कथा : घर-१८

~परशु प्रधान~Parashu Pradhan

अचानक मध्यरातमा मेरो निद्रा खुल्यो । जोडिएको घरबाट निस्केको सधैँभन्दा चर्को, अभद्र र पीडापूर्ण आवाजले टोललाई थर्कायो । हामी छिमेकीका लागि यस्तो सुन्नुपर्ने बाध्यता नयाँ होइन । परन्तु आज भने नाटकको उत्कर्ष जस्तो लाग्यो । बूढाको पीडापूर्ण आवाजले शून्यलाई राम्ररी नै बिथोल्यो- ‘आज म यो घर सधँैका लागि छाडेर जाँदैछु ।तिमीहरू राजीखुसीसँग बस । तिमीहरूलाई भगवान्ले सधैँ हेरून् । म बूढो यो घरको बूढो कुकुरलाई लिएर जाँदैछु साथीका रूपमा । मलाई सोध्ने र बुझ्ने काम छैन ।’

जाडो थियो । पुस माघको महिना । बल्लबल्ल झ्याल खोलेँ र हेरेँ – धमिलो उज्यालोमा एक जना वृद्ध पुरुष र कुकुर हिँड्न लागेको देखेँ । “ए भीम काजी ! तिमी कहाँ जाँदैछौं ? किन यो गलत निर्णय गर्दैछौं ? आफूले दुःख गरी बनाएको घर छाडेर तिमी कुन घरमा जाँदैछौं, मेरो अभागी साथी ?” मैले भन्नुपर्ने थियो । बाटो छेक्न जानुपर्ने थियो तर भीमको कान्छो छोरा सानेका शब्दले मेरा कान फुट्ला जस्तो भए- “तिमी जस्तो लाछी, नामर्द, पाखण्डी मान्छे यो घरमा बस्न सुहाउँदैन । यो हाम्रो घर हो, हाम्रा छोराहरूको हो । जाऊ, गई हाल थुइक्क !”

आफ्नै छोराले पितालाई, त्यो पनि अहिले हो कि भरे भएको बूढा बाबुलाई यसरी घरबाट खेद्न सुहाउँछ ? म धेरै गम्भीर भएँ । अनायास मेरा आँखाबाट आँसु आए । मैले पुराना दिन सम्झेँ । सम्झन बाध्य भएँ ।

यो सिस्नेरी यस्तो होला, यो रूप लेला भन्ने कहाँ थियो र हामीलाई ? सानु गोरेटो बाटो थियो । रत्नपार्क-नयाँसडकबाट आउन घटीमा एक घण्टा हिँड्नुपर्थ्यो । बाटो के भनौँ, गोरेटोभरि सिस्नोका झ्याङहरू मात्र हुन्थे, जसलाई पन्छाउँदै हामी हिँड्थ्यौं । यत्ति मात्र कहाँ हो र ? बाटोमा दिसापिसाबको खोलालाई नाघ्दै हिँड्नुपर्थ्यो । बिजुलीका खम्बाहरूसम्म गाडिएका थिए तर बिजुली कहिले आउने हो ? हामीलाई केही थाहा थिएन । टेलिफोनको लाइन शीघ्र आउँदैछ भन्नेसम्म सुनिन्थ्यो तर टेलिफोन गर्न परे धेरै टाढा जानुपर्थ्यो । अर्थात् यसको केन्द्रीय कार्यालयसम्म । चामल, तेल र तरकारी किन्न असनमा नै जानुपर्ने बाध्यता थियो ।

