेर बिश्राम लिएर लेकतिर आफ्ना दैनिक उपभोगका सामानहरू ओसारिरहेका सहयात्री लेकालीहरूसित कुरा गर्दै हामी आधा घण्टाको ओरालो झरी आहाले भञ्ज्याङ्ग पुगुन्जेल देखिने हिमचुली, बौद्घ हिमाल, मनास्लु र माछापुछ्रे श्रृंखलाहरूसित आँखा जुधाएर प्राकृतिक सौन्दर्यका अनुपम छटाहरूको रसास्वादन गर्दै करीब अढाई घण्टामा हामी आहाले भञ्ज्याङ्ग पुग्यौँ ।

आहाले भञ्ज्याङ्ग ताप्ले गाँउ पंचायतमा पर्दछ । यसको पूर्वमा बगुवा पश्चिममा नारेश्वर तथा दरौँदी, उत्तरमा मसले गाँउ पंचायत पर्दछन् । फिनाम गाँउ पंचायत गोरखा जिल्लाको मुसलमान जाति बढी बसोबास गरेको गाँउ पंचायतको रुपमा उल्लेखनीय छ । यहाँको नेपाली मुसलमानहरूको रहनसहन करीब पहाडियाहरूको जस्तै छ र भेषभूषा पनि आईमाईको एउटै हो तर पुरूषहरूले भने लुंगी र बेग्लैखाले मुसलमानी टोपी लगाउँदा रहेछन् । ब्रह्राण र क्षेत्री समाज र संगतले गर्दा होला भाषा भने अनौठो र आफ्नै प्रकारका बोल्दा रहेछन् । गोरखाबाट करीब बजे दिँउसो ३ बजे दिँउसो हिडेको हुँदा आहालेभञ्ज्याङ्ग पुग्दा साँझ पर्यो । त्यहीं बास बसी भोलिपल्ट बिहान सबेरै आरूघाटतर्फ लाग्ने कार्यक्रम अनुसार हामीले त्यहींको नमस्ते लजमा खानपीन तथा सुत्नको लागि सम्पर्क राख्यौं । त्यहाँका मालिक्नी सार्है फरासिली हुँदा हामीलाई खान तथा बस्न कुनै असुविधा भएन् ।

गत बर्ष दैवी –प्रकोपको रूपमा भदौ ५ गते आएको भूइँचालोको घटना सम्झँदा अहिले पनि मन ढुक्क भएर फुलेर आउँछ । त्यस रात पनि म कार्यलयको केही महिला सहयोगीकासाथ अनुसन्धानको सिलसिलामा यही लजमा बास बसेकी थिएँ । आत्तिएर मैले झण्ठै बार्दलीबाट नहाम्फालेकी …… । यही लजमा त्यस रात घटेको त्यस अविस्मरणीय संस्मरणले मलाई जीवन प्रर्यन्त पछ्याइनै रहने छ । त्यसैले त्यस रात त्यही कोठामा बिताउँदा भूइँचालोको सम्झना मेरो मानसपटलमा ताजा भएर आयो ।

खानपीन गरून्जेल लजकी मालिक्किनीसित त्यही भूइँचालो जाँदाखेरिको घटना संस्मरण गरी हाँसिरह्यौं । हामीसंगै सुतेकी महिला पियनले आत्तिएर बार्दलीबाट फाल हाल्दा म बार्दली माथिबाट एकनाससित चिच्याएकोले मलाई केक न भो भनेर मालिक्नी तलबाट “लौ नि ….” भनेर कराएको अनि मेरो एक सहयोगीचाहीं मैले “बाटो खै” भनी कराउँदा केवल प्रत्युत्तर
नदिइ हँ….ह मात्र एकोहोरो बोलिरहेकी सँम्झदैँ हाँस्दै अनेक कुरा गर्दै खानपीन गयौँ र सुत्यौँ ।

भोलिपल्ट उज्यालो हुन नपाउँदै – हामी ताप्लेको करीव एक घण्टाको उकालो चढ्न थाल्यौँ । ताप्लेको उकालो चढेर हामी दामगाठे भञ्ज्यङ्ग पुग्यौँ । त्यतिन्जेल घाम झुल्किसकेको थियो । दामगाडेको उकालोमाथिबाट देखिने हिमाली र्दश्यहरू, खेतका तरेलीहरू र पहाडका पंक्तिबद्घ श्रृंखलाहरूले मनलाई मोहित पा छयो । म त्यहींको चौतारामा बसेर मोहित भएर अपलक आफ्नो वरिपरिको परिवेशमा अल्झिरहेँ ।