संयोगले भीम र म बिजुली अफिसमा निम्नस्तरको जागिर खान पुग्यौँ, भेटियौँ र मिल्ने साथी भयौँ । हामी दुवै भोटाहिटी छेउछाउको एउटा पुरानो घरमा डेरामा बस्थ्यौँ । त्यो घर अहिले नै भत्कने अवस्थामा थियो तर हामी त्यहीँ बस्न बाध्य थियौँ । अलि राम्रो घरमा भाडा तिर्न हाम्रो सामर्थ्य थिएन । पहाडी गाउँमा सानोमा छँदै भीमको र मेरो बिहे मात्र होइन, छोरा पनि भइसकेकाले हामी श्रीमती र छोरा लिएर बस्थ्यौँ । सधैँ रकमको अभावले रायोको सागमा झोल हालेर भात निल्थ्यौँ । तैपनि दुवैको हृदयमा सपना थियो, पढ्दै जाने र अझ जागिरमा तरक्की गर्दै जाने । अझ काठमाडौँंमा एउटा सानु घर बनाउने । अनि अफिसबाट सञ्चय कोष र केही रकम लिएर सिस्नेरीमा सानु घडेरी र सानु घर बनायौँ । दुवैले साथै जिउने, साथै सङ्घर्ष गर्ने र एक किसिमले साथै मर्ने सपना लिएर बसेका थियौँ तर आज मिल्ने साथीले आफ्नो बाचा तोडेको थियो र म एक्लै आँसु चुहाउन बाध्य भएको थिएँ ।

फेरि त उज्यालोसँगै सिस्नेरी बजार बिउँझ्यो, उठ्यो र सारा घाम ठूलाठूला भव्य महलहरू र हाइवेमा पोखियो । अबको सिस्नेरी २१ औँ शताब्दीको भव्य, विशाल व्यापारको केन्द्र्रमा रूपान्तरण भइसकेको थियो । बाटो काट्नलाई ठूलै सङ्घर्ष गर्नुपर्थ्यो । सधैँ जुलुस, नारा, भीड, असनमा बस्ने र विरोध गर्नेहरूको राम्रै अखडा बनेको छ – सिस्नेरी बजार । अझ रात्रिकालीन जिन्दगी पनि देखियो । रातिको ९ बज्दा नबज्दै रातका रानीहरू ग्राहकको खोजीमा सडकमा उभिएको देख्दा देश साँच्चै सिँगापुर, हङकङ र बैङ्ककमा साटिएको अनुभूति म र भीमलाई भएको थियो । हामी पहिलेको भीम र अर्जुनबाट राम्रो भाडा आउने, छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउने, गर्वका साथ हाम्रो घर काठमाडौँको केन्द्र सिस्नेरीमा छ भनेर धाक लाउने सम्मानित नागरिक भइसकेका थियौँ ।

भीमको जेठो छोरा कुनै सरकारी अफिसमा नायबसुब्बा भइसकेको थियो भने कान्छो पढ्न नसकेर दुबईतिर हानिएको थियो तर तीन महिना पनि बस्न नसकेर साने फर्किएको थियो । अनि आफू र्फकंदा उसले आफ्नो साथमा परिवार र राष्ट्रलाई राम्रो सम्पत्ति वा उपहार ल्याएको थियो । ती थिए – रक्सी र केही लागू पदार्थको अम्मल, क्यासिनोमा जुवा खेल्न माहिर अनि बाबु-बाजेले दुक्खले जोडेको धन-सम्पत्ति कसरी छिट्टै उडाएर साबिककै परिस्थितिमा परिवारलाई पुर्‍याउने भन्ने सङ्कल्प । बस् के थियो – हामी ‘मोर्निङ वाक’ सधैँ जान्थ्यौँ र भीम प्रिय कान्छा छोराको करामत सुन्ने सुनाउने गर्थ्यो ।

एक बिहान उसले भनेको थियो – दुई छोरा बुहारीलाई आ-आफ्नो अंश चाहियो रे ! ‘कान्छोले घरको सबै सम्पत्ति उडाउने भयो, मलाई अन्याय हुन्छ’ भन्ने जेठोको भनाइ छ भने कान्छो आफ्नो अंशमा आफैँ रमाइलो गर्न चाहन्छ । मैले अहिले हतार नगर भनेर भीमलाई सल्लाह दिएको थिएँ ।