त्यहाँ पाउरोटी बनाउने ग्रामीण उद्योग रहेछ । केही चिया पसलहरू पनि रहेछ्न । ताजा पाउरोटए र चिया खाई करीब १००० सिंढीहरू झरेर बगुवा गां.प. को खानचौकमा पुग्यौं ।

खानचौक भञ्ज्यङ्ग गोरखा जिल्लाको बगुवा र फसेल गाँउ पंचायतको सिमानामा पर्छ । लेकतिर जाने लेकालीहरूको विश्रामस्थल तथा वारपाक, लाप्राकतिर ट्रेकिङ्ग गर्न जाने विदेशी–पर्यटकहरूका सुविधाकालागि केही भोजनालय, लज तथा चिया पसलहरू रहेका खानचौकमा मुख्यतया नेवारहरू बसोबास गर्दछन् । यिनीहरूको पेशा व्यापार भए तापनि मुख्य पेशा कृषि नै रहेछ । खनानचौकमा अवस्थित सानो बजारमा रहेको इन्दिरा लजमा फ्यान्टा पिउने मनसायले हामी भित्र पस्यौं । त्यहाँ वारपाकबाट ट्रेकिङ्ग गरी फर्केका जर्मन पर्यटकहरू कोही चिया पिउँदै थिए भने कोही हातमा टेलिस्कोप जडेको क्यामराले त्यहाँ छरिएका सौन्दर्यहरूलाई आफ्नो क्यामराभित्र उतार्दै थिए । त्यसमध्ये एकजाना भद्र पुरूषले ठूलठूला रंगीन बेलून फुकेर त्यहाँ जम्मा भएका केटकेटीहरूलाई आर्कर्षित गर्दै थिए । उनी बेलून फुक्दै केटाकेटीहरूबीच फ्याँक्ने गर्थे । केटाकेटीहरू बेलून हातपार्न प्रतिस्पर्धा गरिरहेको थिए । हामी रमाएर उनको चर्तिकला हेरिरहेका थियौं ।

अंग्रेजी भाषा राम्ररी बोल्न नजान्ने एक अर्धवैंसे असाध्यै मोटो जीउडाल भएको पर्यटकले नेपाली गाइडलाई सोधेको प्रश्नले हामी सबैको ध्यानकर्षित गर्यो।

“यहाँबाट गोरखा बजार पुग्न अब कतिबेर हिड्नु पर्छ ?” उनले सोधे ।

“करीब ३ घण्टा….” गाइडले जवाफ दियो । म पनि त्यहीं फ्यान्टा पिउँदै थिए ।
“हैन, पाँच घण्टा लाग्छ होला” मैले भनेँ ।
मेरो कुरा सुनेर त्यस पर्यटकले मलाई हेर्दै आँखा झिम्क्याएर त्यस गाइडलाई कटाक्ष गर्दै भन्यो – “तिमी नेपालीलाई लाग्नै समय सोधेको हो र?”

हामी विदेशीलाई लाग्ने समय भन्न भाई । तिमीहरू त पहाडमा हिंडदैनौ ….दौडन्छौं”

त्यतिकैमा एकजोडी पर्यटक असिनापसिना हुँदै टुप्लुक्क आइपुगे । आ–आफ्नो पिठयूँमा बोकेको सामानहरू भूइँमा बिसाएर दुबैले फ्यान्टा खाँदै पसिना पुछ्न थाले ।

मैले भनें–“तपाईहरू थाकेझैं देखिनु भाको छ । तसर्थ पाँच घण्टा लाग्छ कि….।”

“पाँच घण्टा …?” दुबैले परस्पर टोलाएर हेरे । आफ्नो भाषमा केही साउती गरी ती दुवै गोरखा बजारबारे आवश्यक जानकारी लिई तत्काल हामी सबैलाई अभिवादन गरी आफ्नो बाटो लागे । ती दुई त्रिशूली, सल्यानटार हुँदै गोरखा बजार भई पोखरातर्फ यात्रा गर्न निस्केका थिए ।

तिनीहरू सबै एकाएक गरी बाटो लागेपछि हामी बिहानको भोजन गरी आफ्नो यात्रामा जुट्यौं । खानचौकबाट एउटा कहालीलाग्दो पहिरो छ जुन पहिरो हुँदै तल कोया भञ्ज्याङ्ग पुगिन्छ त्यही पहिरोबाट धनमायाले डोर्याएर मलाई कोया भञ्ज्याङ्ग पुर्याइन् ।

दाँया तान्ड्राङ्ग गाविस,बायाँ पन्डुङ्ग तथा आरूपोखरीका भूभागहरूका बीचमा नागबेली आकारको बगिरहेको स्तूल खोलाको खोलैखोला,माटेपुल,बाँसेधारा हुँदै लामबगर पुग्यौं । लामबगर पुग्दा एकातिर मध्यान्हको चर्को घामको पोलाई, अर्कोतिर बिहान सूर्योदयदेखि हिँडेको थकाई, मलाई त खोलामा हाम्फालेर पौडी खेल्न मनलाग्यो । बाँयापट्टि एउटा सानो मन्दिर देखें । त्यआँ घाँसको भारी बोकी सूस्ताइरहेकी एक महिलासित सोद्घा त्यो गणेश मन्दिर भन्ने थाहा भयो । गणेशको मूर्तिको रूपमा स्थापित फूल तथा अक्षेताले सिंगारिएको गणेशलाई सश्रद्घा प्रमाण गरी त्यही मुन्तिर स्तूल खोलाको पानीमा दुबै खुट्टाहरू पिंडौलासम्म डुबाएर गुनगुनाउन थालें ।

खोलाको कलकल ध्वनि, एकान्त रमणीय वातावरण, मलाई परिवेश साह्रै सुखद प्रतीत भयो । धनमाया पनि पानीमा दुवै खुट्टा चोपलेर केके सोच्न थालिन् हामी दुवै आ–आफ्नो संसारमा हराउन थाल्यौं । दुवै चूप, वातावरण शान्त,मात्र खोलाको कलकल ध्वनिको आभास हामीलाई भइरहेको थियो । पर आरूगाउँका अलि माथि डाँडामा देखिने एक्लो घरतर्फ धनमाया टोलाएर हेरिरहेकी थिइन् ।

“धनमाया किन त्यस्तरी टोलाइरहेकी ?”

मैले मौनता तथा उनको ध्यान भंग गर्दै सोधें ।

“मलाई मेरो भीरकुनाको याद आयो । ऊ …पर डाँडामाथि एक्लो घर देखिएको छ नि, हाम्रो घर पनि डाँडामाथि एक्लो छ । घर नगएको पनि ६–७ महिनाभन्दा बढी भइसक्यो । यसपालि दशैंमा पनि जान सकिएन ।” उनको आँखा घरको संस्मरणले रसाएर आयो ।

उनले घर सम्झँदा मैले पनि झलक्क घर सम्झन पुगें,।

वतावरणमा नरमाइलोपन आयो,घरको चर्चा एकाएक उठ्न गएकोले ।

उनी भन्दै गइन्– “घर परिवारबाट एक्लै काम गर्न सार्है गाह्रो हुन्छ । के गर्नु, त्यस्तै आर्थिक स्थितिले गर्दा घरबाट टाढा बसेर काम गर्नु पर्र्यो। घरमा आमा हुनुहुन्न, बूढी बज्यै हुनुहुन्छ – सधैं मेरो पीर लिनु हुन्छ । मलाई घर जाँदा उहाँलाई देख्न पाउन्नकि भन्ने साह्रै चिन्ता लाग्छ । घरबाट चिठ्ठी नआएको पनि धेरै भयो ।”

मैले झोलाबाट ट्राजिस्टर झिकेर बजाएँ । विज्ञापन सेवाबाट “चिठ्ठी आई–है, आइ–है” भन्ने गीत बजिरहेको थियो ।

त्यस गीतले हामी दुबैको मानसिकतामा एकैचोटी चोट पार्यो ।

परदेशमा आत्मीयजनसित सम्पर्क हुने माध्यम नै चिठ्ठी हो । चिठ्ठीमा परदेशमा भोग्नु परेको ब्यथा, बाधा–तथा प्रतिकूल परिस्थितिसित जुध्ने प्रेरणा तथा साहास प्रदान गर्दछ । त्यसैले चिठ्ठी घरबाट नआउँदा मनमा उब्जिने पीर तथा व्यथा साह्रै असह्य हुन्छ । धनमायाको अनुहारभरि व्यथा छरिएको देखेर मलाई साह्रै बेमज्जा तथा नरमाइलो लाग्यो । मलाई कताकता उनको व्यथासित आफ्नो व्यथा पनि मुझिएझैं लाग्यो । बिषयान्तर गर्न मैले भनें–“धनमाया अब आरूघाट धेरै टाढा छैन होला हगि?”