हरेक बिहान कान्छोको करामतसँगै हामी देशको राजनीतिको कुरा पनि खुलेर गर्थ्यौँ । देशले साह्रै असल, इमान्दार, राष्ट्रप्रेमी, कर्तव्यनिष्ठ, जनप्रेमी नेताहरू पाएकोमा हामी दुवै विश्वस्त थियौँ । किनभने हामी दुवै जागिरे जीवनबाट रिटायर्ड भएर कुनै असल पार्टीको खोजीमा थियौँ, जसमा लागेर फेरि कहिँ कसैको जी.एम. पड्काउने सपना बोकेका थियौँ । त्यसका लागि केही रकम कालम खर्च गर्न पनि हामी तयार थियौँ, किनभने हामीले हजार रूपियाँ नहालेको टुक्रा घडेरीको मोल करोडौँ पुगिसकेको थियो ।

तर एक दिन हृदयाघातबाट भीमको जहान अचानक खसी । भीम अब झन् बहुला जस्तो भयो । उसले बिहानैदेखि वासः (रक्सी) खान थाल्यो र दुब्लाउँदै गयो । मैले अनुरोध गरेँ – भीम भाइ, तपाईं बिहे गर्नुहोस् । एक्लै जिन्दगी काट्न गाह्रो हुन्छ ।

“म साठी नाघिसकेको मान्छे । अब कति धेरै बाँचुला र ? कुनै स्वास्नीमान्छेको जिन्दगी म बर्बाद पार्न चाहन्न ।” ऊ दृढ थियो । मैले धेरै पटक कर गरेँ तर उसको जवाफ सधैँ त्यही आयो ।

कुनै बिहान ऊ दृढ थियो – छोराहरूलाई अब अंश दिनैपर्‍यो । कान्छो छोरा सधैँ आएर उफ्रन्छ – ‘मलाई आफ्नो भाग दिनोस् । जेठोलाई राम्रो पढाउनु भयो र जागिर खुवाउनु भयो, मलाई सधँै हेला । म जे गर्छु ……… गर्छु । नत्र तँलाई काट्छु – म त अब माओवादी भएँ’ भन्छ ।

भीमको बाध्यतालाई मैले बुझेँ । केही महिनामा नै आफूलाई एउटा कोठा राखेर बाँकी छोराहरूलाई अंश मात्र दिएर उसले केही सन्तोषको सास फेर्‍यो तर केही महिनापछि फेरि आँसु झारेर उसले आफ्नो कथा सुनायो – म ढोकामा ताल्चा लाएर सुत्छु । कुनै मध्यरात सानेले आएर मलाई काट्छ भन्ने डर लाग्छ । मलाई डर मात्र लाग्छ अर्जुन । फेरि म आफैँ कुनै दिन झुण्डिन्छु कि जस्तो लाग्छ । आफैँप्रति अविश्वास, शङ्का र भय लिएर बाँचिरहेछु ……… ।

मेरो र उसको कौशी नजिकै हुनाले पहिलेभन्दा बढी उसको गतिविधि म नियाल्थेँ । दिनभरि जसो कौसीमा त्यही कालो कुकुरलाई खेलाइरहेको हुन्थ्यो मेरो साथी भीम । उसले कौसीमा केही कुखुरा पालेको थियो र तिनलाई चारो खुवाउनेदेखि सुली सोहर्ने गर्थ्यो मेरो भीम ।

आज हाम्रो नाटकको पटाक्षेप थियो शायद । मेरो भीम आफूले दुक्ख जिलो गरेर बनाएको घरबाट निकालिएको थियो र उसका लागि आँसु चुहाउने कोही थिएनन् । मैले पनि उसलाई साथ सहयोग दिन सकिनँ, सक्तिनँ । कति निरीह छु म ? अर्थात् हामी ! सत्यले पनि हामीलाई छाडिसकेको छ ।

(श्रोत:- युवामञ्च २०६८ माघ)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.