“धेरै टाढा त छैन,तर तपाईको हिडाईले त अझैं तीन घण्टा जति लाग्छ होला ।” उनले मुखमा मलिन हाँसो छरेर भनिन् ।

“अलिकति बाटोमा खान हुन्छ भनेर मकै बोकेकी छु–खानु हुन्छ ?” उनले सोधिन् ।

मैले स्वीकृति जनाएपछि दुवैजना मकै चपाउन थाल्यौं । त्यतिखेर मलाई कुनै रमणीय पिकनिक स्थल बसेर मिठो खाजा खाएको भन्दा त्यो मकै र भटमास बढी स्वादिष्ट लाग्यो ।

अझैं खोलेखोला,बगर बगर धेरैबेर हिंडेपछि मात्र आरूघाट पुगिने उनीबाट जानकारी पाएपछि समयलाई ध्यानमा राखी हामी मन नलागी नलागी त्यस रमणीय स्थल छोडेर अघि बढन बाध्य भयौं । लामबगरबाट तीनचौतारे बेलौते भट्टी तथा चिलौटे भट्टी हुँदै स्तूल खोला र मौदी खोलाको संगम भएको स्थलमा पुग्यौं । यसरी दुई खोला दुई दिशबाट बगेर आबद्घ भएर अघिल्तिर बगिरहेको देखी र्मैले सहयात्री धनमायासित सोद्घा उनले “यी दुई मोदी र स्तूल खोला हुन” भनिन् ।

डाँडामाथिबाट तल खोल्सामा कलकल गरी एक आपसमा कानेखुसी गरी साथसाथैः अन्नत यात्रामा बगिरहेको खोलाका सुसाइलाई एकछिन रमाइलो मानी उचिएर सुनिरहें । अघिल्तिर अलि पर एउटा साँघु देखियो । त्याहाँबाट पर आँखाले देखुञ्जेल बूढीगण्डकी बगिरहेकी थिइन् भने वरिपरि खण्डैखण्डमा उभिएर पहाडहरू बूढी गण्डकी युगौंदेखि निहारिरहेका तपस्वी झैं देखिन्थे ।

”उ… त्यो साँघु तरेपछि आरूघाट आइहाल्छ नि !” धनमायाले अनुहारभरि यात्रा समाप्तिको संतुष्टि छरेर भनिन् ।

”खोलेखोलाको लामो यात्रापछि छेटिने आरूघाट तिमीलाई परबाट नमस्कार’ मैले मनमनै भनें ।

साँघु तर्नासाथ चौतारा आइपुग्यो । त्यतिन्जेल साँझ झर्ने तरखरमा थिई । त्यआँ गोरखा बजारदेखि आरूघाटसम्म दैनिक उपभोक्ताका सामानहरू जस्तै मट्टितेल,खानेतेल तथा बिस्कुट, साबनि, फ्यान्टा ढुवानी गरिरेका महिलाहरूले म तर्फ हेर्दै भनें – “ओहो…। तै आइपुग्नु भएछ ।”

”किन र….? तपाईहरू गोरखादेखि त्यत्रो भारी बोकेर आइपुग्नु भो म खाली ज्यान आइपुग्न सक्दिन र….?”

“तपाई हिडेको छाँटले त आज आइपुग्नु हुन्न कि भनी हामी बाटोमा कुरा गरेका थियौं । उनीहरूले जिस्काउने पाराले भने ।

“बरा … काठमाडौँको मान्छे । त्यसमाथि त्यति ठूलो ज्यान…” अर्काले थपी ।

“भो जाऔं उठ्नुस” धनमाया जुरूक्क उठ्नि । करीब १० मिनेट हिंड्पछि बिहान सूर्योदयदेखि सूर्यास्तसम्म डाँडाकाँडा, भञ्ज्याङ्ग, चौतारा अनि खोलैखोला बगरैबगर पार गरी बल्ल आरूघाट पुग्यौं ।

गोरखा जिल्लाको पूर्वी क्षेत्र धादिङ्ग जिल्लाको पश्चिम छेउमा अवस्थित आरूघाट बजारले गण्डकी र वाग्मती दुबै अञ्चललाई अगाँलेको छ । हाल गोरखा र धादिङ्ग जिल्लाको दुर्गम क्षेत्र अथवा लेक तथा बेसीको बजार हिमाली इलाकाहरूको बेसीको बजारको रूपमा यसले आफ्नो महत्व कायम राखेको छ ।

आरूघाट कुनै बेला काठमाडौं – पोखरा पैदल मूलबाटोको बीच पर्ने प्रमुख बजार थियो – अहिले पहिलेको आफ्नो चहलपहल गुमाएर झोक्राइरहेझैं देखिन्थ्यो । पहिलेका महत्व यस बजारले गुमाए तापनि यस बजारको बाटो भई – अहिले पनि भोट तथा लेक इलाकाट ऊन,जडीबूटी प्रचुर मात्रामा पूर्वमा त्रिशूली,पश्चिममा मझुवा खैरिनी भई काठमाडौं पुग्दछ । आरूघाट बजारबाट धान उत्पादन नहुने तर भोट तथा लेक क्षेत्रमा चामल निर्यात हुन्छ । यसबाहेक अरू दैनिक आवश्यकताका सामाग्रीहरू पनि यहींद्वार जान्छ । चीनको तिब्बत क्षेत्र गोरखाको कूताङ भोट र पहिलेको धादिङ्गको हाल गोरखा अन्तर्गत छेकाङ, भोटको सिमानामा खुल्ला व्यापार हुन्थ्यो । हाल नियन्त्रित रूपमा व्यापार हुन्छ । नेपाली हिमाली तथा भोटेहरू आरूघाट बजारबाट चामल लैजान्छन् र यसको सट्टा चीनको तिब्बती क्षेत्रबाट ऊनी ल्याउँदछन् । यसरी सँमा क्षेत्रमा बस्तु बिनिमयको व्यापार हुन्छ । यसबाहेक आरूघाट बजारको स्थानीय बजारको रूपमा निक्कै महत्व छ ।

आरूघाटको सानो बजार देख्नासाथ मलाई झलक्क काठमाडौंको सम्झना आयो । नेवार जातिको बस्ती भएको आरूघाट बजारमा नेवारी भाषा बोलिरहेको सुनेर यहाँका नेवारहरूले आफ्नो भाषा र संस्कृतिलाई जर्गेना गरेको रहेछन् ।

काठमाडौंको सम्झनाले स्वतः घर, परिवार र आत्मीय जनहरूले मनलाई चिमोटियो ।

एकछिन् टोलाइरहें । केही संझेझैं –केही हराएझैं अनि केही पाएझैं अनुभव भइरह्यो । आँखा गडाइगडाई बगिरहेको बूढीगण्डकीलाई निहारिरहेको थिए भने मन कतै सम्झनामा अल्झिरहेको थियो । टाढा हुँदा सम्झनाहरू कति सुखद हुँदा रहेछन् भन्ने अनुभरुति हुन थाल्यो । मलाई त्यतिखेर यस्तो अनुभव भयो – मानै मेरो जीवनमा कुनै लक्ष्य प्राप्तिमा अल्झेर रहेको छ ।

लक्ष्य प्राप्तिका लागि कैय्न कठिन यात्राहरू त पूरा गर्नुपर्छ भने यो एकदिनको यात्रा त के हो र ? अझ कति दुरूह यात्राहरू, वाधा अडचनहरू, समर्थन र विरोधहरूको यात्राहरू पार गर्नु छ –केही भन्न सकिन्न । जसरी बूढी गण्डकी आफ्नो अन्नत यात्रामा दौडिरहेकी छिन् – त्यही उत्साह र जाँगर बोकी मैले अझै धेरै यात्राहरू पूरा गर्नु छ । तर सधैं मेरो उत्साह र जागर यसरी नै कायम रही रहला त ? के भन्न सकिन्छ र ….?

(श्रोत:- मधुपर्क साउन, २०४६)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.